नेपाल राष्ट्र बैंक ऐन संशोधन हुने, डिजिटल बैंक र मुद्रामा नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले सरकारले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तर्जुमा गरेको छ ।  केन्द्रिय बैंकको उद्देश्य र कार्यलाई केन्द्रिय बैंकको भूमिका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य अवधारणा बमोजिम तादम्यता कायम गर्न, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गर्न ऐन संशोधन गर्न लागिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।   मन्त्रालयकाअनुसार  नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकीय तथा नियमन कार्यलाई थप प्रभावकारी बनाउन र आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य, नेपाल राष्ट्र बैंकको चौंथो रणनीतिक योजना (२०२२–२०२६) तथा मौद्रिक नीतिमा उल्लेख भए बमोजिम नेपाल राष्ट्र बैंक ऐनमा समयानुकूल परिमार्जन तथा संशोधन गर्न आवश्यक भएकोले ऐन संशोधन गर्न मस्यौदा बनाइएको छ । ऐन संशोधनमार्फत वर्तमान आर्थिक तथा वित्तीय परिवेशअनुरूप ऐनलाई संशोधन गर्दै केन्द्रीय बैंकको स्वायत्तता सुदृढीकरण गरिनेछ भने ऐन संशोधन गरि केन्द्रीय बैंकको उद्देश्य र कार्यक्षेत्रमा थप स्पष्टता गरिनेछ । अथ मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा डिजिटल बैंक तथा डिजिटल मुद्राको अवधारणा ग्रहण र नियमन, जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको प्रवद्र्धन, मुद्रास्फीति नियन्त्रणसम्बन्धी व्यवस्थाको सुदृढीकरण, संघीय संरचनाअनुरूप नेपाल राष्ट्र बैंकको भूमिका मिलान, अन्तर्राष्ट्रिय लेखा मापदण्डअनुरूप वासलात तथा प्रतिवेदन प्रणालीको आधुनिकीकरण, बैंक तथा वित्तीय संस्थाको फरफारख  सम्बन्धी व्यवस्थामा थप स्पष्टता गर्न ऐन संशोधन गर्न लागिएको उल्लेख छ । ऐन संशोधन गर्न तयार पारिएको मस्यौदामा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २ मा संशोधन गर्न खोजिएको छ ।  'वित्तीय संस्था' को परिभाषालाई थप स्पष्ट पार्न खोजिएको छ । मस्यौदामा भनिएको छ, ‘वित्तीय संस्था भन्नाले वित्तीय होल्डिङ कम्पनी, कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनको लागि कर्जा दिने वा सर्वसाधारण जनताबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएको वित्तीय संस्था वा डिजिटल बैंक सम्झनु पर्छ र सो शब्दले विप्रेषण कारोबार गर्ने, भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान गर्ने संस्था वा बैंकको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिदिएको संस्थालाई समेत जनाउँछ ।’ पछिल्लो समय डिजिटल बैंकिङसँगै अनलाइन भुक्तानी बढेसँगै राष्ट्र बैंकले आफ्नो ऐनलाई समेत समयानुकुल बनाउन खोजेको देखिन्छ ।  मस्यौदामा  ‘डिजिटल बैंक’ भन्नाले भौतिक शाखा वा सञ्जाल बिना डिजिटल माध्यमबाट वित्तीय कारोबार सञ्चालन गर्न बैंकबाट इजाजत प्राप्त वित्तीय संस्था सम्झनुपर्ने उल्लेख गरिएको छ ।  डिजिटल मुद्रालाई पनि चिन्न ऐन संशोधन गर्न खोजिएको छ । ‘मुद्रा भन्नाले करेन्सी, पोस्टल अर्डर, पोस्टल नोट, मनि अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र वा क्रेडिट कार्ड सम्झनु पर्छ र सो शब्दले बैंकले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य यस्तै प्रकारको मौद्रिक उपकरणलाई समेत जनाउँछ,’ मस्यौदामा भनिएको छ ।  ऐनको दफा १० लाइ संशोधन गर्ने तयारी समेत गरिएको छ ।  मूल ऐनको दफा १० मा  बैंकले आफ्नो उद्देश्य प्राप्तिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सार्वजनिक निकाय वा तिनको एजेन्सी वा निकायसँग आवश्यक समन्वय गर्न सक्नेछ व्यवस्था थप्न खोजिएको छ भने सो दफा भित्र रहेको सार्वजनिक निकाय भन्ने शब्दहरुको सट्टा प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक निकाय, सहकारी, उद्योग व्यवसाय शब्दहरु राख्न खोजिएको छ ।    ऐनको दफा २७ मा समेत संशोधनको तयारी गरिएको छ ।  उक्त दफामा कायम मुकायम भई काम गर्नेसम्बन्धि व्यवस्था छ । प्रस्तावित मस्यौदामा भनिएको छ–‘ बहालवाला गभर्नरको मृत्यु भएमा, पदबाट राजीनामा दिएमा, यस ऐन बमोजिम पदबाट निलम्बन भएमा, गभर्नर विदेश भ्रमणमा जानु परेमा वा बिदामा बसेमा वा कुनै कारणले गभर्नरले बैंकको काम गर्न नसक्ने भएमा गभर्नर पदको कामकाज गर्नेगरी नेपाल सरकारले बैंकको वरिष्ठ डेपुटी गभर्नरलाई कायम मुकायम गभर्नरको रुपमा तोक्नेछ ।’ अर्थमन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा अहिले सर्वसाधरणको सुझाव संकलन गरिँदैछ । उक्त सुझाव समेटेर आउँदो संसद्बाट यो विधेयकलाई अघि बढाउने तयारी गरिएको छ ।   

स्वस्तिक आयलको आम्दानीमा १३० प्रतिशतले उछाल, निर्यात मात्रै ६.९० अर्ब

काठमाडौं । स्वस्तिक आयल इन्डस्ट्रिजले एक वर्षमै साढे १४ अर्ब रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १३०.३८ प्रतिशत अर्थात् ८ अर्ब १२ करोड ८० लाख रुपैयाँले बढी हो । कम्पनीले सन् २०२४ मा ६ अर्ब २३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले मुख्य रूपमा सनफ्लावर तेल, सोयाबिन तेल, तोरीको तेल, पाम आयल तथा वनस्पति घ्यू बिक्रीमार्फत आम्दानी गर्दै आएको छ । सन् २०२५ मा सञ्चालन आम्दानी उल्लेखनीय रूपमा बढ्नुको प्रमुख कारण भारतले खाद्य तेलमा आयात महसुल बढाएपछि नेपालको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुनु र भारततर्फ निर्यात बढ्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीको निर्यात बिक्री सन् २०२५ मा ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२४ मा ३५ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ६२ करोड ७० लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै कम्पनीले ६ अर्ब १५ करोड १० लाख रुपैयाँ आम्दानी बुक गरिसकेको छ, जसले कुल निर्यात बिक्रीको करिब ४७ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ । उत्पादन क्षमताको उपयोग सन् २०२५ मा ३६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ मा १८ प्रतिशत मात्र थियो। यसले कम्पनीको सञ्चालन दक्षतामा उल्लेखनीय सुधार आएको संकेत गर्दछ । स्वस्तिक आयल इन्डस्ट्रिज सन् १९८४ डिसेम्बरमा स्थापना भएको हो । यसको उत्पादन प्लान्ट विराटनगर–९ मोरङमा सञ्चालनमा छ । कम्पनीको कुल स्थापित उत्पादन क्षमता वार्षिक १ लाख ३५ हजार मेट्रिक टन रहेको छ । यसका अतिरिक्त तोरीको तेल उत्पादनका लागि वार्षिक १० हजार मेट्रिक टन क्षमता समेत रहेको छ ।  स्वस्तिक आयल इन्डस्ट्रिज केएल दुगड ग्रुपद्वारा प्रवर्द्धित उद्योग हो । समूहले खाद्यान्न, प्याकेजिङ, जडीबुटी प्रशोधन, जलविद्युत्, सिमेन्ट, निर्माण तथा बैंकिङ तथा वित्तीय सेवा जस्ता विभिन्न क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएको छ । समूहको औद्योगिक अनुभव र व्यवस्थापन क्षमताले स्वस्तिक आयललाई खाद्यतेल उद्योगको एक महत्त्वपूर्ण उत्पादकका रूपमा स्थापित गरेको छ । कम्पनीका अध्यक्ष विकास दुगडसँग व्यापार तथा उद्योग क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । उनी केएल दुगड ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन् र अन्य विभिन्न कम्पनीहरूमा निर्देशकको भूमिकामा संलग्न छन् ।  केएल दुगड समूहले आफ्ना सहायक कम्पनीहरूमार्फत १८० भन्दा बढी उत्पादनहरू बजारमा आपूर्ति गर्दै आएको छ । यसमा चामल, दाल, अन्न, शिशु आहार, मसला, चिया, पीठो, खाद्यतेल तथा अन्य खाद्यान्न सामग्रीहरू समावेश छन्। समूहका बिक्री डिपोहरू देशका विभिन्न भौगोलिक क्षेत्रमा सञ्चालनमा छन् । स्वस्तिक आयल इन्डस्ट्रिजले आफ्ना खाद्यतेल उत्पादनहरू स्वस्तिक, धारा, सनफ्लो, संगम र बिगुल ब्रान्डमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।  खाद्यतेलको बढ्दो आन्तरिक मागलाई सम्बोधन गर्दै स्वस्तिक आयल इन्डस्ट्रिजले स्वदेशी उत्पादन प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा योगदान पुर्याउँदै आएको छ । कम्पनीले सन् २०२३ मा ७ अर्ब २ करोड ३० लाख, सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाख, सन् २०२१ मा ११ अर्ब १० करोड र सन् २०२० मा ८ अर्ब २ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनी कच्चा खाद्य तेल तथा तोरीजस्ता कच्चा पदार्थका लागि अन्तर्राष्ट्रिय बजारमा निर्भर रहनुका साथै खाद्यतेल कच्चा पदार्थहरू कृषिजन्य तथा मौसमी उत्पादन भएकाले मूल्यमा उच्च उतारचढाव हुने जोखिम कायमै रहेको कम्पनीले जनाएको छ । साथै संगठित र असंगठित धेरै कम्पनीहरूको उपस्थितिका कारण उद्योग अत्यन्त प्रतिस्पर्धी रहेको बताइएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ६ करोड रुपैयाँ ऋण लिएको छ । जसमा १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ दीर्घकालीन र ८ अर्ब ६० करोड ६ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।

शीर्ष १० धनाढ्यमा वाल्टन परिवारका ३ जनाको इन्ट्री, एलिस बनिन् विश्वकै धनी महिला

काठमाडौं । दुनियाँका शीर्ष धनीहरूको सूचीमा हालै उल्लेखनीय फेरबदल देखिएको छ । वारेन बफेट र स्टिभ बाल्मरजस्ता दिग्गजहरू शीर्ष १० बाट बाहिरिएका छन् भने एउटै परिवारका तीन दाजुभाइ–दिदीबहिनीले सूचीमा स्थान बनाएका छन् । यी हुन्– जिम वाल्टन, उनका भाइ रोब वाल्टन र बहिनी एलिस वाल्टन ।  ब्लूमबर्ग बिलिनेयर इन्डेक्समा जिम आठौं, रोब नवौं र एलिस दशौं स्थानमा रहेका छन् ।  एलिस वाल्टन विश्वकै सबैभन्दा धनी महिला अर्बपति हुन् । यी तीनै जना वाल्टन परिवारसँग सम्बन्धित छन्, जुन राजस्वका आधारमा विश्वकै सबैभन्दा ठूलो कम्पनी वालमार्टको प्रवर्द्धक (प्रमोटर) परिवार हो । यस परिवारका अन्य दुई सदस्य पनि विश्वका शीर्ष १०० धनीहरूको सूचीमा परेका छन् । एलिस वाल्टन । वाल्टन परिवारलाई विश्वकै सबैभन्दा धनी परिवार मानिन्छ । वालमार्टमा वाल्टन परिवारको ४७ प्रतिशत हिस्सेदारी छ । यस कम्पनीको स्थापना सन् १९६२ मा साम वाल्टनले गरेका थिए ।  ब्लूमबर्ग बिलिनेयर इन्डेक्सअनुसार साम वाल्टनका छोरा जिम वाल्टन १५८ अर्ब डलर नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा आठौं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २१.३ अर्ब डलरले वृद्धि भएको छ । उनका भाइ रोब वाल्टन १५४ अर्ब डलर नेटवर्थसहित नवौं स्थानमा छन्, जसको नेटवर्थ यस वर्ष २०.७ अर्ब डलरले बढेको छ । जिम र रोबकी बहिनी एलिस वाल्टन १५४ अर्ब डलर नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा दशौं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २१ अर्ब डलरले वृद्धि भएको छ । साम वाल्टनका एक छोरा जोन वाल्टनको निधन भइसकेको छ । उनका छोरा लुकास वाल्टन ५३।९ अर्ब डलर नेटवर्थसहित सूचीको ३३औं स्थानमा छन्। जोन वाल्टनकी विधवा क्रिस्टी वाल्टन २५.४ अर्ब डलर नेटवर्थसहित सूचीको १००औं स्थानमा छन् । जोन वाल्टनको सन् २००५ मा हवाई दुर्घटनामा मृत्यु भएको थियो, जसपछि क्रिस्टी वाल्टनले वालमार्टमा करिब २ प्रतिशत हिस्सेदारी पाएकी थिइन् । शीर्ष १०० धनीहरूमा परेका वाल्टन परिवारका पाँच सदस्यहरूको कुल नेटवर्थ ५४५ अर्ब डलर पुगेको छ, जुन ग्रीस, हंगेरी र इरानजस्ता धेरै देशहरूको जीडीपीभन्दा बढी हो । वालमार्टका विश्वका १९ देशमा १० हजार ५०० भन्दा बढी स्टोर सञ्चालनमा छन् ।  वाल्टनको व्यवसाय पूर्ण रूपमा ‘डिस्काउन्ट कल्चर’मा आधारित थियो, जसका कारण मन्दीका समयमा पनि यसको सेयर सधैं मजबुत देखिएको छ । राजस्वका आधारमा वालमार्ट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो ।  गत वर्ष कम्पनीको राजस्व ७०३.०६ अर्ब डलर रहेको थियो । बजार पूँजीकरणका हिसाबले भने १.०६७ ट्रिलियन डलरसहित यो विश्वमा १२औं स्थानमा रहेको छ ।