सांसदहरूले भने- पुँजी बजारमा डुबेको मात्र सुनिन्छ
काठमाडौं । सांसदहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग पुँजी बजारको दीर्घकालीन रणनीति, बजार सुधार, विदेशी लगानी आकर्षण, कर्पोरेट गभर्नेन्स तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने स्पष्ट कार्ययोजना माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा उनीहरूले सेबोनसँग स्पष्ट खाका माग गरेका हुन् । सांसदहरूले सर्ट सेलिङ, नयाँ वित्तीय उपकरण कार्यान्वयन, बजारमा संस्थागत लगानीकर्ता विस्तार, बैंक तथा पुँजी बजारबीचको समन्वय, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा नीतिगत स्थायित्वमा पनि जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपालमा ७९ लाख डिम्याट खाता र ७० लाखभन्दा बढी ‘मेरो सेयर’ प्रयोगकर्ता हुँदा पनि बजारको गहिराइ (मार्केट डेप्थ) र तरलता सीमित रहेको बताइन् । उनले पुँजी बजारमा दीर्घकालीन तथा संस्थागत लगानी बढाउन बोर्डको रणनीति माग गरिन् । उनले कर्पोरेट बन्ड बजार, एसएमई एक्सचेन्ज, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटी), एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) र भेन्चर क्यापिटलजस्ता नयाँ वित्तीय उपकरण सञ्चालनको स्पष्ट समयसीमा ल्याउनुपर्ने बताइन् । उनले भनिन्, ‘बजार पुँजीकरण र जिडिपीको अनुपात हेर्दा यो जिडिपीको ७०.५२ प्रतिशत पुगेको तथ्यांक यहाँ प्रस्तुत भएको छ । तर पुँजी बजारले उद्योग, पूर्वाधार, ऊर्जा र उत्पादनशील क्षेत्रमा कति नयाँ पुँजी प्रवाह गर्यो भन्ने मापन कसरी गरिरहनुभएको छ ? पुँजी बजारको सफलताको सूचक के हो ? आगामी दुई वर्षभित्र विदेशी संस्थागत लगानीकर्तालाई आकर्षित गर्न के-कस्ता सुधारलाई प्राथमिकतामा राखेका छौँ ? बोर्डले एआईमा आधारित बजार निगरानी (मार्केट सर्भिलेन्स), रियल टाइम मोनिटरिङ र साइबर सुरक्षा प्रणाली वास्तवमा कहिलेदेखि सञ्चालनमा आउँछन् ? लगानीकर्ताले त्यसको प्रत्यक्ष लाभ कहिलेदेखि पाउन सक्छन् ? हामी पुँजी बजारलाई केवल सेयर किनबेचको प्लेटफर्मका रूपमा मात्र नभई नेपालको आर्थिक विकासको इन्जिन बनाउन चाहन्छौँ । आगामी तीन वर्षमा पुँजी बजारले नेपालको उत्पादन, रोजगारी र लगानी वृद्धिमा के फरक परिणाम देखाउनेछ ?’ नेकपा (एमाले)का सांसद डा. पुष्पराज कडेलले आईपीओ र राइट सेयर स्वीकृतिमा ढिलाइ भएको बताए । सयौं कम्पनी पाइपलाइनमा रहेको उल्लेख गर्दै उनले स्वीकृति प्रक्रियालाई छिटो बनाउन आग्रह गरे । नेपालको पुँजी बजारले अझै उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी परिचालन गर्न नसकेको उनको भनाइ छ । कम्पनी प्रवर्द्धकप्रति लगानीकर्ताको विश्वास कमजोर भएकाले उत्पादनमूलक क्षेत्रमा पुँजी प्रवाह हुन नसकेको उनले बताए । ‘सयौं कम्पनी अहिले आईपीओ र राइट सेयरका लागि पाइपलाइनमा छन् । बोर्डको अध्यक्ष पटक-पटक परिवर्तन भइरहने र निर्णय गर्न जोखिम लिन हिच्किचाउने प्रवृत्तिका कारण धेरै प्रस्ताव लामो समयदेखि पेन्डिङ भएका जस्ता देखिन्छन् । अब ती प्रक्रियालाई छिटो अघि बढाउनुपर्छ । साथै नेपालमा लगानीकर्ताले विश्वास गर्न सक्ने बोर्ड वा प्रवर्द्धक पर्याप्त रूपमा स्थापित हुन सकेनन्,’ उनले भने, ‘त्यसैले उत्पादनशील क्षेत्रमा अपेक्षित विकास हुन सकेन । दीर्घकालीन लगानी जानुपर्ने क्षेत्रमा पर्याप्त लगानी भइरहेको छैन । छोटो अवधिमा प्रतिफल दिने क्षेत्रमा भने केही लगानी भइरहेको देखिन्छ । अहिले जलविद्युत् क्षेत्रबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी निकै कम छ । भएका कतिपय कम्पनी पनि पुँजी बजारमा सूचीकृत भएका छैनन् । हाम्रो सबैभन्दा ठूलो समस्या कर्पोरेट गभर्नेन्स हो । त्यसैले समग्र लगानीकर्ताको विश्वास कमजोर भएकाले सुधार आवश्यक छ ।’ नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले निजी क्षेत्र र लगानीकर्तामा सरकारप्रतिको विश्वास कमजोर बन्दै गएको बताए । सेयर बजारमा आएको निरन्तर गिरावटले निराशा बढाएको उनको भनाइ छ । उनले लगानीकर्ताको मनोबल उकास्ने ठोस उपायबारे सरकार र नियामकको योजना माग गरे । उनले भने, ‘निजी क्षेत्र किन विश्वस्त हुन सकेको छैन ? लगानीको वातावरण भए पनि निजी क्षेत्र विश्वस्त हुन सकेको छैन । स्थिर सरकार छ, तर पछिल्लो समय बजार निकै घटेको छ। समितिमा ध्यानाकर्षण गराइदिनुपर्यो, अर्थमन्त्रीलाई भनिदिनुपर्यो भनेर फोन आउँछन् । अवस्था अत्यन्तै निराशाजनक छ । निजी क्षेत्रको मनोबल कसरी बढाउने र सरकारप्रति लगानीकर्ताको विश्वास कसरी अभिवृद्धि गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ ।’ नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंक र पुँजी बजार दुवै सुस्त हुनुको कारणबारे प्रश्न उठाए । उनले विगतमा धेरै लगानीकर्ता र प्रवर्द्धक असफल भएको उदाहरण दिँदै अहिलेको सबैभन्दा ठूलो चुनौती र समाधानका लागि बोर्डको नयाँ कार्यदिशा स्पष्ट पार्न आग्रह गरे । उनले भने, ‘बैंक र पुँजी बजारबीचको सम्बन्ध किन मिलिरहेको छैन ? यति धेरै तरलता थुप्रिएको छ, तर बैंक पनि चलेको छैन, पुँजी बजार पनि चलेको छैन । कम्तीमा एउटा क्षेत्र त चल्नुपर्थ्यो । अहिले दुवै क्षेत्र सुस्त छन् । डुबेको मात्र सुनिन्छ, उठेको सुनिँदैन । मैले चिनेका केही बैंक प्रवर्द्धक पनि असफल भए । अब के गर्दा यो क्षेत्र बढ्छ ? नडुब्ने आधार के हो ? वास्तविक चुनौती के हो ? सफल हुनेहरूको अनुपात कति छ ? विदेशी लगानीकर्ताको सहभागिता बढाउने कुरा गरिरहेका छौँ, तर सफलताको दर नै कमजोर भयो भने उनीहरू किन आउने ?’ नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले झन्डै दुईतिहाइ बहुमतको स्थिर सरकार हुँदासमेत पुँजी बजार अपेक्षाअनुसार सुधार हुन नसकेको टिप्पणी गरे । उनले बजारमा चलखेल, कमजोर नियमन र स्वार्थ समूहको प्रभाव अन्त्य गर्न सेबोनले थप प्रभावकारी र कडाइका साथ नियामकीय व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए । उनले ग्रामीण क्षेत्रका साना लगानीकर्ताले पनि बुझ्ने गरी पुँजी बजारसम्बन्धी जनचेतना र वित्तीय साक्षरता कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्न बोर्डलाई आग्रह गरे । उनले भने, ‘बिहानीले दिनको संकेत गर्छ भन्ने उखान छ । विगतमा अस्थिर सरकार हुँदा बजारको अवस्था कमजोर थियो, त्यो एकछिनका लागि मान्न सकिन्छ । तर अहिले झन्डै दुईतिहाइ बहुमतको स्थिर सरकार हुँदा पनि बजारको अवस्था अत्यन्तै निराशाजनक छ। समग्र मुलुककै अवस्था उत्साहजनक छैन । त्यसैले सरकारले गर्न सकेनौँ भन्ने छुट छैन । नेपाल धितोपत्र बोर्डले केही पहल गरेको छ, तर अझ व्यवस्थित र प्रभावकारी नीति आवश्यक छ। तर बजारमा चलखेल, जोखिम, कमजोर नियमन र सुपरिवेक्षण तथा स्वार्थ समूहको प्रभाव कायमै छ । साथै, सर्वसाधारणले बुझ्ने भाषामा पुँजी बजारसम्बन्धी जानकारी दिने र ग्रामीण क्षेत्रका साना लगानीकर्तासम्म वित्तीय साक्षरता कार्यक्रम पुर्याउन पनि आग्रह गर्दछु ।’
केन र बेलिङ्घमकै भरमा इङ्ल्यान्डले विश्वकप जित्न सक्ला ?
काठमाडौं । फुटबललाई परम्परागत रूपमा ‘वीक लिंक’ (कमजोर कडी) भएको खेल मानिन्छ । सामान्य धारणा के छ भने कुनै टोलीको सफलता उसका उत्कृष्ट स्टार खेलाडीभन्दा पनि सबैभन्दा कमजोर खेलाडीको स्तरले बढी निर्धारण गर्छ । कम गोल हुने र प्रत्येक खेलाडी एकअर्कामा अत्यधिक निर्भर रहने खेल भएकाले व्यक्तिगत उत्कृष्टताले मात्र टोलीलाई धेरै टाढासम्म लैजान सक्दैन । यसको विपरीत, बास्केटबलजस्ता खेललाई ‘स्ट्रङ लिंक’ (बलियो कडी) भएको खेल मानिन्छ । त्यस्ता खेलमा कुनै असाधारण खेलाडीले खेलमाथि पूर्ण नियन्त्रण जमाउँदै लगभग एक्लैले टोलीलाई जित दिलाउन सक्छ । तर, २०२६ फिफा विश्वकपमा जुड बेलिङ्घम र ह्यारी केनले यो परम्परागत धारणालाई चुनौती दिइरहेका छन् । यसको अर्थ इङ्ल्यान्डका अन्य खेलाडीहरूले राम्रो प्रदर्शन गरेका छैनन् भन्ने होइन । तर इङ्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन बेलिङ्घम र केनको योगदान असाधारण रहेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन । इङ्ल्यान्डले बुधबार राति मियामीमा आफ्नो पुरानो प्रतिद्वन्द्वी अर्जेन्टिनासँग सेमिफाइनल खेल्दै छ । यी दुई खेलाडीले मिलेर प्रतियोगितामा इङ्ल्यान्डका १३ मध्ये १२ गोल गरेका छन् । अन्य खेलाडीबाट भएको एक मात्र गोल समूह चरणको पहिलो खेलमा मार्कस रासफोर्डले क्रोएसियाविरुद्ध गरेका थिए । यस हिसाबले हेर्दा इङ्ल्यान्डका ९२.३ प्रतिशत गोल केन र बेलिङ्घमकै नाममा छन् । अझ उल्लेखनीय कुरा, टोलीका पछिल्ला लगातार नौ गोल पनि यी दुईले मात्रै गरेका छन् । यो साँच्चिकै असाधारण तथ्यांक हो । वास्तवमा विश्वकप इतिहासमै कुनै टोलीको आक्रमण यति धेरै दुई खेलाडीमा केन्द्रित भएको पहिलो पटक हो । प्रतियोगितामा कम्तीमा १० गोल गरेका टोलीहरूलाई आधार मान्दा केन र बेलिङ्घममाथिको इङ्ल्यान्डको निर्भरता विश्वकप इतिहासकै सबैभन्दा उच्च देखिन्छ । तर, दुई खेलाडीमाथिको यस्तो निर्भरता शक्ति हो कि कमजोरी ? इतिहासले भने यो घातक कमजोरी होइन भन्ने देखाउँछ । यो सूचीका शीर्ष सात टोलीमध्ये एक टोलीले विश्वकप जितेको थियो– सन् १९३८ को इटाली । अर्को टोली फ्रान्स पनि २०२६ को सेमिफाइनलमा पुगेको छ, जहाँ केलियन एम्बाप्पे (८ गोल) र उस्मान डेम्बेले (५ गोल) ले टोलीका ८१.३ प्रतिशत गोल गरेका छन् । इङ्ल्यान्ड पनि अहिले उपाधिबाट केवल दुई खेल टाढा छ । सूचीका अन्य टोलीहरूले पनि सफल यात्रा गरेका थिए । १९५० मा स्पेन चौथो भएको थियो । १९५८ मा स्विट्जरल्यान्ड क्वार्टरफाइनल पुगेको थियो, जहाँ उसले विश्वकप इतिहासकै सर्वाधिक गोल भएको खेलमा अस्ट्रियासँग हार बेहोरेको थियो । १९९० मा घरेलु मैदानमा इटाली सेमिफाइनल पुगेको थियो भने ह्रिस्टो स्टोइचकोभको उत्कृष्ट प्रदर्शनमा बुल्गेरिया १९९४ मा अन्तिम चार मा पुगेको थियो । अर्थात् यी सात टोलीमध्ये छ टोली कम्तीमा सेमिफाइनलसम्म पुगेका थिए । स्वीकार गर्नैपर्छ, यहाँ केही ‘सेलेक्सन बायस’ पनि छ । किनकि विश्लेषणमा कम्तीमा १० गोल गरेका टोली मात्र समावेश गरिएकाले गहिरोसम्म पुग्ने सम्भावना भएका टोलीहरू स्वाभाविक रूपमा बढी देखिन्छन्। तर पनि उपलब्ध तथ्यहरूले के देखाउँछन् भने दुई उत्कृष्ट आक्रमणकारीमाथि अत्यधिक निर्भर हुनु आफैमा नकारात्मक कुरा होइन । यस वर्ष फ्रान्सका लागि यो रणनीतिले राम्रोसँग काम गरिरहेको थियो । यद्यपि फ्रान्स पहिलो सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भइसकेको छ । त्यसअघि कतार २०२२ विश्वकपमा अर्जेन्टिनाले पनि लियोनेल मेसीमाथि ठूलो भरोसा गरेर उपाधि जितेको थियो । सन् २०२२ को विश्वकपमा अर्जेन्टिनाका कुल प्रहारमध्ये ३२ प्रतिशत मेसीले गरेका थिए, जुन २०२६ मा बढेर ३४ प्रतिशत पुगेको छ । यी दुई विश्वकपलाई जोड्दा पोल्यान्डका रोबर्ट लेवान्डोस्की (३८.७ प्रतिशत) बाहेक आफ्नै टोलीको आक्रमणको यति ठूलो जिम्मेवारी बोकेको अर्को खेलाडी छैन । अर्जेन्टिना, फ्रान्स र अहिले इङ्ल्यान्डले पनि केही विश्वस्तरीय खेलाडीमाथि यति धेरै भर परिरहेका बेला विश्वकप वा समग्र अन्तर्राष्ट्रिय फुटबलले फुटबललाई ‘वीक लिंक’ खेल भन्ने पुरानो धारणामाथि पुनर्विचार गर्न बाध्य बनाइरहेको हुन सक्छ । सान्दर्भिक सामग्रीहरू : पहिलो सेमिफाइनल : उपाधिको दाबेदार फ्रान्स र स्पेनबीच निर्णायक खेल कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
लिफ्टसहितको आकाशे पुल, सटल बस र घरमै निःशुल्क स्वास्थ्य सेवा
काठमाडौं । ललितपुर महानगरपालिकाले निर्माण गरिरहेको कुसुन्तीस्थित लिफ्टसहितको अपांगतामैत्री आकाशे पुल आगामी आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । निर्माण सुरु भएको लामो समय बित्दासमेत विभिन्न कारणले सम्पन्न हुन नसकेको उक्त आयोजना अहिले अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ । महानगरका अनुसार पुलको निर्माण कार्य २०८० फागुनमा सुरु भएको हो । निर्माणको जिम्मा लामा प्रगति–मनि बुद्ध जेभीले ४ करोड ६८ लाख रुपैयाँमा पाएको थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार प्रारम्भिक चरणमा केही प्राविधिक समस्या र ठेकेदारको ढिलाइका कारण निर्माण प्रभावित भए पनि हाल काम तीव्र गतिमा अघि बढिरहेको छ । महर्जनले यो लिफ्टसहितको अपांगतामैत्री आकाशे पुल नेपालमै पहिलो भएको बताउँदै यसले शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा अन्य सर्वसाधारणलाई सुरक्षित र सहज रूपमा सडक पार गर्न सहयोग पुग्ने बताए । उनका अनुसार महानगरले सबै नागरिकका लागि समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले अपांगतामैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । साथै सोही सडकको धोविघाटमा साइकलसहित आवतजवात गर्न सकिने आकाशे पुल निर्माण पनि आगामी आवभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी महानगरले गरेको छ । त्यसैगरी, महानगरले ललितपुरकै पाटन अस्पताल अगाडि आकाशे पुल निर्माण गर्ने योजना अघि बढाएको छ । यसका लागि महानगरले बजेटसमेत व्यवस्था गरेको छ । पाटन अस्पताल अगाडि हुने सवारी र यात्रुको चापलाई दृष्टिगत गरी आकाशेपुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको महानगरले जनाएको छ । महानगरका अनुसार चालु आवमा सुरु भइसकेका तीनवटा पुलहरू निर्माण सम्पन्न भइसकेका छन् । आगामी वर्षमा थप तीनवटा पुल निर्माण गर्ने लक्ष्य महानगरले लिएको छ । महानगरले चालु आव २०८२/८३ मा निर्धारण गरेका ३४ क्षेत्रका ३७८ नीत तथा कार्यक्रममध्ये ८९ प्रतिशत नीति तथा कार्यक्रम सम्बोधन भएको जनाएको छ । बाँकी सम्बोधन हुन बाँकी कार्यक्रम आगामी आवमा निरन्तरता दिने महानगर प्रमुख महर्जनले जानकारी दिए । उनले आगामी आवको लागि भने महानगरले ३२ क्षेत्रका ३३५ वटा नीति तथा कार्यक्रमहरू अघि सारेको बताए । यसका लागि महानगरले ७ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दशैंअघि सञ्चालनमा आउने विद्युतीय सटल बस महानगरले धेरै समय अघिदेखि नै सञ्चालनमा ल्याउने तयारी गरेको विद्युतीय सटल बस आगामी दशैं अगाडि नै सञ्चालन गर्ने तयारी गरेको छ । सम्पदा क्षेत्रमा पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागेको विद्युतीय सटल बस सञ्चालनको लागि साझा यातातासँग पनि सम्झौता भइसकेको महानगरका प्रमुख महर्जनले बताए । महागनरका अनुसार १४–१८ सिटको ५ वटा सटल बस तयारी अवस्थामा रहेको छ । सञ्चालनमा आउँदैछन् यी आयोजना ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीको पुनःनिर्माण अन्तिम चरणमा पुगिसकेको छ । महानगरले पोखरी निर्माण सम्पन्न गरी आगमी आवको साउन महिनामभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । ‘सप्तपाताल पोखरी सम्पन्न गरी आगामी श्रावण भित्र सर्वसाधारणका लागि खुल्ला गर्नेछौं,’ महानगर प्रमुख महर्जनले भने । त्यस्तै, त्यही सँगैको पलेस्वों (कमल पोखरी) आगामी आवभित्र सम्पन्न गर्ने गरी काम भइरहेको पनि उनले बताए। त्यसैगरी, ललितपुर खण्डमा पर्ने चिबहालदेखि लगनखेलसम्मको राजकुलो निर्माण सम्पन्न भइसकेको महानगरले जनाएको छ भने बाँकी बांगेधारादेखि चिबहालसम्मको पनि आगमी आवभित्रै सम्पन्न गर्ने गरी बजेट व्यवस्था गरिएको छ । साथै गोदावरी नगरपालिका खण्डको राजकुलो निर्माणको लागि गोदावरी नगरपालिकासँग सम्झौतासमेत भइसकेको छ । महानगरले आगमी आवमा पनि ऐतिहासिक पोखरी, हिटी, ढुङ्गेधाराहरूको संरक्षण र पुनःनिर्माणका लागि प्राथमिकता दिइएको छ । चालु आवमै निर्माण थालिसकेको लगनखेलस्थित न्हु पुख, एवं पुल्चोकस्थित तः पुख (पलेस्त्राँ पोखरी) को निर्माण हिरण्यवर्ण महाविहार, भृङ्गारेश्वर मन्दिर, नरसिंह मन्दिर, रुद्रायणी मन्दिर लगायत पुननिर्माण हुन बाँकी रहेका सम्पदाहरूको पुनःनिर्माणको लागि महानगरले बजेट विनियोजन गरेको छ । महानगरले नेपालमा नै पहिलो पटक कुपण्डोलदेखि जावलाखेलसम्म जडान गरिएको इन्टिलिजेन्ट ट्राफिक लाइटको प्रभावकारिता एकदमै राम्रो भएकोले त्यसलाई आगामी आवमा महानगरले थप विस्तार गर्ने योजना अघि सारेको छ । महानगरले जावलाखेलदेखि हरिसिद्धिसम्म, जावत्ताखेलदेखि बुङ्गमतीसम्म, कानदेवतास्थान–सानेपा–सान्तभवन–धोविघाट–एकान्तकुनासम्म विस्तार गर्न बोलपत्रसमेत प्रकाशित भइसको छ । ललितपुरलाई उज्यालो सहरको रूपमा विकास गर्न आवश्यक सडक तथा सार्वजनिक स्थानहरूमा नेपाल विद्युत प्राधिकरणको सहकार्यमा हाई मास्ट, स्मार्ट स्ट्रेट लाइट जडानको निरन्तरता महानगरले आगामी आवमा पनि दिएको छ । महानगरका अनुसार हालै हालै ललितपुर खण्डमा जडान भइरहेको छ । सडकयात्रीको सुरक्षा तथा सडक सुरक्षा तथा सड़क दुर्घटना न्युनिकरणका लागि अटोमेटेड स्मार्ट बुम जडान गरी इन्टिलिजेन्स ट्राफिक लाइटसँग लिंक गर्ने कार्यको समेत सुरुवात महानगरले गरेको छ । आगामी आवमा सञ्चालन हुने महानगरका अन्य मुख्य कार्यक्रम पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस हाताभित्रको राणाकालीन संरचना पुनःनिर्माणको सुरुवातसमेत महानगरले गरेको छ । त्यस्तै, महानगरले वडा नं. २४ मा रहेको खेलकुद मैदान स्तरोन्नतिको लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । साथै मदन स्मारक विद्यालयको खेलमैदान निर्माण सम्पन्न गरी यसै वर्ष सञ्चालन ल्याइने तयारी महानगरको रहेको छ । त्यसैगरी, खानेपानी आयोजनाअन्र्तत महानगरले खानेपानीको अभावलाई न्यूनीकरण गर्न विभिन्न स्थानमा खानेपानी ट्याङ्की निर्माण गर्ने योजना अघि सारेको छ । त्यसको लागि सिस्नेरी खोलाको दैनिक १३ करोड लिटर खानेपानी ललितपुरमा ल्याउने कार्य प्रारम्भ भइसकेको महानगरले जनाएको छ । ‘आवश्यक स्थानहरु पहिचान गरी खानेपानी लाइन विस्तार तथा स्तरोन्नति गरी खानेपानी वितरण प्रणालीलाई प्रभावकारी बनाइनेछ,’ महानगरका प्रमुख महर्जनले भने । त्यस्तै, दक्षिणकाली नगरपालिका, गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका स्थित खानेपानी मुहान संरक्षणका तथा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरिएको उनले बताए । आगामी आवमा पनि महानगरले सार्वजनिक शौचालयहरू थप गरी निर्माण गर्ने नीति अघि सारेको छ । निर्माण सम्पन्न भइसकेको सार्वजनिक स्थललाई व्यवस्थित रुपमा सञ्चालनमा राख्नको लागि महानगरले सार्वजनिक निजी साझेदारी मार्फत सञ्चालन तथा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ । फोहरमैला व्यवस्थापनको लागि अस्थायी ट्रान्सफर स्टेशन थप गरिने भएको छ । फोहरमैला संकलन, वर्गीकरण तथा ढुवानीको व्यवस्थाका लागि एलएमसी गारवेज अर्लट एप र जिपिएस प्रणालीको प्रभावकारी कार्यान्वन गर्ने महानगरले जनाएको छ । यसअघि नै महानगरले घोषणा गरिसकेको वडास्तरवाट नै सरसफाइ तथा फोहरमैला व्यवस्थापन गर्ने गरी साधन स्रोतको क्रमशः हस्तान्तरण तथा व्यवस्थापन गरिने भएको छ । कुहिने र नकुहिने फोहर वर्गीकरणका लागि छुट्टाछुट्टै सङ्कलन गरिने व्यवस्था छिट्टै लागु गरिने भएको हो । त्यसका लागि महानगरले हरेक घरलाई डस्विन उपलब्ध गराउने भएको हो। महानगरले आगामी आवमा ग्रान्ड वाटर रिचार्ज लाईलाई अभियानको रुपमा अगाडि बढाइने भएको छ । घर नम्बरलाई भवन अभिलेखीकरण र राजस्व सङ्कलन प्रक्रियामा समेत जोड्ने महानगरले जनाएको छ । त्यसैगरी, आगामी आवदेखि राजश्व संकलन अनलाइन माध्यमबाट समेत हुने व्यवस्था गरिने भएको छ । घरपालुवा पशुपन्छीहरुको अभिलेख व्यवस्थित गर्न एनिमल एपको व्यवस्थादेखि रेविज रोग नियन्त्रणमा विशेष जोड दिई सामुदायिक तथा घरपालुवा कुकुरहरूमा निःशुल्क खोप लगाउने व्यवस्थालाई थप व्यवस्थित बनाउने भएको छ । त्यस्तै, पाटन दरवार स्क्वायर, मंगलबजारमा पैदलयात्री तथा साइकल यात्रीहरूलाई प्राथमिकता दिइनेछ । परीक्षणको रूपमा उक्त क्षेत्रलाई ‘भेहिकल फ्रि जोन’ घोषणा गर्ने महानगरको योजना छ । अहिले पाटनढोकादेखि पाटन दरवार क्षेत्रसम्म सम्पदा मार्ग ‘फ्लागस्टिभ पेभमेन्ट’ कार्य सुरु भइसको छ । ‘पाटन सिटी डज नट स्लीप’को अवधारणा अनुसार एउटै छाना मुनिबाट विपद् जोखिम न्युनिकरण/व्यवस्थापनका संयन्त्रहरूको परिचालनको व्यवस्था मिलाइने महानगरले भनेको छ । महानगरका अनुसार डीआरआर सेन्टरको समन्वयमा रहने गरी विभिन्न स्थानमा डीआरआर सवसेन्टर स्थापना गर्ने विपद् पूर्वतयारीमा अर्ली वार्निङ सिस्टम जडानलाई निरन्रता दिइनेछ । हरेक वडामा विपद् स्वयंसेवक समूह गठन र परिचालनको व्यवस्था गरिने महानगरको भनाइ छ । भदौ १ देखि घरघरमा निःशुल्क स्वास्थ्य सेवा ललितपुर महानगरले आगामी आवको भदौ १ गतेदेखि चिकित्सक, आवश्यक औषधी, उपकरणसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसअघि साउन १ गतेबाट लागू हुने भनिएपनि आवश्यक गृहकार्य, कार्यविधि बनाउन समय लाग्ने भएकोले भदौ १ गतेबाट हुने भएको प्रमुख महर्जनले जानकारी दिए । उनका अनुसार चिकित्सकसहितको निशुल्क स्वास्थ्य सेवा नगरभित्र बसोबास गर्ने सबै बासिन्दाले लिन सक्नेछन् । महानगर प्रमुख महर्जनले भने, ‘कार्यक्रम सुरु गर्नुअघि कार्यविधि आवश्यक पर्छ, कार्यविधि कार्यपालिकाबाट पनि पास गर्नुपर्ने हुन्छ । अहिले हामीले कार्यविधि बनाउँदैछौं, कार्यविधि कार्यपालिकाबाट पास भएपछि यो सेवा सुुरु हुने छ।’ आगामी आवदेखि सञ्चालन गर्न लागेको महानगरको अर्को महत्त्वूर्ण कार्यक्रम हो, विद्यार्थीको लागि खाता खोली बचत गर्ने अभियान । बैंक तथा वित्तीय संस्था एवं निजी क्षेत्रको सहकार्यमा सामुदायिक विद्यालय सुदृढीकरण र स्तरोन्नतिका लागि महानगरले यो अभियान सुरु गर्न लागेको छ । यो अभियानअन्र्तगत सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको हाजिर राम्रो होस् भनेर हाजिर भएको दिनमा महानगरले खातामा २ रुपैयाँ, बैंकले २ रुपैयाँ र बाबुआमाले २ रुपैयाँ गरी दैनिक ६ रुपैयाँ जम्मा हुन्छ । महानगरका अनुसार १२ कक्षा पास भएपछि त्यो पैसा विद्यार्थीले पाउनेछन् । यसबाहेक महानगरले यसअघि नै सुरु गरेको ६८ वर्ष पूरा भएका जेष्ठ नागरिकलाई निमोनिया र इन्फ्लुन्जाविरुद्धको निशुल्क खोपलाई आगमी आवमा निरन्तरता दिने भएको छ । अर्को महिलाहरूलाई पाठेघरको मुख र स्तनमा हुने क्यान्सरको स्किनिङ्ग तथा उपचारको व्यवस्थाका साथै कोलोन क्यान्सर स्क्रिनिङ्ग सेवाको सुरुवात महानगरले गरेको छ । महानरले आगमी आवमा ई-लाइब्रेरीसहितको सहितको शारदा पुस्तकालय सिटी लाइबेरी पुनः सञ्चालन गर्ने भएको छ ।