काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा अचानक बाढी आयो । मिनेटमै वर्षौंको मिहिनेतले बनाएका घर, पसल, उद्योगलगायत संरचना बगरमा परिणत भए । हाँसीखुसी चलिरहेका बस्ती एकाएक शोकमा डुबे । कयौं परिवारका सपना बाढीको भेलसँगै बगे ।
बाढीले बगाएका बस्तीमा एकातिर आफन्त गुमाएको पीडा छ भने अर्कोतिर जीवित बाँचेका सामु भोक र ओतको उस्तै छटपटी छ । तर, प्रकृतिले ठगेका यी बस्तीमा सरकार र दाताको राहत पुग्न भने कठिन भइरहेको छ ।
अकस्मात् आएको विनाशकारी बाढीले धेरै पालिकाहरूलाई क्षतविक्षत बनाएको छ । बाढीेले पुर्याएको अपूरणीय क्षतिपछि सरकारले देशका विभिन्न १५ वटा स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ समेत घोषणा गरिसकेको छ ।
बाढीको सबैभन्दा ठूलो मार हिमाली जिल्ला रसुवामा परेको छ । रसुवाका उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिका बाढीबाट सर्वाधिक प्रभावित बनेका छन् ।
यस्तै, राजमार्ग र नदी किनारका बस्तीहरू रहेको धादिङका गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकालाई पनि सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
त्यस्तै, तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
बाढी प्रभावित क्षेत्रमा अहिले राहत वितरण प्रणाली नै चुनौतीपूर्ण बनेको छ । यसको मुख्य कारण बनेको छ—कठिन भौगोलिक विकटता । बाढीले सडक र पुललगायतका पूर्वाधारमा क्षति पुर्याएपछि प्रभावित बस्तीमा राहत सामग्री पुर्याउनै कठिन भएको हो ।
बाढीका कारण बजारदेखि बस्ती जोड्ने सडकहरू क्षतविक्षत भएका छन् । सञ्चार सम्पर्क टुटेको छ भने यातायात सेवा प्रभावित बनेको छ । पैदल हिँडेर प्रभावित बस्ती पुग्नसमेत ज्यानकै जोखिम छ । फलस्वरूप, जहाँ राहतको सबैभन्दा बढी र तत्काल आवश्यकता छ, त्यहीँ उद्धार तथा सहयोग टोली पुग्न सकिरहेको छैन ।
आमाछोदिङमो गाउँपालिकामा तत्काल राहतको आवश्यकता छ । तर, प्रभावित बस्तीमा पर्याप्त राहत पुग्न सकेको छैन । गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार अहिले छिटपुट रूपमा मात्रै राहत वितरण भइरहेको छ ।
‘अहिले यहाँ आपत्कालीन रूपमा चाउचाउ र बिस्कुट फालिदिएर टार्ने काम मात्रै भइरहेको छ । अबको एक/दुई दिनपछि खाद्यान्नको हाहाकार नै हुन्छ,’ उनले भने ।
अध्यक्ष तामाङले सडक क्षतविक्षत भएपछि पालिका नै नाकाबन्दीमा परेको बताए । उनका अनुसार राहत लैजाने बाटो नहुँदा हेलिकोप्टरमार्फत केही राहत ओसारिँदै छ । तर, त्यो पर्याप्त छैन ।
‘यहाँ आउनुपर्ने राहत त्रिशूलीमा थन्किएर बसेको सुनेको छु, गाडी आउने सम्भावना छैन, हेलिकोप्टरबाट आएको राहतले पुग्दैन,’ अध्यक्ष तामाङले भने ।
बाढीपछि पालिकाका २०० भन्दा बढी नागरिक सम्पर्कविहीन छन् । अध्यक्ष तामाङका अनुसार अहिले खोलाछेउका करिब १०० घरधुरीलाई सुरक्षित स्थानमा सारिँदै छ । पालिकाभित्र १ हजार ९१५ घरधुरीमा ७ हजार ७०० जना बसोबास गर्दै आएका थिए । उनका अनुसार तत्काल ५ हजारभन्दा बढीलाई राहत आवश्यक छ ।
राहत पुर्याउन अहिले हेलिकोप्टरबाहेक अर्को विकल्प नरहेको उनले बताए । तर यो अपर्याप्त हुने भएकाले सडक कहाँबाट खुलाउने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
गोसाईँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले प्रभावित क्षेत्रमा अहिले राहत तथा उद्धार भइरहेको भएपनि पर्याप्त नभएको बताए । अध्यक्ष तामाङले पनि राहत ल्याउनको लागि बाटोको समस्या रहेको र हेलिकप्टर भन्दा अरू विकल्प नभएको बताए ।
‘हेलिप्याड अलि माथि कि तल हुन्छ, त्यहाँ सञ्चार सम्पर्क पनि राम्रो छैन,’ अध्यक्ष तामाङले भने, ‘त्यहाँ लिएर जाँदाखेरि कोही बासिन्दा आइरहेको हुन्छ, कुनै आएको हुँदैन, बोलाएर छोड्नेबाहेक विकल्प छैन ।’
अर्को हेलीबाट दोहोर्याई–तेहर्याई एउटै ठाउँमा राहत पठाउन नसकिने पनि उनले बताए । सबैतिर कसरी राहत पुर्याउने भनेर छलफल भइरहेको पनि उनको भनाइ छ ।
अहिलेको यो विपद्को घढीमा मिहिन ढंगले राहत पुर्यउन सके राम्रो हुने तर्क तामाङको छ । तर हेलिकप्टरबाट मात्रै सबैलाई राहत पुर्याउन असम्भव भएको उनले बताए ।
अध्यक्ष तामाङका अनुसार गोसाईकुण्ड पालिकामा बाढीले पूर्ण क्षति पुर्याएको छ । अहिलेको अवस्थामा के गर्ने के नगर्ने अलमल अवस्थामा रहेको उनले सुनाए । ‘अब कसरी पुर्याउने, कुन तरिकाले पुर्याउने भन्ने कुरामै समस्या छ, भौगोलिक अवस्थाले नै हामीलाई धेरै गार्हो बनाएको छ ।
उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत वितरण केही सहज हुन थालेको छ । ‘प्रभावित क्षेत्रमा राहत पुग्न थालेको छ । यद्यपि, भौगोलिक विकटताका कारण जति पुग्नुपर्ने हो, त्यति पुग्न सकेको छैन,’ उनले भनिन् ।
उनका अनुसार प्रभावितलाई बस्नका लागि विद्यालयमा व्यवस्थापन भइरहेको छ । उद्धार कार्य पनि जारी रहेको र बेपत्ताको खोजीका लागि सुरुङ खोल्ने तयारी भइरहेको उनले बताइन् । उनका अनुसार अझै १०० भन्दा बढी व्यक्ति बेपत्ता छन् ।
गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेलले बाढी प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको बताए । उनका अनुसार अन्य प्रभावित क्षेत्रमा जस्तो यहाँ राहत वितरणमा ठूलो असहजता छैन ।
‘विभिन्न सरकारी तथा गैरसरकारी संस्था र रेडक्रसमार्फत राहत वितरण भइरहेको छ, हाम्रोमा राहत पुगेन भन्ने गुनासो छैन,’ उनले भने।
पालिकाको रोहबरमा राहत वितरण भइरहेको उनले बताए । उनका अनुसार खोलावारिपारिका बस्ती जोड्ने पुल नभत्किएकाले राहत पुर्याउन सहज भएको छ ।
यद्यपि, कतिपय प्रभावित आफन्तको घरमा बसेका छन् । कतिपय बाढीले भत्काएको घर आसपासमै बसिरहेका छन् । यसले राहत वितरणमा केही चुनौती थपेको उनले बताए ।
मानिसहरूलाई खोज्दै राहत दिनुपर्ने भएकाले केही चुनौती रहको उनको भनाइ छ । ‘तैपनि, हामी अहिले यहाँ राहत बाँड्दैछौँ भनेर माइकिङ गर्छौं,त्यहीअनुसार राहत वितरण भइरहेको छ,’ उनले भने । उनका अनुसार पालिकामा २०० भन्दा बढी घरधुरी बाढीबाट प्रभावित भएका छन् ।
तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीका अनुसार १० घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् । गाउँपालिकाले विस्थापित परिवारका लागि खाद्यान्न तथा ओढ्ने–ओछ्याउने सामग्री पठाइसकेको उनले बताए ।
अत्यावश्यक सामग्रीको अभाव हुन नदिन नेपाल प्रहरी र गाउँ प्रहरी परिचालन गरिएको छ । बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि पनि निगरानी बढाइएको उनले बताए ।
क्षतिग्रस्त क्षेत्रमा आवतजावत र सम्पर्क सहज बनाउन सरकारले तत्काल बेलीब्रिज निर्माण गर्नुपर्ने उनले बताए । उनका अनुसार पालिकाभित्रका तीनवटै पक्की पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीले खेतबारी र फाँटमा ठूलो क्षति पुर्याएको छ । खेतबारी बगरमा परिणत भएका छन् । खेतीबाली नष्ट भएको छ । केही स्थानीय मठमन्दिरमा समेत क्षति पुगेको उनले बताए ।
उनका अनुसार आसपासका बस्तीहरूसँगको सम्पर्क पनि टुटेको छ । मुख्य सडक बिग्रिएपछि वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको छ । काठमाडौं जान गल्छीको साँघुरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । विदुर जान डाँडैडाँडाको अप्ठ्यारो बाटो प्रयोग गर्नुपरेको उनले बताए ।
कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाका अनुसार पालिकाले विस्थापितका लागि बस्ने ठाउँको व्यवस्थापन गरेको छ । गाउँपालिकाको होल्डिङ सेन्टरमा करिब १५० जना बसिरहेका छन् ।
उनीहरूका लागि सामुदायिक क्याम्पसका हल प्रयोग गरिएको छ । खानाका लागि गाउँघरमै उपलब्ध भात र तरकारीको व्यवस्था गरिएको छ । आवश्यक खाद्यान्नको व्यवस्थापन पालिकाले गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा भने अहिले पनि विद्युत् सेवा सञ्चालनमा आएको छैन ।
त्यसैगरी, बेलकोटगढी नगरपालिकाका प्रवक्ता कृष्णबहादुर भुजेलका अनुसार रसुवामा आएको बाढीले नगरपालिकाका वडा नम्बर ५, ७, ८ र ९ बढी प्रभावित भएका छन् । ती क्षेत्र नदी किनारमा पर्छन् ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण आएको छैन । तर, भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । सरकारी कार्यालय, झोलुङ्गे पुल र पक्की पुलमा क्षति पुगेको उनले बताए ।
उनका अनुसार करिब ७० घरधुरीका घर क्षतिग्रस्त भएका छन् । विभिन्न वडाबाट पूर्ण विवरण आउन बाँकी छ । हालसम्म करिब २० देखि २५ जना बेपत्ता भएको जानकारी आएको उनले बताए ।
‘विस्थापित परिवारका लागि विद्यालय तथा अन्य सामुदायिक भवनमा बस्ने व्यवस्था गरिएको छ,’ उनले भने ।
पालिकाले प्रभावितलाई दाल, चामललगायत खाद्यान्न वितरण गरिरहेको उनको भनाइ छ ।
प्रभावित क्षेत्रमाा खानेपानीको समस्या समाधान गर्न पानी ल्याउने प्रयास भइरहेको प्रवक्ता भुजेलले बताए । त्यस्तै, अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको छ ।
प्रवक्ता भुजेलका अनुसार बाढी प्रभावित क्षेत्रमा बालबालिकाका लागि कपडा, महिलाका लागि आवश्यक सामग्री तथा अस्थायी बसोबासका लागि पाल र टेन्टको अभाव छ । आवश्यक राहत सामग्रीका लागि संघीय सरकार तथा विभिन्न संघ–संस्थासँग समन्वय भइरहेको प्रवक्ता भुजेलले बताए । तर, आवश्यक सामग्री अझै पूर्ण रूपमा पुग्न सकेको छैन ।
त्यस्तै, विदुर नगरपालिकाका सूचना अधिकारी सरला श्रेष्ठले पनि पहुँच पुग्ने क्षेत्रमा मात्रै राहत वितरण भइरहेको बताइन् । ‘बाटो नभएका ठाउँमा राहत पुर्याउन सकिरहेका छैनौं,’ उनले भनिन् ।
उनका अनुसार वडा नम्बर ७ र ९ मा राहत नपुगेको भन्दै गुनासो बढी छ । ती क्षेत्रमा राहत पुर्याउन समस्या भएकाले वितरण गर्न नसकिएको उनले बताइन् ।