बाढीले जलविद्युतमा ६ खर्ब बढीको क्षति भएको अनुमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणकाअनुसार जलविद्युत आयोजनाहरूमा पुगेको क्षतिको यकिन विवरण संकलन भइरहेको भए तापनि प्रारम्भिक रूपमा यो क्षति ६ खर्ब रुपैयाँभन्दा माथि हुन सक्ने देखिएको छ ।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार हाल प्राधिकरणको सम्पूर्ण ध्यान विभिन्न जलविद्युत आयोजनाहरूको टनेलभित्र अड्किएका कामदारहरुको उद्धारमा केन्द्रित छ । 

विशेष गरी त्रिशूली ३ए चिलिमेजस्ता मुख्य आयोजनाहरूको टनेलभित्र रहेकाहरुको उद्धारलाई प्राथमिकतामा राखेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले अहिले क्षतिको विवरण संकलन गर्नुभन्दा पनि मानव उद्धारलाई पहिलो प्राथमिकता दिएको बताएको छ । 

‘हाम्रो प्राथमिकता अहिले मानव जीवन बचाउने र उद्धार गर्ने हो, त्यसैले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ,’ श्रेष्ठले भने । उनका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा रहेका कर्मचारी र स्थानीयको उद्धार कार्य जारी रहेकाले ध्यान त्यतातिर बढी केन्द्रित भएको हो । 

प्रारम्भिक जानकारी अनुसार ६ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको हुन सक्ने प्राधिकरणले जनाएको छ ।‘प्रारम्भिक रूपमा ६ खर्बभन्दा माथि क्षति भएको सुनिएको छ,’ ‘तर यकिन डेटा निकाल्न प्राविधिक टोलीले पूर्ण रूपमा काम गर्न बाँकी छ,’ एक उच्च कर्मचारीले विकासन्युजसँग भने । 

प्राधिकरणले आफ्ना विभिन्न आयोजनाहरूको अवस्था र पछिल्लो घटनाक्रमको विस्तृत विवरण संकलन गरिरहेको र छिट्टै आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने जानकारी दिएको छ । हाल प्राधिकरणले आफ्ना कर्मचारीहरूलाई फिल्डमा परिचालन गरी स्थिति सामान्य बनाउन र विद्युत आपूर्ति सुचारु गर्न पहल गरिरहेको छ ।

यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति भएको बताएको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले बाढीले विभिन्न जलविद्युत आयोजनाहरूमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताए । 

वरिष्ठ उपाध्यक्ष भ्लोनका अनुसार हालसम्म १३ वटा जलविद्युत आयोजनाहरूमा प्रत्यक्ष र ठूलो क्षति पुगेको छ । अन्य केही आयोजनाहरूमा भने प्रसारण लाइन वा अन्य प्राविधिक कारणले राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद (डिस्कनेक्ट) मात्र भएको र तिनमा भौतिक क्षति नभएको उनले प्रष्ट पारे । 

६ वटा आयोजनाको टनेलमा मानिसहरू फसिरहेका छन् अहिलेको मुख्य प्राथमिकता उद्धार र राहत रहेको बताउँदै भ्लोनले ६ वटा जलविद्युत आयोजनाका सुरुङ (टनेल) भित्र मानिसहरू फसिरहेको र नेपाली सेनाले उनीहरूको उद्धारका लागि तीव्र गतिमा काम गरिरहेको जानकारी दिए । 

सुरुङमा मानिसहरू फसेका आयोजनाहरूमा चिलिमे, रसुवागढी, त्रिशूली ए, त्रिशूली थ्री बी, माथिल्लो त्रिशूली-१ र लाङटाङ रहेका छन् । अहिले हाम्रो मुख्य ध्यान सुरुङमा फसेका मानिसहरूलाई सुरक्षित बाहिर निकाल्नुमा छ । ‘सेनाले निरन्तर काम गरिरहेको छ र छिट्टै सुखद समाचार आउनेमा हामी आशावादी छौं,’ भ्लोनले भने । 

कहाँ कति क्षति ? क्षतिको यकिन विवरण प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेपछि मात्र आउने भए तापनि अनौपचारिक रूपमा जलविद्युत संरचनातर्फ ३० देखि ३५ अर्ब रुपैयाँको क्षति भएको बताइएको छ । 

भ्लोनका अनुसार आयोजनाका सुरुङहरूमा हिलो भरिएको छ भने बाँध क्षेत्र बाढीले बगाएको छ । यद्यपि, अधिकांश भूमिगत पावर हाउसहरू सुरक्षित रहेको उनले बताए । 

सबैभन्दा ठूलो क्षति प्रसारण लाइनमा पुगेको र यसले समग्र विद्युत आपूर्तिमा समेत असर पारेको छ । सरकारले अन्तर्राष्ट्रिय स्तरमा क्षतिपूर्तिको दाबी गर्ने तयारी गरिरहेको र प्राविधिक रूपमा स्थलगत पहुँच अझै सहज नभइसकेकाले आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न केही समय लाग्ने इप्पानले जनाएको छ । 

हाल सेना र उद्धार टोली मात्र प्रभावित क्षेत्रमा पुग्न सकेकाले इन्स्योरेन्स क्लेम र पुनर्निर्माणको काम उद्धार सकिएपछि मात्र अघि बढ्ने उपाध्यक्ष भ्लोनले जानकारी दिए । 

यसैगरी, जलविद्युत उद्यमीहरूले बाढी पीडितको राहत र उद्धारका लागि आर्थिक सहयोग जुटाएका छन् ।इप्पानका अध्यक्ष मोहन डाँगीले राहत कोषका लागि हालसम्म ११ करोड रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको जानकारी दिए । 

इप्पानले यसअघि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको भए तापनि संस्थाका सदस्य र पदाधिकारीहरूबाट स्वतःस्फूर्त रूपमा रकम थपिएपछि अहिले ११ करोड नाघेको डाँगीले बताए । 

यो रकम कुनै बाह्य स्रोतबाट नभई संस्थाका पदाधिकारी र सदस्य कम्पनीहरूबाट मात्रै संकलन गरिएको उनको भनाइ छ । ‘हामीले मेम्बरभन्दा बाहिरको पैसा लिएका छैनौं । कार्यसमितिका सदस्य र हाम्रा सदस्य कम्पनीहरूले मात्रै हालेको पैसा ११ करोडभन्दा बढी भएको छ,’ डाँगीले भने । 

संकलित रकम सोमबार वा मंगलबारसम्म मन्त्रीमार्फत सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । ऊर्जा मन्त्री अहिले बाढी प्रभावित क्षेत्र त्रिशुलीको निरीक्षणमा रहेकाले काठमाडौं फर्किए लगत्तै उक्त रकम हस्तान्तरण गरिने डाँगीले जानकारी दिए । 

जलविद्युत क्षेत्रमा भएको आर्थिक क्षतिको विवरण संकलनका बारेमा डाँगीले अहिले त्यसको समय नभएको बताए । ‘अहिलेसम्म हामी नोक्सानीको हिसाब गर्नतिर लागेका छैनौं । हाम्रो अहिलेको पहिलो र मुख्य प्राथमिकता भनेको मान्छे बचाउनु र सहयोग जुटाउनु हो,’ उनले भने । 

Share News