देशभर ६ सय शव राख्ने क्षमता, विपदमा चिस्यान केन्द्र नै अपुग

शवगृह भरिएपछि रेफ्रिजेरेटेड कन्टेनरलाई मोबाइल शवगृह बनाउने तयारी

काठमाडौं । बाढी, पहिरो, भूकम्प वा अन्य ठूला विपदमा एकैपटक ठूलो संख्यामा मानवीय क्षति भए शव व्यवस्थापनका लागि देशभर रहेका चिस्यान केन्द्रको क्षमता पर्याप्त नहुने देखिएको छ । 

अस्पतालका शवगृहले धान्न नसक्ने अवस्था आएपछि सरकारले मालवाहक कन्टेनरलाई वैकल्पिक शव भण्डारणस्थलका रूपमा प्रयोग गर्ने तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका अस्पतालमा करिब ६ सय शव राख्न सकिने चिस्यान केन्द्र छन् । 

तर, उक्त क्षमता कागजमा देखिएजस्तो विपद्का बेला पूर्णरूपमा उपलब्ध हुँदैन । कतिपय शवगृहमा नियमित रूपमा शव रहने तथा कतिपय अस्पतालमा सीमित क्षमता मात्र भएकाले ठूलो विपदमा तत्काल प्रयोग गर्न सकिने बफर क्षमता निकै कम हुने डा. अधिकारीको भनाइ छ ।

‘देशभर करिब ६ सय शव राख्न सकिने क्षमता छ । तर, ती सबै क्षमता एकैपटक उपलब्ध हुँदैनन्’, प्रवक्ता अधिकारीले भने ।

उनका अनुसार काठमाडौं उपत्यकाका अस्पतालमा मात्रै करिब ३०० शव राख्न सकिने क्षमता छ । तर ती क्षमता विभिन्न अस्पतालमा छरिएर रहेका छन् । 

त्यसमाथि अस्पतालका शवगृहमा नियमित रूपमा शव रहने भएकाले विपद्को समयमा नयाँ शव राख्न सक्ने वास्तविक क्षमता थप घट्न सक्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा करिब १५० शव राख्न सकिने क्षमता रहेको मन्त्रालयको विवरण छ । त्यस्तै, पाटन अस्पतालमा २४ शव राख्न सकिन्छ ।

‘ठूलो विपद्का बेला केही घण्टामै दर्जनौं वा सयौं शव थपिन सक्ने अवस्थामा भने यस्ता संरचनाले धान्न नसक्ने जोखिम देखिएकोले अहिले विकल्पमा छलफल भइरहेको छ,’ डा. अधिकारीले भने ।

शवगृह भरिएपछि कन्टेनर विकल्प

अस्पतालका शवगृहले नधान्ने अवस्था आए वैकल्पिक व्यवस्थाका रूपमा मालवाहक कन्टेनर प्रयोग गर्नेबारे छलफल भइरहेको छ ।

‘अहिले शव व्यवस्थापनकै विषयमा छलफल भइरहेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘शव राख्न कन्टेनरहरू सबैभन्दा भरपर्दो साधन हुन सक्ने भएकाले अहिले कन्टेनर एक्सप्लोर गर्ने काम भइरहेको छ ।’

तर, सामान्य मालवाहक कन्टेनरलाई शवगृहका रूपमा प्रयोग गर्न भने पर्याप्त नहुने विज्ञहरूको बुझाइ छ । शव सुरक्षित राख्न आवश्यक तापक्रम कायम गर्न सक्ने रेफ्रिजेरेटेड कन्टेनर, निरन्तर विद्युत आपूर्ति वा वैकल्पिक ऊर्जा, सुरक्षा व्यवस्था, शवको पहिचान तथा अभिलेख प्रणाली र आफन्तलाई हस्तान्तरण गर्ने स्पष्ट कार्यविधि आवश्यक हुने भएकोले छलफल चलिरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

त्यसैले सरकारले कन्टेनर प्रयोग गर्दा त्यसलाई सामान्य भण्डारणस्थलका रूपमा नभई आवश्यक पूर्वाधारसहितको अस्थायी वा मोबाइल शवगृह प्रणालीका रूपमा विकास गर्नेवारेमा छलफल भइरहेको ती अधिकारीले बताए ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत ठूलो संख्यामा मृत्यु हुँदा शव व्यवस्थापन चुनौती बनेकोले व्यवस्थापनका विविध विषयमा छलफल भइरहेको बताउँछिन् । 

पछिल्ला विपद्का घटनामा पनि स्वास्थ्य संस्थाको क्षमताभन्दा बढी शव आएपछि व्यवस्थापनमा कठिनाइ देखिएको उनको भनाइ छ । चितवनमा हालै शवको संख्या बढेपछि त्यहाँका स्वास्थ्य संस्थाले प्रहरीलाई आफूहरूसँग अधिकतम ५० शवसम्म राख्न सक्ने क्षमता रहेको जानकारी दिएका थिए । 

यसले विपद्का बेला स्थानीय तहमा उपलब्ध शवगृहको वास्तविक क्षमता कति सीमित छ भन्ने देखाएकोले विकल्पमा छलफल आवस्यक भएको उनले बताइन् ।

सरकारले अघि सारेको कन्टेनर प्रयोगको योजना तत्कालका लागि व्यावहारिक विकल्प हुन सक्छ । तर यसलाई अस्पतालका स्थायी शवगृहको विकल्पका रूपमा नभई ठूला विपद्का लागि पूर्वतयारी अवस्थामा राखिने आपत्कालीन बफर प्रणालीका रूपमा विकास गर्नुपर्ने देखिन्छ ।

विपद् व्यवस्थापनको तयारी घाइतेको उपचार र जीवितको उद्धारमा मात्र सीमित नराखी मृतकको सम्मानजनक, सुरक्षित र व्यवस्थित व्यवस्थापनसम्म विस्तार गर्नुपर्ने आवश्यकता पछिल््ला घटनाले देखाएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 

आपत विपतको अवस्थामा अल्पकालकालागी सरकारले कनटेनर माग्दा व्यवसायीले सहयोग गर्ने सिटौलाको भनाइ छ । 
 

Share News