काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा १९.५५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँको तुलनामा ६ अर्ब ६८ करोड रुपैयाँ कम हो ।
गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका २७ मध्ये ११ वटा स्टोरमा गम्भीर क्षति पुगेको थियो । बिक्री केन्द्रका पूर्वाधार तथा मौज्दातमा ठूलो क्षति भएपछि केही समय सञ्चालन अवरुद्ध हुँदा कम्पनीको आम्दानीमा प्रत्यक्ष असर परेको हो ।
आन्दोलनका क्रममा क्षतिग्रस्त ११ बिक्री स्टोरमध्ये ६ वटा पुनः सञ्चालनमा आइसकेका छन् । पुनः सञ्चालनमा आएका बिक्री केन्द्रको मासिक आम्दानी घटनाअघिको अवस्थासँग धेरै हदसम्म समान रहेको जनाएको छ । बाँकी बिक्री केन्द्रहरू पनि सन् २०२६ भित्र क्रमशः सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।
आन्दोलनका क्रममा भाटभटेनीले करिब ९ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको अनुमान छ । यसमध्ये करिब ६ अर्ब रुपैयाँको मौज्दात र ३ अर्ब रुपैयाँको भवन तथा अन्य सम्पत्तिमा क्षति भएको थियो । बीमा रकम प्राप्त हुने तथा ऋणको भुक्तानी तालिका पुनर्संरचना गरिएकाले उक्त घटनाको प्रभाव कम्पनीको दीर्घकालीन वित्तीय अवस्थामा ठूलो नपर्ने जनाएको छ ।
विशेषगरी मौज्दातमा भएको क्षतिको ठूलो हिस्सा बीमा रकमबाट पूर्ति हुने अपेक्षा गरिएको छ । बीमाबाट नसमेटिएको बाँकी क्षति कम्पनीले आफ्नै वित्तीय स्रोतबाट व्यवस्थापन गर्न सक्ने र त्यसबाट दीर्घकालीन वित्तीय सूचकमा उल्लेख्य गिरावट नआउने कम्पनीको विश्वास छ ।
यद्यपि, क्षतिग्रस्त बिक्री केन्द्र बन्द हुँदा व्यवसायमा आएको अवरोध र पुनर्निर्माणका लागि आवश्यक थप रकमका कारण कम्पनीको निकट अवधिको तरलतामा दबाब परेको छ । जुलाई २०२६ सम्म मौज्दात क्षतितर्फ दाबी गरिएको रकमको करिब ३८ प्रतिशत र सम्पत्ति क्षतितर्फ करिब ६ प्रतिशत रकम मात्र अग्रिमका रूपमा प्राप्त भएको छ । ठूलो हिस्सा बीमा दाबी अझै प्राप्त हुन बाँकी छ ।
पुनर्निर्माण तथा पुनःस्थापनाका लागि कम्पनीले सम्पत्ति क्षतिबापत प्राप्त हुने बीमा रकमलाई आधार बनाएर ऋण लिएको छ । साथै, अल्पकालीन ऋणको प्रयोग पनि बढाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब १४ करोड ४९ लाख रुपैयाँ दीर्घकालीन र ८ अर्ब १० करोड १७ लाख रुपैयाँ अल्पकालीन गरी १७ अर्ब २४ करोड ६६ लाख रुपैयाँ ऋण लिएको छ ।
आगामी दिनमा अपेक्षित बीमा रकम समयमै प्राप्त गर्न सक्ने कम्पनीको क्षमता वित्तीय तथा तरलता अवस्थामा सुधार ल्याउन महत्वपूर्ण हुने भएकाले यो विषय कम्पनीको ऋण मूल्यांकनका लागि मुख्य निगरानीयोग्य पक्ष रहनेछ । इक्रा नेपालले बीमा दाबीबाट प्राप्त हुने रकम करिब एक वर्षभित्र टुंगो लाग्ने अपेक्षा गरेको छ । तर, बीमा रकम प्राप्त हुने अनुमान वा बीमाबाट नसमेटिने क्षतिको परिमाणमा ठूलो फरक परेमा त्यसले कम्पनीको ऋण मूल्यांकनमा असर पार्न सक्नेछ ।
भाटभटेनीको सञ्चालन आम्दानी पछिल्ला वर्षमा समग्रमा बढ्दो क्रममा रहे पनि गत वर्ष आन्दोलनको प्रभावले उल्लेख्य गिरावट आएको हो । कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ११ अर्ब ७७ करोड ९० लाख रुपैयाँ, आव २०७३/७४ मा १५ अर्ब २७ करोड ८० लाख, आव २०७४/७५ मा १७ अर्ब ९९ करोड ६० लाख, आव २०७५/७६ मा १९ अर्ब ३६ करोड २० लाख र आव २०७६/७७ मा १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ९३ करोड, आव २०७८/७९ मा २६ अर्ब ८८ करोड ६० लाख, आव २०७९/८० मा २९ अर्ब ७९ करोड ४० लाख, आव २०८०/८१ मा ३० अर्ब ६२ करोड र आव २०८१/८२ मा ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
सन् १९९२ मा निजी कम्पनीका रूपमा स्थापना भएको भाटभटेनीले सन् १९८४ मा काठमाडौंको नक्सालस्थित भाटभटेनीमा सानो खुद्रा पसलबाट व्यवसाय सुरु गरेको थियो । त्यसपछि कम्पनीले काठमाडौं उपत्यकासहित नेपालका प्रमुख शहरहरूमा सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोर विस्तार गर्दै आएको छ । कम्पनी पारिवारिक स्वामित्वमा रहेको छ । कम्पनीमा मिनबहादुर गुरुङको करिब ६० प्रतिशत र उनकी श्रीमती सावित्री घले गुरुङको करिब ४० प्रतिशत स्वामित्व रहेको छ ।
लामो समयदेखिको व्यावसायिक अनुभव र देशका प्रमुख शहरी क्षेत्रमा रहेको बलियो उपस्थितिका कारण भाटभटेनी नेपालको संगठित खुद्रा व्यापार क्षेत्रमा स्थापित नामका रूपमा रहेको छ । कम्पनीका बिक्री केन्द्रमा खाद्यान्न, घरायसी सामग्री, विद्युतीय उपकरण, कपडा तथा दैनिक उपभोग्य वस्तुलगायत विभिन्न सामग्री बिक्री हुँदै आएका छन् ।
तर, कम्पनीले बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ । विशेषगरी किराना तथा दैनिक उपभोग्य वस्तुको क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेका साना खुद्रा पसल तथा मिनिमार्टबाट प्रतिस्पर्धा बढेको छ । किराना क्षेत्रबाट मात्रै कम्पनीको कुल आम्दानीको करिब ५० प्रतिशत हिस्सा आउने गरेको जनाएको छ ।
मिनिमार्टहरूले नयाँ बिक्री केन्द्र थप्दै लगेका छन् भने असंगठित खुद्रा क्षेत्रका व्यवसाय तथा स्थानीय पसल पनि प्रतिस्पर्धामा छन् । यससँगै अनलाइनमार्फत वस्तु खरिद गर्ने प्रवृत्ति बढ्दै जानुले दीर्घकालमा कम्पनीको व्यवसायमा थप चुनौती सिर्जना गर्न सक्ने कम्पनीको भनाइ छ ।
प्रमुख शहरी बजारमा भने भाटभटेनीको बलियो उपस्थिति छ । गत वर्ष काठमाडौं, पोखरा र चितवनबाट मात्रै कम्पनीको कुल आम्दानीको करिब ७० प्रतिशत हिस्सा आएको थियो । यद्यपि, अर्धशहरी तथा नयाँ विकसित भइरहेका महानगरीय र उपमहानगरीय क्षेत्रमा प्रमुख शहरी बजारमा हासिल गरेको सफलता दोहोर्याउन सक्ने कम्पनीको क्षमता अझै परीक्षणकै क्रममा रहेको छ ।
बढ्दो शहरीकरण, स्थानीय अर्थतन्त्रको विस्तार तथा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणका कारण यी क्षेत्रमा उपभोग खर्च बढ्दै जानुले भने कम्पनीका लागि केही हदसम्म सकारात्मक वातावरण सिर्जना गरेको छ । उपभोक्ताको खर्च गर्ने क्षमता र आधुनिक खुद्रा व्यापारप्रतिको आकर्षण बढ्दै गएमा भाटभटेनीका लागि आगामी दिनमा बजार विस्तारको थप अवसर सिर्जना हुन सक्ने देखिन्छ ।