नेटा-केवाईसी बन्द भएपछि सीजी मोटर्सको आम्दानी ८.८९ अर्बमा झर्यो, ऋण ६.४० अर्ब

काठमाडौं । सीजी मोटर्स प्राइभेट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ८ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको वार्षिकीकरण गरिएको आम्दानी भने करिब २१ प्रतिशतले घटेको छ ।

कम्पनीका दुई प्रमुख बिक्री हुने ब्रान्ड नेटा भी र केवाईसीको कारोबार बन्द भएपछि आम्दानीमा गिरावट आएको हो । नेटा भीको कारोबार सन् २०२५ को मेदेखि र केवाईसीको कारोबार सन् २०२६ को जनवरीदेखि बन्द भएको थियो ।

यी दुई ब्रान्डले आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आम्दानीमा करिब ६८ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा २७ प्रतिशत हिस्सा ओगटेका थिए ।

प्रमुख ब्रान्डको कारोबार बन्द भएपछि कम्पनीको आम्दानीमा दुईपांग्रे सवारीसाधनको हिस्सा बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा कुल आम्दानीको करिब ३२ प्रतिशत रहेको दुईपांग्रे सवारीसाधनको हिस्सा गत वर्षको ९ महिनामा बढेर करिब ५७ प्रतिशत पुगेको छ ।

चारपांग्रे सवारीसाधनको तुलनामा दुईपांग्रे सवारीसाधनमा नाफा दर तुलनात्मक रूपमा कम हुने भएकाले यसको हिस्सा बढ्दा कम्पनीको समग्र नाफा दरमा दबाब परेको छ । त्यसमाथि बजारमा बढ्दो प्रतिस्पर्धाका कारण बिक्री तथा वितरण खर्चसमेत वृद्धि भएको छ ।

यसको प्रभाव कम्पनीको सञ्चालन नाफा दरमा देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा १५.१ प्रतिशत रहेको सञ्चालन नाफा दर गत वर्षको ९ महिनामा घटेर ६.८ प्रतिशतमा सीमित भएको छ ।

सीजी मोटर्सले आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ९९ करोड ८० लाख र आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २००९ को सेप्टेम्बरमा स्थापना भएको सीजी मोटर्सले सन् २०२२ को जुलाईदेखि अटोमोबाइल व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीले चोङछिङ चाङ आन क्वाये अटोमोबाइल्सद्वारा उत्पादित केवाईसी यात्रुवाहक सवारीसाधनको वितरण सम्झौतामार्फत अटोमोबाइल बिक्री तथा वितरण व्यवसाय सुरु गरेको थियो । उक्त ब्रान्डको वितरण सन् २०२६ को जनवरीदेखि बन्द गरिएको हो ।

हाल कम्पनी नेपालमा व्यावसायिक सवारीसाधन, यात्रुवाहक सवारीसाधन तथा दुईपांग्रे सवारीसाधनका विभिन्न ब्रान्डको आधिकारिक वितरकका रूपमा कार्यरत छ । कम्पनीले किङ लङ, सीएचटीसी तथा हिरोका दुईपांग्रे सवारीसाधनलगायत ब्रान्डको बिक्री तथा वितरण गर्दै आएको छ ।

चौधरी ग्रुपअन्तर्गत रहेको सीजी मोटर्सले नेपालभर ७५ वटा आधिकारिक बिक्रेता, आफ्नै स्वामित्वका १० वटा शोरुम तथा २१ वटा सेवा केन्द्रमार्फत व्यवसाय सञ्चालन गरिरहेको छ ।

कम्पनीसँग सम्बन्धित सीजी फ्युचर फ्याक्ट्री प्राइभेट लिमिटेडले पनि सन् २०२४ को अप्रिलदेखि नेपालमा हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको स्थानीय उत्पादन तथा जडान गर्दै आएको छ ।

नेपालको अटोमोबाइल बिक्रेता व्यवसायमा स्थापित तथा नयाँ ब्रान्डबीच तीव्र प्रतिस्पर्धा रहेको कम्पनीले जनाएको छ । विशेषगरी चिनियाँ ब्रान्डको बाहुल्य रहेको विद्युतीय सवारीसाधनको क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको छ ।

दुईपांग्रे सवारीसाधनको बजारमा पनि सीजी मोटर्सले बजाज, होन्डा, यामाहा तथा टीभीएसजस्ता स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपरेको छ । पछिल्लो समय विद्युतीय मोटरसाइकल तथा स्कुटरको लोकप्रियता बढ्दै जाँदा बजारमा प्रतिस्पर्धात्मक दबाब थपिएको छ ।

नेपालको विद्युतीय सवारीसाधन बजारले परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको तुलनामा तुलनात्मक रूपमा कम कर लाग्ने सरकारी नीतिबाट लाभ पाउँदै आएको छ । यद्यपि, पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनमा दिइँदै आएको करसम्बन्धी सुविधा क्रमशः घट्दै गएको छ ।

सीजी मोटर्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४० करोड रुपैयाँ ऋण लिएको छ । आम्दानीमा आएको गिरावट, नाफा दरमा परेको दबाब तथा उच्च ऋण भारका कारण कम्पनीको वित्तीय अवस्थामाथि समेत दबाब रहेको देखिन्छ ।

Share News