नाडा अटो शोको पहिलो दिनमै ईभीमा झुम्मिए अवलोकनकर्ता

काठमाडौं । भृकुटीमण्डप यतिबेला सवारीसाधनका पारखीहरूको महाकुम्भ  बनेको छ  । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को ५० वर्षे लिगेसी र १८ औं संस्करणको यो उत्सवले काठमाडौंको माहोललाई थप चलायमान बनाएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले संयुक्त रूपमा उद्घाटन गरेसँगै सुरु भएको यो मेलामा नयाँ प्रविधि, ईभी गाडीप्रतिको मोह र सुरक्षा सचेतनाको एउटै थलो बन्न पुगेको छ ।  यसपटकको अटो शोमा पनि सबैकाे राेजाइ विद्युतीय सवारीसाधन (ईभी) तर्फ नै मोडिएको छ । मेला अवलोकन गर्न उदयपुरबाट आएका व्यवसायी प्रदीप थापा भन्छन्, ‘जता हेर्यो त्यतै ईभीको चहलपहल छ । अबको १०/१५ वर्षमा सडकमा पर्यावरणमैत्री गाडी छाउने निश्चित देखिन्छ ।’ उनी जस्तै धेरै अवलोकनकर्ताहरू गाडीको लुक र ईभीले दिने सुविधा बुझ्न व्यस्त देखिन्छन् ।  कतिपय भने मेलाको पहिलो दिनमै गाडी बुक गर्ने मनसायका साथ आइपुगेका छन् । त्रिपुरेश्वरका विक्रम अछामी टाटाको पन्च ईभी बुक गर्ने योजनाका साथ मेलामा भौंतारिइरहेका भेटिए । ‘एकै ठाउँमा धेरै ब्रान्डका गाडी र तिनको स्पेसिफिकेसन तुलना गर्न पाइने हुनाले अटो शो निकै सजिलो माध्यम हो,’ उनले भने । यद्यपि, उनले अघिल्ला वर्षहरूका मेलाको तुलनामा यसपालि रोबोटिक्स र नयाँ प्रविधिको प्रदर्शनी केही कम भएको महसुस पनि सुनाए । सवारी मात्र होइन, सुरक्षा पनि मेलाको अर्को आकर्षण हो, ट्राफिक प्रहरीको स्टल । गाडी किन्ने मात्र होइन, गाडी चलाउँदा अपनाउनुपर्ने सुरक्षाबारे पनि सचेतना फैलाउन ट्राफिक प्रहरी सक्रिय देखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार नेपालमा हुने ७० देखि ८० प्रतिशत दुर्घटना दुई पाङ्ग्रे सवारी साधनका कारण हुने गरेका छन् । ‘हामी यहाँ सवारीका पारखीहरूलाई ट्राफिक नियम पालना गर्न सिकाउँदैछौं । करोडौंका गाडी किने पनि एक सेकेन्डको लापरवाहीले अमूल्य जीवन र सम्पत्ति दुवै नष्ट हुन्छ,’ मल्लले भने ।  विशेषगरी युवाहरूले गर्ने तीव्र गति र लेन अनुशासनको कमी नै दुर्घटनाको मुख्य कारण रहेको उनको अनुभव छ । मेलामा दुर्घटनाका भिडियो दृश्य र ट्राफिक प्रहरीले प्रयोग गर्ने उपकरणहरूको प्रदर्शनीले अवलोकनकर्तालाई सडक सुरक्षाप्रति जिम्मेवार बन्न प्रेरित गरिरहेको छ । भृकुटीमण्डप छिर्नका लागि टिकट काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झटलाई डिजिटल प्रविधिले कम गरिदिएको छ । खल्ती एपमार्फत सहजै टिकट काट्न सकिने व्यवस्था गरिएको छ । सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको यो मेलामा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था छ । नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार यसपटक २०० भन्दा बढी स्टलहरू रहेका छन् । भृकुटीमण्डप आसपासको पार्किङ समस्यालाई मध्यनजर गर्दै नाडाले सटल बसको निःशुल्क व्यवस्था समेत गरेको छ ।  नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती । ‘हामीले सुन्धारा, आरएनसी र पुरानो बसपार्कमा पार्किङ गरेर अवलोकनकर्तालाई मेला स्थलसम्म ल्याउन सटल बस चलाएका छौं, जसले ट्राफिक व्यवस्थापनमा ठुलो सहयोग पुगेको छ,’ उप्रेतीले भने । प्रदर्शनीको पहिलो दिनमै अवलोकनकर्ता र ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको नाडा अटो शोका सभापति अनुप बरालले जानकारी दिए । मानिसहरूको भीडले आयोजक टोलीलाई निकै उत्साहित बनाएको उनको भनाइ छ । उनले भने, ‘सुरुवात एकदमै राम्रो भएको छ । मर्निङ शोज द डे भने झैं उद्घाटन सत्रसँगै बढेको यो उत्साहले आगामी दिनहरू अझै सफल हुने संकेत गरेको छ ।’ अनुप बराल । उनका अनुसार प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, छ पाङ्ग्रे र आठ पाङ्ग्रे सवारी साधनहरूका साथै पछिल्लो समय लोकप्रियता कमाइरहेका ईभी र परम्परागत आईसीई इन्जिन भएका सवारीहरू समेत राखिएका छन् । सवारी साधनका अतिरिक्त अटोमोबाइल कम्पोनेन्ट र सफ्टवेयरहरूको समेत प्रदर्शनी भइरहेको छ । छोटो समयको तयारीका बावजुद व्यवस्थापन पक्षलाई चुस्त बनाउन टोली अहोरात्र खटिएको र अवलोकनकर्ताहरूले फरक तथा स्तरीय अनुभव पाउने सभापति बरालले दाबी गरे । आयोजक टोली आगामी दिनमा अझ बढी अवलोकनकर्ता आउनेमा विश्वस्त रहेको उनले बताए । सभापति बरालले सम्पूर्ण अटो प्रेमी तथा सर्वसाधारणलाई भृकुटीमण्डप पुगेर अटो शोको अवलोकन गरिदिन समेत आग्रह गरे ।  अटो शोमा ५ दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म  दर्शनीमा राखिएका छन् । हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायत विश्वस्तरीय ब्रान्डका साथै रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दर्जनौँ ब्रान्डका विभिन्न उत्पादन प्रदर्शनीमा छन् । त्यस्तै, नेपालको उत्पादन ‘यात्री पी-२’ समेत प्रदर्शनमा राखिएको छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजका कम्पनीहरूको समेत सहभागिता छ ।

फेरि चम्कियो बिटक्वाइन, ३ दिनमै २० प्रतिशत बढीले उछाल

काठमाडौं । बिटक्वाइन मंगलबार (आज) ८० हजार डलरको स्तर पार गरेको छ ।  बिटक्वाइनमा आधारित स्पट एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) मा पुनः लगानी बढ्नु र लगानीकर्ताको जोखिम लिन सक्ने क्षमता बढेसँगै क्रिप्टोकरेन्सी बजारमा जारी उछाल थप बलियो बनेको हो । बिटक्वाइनको मूल्य पछिल्लो पटक २ प्रतिशतभन्दा बढीले बढेर ८० हजार ५०१ डलर पुगेको थियो । गत सातादेखि सुरु भएको तीव्र वृद्धि अझै जारी छ । तीन दिनमै बिटक्वाइनको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ, जुन सन् २०२३ यताकै सबैभन्दा ठूलो तीनदिने वृद्धि हो ।  मूल्य बढेसँगै क्रिप्टो बजारमा ‘सर्ट स्क्विज’ हुँदा ४ अर्ब डलरभन्दा बढीको मन्दीको पक्षमा राखिएका कारोबार बन्द भएका थिए । अमेरिकी ट्रेजरीले लामो अवधिका सरकारी ऋणपत्रको खरिद दोब्बर बनाउने घोषणा गरेपछि पनि बजारमा सकारात्मक प्रभाव परेको थियो ।  त्यस घोषणाले केही समयका लागि ऋणपत्रको प्रतिफल घटाएको र जोखिमयुक्त सम्पत्तिप्रति लगानीकर्ताको माग बढाएको थियो ।  मुद्रास्फीति र सरकारी ऋणप्रतिको बढ्दो चिन्ताले सीमित आपूर्ति भएका सम्पत्तिप्रति पनि आकर्षण बढाएको छ । संस्थागत लगानीकर्ताको मागसमेत पुनः बढेको छ । अमेरिकामा स्पट बिटक्वाइन ईटीएफमा गत साता १ अर्ब ९२ करोड डलरको खुद लगानी भित्रिएको थियो ।  यो गत अक्टोबरपछि एक सातामा आएको सबैभन्दा ठूलो लगानी हो । अक्टोबरमै बिटक्वाइनले अघिल्लो चक्रको उच्चतम मूल्य छोएको थियो । यद्यपि, बिटक्वाइनको यो उछाल लामो समयसम्म टिक्छ कि टिक्दैन भन्ने प्रश्न भने कायमै छ ।  अक्टोबरदेखि बिटक्वाइन लामो समयदेखि कमजोर अवस्थामा थियो ।  बीटीआईजीका अनुसार सन् २०२३ को जनवरीमा पनि यस्तै तीव्र वृद्धि भएको थियो, तर त्यसबेला प्रारम्भिक उछाल केही समयमै कमजोर बनेको थियो । त्यसपछि बिटक्वाइनले आफ्नो २००(दिने औसत मूल्य आसपासमा समर्थन पाएको थियो । फन्डस्ट्राटले सोमबार जारी गरेको विश्लेषणमा गत साताको ‘सर्ट स्क्विज’पछि भएको खरिदले बिटक्वाइनको पछिल्लो वृद्धि केवल अस्थायी उछाल नभई ‘दीर्घकालीन रूपमा टिक्न सक्ने’ संकेत गरेको जनाएको छ ।  संस्थाले बिटक्वाइन र इथर ईटीएफमा भएको बलियो लगानी, कारोबारमा भएको वृद्धि तथा लगानीकर्ताले क्रिप्टोकरेन्सी खरिद गर्न प्रयोग गर्ने ‘स्टेबलक्वाइन’को उत्पादन बढेको विषयलाई यसको आधार मानेको छ । इथरको मूल्य पनि १.१७ प्रतिशतले बढेर २ हजार ४९८ डलर पुगेको छ । त्यस्तै, एक्सआरपी २.६ प्रतिशतले बढेर १.५२ डलर पुगेको छ ।  कोइनगेकोका अनुसार एक्सआरपीको मूल्य पछिल्लो सात दिनमा करिब ५० प्रतिशतले बढिसकेको छ । विकल्प कारोबार बजारको गतिविधिले पनि लगानीकर्ताहरू बिटक्वाइनको पछिल्लो उछाल टिक्नेमा थप विश्वस्त हुँदै गएको देखाएको फन्डस्ट्राटले जनाएको छ ।  यसअघिका सुधारका क्रममा लगानीकर्ताले मुख्यतः छोटो अवधिको मूल्य वृद्धिमा दाउ लगाउने गरेका थिए । तर अहिले उनीहरूले भविष्यमा बिटक्वाइनको मूल्य बढ्दा लाभ लिन सक्ने गरी लामो अवधिका कारोबारमा समेत लगानी गरिरहेका छन् । फन्डस्ट्राटले विश्वकै सबैभन्दा ठूलो कर्पोरेट बिटक्वाइन धारक ‘स्ट्राटेजी’ले पछिल्लो दुई सातादेखि नयाँ बिटक्वाइन खरिद नगरेको अवस्थामा समेत मूल्य बढेको उल्लेख गरेको छ ।  यदि ईटीएफमा बलियो माग कायमै रहँदा स्ट्राटेजीले पुनः बिटक्वाइन खरिद गर्न थाल्यो भने त्यसले मूल्यमा थप उछाल ल्याउन सक्ने अनुमान गरिएको छ ।

२ अर्बमा ३० मेगावाटको ढल्केबर-२ सौर्य आयोजना बन्दै, बैंकबाट डेढ अर्ब ऋण लिँदै

काठमाडौं । इन्टिग्रेटेड इनर्जी एण्ड इण्डस्ट्रियल इन्टरप्राइजेज प्रालिले धनुषामा ३० मेगावाट क्षमताको ढल्केबर-२ सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ । एशियन हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणको प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत आयोजना विकासका लागि इन्टिग्रेटेड इनर्जीलाई अघि सारेको हो । ढल्केबर ग्रिड उपकेन्द्रमा निर्माण हुने आयोजनाको विकास, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी इन्टिग्रेटेड इनर्जीको रहनेछ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड ६० लाख रुपैयाँ रहेको छ । यसअनुसार प्रतिमेगावाट लागत करिब ६ करोड ५१ लाख ९० हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ । आयोजनामा कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउने योजना छ । कुल स्वपुँजीमध्ये साउन मसान्तसम्म प्रवद्र्धकहरूले करिब १० प्रतिशत रकम लगानी गरिसकेका छन् । ऋणतर्फ भने कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ४० करोड रुपैयाँ जुटाउने प्रक्रिया अघि बढाएको छ । आयोजना हाल निर्माण तथा कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले निर्धारित समय र लागतभित्र निर्माण सम्पन्न गर्ने विषय मुख्य चुनौतीका रूपमा रहेको छ । आयोजनाका लागि आवश्यक जग्गा २७ वर्षका लागि भाडामा लिने सम्झौता भइसकेकाले जग्गा उपलब्धतासम्बन्धी जोखिम भने न्यूनीकरण भएको कम्पनीले जनाएको छ । निर्माण सम्पन्न भएपछि आयोजनालाई अपेक्षित क्षमतामा सञ्चालनमा ल्याई विद्युत् उत्पादन स्थिर बनाउन सक्ने क्षमता पनि महत्वपूर्ण रहनेछ । निर्माणमा ढिलाइ वा लागत वृद्धि भएमा आयोजनाको अनुमानित नगद प्रवाह तथा ऋण भुक्तानी क्षमतामा असर पर्न सक्ने जोखिम रहेको छ । आयोजनामा मोनो-क्रिस्टलाइन बाइ-फेसियल प्रविधिमा आधारित सौर्य प्यानल जडान गर्ने योजना छ । उक्त प्रविधिका प्यानलमा तुलनात्मक रूपमा कम क्षयीकरण हुने तथा ऊर्जा उत्पादन क्षमता बढी हुने अपेक्षा गरिएको छ । यसले आयोजनालाई अपेक्षित विद्युत् उत्पादन क्षमता हासिल गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । यद्यपि, सौर्य प्यानलको क्षयीकरण तथा प्रविधिसँग सम्बन्धित जोखिमका कारण आयोजनाले अपेक्षित क्षमतामा विद्युत् उत्पादन गर्न नसक्ने सम्भावना पनि रहन्छ । मौसम तथा जलवायु परिस्थितिमा हुने परिवर्तनले विद्युत् उत्पादन प्रभावित भएमा कम्पनीको आम्दानी, नगद प्रवाह तथा ऋण भुक्तानी क्षमतामा समेत असर पर्न सक्ने जनाएको छ । कम्पनीमा तीन सदस्यीय सञ्चालक समिति रहेको छ । समितिको अध्यक्षता भानुभक्त पोखरेलले गर्दै आएका छन् । पोखरेल नेपालका विभिन्न जलविद्युत् कम्पनीमा प्रबन्ध निर्देशकका रूपमा समेत कार्यरत छन् ।  आयोजनाबाट उत्पादित विद्युत् करिब १.५ किलोमिटर लामो ३३ केभी दोहोरो प्रसारण लाइनमार्फत सञ्चालनमा रहेको १३२÷३३ केभी ढल्केबर सबस्टेसनमा जोडिनेछ । यसका लागि कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग २०८२ साल मंसिर २६ गते विद्युत् खरिद सम्झौता गरिसकेको छ । विद्युत् खरिद सम्झौता ‘टेक एण्ड पे’ आधारमा गरिएको छ । सम्झौता आयोजना सञ्चालनमा आएको मितिदेखि २५ वर्षसम्म वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधि समाप्त नभएसम्म कायम रहनेछ । सौर्य आयोजनाका लागि प्रतिकिलोवाट घण्टा ५ रुपैयाँ ३९ पैसा विद्युत् खरिद दर निर्धारण गरिएको छ । सरकारले विद्युत् उत्पादनलाई प्राथमिकताप्राप्त क्षेत्रका रूपमा अघि बढाउँदै आएको छ । विद्युत् उत्पादनमा निजी क्षेत्रको सहभागिता बढाउन विभिन्न नीतिगत तथा प्रोत्साहनात्मक व्यवस्था गरिएको छ । सौर्य ऊर्जा आयोजनालाई प्रोत्साहन गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत विभिन्न छुट तथा सुविधा उपलब्ध गराइँदै आएको छ । त्यस्तै, २०८५ साल वैशाख मध्यसम्म विद्युत् उत्पादन, प्रसारण तथा वितरणको व्यावसायिक सञ्चालन सुरु गर्ने संस्थाहरूलाई सुरुका १० वर्ष पूर्ण आयकर छुट र त्यसपछिका पाँच वर्ष ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो कुल कर्जा लगानीको निश्चित हिस्सा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारी प्राथमिकता, कर छुट तथा बैंक तथा वित्तीय संस्थाबाट ऊर्जा क्षेत्रमा हुने कर्जा प्रवाहले नवीकरणीय ऊर्जा क्षेत्रको विस्तारका लागि अनुकूल आधार तयार गरेको छ ।