०४९ मा विन्देश्वरीलाई रोकियो, अहिले काविल अधिकारीहरूलाई रोक्न खोजिँदै
काठमाडौं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहले परराष्ट्र सचिव बन्ने सम्भावना बोकेर पनि त्यो अवसर पाइनन् । परराष्ट्र सेवाको उच्च तहमा पुगेकी शाह ३० वर्षे सेवा अवधिका कारण सचिव बन्न नपाउँदै अवकाशमा गएकी थिइन् । अहिले संघीय निजामती सेवा ऐनको मस्यौदामा ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेपछि अवकाश हुने व्यवस्था प्रस्तावित छ । यसको अन्तिम स्वरूप भने अझै टुंगिएको छैन र अन्तरमन्त्रालयगत तथा कानुनी छलफल जारी छ । यस प्रस्तावले तीन दशकअघिको शाहको प्रसंगलाई फेरि सान्दर्भिक बनाएको अनुभूति गर्छन् पूर्वसचिव युवराज भुसाल । भुसाल प्रस्तावित विधेयकले त्यतिबेला सेवा अवधिका कारण सचिव बन्न नपाएकी शाहजस्तै अहिलेका अनुभवी र सक्षम अधिकारी पनि सचिव बन्ने अवसरबाट वञ्चित हुने अवस्था आउन सक्ने आशंका व्यक्त गर्दछन् । शाह नेपालको कूटनीतिक सेवामा अग्रणी महिला अधिकारी हुन् । उनी २०४४ सालमा भारतका लागि नेपाली राजदूत नियुक्त भएर नेपालको पहिलो महिला राजदूत बन्न सफल भएकी थिइन् । बंगलादेशमा पहिलो नेपाली कार्यवाहक राजदूतसमेत बनेकी थिइन् उनी । शाह परराष्ट्र मन्त्रालयको पहिलो महिला सहसचिव पनि भइन् । भारतबाट फर्किएपछि उनी अतिरिक्त सचिवसमेत बनेकी थिइन् । अतिरिक्त सचिवसम्म पुगिसकेकी शाहका लागि परराष्ट्र सचिव बन्ने सम्भावना रहेपनि ३० वर्षे सेवा अवधि र ५८ वर्ष उमेर हदले उनको बाटो रोकिदिएको थियो। स्वयं शाहले पनि आफ्नो चाहना पहिलो महिला शिष्टाचार महापाल र परराष्ट्र सचिव बन्ने रहेको बताएको पुराना अन्तर्वार्ताहरूमा भेटिन्छ । तर २०४९ कार्तिक २१ गते लागू भएको ३० वर्षे सेवा अवधिले उनको करिअरमा अवकाशको मोड ल्यायो । २०४९ सालमा ३० वर्षे सेवा अवधि लागू भएपछि शाह सचिव बन्न नपाउँदै अवकाशमा गएकी थिइन् । तीन दशकअघि शाह, अहिले को ? विन्देश्वरी शाहको करिअर सम्भावनाको कथा पनि हो । उनी पहिलो महिला राजदूत बनिन् । परराष्ट्र मन्त्रालयमा पहिलो महिला सहसचिव बनिन् र अतिरिक्त सचिवसम्म पुगिन् । तर परराष्ट्र सचिव बन्ने उनको सम्भावना सेवा अवधिको व्यवस्थाका कारण अघि बढ्न सकेन । अहिले त्यही प्रकृतिको सेवा अवधिको व्यवस्था फेरि प्रस्तावित छ । यसपटक प्रश्न कुनै एक अधिकारीको नभएको भुसाल बताउँछन् । पूर्वसचिव भुसालको प्रश्न छ, सचिव बन्ने चरणमा पुगेका अहिलेका सक्षम अधिकारीहरूलाई पनि ३० वर्षे सेवा अवधि वा ५५ वर्षे उमेर हदले त्यही ठाउँमा रोक्ने अवस्था आउँछ कि आउँदैन ? उनी भन्छन्, ‘यसको उत्तर अहिले नै दिन सकिँदैन किनकि विधेयकको अन्तिम स्वरूप टुंगिएको छैन । उनका अनुसार जोखिमबारे बहस गर्न भने ढिलो भइसकेको छैन ।’ भुसालका अनुसार निजामती सेवामा पुस्तान्तरण आवश्यक छ । नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनु पनि प्रशासन सुधारकै हिस्सा हो । तर त्यसका लागि अनुभवी अधिकारीको क्षमतालाई पूर्ण रूपमा उपयोग नगरी सेवाबाट बाहिर पठाउने व्यवस्था बनाउनु उपयुक्त हुँदैन । उनले सचिवजस्तो पदमा पुग्नुअघि नै सेवा अवधि सकिने अवस्था आयो भने त्यसको प्रभाव कर्मचारीको व्यक्तिगत करिअरमा मात्र नपरी राज्यले दशकौं लगाएर तयार गरेको नेतृत्व जनशक्तिको उपयोगसमेत सीमित हुन सक्ने चेतावनी दिए । ‘३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदको बहसलाई पुराना कर्मचारी हटाउने कि राख्ने भन्ने सामान्य विवादमा सीमित गर्नुभन्दा पनि नेतृत्व विकास, पुस्तान्तरण र संस्थागत अनुभवको सन्तुलनका रूपमा हेर्नुपर्ने देखिन्छ,’ भुसालले भने । तीन दशकअघि विन्देश्वरी शाह सचिव बन्न सक्ने सम्भावना बोकेर पनि त्यस पदमा पुग्न सकिनन् । अहिले त्यही इतिहासलाई सम्झाउने गरी ३० वर्ष सेवा वा ५५ वर्ष उमेरमा अवकाशको प्रस्ताव अघि बढेको छ । विगतमा शाहलाई जहाँ सेवा अवधिले रोकेको थियो, त्यही ठाउँमा आजका काविल अधिकारीहरू पनि रोकिने व्यवस्था बन्यो भने नेपालको निजामती प्रशासनमा यसको नकारात्मक प्रभाव पार्ने उनै भुसालको राय छ । यसको जवाफ विधेयकले मात्र होइन, त्यसलाई अन्तिम रूप दिने क्रममा सरकारले लिने नीतिगत निर्णयले दिने भुसालले बताए ।
खरानीबाट ठडियो मीनबहादुरको साम्राज्य, अब ७७ वटै जिल्लामा भाटभटेनी
काठमाडौं । देशमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको देशव्यापी ‘जेनजी’ आन्दोलनले हिंसात्मक रूप लिएपछि त्यसको राँको भाटभटेनी सुपरमार्केटसम्म पुग्यो । मीनबहादुर गुरुङले चार दशकसम्म पसिना, संघर्ष र लगनशीलताले उभ्याएको व्यावसायिक साम्राज्य क्षणभरमै क्षतविक्षत भयो । गत वर्षको भदौ २३ र २४ गते आगोको धुवाँ, तोडफोडको आवाज र लुटपाटको दृश्यले नक्सालदेखि बिर्तामोडसम्मका भाटभटेनीका स्टोरहरू युद्ध मैदानजस्तै देखिन्थे । आन्दोलनको रापले देशभरका व्यवसायी त्रसित भइरहेका बेला नेपालको व्यावसायिक सफलताको एउटा प्रतीक बनेको भाटभटेनी पनि त्यसबाट अछुतो रहन सकेन । एउटा मात्रै शाखा होइन, देशभरका झन्डै २० वटा स्टोरमा क्षति पुग्यो । तीमध्ये १२ वटा स्टोर त हेर्दाहेर्दै पूर्णरूपमा जलेर खरानीको थुप्रोमा परिणत भए । भौतिक क्षति मात्रै करिब ११ अर्ब रुपैयाँको थियो । भाटभटेनीका अनुसार क्षतिको मूल्यांकन करिब १० अर्ब ८६ लाख रुपैयाँ पुगेको थियो । तर, जलेका भवन, सामान र संरचनाभन्दा ठूलो क्षति त्यसमा आश्रित हजारौं कर्मचारीको भविष्यमा परेको थियो । व्यवसाय जलेको थियो, तर सपना जलेको थिएन । त्यसको प्रमाण आज देखिन्छ । विनाश भएको एक वर्ष नपुग्दै खरानीबाट उठेर भाटभटेनीले फेरि आफ्ना स्टोरहरू सञ्चालनमा ल्याएको छ । जहाँ केही महिनाअघि आगोको मुस्लो देखिन्थ्यो, त्यही ठाउँमा अहिले ग्राहकको चहलपहल फर्किएको छ । जहाँ भग्नावशेष थियो, त्यहीँ फेरि व्यापार सुरु भएको छ । यो केवलसुपरमार्केट पुनर्निर्माणको कथामात्र नभईसंकटपछि फेरि उभिन सकिन्छ भन्ने एउटा व्यावसायिक उदाहरण पनि हो । भदौ २३ गतेको त्यो दिन सम्झिँदा भाटभटेनीका धेरै कर्मचारीका लागि घटना अझै ताजा छ । शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन अचानक हिंसात्मक बनेपछि भाटभटेनीका स्टोरहरूमा आगजनी र तोडफोड सुरु भयो । काठमाडौंका नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारका प्रमुख स्टोरहरूमा ठूलो क्षति पुग्यो । काठमाडौं बाहिर पोखरा, चितवन, हेटौंडा र विराटनगरलगायतका स्टोरहरू पनि आन्दोलनको निशानामा परे । कतिपय ठाउँमा कर्मचारीहरूले आफ्नो ज्यान जोगाएर भाग्नुर्पयो । केही घण्टामै वर्षौँ लगाएर बनाइएका संरचना ध्वस्त भए । सामान जले, भवन जले, करोडौंको लगानी खरानी भयो । तर, त्यस विनाशसँगै एउटा अर्को प्रश्न पनि उभियो, अब भाटभटेनी के हुन्छ ? चार दशकमा बनाएको व्यावसायिक संरचना एकै दिनमा तहसनहस भएपछि त्यसलाई फेरि उठाउनु सामान्य चुनौती थिएन । हजारौं कर्मचारीको रोजगारी, आपूर्ति शृंखला, लगानी र ग्राहकको विश्वाससँग जोडिएको एउटा विशाल संरचना पुनः सञ्चालनमा ल्याउनु थियो । तर, भाटभटेनी यत्तिकैमा रोकिएन । विनाशको धुवाँ सेलाउँदै गर्दा पुनःनिर्माणको काम सुरु भयो । भत्किएका संरचना हटाइए, नयाँ संरचना उठाइए र विस्तारै स्टोरहरूमा फेरि बत्ती बल्न थाले । आज, भदौ २३ गते, त्यो विनाशको एक वर्ष पुग्न अब एक दिनमात्र बाँकी छ । एक वर्षअघि यही दिन भाटभटेनीको अस्तित्वमाथि ठूलो प्रश्न खडा भएको थियो । आज त्यही भाटभटेनी फेरि उभिएको छ । सायद यही यात्राले एउटा सरल कुरा सम्झाउँछ, आगोले भवन जलाउन सक्छ, तर आँट र लगनशीलताबाट बनेको सपना जलाउन सक्दैन । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले विकासन्युजसँगको कुराकानीमा भन्छन्, ‘त्यो बेलाको दृश्य हेर्दा लागेको थियो– के हामी फेरि उठ्न सकिएला र ? नगद लुटिएको थियो, अर्बौंका सामान स्वाहा भएका थिए, भवनहरू संरचनात्मक रूपमै कमजोर भएका थिए ।’ प्रारम्भिक आँकलनमा करिब ११ अर्बको क्षति देखियो । तर, गुरुङले हार मानेनन् । बरु क्षतिलाई शक्तिमा बदल्ने संकल्प गरे । ‘हामीले दुःख गरेर बस्ने समय नै पाएनौं, किनकि हामीमाथि १० औं हजार कर्मचारी र तिनका परिवारको जिम्मेवारी थियो,’ सीओओ पौडेलले भने । पुनः निर्माणमा १४ अर्ब लगानी विगत एक वर्ष भाटभटेनीका लागि केवल मर्मतको समय थिएन, यो त पुनर्जन्मको कालखण्ड थियो । क्षति भएको १० अर्बमा थप ३ अर्ब थपेर झन्डै १४ अर्ब रुपैयाँको लगानीमा स्टोरहरूलाई पहिलेभन्दा आधुनिक र भव्य बनाइएको छ । पुनःनिर्माणका क्रममा भवनहरूको स्तरोन्नति मात्र गरिएको छैन, उपभोक्ताको सुविधाका लागि प्रविधि र सौन्दर्यीकरणमा समेत भारी लगानी गरिएको भाटभटेनीको भनाइ छ । अहिलेका स्टोरहरू पहिलेभन्दा सुरक्षित, गुणस्तरीय र आकर्षक रहेका सीओओ पौडेलले बताए । भाटभटेनी सुपर मार्केटले आफ्नो भौतिक क्षतिपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिँदै अधिकांश शाखाहरू पुनः सञ्चालनमा ल्याएको छ । भाटभटेनीका अनुसार कुल १२ वटा प्रभावित शाखाहरूमध्ये असोज ५ गतेसम्म १० वटा शाखा पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन् । २७ मध्ये २३ वटा स्टोरहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् । हालसम्म उपत्यकाभित्रका महाराजगञ्ज, कोटेश्वर, बौद्ध र वेयरहाउस सञ्चालनमा आइसकेका छन् भने टंगाल शाखा असोज ५ गतेदेखि सञ्चालन हुने तयारीमा छ । उपत्यका बाहिर विराटनगर, बिर्तामोड, चितवन, पोखरा र बुटवलका शाखाहरू यसअघि नै खुलिसकेका छन् भने धरानको शाखा भोलिदेखि सञ्चालनमा आउने पौडेलले जानकारी दिए । झन्डै ८ अर्ब रुपैयाँको बीमा दाबी भाटभटेनीका अनुसार मेसिनरी र स्टकमा रहेका सामानसहित भौतिक रूपमा कुल १० अर्ब ८६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । कम्पनीले उक्त क्षतिको शोधभर्नाका लागि बीमा कम्पनीहरूसँग झन्डै ८ अर्ब रुपैयाँको बीमा दाबी गरेको छ, जुन हाल प्रक्रियाकै क्रममा रहेको छ । कर्मचारी र तलबको व्यवस्थापन घटनाका क्रममा मानवीय क्षति भने नभएको कम्पनीले जनाएको छ । कुनै पनि कर्मचारी घाइते नभएको र उनीहरूलाई अन्य शाखाहरूमा स्थानान्तरण गरेर व्यवस्थापन गरिएको थियो । विशेष कुरा के छ भने शाखा बन्द भएको अवस्थामा पनि कर्मचारीहरूले घटना भएदेखि नै निरन्तर रूपमा आफ्नो तलब र सुविधा पाइरहेको पौडेलले उल्लेख गरे । कारोबारमा २० प्रतिशत गिरावट लामो समयसम्म शाखाहरू बन्द रहेका कारण कम्पनीको समग्र कारोबारमा असर परेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कारोबारमा करिब २० प्रतिशतले गिरावट आएको पौडेलले जानकारी दिए । घटनाको ७० दिनपछि मुख्य वेयरहाउस सञ्चालनमा आएपछि आपूर्ति व्यवस्थापनमा केही सहजता भएको र अहिले बिस्तारै ग्राहकहरूको संख्या पनि बढ्दै गएको बताइएको छ । कम्पनीले बाँकी रहेका दुई शाखाहरू पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ । मीनबहादुरको सपना अब ७७ वटै जिल्लामा वितण्डाको त्यो घाउलाई बिर्सिएर भाटभटेनी अब नयाँ गन्तव्यतर्फ लम्किएको छ । वार्षिक करिब ३९ अर्बको कारोबार गर्ने यो चेनले अबको केही समयभित्रै थप नयाँ स्टोरहरू सञ्चालनमा ल्याइने बताएको छ । भाटभटेनीका अनुसार चितवनको टाँडी र पोखराको लेखनाथमा यहीँ आर्थिक वर्षभित्र स्टोर खुल्नेछन् भने सातदोबाटो र भैंसेपाटीमा आगामी वर्षको योजना रहेको छ । अब ७७ वटै जिल्लामा भाटभटेनी पुर्याउने र स्वदेशमै रोजगारीको सिर्जना गर्ने हो । सीओओ पौडेलले पहिलो चरणमा ५० वटा स्टोर पुर्याउने र ५० हजार नेपालीलाई रोजगारी दिने भाटभटेनीको लक्ष्य रहेको बताए । ‘विगतको घटनालाई हामीले गुनासोका रूपमा लिएका छैनौं,’ सीओओ पौडेल भन्छन्, ‘हामीले त त्यसलाई एउटा पाठ र अझ बलियो हुने अवसरका रूपमा लिएका छौं ।’ यो पनि पढ्नुहोस् : ५० स्टोर पुर्याउने भाटभटेनीको लक्ष्य, ५० हजारलाई रोजगार
मेहनत र सपना खरानी हुँदा पनि हार नमानेका थापा
काठमाडौं । ‘बगैंचा रिसोर्ट सञ्चालनमा आएको एक महिनामात्र भएको थियो । हामीले रिसोर्टको अनुभव र मज्जासमेत लिन पाएका थिएनौं,’ अंशुभरा ग्रुपका निर्देशक सौगात थापाले भने । गत वर्षको जेनजी आन्दोलनले भोगेको क्षतिका कुरा गर्नुभन्दा अगाडि उनी मौन बसे । पोहोरको जस्तो दिन उनी भोग्न र देख्न चाहँदैनन् । थापाले आफ्नै आँखा अगाडि बगैँचाको धुरीबाट धुँवा निस्केको देख्न बाध्य भए । उनी केही गर्न सक्दैन थिए । कसको इशारामा र किन यस्तो भइरहेको छ त्यो सोच्न पनि सकेनन् उनले । गत वर्ष अर्थात आजको दिन भदौ २३ गते जेनजी आन्दोलन भएको थियो । मुलुकभर एकै नारा गुञ्जिएको थियो । सुशासन, समृद्धि र भ्रष्टाचार शून्यसहितको आवाज लिएर युवाहरू सडकमा ओर्लिएको दिन । यहीँ सुशासनको नारा लिएर सडकमा आएका युवाहरूको आवाज भने केही व्यवसायीहरूका लागि अभिशाप भयो । भदौ २४ गते धेरै व्यवसायीहरूको घर, उद्योग, होटल तथा रिसोर्ट जले । बास उठे, व्यवसाय गरिरहेका भवन खरानी बने । बोलिएका आवाज दबिए र नियमित गइरहनु पर्ने ठाउँको अवस्था बदलिए । जेनजी आन्दोलनमा क्षति भएको पोखराको बगैंचा रिसोर्ट तथा स्पा पुनः सञ्चालनमा आइसकेको छ । क्षति भएको दश महिनामै बगैंचा पुनः बगैंचा जस्तै भएर उभिएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते बगैंचा रिसोर्टमा तोडफोड र आगजनी भयो । केही घण्टामै करोडौंको लगानी खरानीमा परिणत भयो । व्यवस्थापनले केवल महिनाभित्रै रिसोर्टलाई पुन : सञ्चालनमा ल्याइसकेको छ । पोखराको पर्यटनलाई पुनः ताजगी गराउनुपर्ने भएकाले आफ्नै बलबुताले भए पनि उठ्नुपर्ने अवस्था रहेको थापा बताउँछन् । ‘हामीले विभिन्न खालका मानसिक तनाव झेल्यौं । हामीले गरेको व्यवसाय मुलुक र समाजको लागि थियो,’ उनले भने, ‘हामीले भोगेको क्षतिअनुसार समाजभित्र फरक पहिचान बोकेर बसेका थियौं भन्ने महसुस भयो । हाम्रो कारण धेरै मानिसले रोजगार पाएका थिए । काम गरेर खानु भनेको अपराध जस्तो ठान्यो ।’ गत वर्षको घटनालाई सम्झँदा उनलाई यो समाज र मुलुकमा बस्दा अपराध गरेको जस्तो महसुस हुँदोरहेछ । मुलुक र समाजलाई समृद्ध बनाउन व्यवसाय गरिरहेको थापाको भनाइ छ । ‘हामीले भदौ २४ को विनाशपछि हार मानेनौं । केही महिनाअघि मात्र रिसोर्टलाई पुनः सञ्चालनमा ल्याइसकेका छौं । क्षति भएको केही महिनामै हामीले पुनः निर्माण थाल्यौं,’ गत वर्ष भदौको घटना सुनाउँदै उनी आत्मविश्वासी सुनिए । एक वर्षअघि आजकै समय सम्झिँदा अझै पनि मन भारी हुने थापा बताउँछन् । ‘आगोले मेरो व्यवसाय मात्र जलाएन, वर्षौंको मेहनत, सपना र बाल्यकालसँग जोडिएका धेरै सम्झनाहरू पनि खरानी बनायो,’ उनी सुनाउँछन्, ‘त्यो पीडा सहजै बिर्सन सकिने थिएन ।’ ‘तर जीवनले एउटा कुरा सिकाउँदो रहेछ, ढलेपछि उठ्नु नै वास्तविक जित हो । त्यो कठिन समयपछि मैले हार मानिनँ । आफैलाई सम्हालें, फेरि व्यवसाय उठाएँ र अझ बलियो भएर अघि बढ्ने संकल्प गरें । किनकि मसँग जोडिएका कर्मचारी, परिवार र धेरै मानिसको विश्वासलाई बीचमै छोडेर बस्न सक्दैनथेँ,’ उनले थपे । एक वर्षअघि खरानीबीच उभिएको उनी त्यही खरानीबाट उठेर व्यवसायीहरूको नेतृत्व गर्ने ठाउँमा पुगेको थापाले बताए । ‘मलाई यही सिकाउन खोजेको थियो । परिस्थितिले हामीलाई तोड्न सक्छ, तर फेरि उठ्ने साहस हामी आफैंमा हुन्छ,’ उनले अगाडि थपे, ‘विगतको पीडालाई शक्तिमा बदल्दै, व्यवसायीको हित, रोजगारी सिर्जना र पोखराको आर्थिक समृद्धिका लागि इमानदारीका साथ काम गर्ने मेरो संकल्प रहेको छ ।’ थापाको व्यावसायिक संस्था मात्र जलेनन् । बास बस्ने स्थानसमेत जलेको थियो । ‘गत वर्षको समय सम्झँदा आज पनि कहाली लाग्छ,’ उनले भने, ‘हार मान्नलाई व्यवसाय नगरेको तर जितसँगै समाज र मुलुकका लागि केही योगदान गर्न व्यवसायमा लागेका हौं ।’ थापा पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशनबाट उद्योग उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले यसलाई समाज र मुलुकलाई समृद्ध बनाउने अवसर पनि ठानेका छन् । ‘यो मेरो लागि केवल एउटा पद होइन, कठिन यात्रापछि प्राप्त भएको विश्वास, जिम्मेवारी र नयाँ सुरुवात हो,’ उनी अगाडि थप्छन् । वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक सम्मिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा आइसकेको छ । बगैंचाले प्रकृति प्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने गरेर सञ्चालनमा आइसकेको थापाले बताउँछन् । पोखराको पर्यटनमा नयाँ ऊर्जा लिएर पुनः सञ्चालनमा ल्याइएको उनको भनाइ छ । मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान पुरानो शैलीको हस्पिटालिटी केही परिवर्तन नगरी पुनः व्यवसाय सुरू गरिएको उनले बताए । यहाँ आउने पाहुनाले व्यावसायीक रूपमा चाहेको सबै कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। ‘वातावरणमैत्री बनाएर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो भनेर सन्देश दिएका छौं,’ थापा भन्छन्, ‘यहाँको सामग्रीहरू सबै वातावरणमैत्री रहेको छ । जसले गर्दा हाम्रो यहाँ आउनु हुने पाहुना र हामीले वातावरणलाई असर गर्दैनौ भनेर सन्देश पुर्याउनेछौं ।’ थापाले रिसोर्टकै नामअनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । उनले भने, ‘नेपाली पारम्परिक उपचार पद्धतिबाट मसाज सेवा, ध्वनि उपचार (साउन्ड हिलिङ् र सिङ्गिङ बाउल थेरापी) बगैंचाभित्र शान्त वातावरणमा हुने योग अभ्यासहरू र मानसिक पुनःस्थापनाका लागि समर्पित डिजाइन बगैंचाका विशेषता रहेका छन् ।’ बगैंचामा दुई रेष्टुरेण्ट रहेका छन् । नयाँ मरिच इन्डो–चाइनीज र कन्टिनेन्टल खाना पाइन्छ । उमामी रेष्टुरेण्ट जसले परिष्कृत प्यान–एशियनको स्वाद लिन पस्कने उनले जानकारी दिए । बगैंचामा ‘टारो’ पूलसाइड बार रहेकाले बगैंचाको थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । मौसम अनुसारका उपलब्ध हुने तरकारी अन्य खाद्य सामग्री पाइने उनले प्रस्ट पारे । ‘रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरी अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ,’ उनले उत्साहित हुँदै भने, ‘३२ वटा कोठामै निजी बाल्कोनी रहेकाले रिसोर्टबाट हरियाली वातावरण दृश्यको अवलोकन गर्न सकिन्छ ।’ एक वर्षअघि मात्र ७० करोडको लगानी बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको थियो । ‘आँखै अगाडि करोडौंको लगानी खरानी बनेको थियो,’ उनी विगत सम्झिँदै भावुक हुन्छन्, ‘हामी फेरि उठिसकेका छौं । पर्यटन क्षेत्रलाई माथि उकास्दै हाम्रो पाइला निरन्तर अगाडि बढिरहन्छ ।’ रिसोर्टमा नयाँ जिम सेट पनि थपिएको छ । रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार रिसोर्ट साढे चार रोपनी क्षेत्रफलमा रहेको छ ।