सुरुङ युगको सुरुवात

काठमाडौं । नेपालको पहाडी भूगोल, त्यसमाथि राजधानी छिर्ने मुख्य नाका नागढुंगाको त्यो सास्तीपूर्ण जाम र घुम्तीहरू । वर्षौंदेखि यात्रु र चालकहरूका लागि यो एउटा बिर्सन नसकिने सास्ती थियो । तर, २०८३ साउन ११ गतेबाट नेपालको यातायात इतिहासमा एउटा नयाँ अध्याय थपिएको छ । नेपालकै पहिलो आधुनिक र प्रविधिमैत्री नागढुंगा–सिस्नेखोला सुरुङमार्ग विधिवत रूपमा सञ्चालनमा आएपछि अब ती सास्तीहरू इतिहास बन्ने भएका छन् ।  सडक विभागले करिब २० अर्ब रुपैयाँ लागतमा बनेको सुरुङमार्गलाई केवल एउटा सडक आयोजना नभई नेपालको भविष्यको सुरुङ पूर्वाधार विकासको आधारका रूपमा प्रस्तुत गरेको छ । सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार यो सुरुङमार्ग नेपालका लागि केवल एउटा बाटो मात्र नभएर आधुनिक इन्जिनियरिङको एउटा नमुना हो । ‘यो सुरुङमार्ग समग्र देशकै लागि आशाको किरण हो,’ उनी भन्छन् ।  अब सुरुङमार्ग निर्माणको अनुभव र आत्मविश्वास बढेकाले आगामी दिनमा सिद्धबाबा, दाउन्ने, खुर्कोट–चियाबारी (बीपी राजमार्ग) लगायत अन्य आवश्यक स्थानमा पनि सुरुङमार्ग निर्माणलाई अघि बढाइने उनको भनाइ छ । उनका अनुसार विश्वभरको अभ्यासअनुसार सुरुङमार्गभित्र विस्फोटक पदार्थ बोकेका सवारी, इन्धन ट्यांकर, साइकल र मोटरसाइकल सञ्चालन गर्न दिइँदैन ।  यीबाहेकका अन्य सवारी साधन भने सुरक्षाका मापदण्ड पूरा गरेर निर्बाध रूपमा सञ्चालन गर्न सक्नेछन् ।  सुरुङमार्ग प्रयोगबापतको शुल्क यसअघि नै सार्वजनिक गरिएको छ । पश्चिम (वेस्ट पोर्टल) तर्फ उकालो चढ्ने सवारीका लागि केही बढी र ओरालो झर्ने सवारीका लागि केही कम शुल्क निर्धारण गरिएको छ । विभागका अनुसार इन्धन र समय बचतबाट हुने लाभको करिब ४० देखि ५० प्रतिशत बराबर मात्रै शुल्क लिने गरी दर तय गरिएको हो ।  सुरुङमार्गमा तत्काल अत्यावश्यक र आपत्कालीन सवारीसाधन सञ्चालन हुन पाउने छन् । केही समयपछि अन्य सवारीलाई पनि खुल्ला गरिनेछ । यसमा ४ वटा वर्ग छुट्याइएको छ । जसमा पहिलो वर्गमा कार, भ्यान, पिकअप, ट्राक्टर, माइक्रो बस र अन्य हलुका सवारीलाई राखिएको छ । यी सवारीहरुले सुरुङमार्ग उपभोग दस्तुर प्रतिसवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ ।  यस्तै, वर्ग २ मा मिनी बस, मिनी ट्रिपर र ट्रकलाई राखिएको छ । उनीहरुले प्रवेशमा ११५ रुपैयाँ र प्रस्थानमा ८० रुपैयाँ तिर्नुपर्नेछ । वर्ग ३ मा बस, ट्रक (सिंगल रियर एक्सल)का सवारी छन् । उनीहरुले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २ सय रुपैयाँ तिर्नुपर्नेछ ।  त्यसपछि वर्ग ४ मा मल्टी एक्सल ट्रक÷सवारीसाधन, भारी उपकरणहरु छन् । यी सवारीले आउँदा ६ सय र जाँदा २५० रुपैयाँ तिर्नुपर्नेछ । सुरुङमार्गको सञ्चालन भने निर्माणजत्तिकै चुनौतीपूर्ण रहेको जैसीको भनाइ छ । त्यसैले सुरुवाती चरणमा आर्थिक गतिविधि बढाउने तथा उत्पादनमूलक यातायातलाई प्राथमिकता दिने नीति अपनाइएको छ । सञ्चालन र व्यवस्थापन ५ वर्षसम्म सेवा प्रदायक कम्पनीले गर्ने भए पनि सम्पूर्ण नियन्त्रण र निगरानी सडक विभागकै हातमा रहनेछ । सेवा प्रदायकले सञ्चालन गरेबापतको सेवा शुल्क मात्रै प्राप्त गर्नेछ भने सञ्चालनको गुणस्तर, सुरक्षा र व्यवस्थापनको प्रत्यक्ष अनुगमन विभागले गर्नेछ । सुरुङमार्ग प्रवेशद्वारमा स्वचालित (स्टिकर÷ट्याग) र म्यानुअल दुवै प्रकारका टोल प्रणाली रहनेछन् । शुल्क तिरेपछि सवारी स्वतः प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ । सुरुङभित्र रहेका सबै गतिविधिको २४सै घण्टा नियन्त्रण कक्षबाट निगरानी हुनेछ । जाम, सवारी बिग्रिएमा, दुर्घटना भएमा वा सुरुङभित्रका फ्यान, विद्युतीय तथा अन्य उपकरणमा समस्या आएमा सेवा प्रदायकको टोली तत्काल परिचालन हुनेछ ।  सडक विभागका अनुसार सुरुङमार्गको संरचनागत आयु करिब १०० वर्ष रहेको छ । नियमित मर्मत–सम्भार र प्राविधिक मापदण्डअनुसार सञ्चालन गर्न सके यो सुरुङ एक शताब्दीसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिनेछ । सामान्यतया यस्ता इन्जिनियरिङ संरचनाको आयु ७५ देखि १०० वर्षसम्म हुने विभागको भनाइ छ । सरकारले यो आयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरेको हो । विभागका अनुसार यो कुनै विदेशी देशको परियोजना नभई नेपाल सरकारकै आयोजना हो । ऋण नेपालले नै तिर्ने भएकाले यो नेपाली जनताको आफ्नै पूर्वाधार भएको विभागको जोड छ । करिब २० अर्बको लागतमा निर्माण भएको यो आयोजनाले १०० वर्षको आयु बोकेको छ । सुरुङभित्र २४सै घण्टा मनिटरिङ, भेन्टिलेसन (फ्यान), र आपतकालीन उद्धारका लागि छुट्टै इमर्जेन्सी टनेलको व्यवस्था गरिएको छ । सुरक्षाका दृष्टिकोणले विस्फोटक पदार्थ बोकेका सवारी, पेट्रोलियम ट्याङ्कर र दुई पाङ्ग्रे सवारीलाई यहाँ निषेध गरिएको छ । यो सुरुङमार्गबाट सञ्चालनको जिम्मेवारी पाएको चिनियाँ र नेपाली संयुक्त टोली युसिन एआरटी जेभीले १० हजार गाडी गुड्ने जनाएको छ ।  समय र इन्धनको बचत यातायात व्यवसायीहरू यो सुरुङमार्गलाई विकासको छलाङ मान्छन् । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनलाई नेपालको पूर्वाधार विकासमा ‘ऐतिहासिक छलाङको संज्ञा दिए । वर्षौंदेखिको नेपालीको प्रतीक्षा अन्त्य भएको भन्दै उनले यो आयोजना देशका लागि नयाँ इतिहास बनेको बताए । उनले ७/८ वर्षको निर्माण यात्रापछि सुरुङमार्ग सञ्चालनमा आउनु सुखद भएको उल्लेख गर्दै यसका लागि विभिन्न समयमा काम अघि बढाउने सबै सरकारलाई धन्यवाद दिए । ‘राम्रो कामलाई राम्रो भन्नुपर्छ । यो नेपालले पूर्वाधार विकासमा इतिहास बनाएको क्षण हो,’ उनले भने । सिटौलाका अनुसार सुरुङमार्ग सञ्चालनसँगै सार्वजनिक तथा मालवाहक यातायात क्षेत्रले प्रत्यक्ष लाभ पाउनेछ । सुरुङमार्गबाट यात्रा गर्दा करिब ६ देखि ७ मिनेटमै गन्तव्य पार गर्न सकिने हुँदा विगतमा नागढुंगा क्षेत्रमा ३० मिनेटदेखि कतिपय अवस्थामा दुई घण्टासम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास उनले व्यक्त गरे । अध्यक्ष सिटौला भन्छन्, ‘विगतमा ३० मिनेटदेखि २ घण्टासम्म जाममा फस्ने गाडीहरू अब ६ देखि ७ मिनेटमा वारपार गर्नेछन् ।’ उनले विशेषगरी मालवाहक सवारी लामो समयसम्म जाममा फस्ने समस्या समाधान हुने, इन्धनको बचत हुने र ढुवानी प्रणाली थप सहज बन्ने बताए । समय र सञ्चालन लागत दुवै घट्ने भएकाले यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।  यद्यपि सिटौलाले सुरुङमार्गको टोल शुल्कमा भने सरकारले पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सार्वजनिक यातायात र मालवाहक सवारीलाई विशेष सहुलियत दिन सरकारसँग आग्रह गर्दै अन्ततः त्यस्तो खर्च यात्रु भाडा र ढुवानी शुल्कमै जोडिने भएकाले यसको प्रभाव सर्वसाधारणमै पर्ने बताए ।  उनले सम्माननीय प्रधानमन्त्री, पूर्वाधार विकासमन्त्री तथा सम्बन्धित निकायलाई सार्वजनिक सवारीका लागि शुल्क संरचना थप व्यावहारिक बनाउन अनुरोध गरे । ‘सार्वजनिक र मालवाहक सवारीलाई केही न केही सहुलियत दिन सकियो भने त्यसको प्रत्यक्ष लाभ यात्रु र उपभोक्ताले पाउनेछन्,’ उनले भने ।  सिटौलाले नेपालमा यति लामो आधुनिक सडक सुरुङ पहिलो पटक सञ्चालनमा आएको उल्लेख गर्दै यसको दीर्घकालीन प्रभाव आगामी वर्षहरूमा अझ स्पष्ट हुने बताए । उनले सुरुङमार्ग सुरक्षित, भरपर्दो र प्रभावकारी रूपमा सञ्चालन हुन सके यसले देशमा थप सुरुङमार्ग निर्माणका लागि पनि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । सुरुङमार्गको प्रयोग गरे बापत सरकारले एउटा निश्चित शुल्क तोकेको बारे व्यवसायीहरूले समय र इन्धन बचतको तुलनामा सस्तो मानेका छन् ।  नेपालमै विदेशको अनुभव सुरुङमार्ग उद्घाटनको दिन पहिलो पटक यात्रा गर्ने यात्रुहरूको उत्साह हेर्न लायक थियो । बाहिरको चर्को गर्मी र धूलोमैलोबाट सुरुङभित्र पस्ने बित्तिकै यात्रुहरूले छुट्टै शीतलता महसुस गरे ।  धादिङका विष्णु गोपाल श्रेष्ठ र सुरेन्द्र कुमार श्रेष्ठले सुरुङभित्रको अनुभवलाई स्वर्गको अनुभूतिसँग तुलना गरे ।  ‘बाहिर प्रचण्ड गर्मी छ, तर भित्र एसी जस्तै प्राकृतिक शीतलता छ । नेपालमै बसेर विदेशको सुरुङमा हिँडेको जस्तो अनुभव भइरहेको छ,’ उनीहरूले खुसी हुँदै विकासन्युजसँग भने ।  कतिपय स्थानीय वृद्धवृद्धाहरूले त यसलाई पातालको यात्रा जस्तो अनौठो र रोमाञ्चक मानेका छन् । बागलुङका रघुनाथ गौतमले प्रधानमन्त्री र सरकारको कामप्रति गर्व गर्दै भने, ‘नेपालको इतिहासमा यो पहिलो पटक हो, हामी धेरै खुसी छौं ।’ विकासका साथै कतिपय स्थानीय व्यवसायीहरूमा भने केही चिन्ता पनि देखिएको छ । नागढुंगा क्षेत्रमा पसल गरिरहेका सुभद्रा खतिवडा जस्ता स्थानीयले सुरुङमार्ग खुलेपछि रोडका पसलहरूको व्यापार घट्ने हो कि भन्ने डर व्यक्त गरे ।  ‘विकास भएकोमा खुसी त छ । तर हाम्रा पसलहरू अब कसरी चल्छन् भन्ने पीर पनि छ,’ उनी भन्छिन् । यद्यपि, समग्रमा देशको हित हुने कुरामा स्थानीयको पनि समर्थन देखिन्छ । नागढुंगा सुरुङमार्गको सफलताले नेपालमा अब सुरुङमार्ग युगको सुरुवात गरेको छ । यसपछि सिद्धबाबा, बीपी राजमार्गको खुर्कोट-चियाबारी र काठमाडौंको कोटेश्वरमा पनि सुरुङमार्ग बनाउने योजनाहरू अगाडि बढेका छन् ।  महानिर्देशक जैसी भन्छन्, ‘अब हामीसँग कन्फिडेन्स बढेको छ । बिस्तारै हामी देशभरिका मुख्य नाकाहरूमा सुरुङमार्ग निर्माण गर्दै जानेछौं ।’ जाइकाको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गरेको यो आयोजनाले नेपाली जनताको आफ्नै पसिना र लगानीको प्रतिफल बोकेको छ ।  नागढुंगा–सिस्नेखोला सुरुङमार्ग केवल एउटा सुरुङ मात्र होइन, यो बदलिँदो नेपालको आत्मविश्वास र समृद्धिको प्रतीक पनि हो । अबका दिनमा नेपाली यात्रुहरूले घुम्ती र जामको सास्ती होइन, छिटो र सुरक्षित यात्राको आनन्द लिन पाउनेछन् । 

चेकलाई उछिन्दै आरपीएसमा ९३ खर्बको कारोबार

काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको छ । तथ्याङ्कले नेपालमा डिजिटल भुक्तानी प्रणालीप्रतिको विश्वास र प्रयोग निरन्तर बढ्दै गएको देखाएको हो । विशेषगरी कनेक्टआईपिएस, कर्पोरेट डिजिटल भुक्तानी लगायतमार्फत हुने कारोबार रकममा भएको उल्लेखनीय वृद्धिले नगदरहित अर्थतन्त्र निर्माणतर्फ नेपालले तीव्र गति लिइरहेको संकेत गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानका अनुसार नेपालमा भुक्तानी प्रणाली तीव्र रूपमा डिजिटल माध्यमतर्फ रूपान्तरण भइरहेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा क्लियरिङ तथा सेटलमेन्ट प्रणालीबाट २३ करोड ८१ लाख ७६ हजार ७०४ पटक कारोबार हुँदा २१० खर्ब १८ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको भुक्तानी भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २१ करोड १२ लाख १९ हजार १४३ पटक कारोबार हुँदा १८६ खर्ब २ अर्ब २८ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । सीईओ प्रधानका अनुसार पहिले चेकमार्फत हुने ठूलो रकमको कारोबार अहिले रियल टाइम डिजिटल भुक्तानी प्रणालीतर्फ सर्दै गएको छ । क्लियरिङ तथा सेटलमेन्ट प्रणालीअन्तर्गत एनसीएचएल-ईसीसीमार्फत गत आर्थिक वर्ष १ करोड ४८ लाख १४ हजार ९७ पटक कारोबार हुँदा ७८ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको एनसीएचएलले जनाएको छ । जबकि अघिल्लो वर्ष १ करोड ४८ लाख ९० हजार ५९० पटक कारोबार हुँदा ७६ खर्ब ८३ अर्ब ८० करोड रुपैयाँ भुक्तानी भएको थियो ।  गत आवमा एनसीएचएल-आईपिएसमार्फत गत वर्ष ३ करोड ६६ लाख २३ हजार ५३२ पटक कारोबार हुँदा ३४ खर्ब ९२ अर्ब ४५ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो वर्ष ३ करोड ६ लाख ५१ हजार १२७ पटक कारोबार हुँदा २९ खर्ब ३६ अर्ब ८१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।  एनसीएचएलका अनुसार गत वर्ष रिटेल पेमेन्ट प्रणाली (आरपीएस) अर्थात् कनेक्टआईपिएसमार्फत १४ करोड ४७ लाख २४ हजार ८३२ पटक कारोबार हुँदा ९३ खर्ब २८ अर्ब १० करोड रुपैयाँ बराबर भुक्तानी भएको छ । अघिल्लो वर्ष ११ करोड २३ लाख ५८ हजार ७०७ पटक कारोबार हुँदा ७५ खर्ब ५३ अर्ब ३३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । यद्यपि, ईएफटी कार्डमार्फत हुने कारोबार संख्या र रकम दुवै घटेको छ । गत आर्थिक वर्ष ४ करोड २० लाख १४ हजार २४३ पटक कारोबार हुँदा ३ खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो आर्थिक वर्ष ५ करोड ३३ लाख १८ हजार ७१९ पटक कारोबार हुँदा ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । ईएफटी कार्ड भनेको भिसा, मास्टरकार्ड र युनियनपे जस्ता कार्डमार्फत गरिने खरिद कारोबार हो । कनेक्ट आरटीजीएसमार्फत गत वर्ष ३ लाख ३१ हजार ६९२ पटक कारोबार हुँदा ९० खर्ब ५४ अर्ब ३० करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो वर्ष ३ लाख २६ हजार ९६८ पटक कारोबार हुँदा ९१ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) अन्तर्गत १३ करोड ५५ लाख १ हजार ८९७ पटक कारोबार हुँदा ६० खर्ब ४५ अर्ब २४ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो वर्ष १० करोड ५४ लाख ४० हजार १९२ पटक कारोबार हुँदा ४७ खर्ब ७५ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । एनपीआईअन्तर्गत एनसीएचएल-आईपिएसमार्फत २ करोड ४० लाख २६ हजार ९७१ पटक कारोबार हुँदा २० खर्ब ३३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, कनेक्टआईपिएस रिटेल पेमेन्ट प्रणालीमार्फत ११ करोड १४ लाख ७४ हजार ९२६ पटक कारोबार हुँदा ४० खर्ब ११ अर्ब ८२ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो आर्थिक वर्ष एनसीएचएल-आईपिएसमार्फत २ करोड १९ लाख ४२ हजार १०२ पटक कारोबार हुँदा १७ खर्ब ७५ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कनेक्टआईपिएस रिटेल पेमेन्ट प्रणालीमार्फत ८ करोड ३४ लाख ९८ हजार ९० पटक कारोबार हुँदा २९ खर्ब ९९ अर्ब ७० करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । कर्पोरेटपे सेवाको प्रयोग पनि उल्लेखनीय रूपमा बढेको छ । गत आर्थिक वर्ष ८८ लाख २६ हजार ४२९ पटक कारोबार हुँदा १८ खर्ब ७२ अर्ब ९० करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो वर्ष ४२ लाख १७ हजार २७२ पटक कारोबार हुँदा ११ खर्ब ६० अर्ब ४८ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । यसअन्तर्गत एनसीएचएल-आईपिएसमार्फत २३ लाख २९ हजार १६६ पटक कारोबार हुँदा ५ खर्ब ७२ अर्ब ९८ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । कनेक्टआईपिएसमार्फत ६४ लाख ९७ हजार २६३ पटक कारोबार हुँदा १२ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । सीईओ प्रधानका अनुसार आर्थिक वर्ष २०६८/६९ यता चेकमार्फत हुने कारोबार लगातार बढेको भए पनि पछिल्ला चार वर्षदेखि त्यसमा गिरावट देखिएको छ । अहिले चेकको प्रयोग मुख्यतः व्यवसायिक कारोबारमा सीमित हुँदै गएको छ भने सर्वसाधारण डिजिटल माध्यममा आकर्षित भइरहेका छन् । उनले आईपिएस र आरपीएस दुवैको प्रयोग बढ्दै गए पनि आरपीएसको वृद्धि अझ तीव्र रहेको बताए । मोबाइल बैंकिङ, कनेक्टआईपिएस, कर्पोरेटपे तथा सरकारी डिजिटल भुक्तानीजस्ता कारोबार आरपीएसमार्फत हुने भएकाले यसको वृद्धिदर उच्च रहेको उनको भनाइ छ । गत आर्थिक वर्षमा पहिलो पटक चेकमार्फत हुने कारोबार रकमलाई आरपीएसले उछिनेको छ । गत वर्ष चेकमार्फत करिब ७८ खर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो भने आरपीएसमार्फत ९३ खर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसअघि चेकमार्फत हुने कारोबार रकम नै बढी हुने गरेको उनको भनाइ छ ।  उनले सानोदेखि ठूलो रकमसम्मका कारोबार अहिले रियल टाइम डिजिटल माध्यमबाट हुन थालेको उल्लेख गर्दै सर्वसाधारण, निजी क्षेत्र र सरकारी निकाय सबै डिजिटल भुक्तानीतर्फ अग्रसर भएकाले आगामी दिनमा यसको प्रयोग अझ तीव्र रूपमा बढ्ने विश्वास व्यक्त गरे । 

‘ड्युटी–फ्री पाए नेपाली गार्मेन्ट उद्योगले फड्को मार्छ’

तयारी पोशाक उद्योग कुनै समय नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने र ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने प्रमुख निर्यातमूलक उद्योगका रूपमा स्थापित थियो । तर, अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा आएको परिवर्तनसँगै यो उद्योगले ठूलो चुनौती र क्षति बेहोर्नुपर्‍यो । विगतको तुलनामा अहिले निर्यात घटेको भए पनि यस क्षेत्रमा सम्भावना भने अझै पर्याप्त रहेको उद्योगीहरू बताउँछन् । उद्योगको वर्तमान अवस्था, यस क्षेत्रका प्रमुख चुनौती, सरकारका नीति तथा नियमले पारेको प्रभाव, निर्यात प्रवर्द्धनका लागि आवश्यक पहल र आगामी योजनालगायत विषयमा केन्द्रित रहेर विकासन्युजका लागि तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेसँग बबिता तामाङले गरेको कुराकानी ।  अहिले तयारी पोशाक उद्योगको अवस्था के छ ?  नेपालमा तयारी पोशाक उद्योगको सुरुवात सन् १९८० को दशकमा भएको हो । त्यसपछि यो उद्योग क्रमिक रूपमा विस्तार हुँदै गएको थियो । विशेषगरी अमेरिकाको ‘मल्टिफाइबर एग्रिमेन्ट’ (एमएफए) अन्तर्गत कोटा प्रणालीमार्फत नेपाली तयारी पोशाक अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको थियो । यही कारणले नेपाली तयारी पोशाक उद्योगले छोटो समयमै उल्लेख्य विकास गर्न सफल भयो । तर सन् २००५ मा मल्टिफाइबर एग्रिमेन्ट र कोटा प्रणाली समाप्त भएपछि नेपाली तयारी पोशाक उद्योगमा ठूलो संकट देखियो । त्यसअघि नेपालमा १ हजार ६ सयभन्दा बढी तयारी पोशाक उद्योग सञ्चालनमा रहेकोमा कोटा प्रणाली हटेपछि उद्योगको संख्या एकाएक घटेर १५–२० वटामा सीमित हुन पुग्यो । अहिले नेपालमा करिब २ सय वटा तयारी पोशाक उद्योग सञ्चालनमा छन् । तेस्रो मुलुकतर्फको निर्यातमा तयारी पोशाक दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा गलैंचा रहेको छ । हाल नेपालबाट वार्षिक करिब १० देखि १२ अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात भइरहेको छ । पछिल्ला वर्षहरूमा तयारी पोशाकको निर्यात क्रमशः बढ्दै गएको छ । ७/८ अर्ब रुपैयाँको हाराहारीमा रहेको निर्यात अहिले बढेर १०/११ अर्ब रुपैयाँ पुगेको छ । आगामी दिनमा निर्यातलाई अझ विस्तार गर्दै लैजान हामी निरन्तर प्रयासरत छौं ।  अहिले रूग्ण उद्योग कति छन्  ? ठ्याक्कै यति भन्ने छैन । १५/२० को हाराहारीमा छन् होला । रूग्ण उद्योगहरू सञ्चालनमा ल्याउने विषयमा सरकारसँग छलफल भइरहेको छ । नेपालको तयारी पोशाकले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नुका मुख्य कारणहरू के-के हुन् ? अहिले हाम्रो मुख्य बजार अमेरिका हो । तर अमेरिकासँग नेपालले तयारी पोशाक निर्यातमा ड्युटी–फ्री सुविधा पाएको छैन । तयारी पोशाकलाई ड्युटी–फ्रीको व्यवस्था हुनुपर्छ भनेर हामीले सरकारसँग निरन्तर अनुरोध गर्दै आएका छौं । यदि ड्युटी–फ्री सुविधा उपलब्ध हुने हो भने नेपाली तयारी पोशाक उद्योगले ठूलो फड्को मार्न सक्छ । अहिले बंगलादेश, भियतनाम र श्रीलंकाजस्ता देशको तुलनामा नेपालको तयारी पोशाक निर्यात निकै कम छ । बंगलादेशमा सरकारले उद्योगलाई पर्याप्त सहयोग र सुविधा दिएकाले त्यहाँको तयारी पोशाक उद्योग आज पनि सफल रूपमा अघि बढिरहेको छ । श्रीलंकाका उद्योगहरूले पनि राम्रो गरिरहेका छन् । चीन र भारतको त कुरै गर्नुपर्दैन, उनीहरूको तयारी पोशाक उद्योग निकै ठूलो स्तरमा स्थापित भइसकेको छ । नेपालमा पनि यो उद्योगलाई ठूलो स्तरमा विस्तार गर्न हामी प्रयासरत छौं । तर विभिन्न कारणले नेपाली तयारी पोशाक अन्तर्राष्ट्रिय बजारमा करिब २५ प्रतिशतसम्म महँगो पर्ने अवस्था छ । पूर्वाधारको कमी, उच्च लजिस्टिक लागत, कार्गो भाडा र ढुवानी खर्चका कारण नेपाली उत्पादन प्रतिस्पर्धी बन्न सकेको छैन । त्यसमाथि हामीसँग ‘ग्रीन च्यानल’को सुविधा छैन, जसका कारण सामान समयमा गन्तव्यसम्म पुग्न सक्दैन । विभिन्न कारणले सरकारले दिँदै आएको इन्सेन्टिभसमेत अहिले रोकिएको अवस्था छ । हामीसँग प्राकृतिक फाइबर, प्लान्ट बेस्ड फाइबर र एनिमल बेस्ड फाइबरको पर्याप्त सम्भावना छ । त्यसैगरी, अहिले रूग्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने र नेपालमा कपास खेतीलाई पुनर्जीवित गर्ने काम गर्न आवश्यक छ । यी सबै समस्याको समाधान गर्न सकेमा नेपाली तयारी पोशाक उद्योगलाई थप प्रतिस्पर्धी बनाउँदै निर्यातमा ठूलो वृद्धि गर्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता बढाउन सरकारले के–के गर्नुपर्छ होला ? लजिस्टिक लागत नै हाम्रो ठूलो चुनौती हो । हाम्रो कुल लागतको करिब १०–१२ प्रतिशत रकम ट्रान्सपोर्टेसनमै खर्च हुन्छ । सामानलाई मिडिल इस्ट वा बीचको कुनै हबमा लगेर त्यहाँबाट अन्तर्राष्ट्रिय बजारमा पठाउने हो भने पनि लागत केही कम गर्न सकिने सम्भावना छ । त्यसका लागि सरकारले आवश्यक मेकानिजम बनाउनुपर्छ। त्यसैगरी, आफ्नै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्छ । नयाँ प्रविधि भित्र्याउन सरकारले सब्सिडी तथा अन्य प्रोत्साहनका कार्यक्रम ल्याउन आवश्यक छ । एलडीसी ग्राजुएसनपछि तयारी पोशाक उद्योगमा ‘डबल ट्रान्सफर्मेसन’को आवश्यकता पर्ने भएकाले त्यसका लागि पनि अहिलेबाटै तयारी गर्नुपर्छ । त्यसका साथै उद्योग स्थापनाका लागि आवश्यक जग्गा प्राप्तिको समस्या समाधान गर्नुपर्छ ।  किनभने उद्योगको लागि जग्गा धेरै चाहिन्छ । प्रविधिको विकास र आधुनिकीकरणमा पनि विशेष ध्यान दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विभिन्न देशसँग फ्रि ट्रेड एग्रिमेन्ट (एफटीए) गर्न पहल गर्नु हो । साथै विदेशी लगानी (एफडीआई) भित्र्याएर नेपालमै उत्पादन र मूल्य अभिवृद्धि गर्ने वातावरण बनाउनुपर्छ । यद्यपि, नेपालका केही सकारात्मक पक्ष पनि छन् । नेपालमा विद्युत् तुलनात्मक रूपमा सस्तो छ । श्रम लागत पनि अन्य मुलुकको तुलनामा प्रतिस्पर्धी नै छ । चीन र भारतको तुलनामा नेपालमा श्रम लागत कम छ भने बंगलादेश र भियतनामको तुलनामा पनि हामी प्रतिस्पर्धी अवस्थामा छौं । नीतिगत रूपमा सरकारले तुरुन्तै गर्नुपर्ने कामहरू के–के हुन् ? सरकारले सबैभन्दा पहिले रूग्ण अवस्थामा रहेका तयारी पोशाक उद्योगलाई तत्काल पुनःसञ्चालनमा ल्याउन पहल गर्नुपर्छ । त्यसैगरी, ‘ग्रीन गार्मेन्ट भिलेज’को अवधारणामा जान आवश्यक छ । उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक कलेज तथा तालिम केन्द्र स्थापना र सञ्चालनमा जोड दिनुपर्छ ।  तयारी पोशाक उद्योगलाई लक्षित गरी स्पष्ट र प्रभावकारी निर्यात नीति बनाउनुपर्छ । पारवहन तथा लजिस्टिक लागत घटाउन विशेष पहल आवश्यक छ । इन्स्टिच्युट अफ एक्सपोर्ट एन्ड इन्टरनेसनल ट्रेड (ईसीआई) लगायत निर्यात प्रवर्द्धनसँग सम्बन्धित संस्थागत संरचनालाई प्रभावकारी बनाउनुपर्छ । नेपालमा एकीकृत प्रयोगशाला (इन्टिग्रेटेड ल्याब) को अभाव रहेकाले त्यसको समेत व्यवस्था गर्न आवश्यक छ । बैंकिङ नीतिलाई पनि उद्योगमैत्री र लचिलो बनाउनुपर्छ ।  निर्यातमा बैंकिङ क्षेत्रमा खासै समस्या छैन । तर तेस्रो मुलुकमा निर्यात गर्ने उद्योगका लागि केही समस्या छन् । विगतमा पर्चेज अर्डर वा अर्डरसम्बन्धी कागजातका आधारमा बैंकबाट कर्जा लिन सकिने व्यवस्था थियो, तर केही समयदेखि यो सुविधा रोकिएको छ । उक्त व्यवस्था पुनः सुचारु गर्न आवश्यक छ । त्यसैगरी, रोयल्टी, पूर्वाधार विकास र औद्योगिक विकासका क्षेत्रमा पनि सरकारले स्पष्ट नीति बनाएर काम गर्नुपर्छ।  कच्चा पदार्थमा हामी कति प्रतिशत आयातमै निर्भर छौं ? स्वदेशमै कपडा तथा अन्य कच्चा पदार्थको उत्पादन बढाउन सक्ने सम्भावना कति छ ? अहिले तयारी पोशाक उद्योग कच्चा पदार्थका आयातमै निर्भर छ । वार्षिक रूपमा प्रयोग हुने कुल कच्चा पदार्थमध्ये करिब ६० प्रतिशत आयात गर्नुपर्ने अवस्था छ भने बाँकी ४० प्रतिशत मात्रै स्वदेशी कच्चा पदार्थ प्रयोग भइरहेको छ । त्यसैले अहिले नै पूर्ण रूपमा नेपाली कच्चा पदार्थमा निर्भर भएर उद्योग सञ्चालन गर्न सकिने अवस्था छैन । यद्यपि, नेपालमा प्राकृतिक फाइबर र कपास उत्पादनमा ठूलो सम्भावना छ । विगतमा कपास खेतीको विकासका लागि रहेको कपास विकास प्राधिकरण खारेज भएपछि नेपालमा कपास खेती अहिले लगभग छैन । त्यसलाई पुनर्जीवित गर्न आवश्यक छ । त्यस्तै, प्लान्ट बेस्ड फाइबर उत्पादन र प्रशोधनमा वनसम्बन्धी लगायत विभिन्न कानुनी अवरोध छन् । ती कानुनलाई समयानुकूल परिमार्जन गरी नयाँ सम्भावनाका क्षेत्रमा काम गर्न सके स्वदेशमै कच्चा पदार्थ उत्पादन बढाउन सकिन्छ । तर यसका लागि पूर्वाधार विकास पनि उत्तिकै महत्त्वपूर्ण छ । सडक तथा ढुवानीको सुविधा कमजोर हुँदा बोर्डरदेखि उद्योगसम्म कच्चा पदार्थ ल्याउँदा लागत निकै महँगो पर्छ । निर्यात प्रवर्द्धनका लागि प्रभावकारी र समयानुकूल नीति आवश्यक छ । नेपालको निर्यात नीति पुरानो भएकाले त्यसलाई पनि वर्तमान अन्तर्राष्ट्रिय व्यापार प्रणालीअनुसार परिमार्जन गर्नुपर्छ ।  नेपालका उच्च पहाडी, मध्यपहाडी तथा तराई क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक कच्चा पदार्थ उपलब्ध छन् । ती कच्चा पदार्थलाई प्लान्ट बेस्ड फाइबरका रूपमा प्रशोधन गरी उच्च मूल्य अभिवृद्धि गर्न सकिन्छ । अहिले विश्व बजारमा लिनेन, प्राकृतिक हेम्प, अल्लोजस्ता प्राकृतिक रेसाबाट बनेका कपडाप्रति आकर्षण बढिरहेको छ । त्यसैले नेपालमा उपलब्ध प्राकृतिक कच्चा पदार्थलाई प्रशोधन गरी उच्च मूल्य अभिवृद्धिसहित अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सके नेपाली तयारी पोशाक उद्योगले नयाँ सम्भावना हासिल गर्न सक्छ । यो उद्योगका लागि आवश्यक दक्ष जनशक्ति कति हो ?  उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब १ लाख जनाले रोजगारी पाइरहेका छन् । तर अहिले उद्योगका लागि आवश्यक श्रमशक्तिको अभाव ठूलो समस्याका रूपमा देखिएको छ । ठूलो संख्यामा नेपाली श्रमशक्ति विदेश गएपछि उद्योग सञ्चालनका लागि आवश्यक जनशक्ति पाउनसमेत कठिन भइरहेको छ । यद्यपि, उद्योगका लागि आवश्यक जनशक्ति उत्पादन गर्न धेरै समय लाग्दैन । करिब तीन महिनाको तालिम दिएपछि कामदारलाई दक्ष बनाउन सकिन्छ । नेपालमा तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने हो भने उनीहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तयारी पोशाक उत्पादन गर्न सक्छन् । विदेशी कामदारको अवस्था कस्तो छ ? नेपालका तयारी पोशाक उद्योगमा भारतबाट आएका प्राविधिक कामदारहरू कार्यरत छन् । केही बंगलादेशी कामदारसमेत छन् । विदेशी कामदारलाई व्यवस्थित रूपमा दर्ता गरी कानुनी प्रक्रियाअनुसार काम गर्ने वातावरण बनाउन आवश्यक छ । त्यसका साथै नेपाली उद्योगको उत्पादन बढाउन सरकारले स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्छ । नेपाली सेना, नेपाल प्रहरी, विद्यालय तथा कैदीबन्दीका लागि आवश्यक पोशाकलगायत सामग्री सम्भव भएसम्म स्वदेशी उद्योगबाटै खरिद गर्ने नीति ल्याउनुपर्छ । यसले स्वदेशी उद्योगलाई बजार सुनिश्चित गर्नुका साथै उत्पादन र रोजगारी विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ । नयाँ बजारको सम्भावना कस्तो छ ? नयाँ बजारको ठूलो सम्भावना छ । युरोपमा अहिले पनि ड्युटी–फ्री सुविधा रहेकाले त्यहाँ नेपाली तयारी पोशाकको बजार विस्तार गर्न सकिन्छ । एलडीसी ग्राजुएसनपछि युरोपेली बजारमा कसरी आफ्नो पहुँच कायम राख्ने र अन्य बजारमा कसरी विस्तार गर्ने भन्ने विषयमा हामीले काम गरिरहेका छौं । अमेरिकी बजार हाम्रो सबैभन्दा सम्भावनायुक्त बजार हो । त्यसबाहेक दक्षिण अमेरिकी मुलुक, दक्षिण अफ्रिका र रुसलगायतका बजारमा पनि सम्भावना खोज्न सकिन्छ । सरकारले विभिन्न मुलुकसँग एफटीए गर्न पहल गर्ने र आवश्यक सहजीकरण गर्ने हो भने नेपालको तयारी पोशाक उद्योगले ती बजारमा आफ्नो उपस्थिति विस्तार गर्न सक्छ । हेटौंडा कपडा उद्योग पुनःसञ्चालनको प्रक्रिया अघि बढाउनु सकारात्मक कदम हो । हामीले लामो समयदेखि रुग्ण उद्योग सञ्चालनमा ल्याउन पहल गर्दै आएका छौं । सरकारले टेक्सटाइल एन्ड क्लोथिङ डेभलपमेन्टसम्बन्धी रणनीति बनाएर निर्यात प्रवर्द्धन, विदेशी लगानी, सीप विकास, पूर्वाधार, डिजाइन, ब्रान्डिङ र बजारीकरणमा काम गर्न आवश्यक छ । त्यसैगरी, एक्सपोर्ट क्रेडिट इन्स्योरेन्स, सीप विकास तालिम, अन्तर्राष्ट्रिय व्यापार मेला, ई–कमर्सलगायतका माध्यमबाट नेपाली तयारी पोशाकलाई विश्व बजारमा प्रवर्द्धन गर्नुपर्छ । सरकारले निर्यातबाट प्राप्त आम्दानीको निश्चित हिस्सा उद्योगको प्रवर्द्धनमा लगानी गर्ने व्यवस्था गर्न सके अझ प्रभावकारी हुन्छ । ‘ग्रीन गार्मेन्ट भिलेज’को अवधारणाअनुसार काठमाडौंलगायत विभिन्न स्थानमा छरिएर रहेका साना गार्मेन्ट उद्योगलाई एकीकृत रूपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ । यसले उत्पादन लागत घटाउनुका साथै उद्योगलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग गर्छ ।  त्यसैगरी, नयाँ पुस्ता अर्थात् जेनजीलाई तयारी पोशाक उद्योग र स्टार्टअपसँग जोड्नुपर्छ । उनीहरूको नयाँ सोच र प्रविधिलाई उद्योगसँग जोड्ने तथा देशमै काम गर्ने वातावरण सिर्जना गर्ने गरी कानुनी र नीतिगत सुधार आवश्यक छ । विदेशी पोशाकको तुलनामा नेपाली पोशाक महँगो हुन्छ भन्ने आमगुनासो छ नि ? नेपाली पोशाक विदेशीभन्दा महँगो छैन । फेसन डिजाइनिङ अनुसारको उत्पादनका कारण केही महँगो देखिएको हुन सक्छ, तर समग्रमा नेपाली तयारी पोशाक महँगो छैन । गुणस्तरका हिसाबले नेपाली उत्पादन पनि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध लुगाभन्दा कम छैन ।  अहिले बजारमा विदेशी ब्रान्डको नक्कल गरेर उत्पादन गर्ने प्रवृत्ति पनि देखिन्छ । हामीले आफ्नै ब्रान्ड विकास गरेर बजारमा लैजान उद्योगीलाई प्रोत्साहित गरिरहेका छौं । आफ्नै ब्रान्ड बनाउनुपर्छ र आफ्नै उत्पादनमा गर्व गर्नुपर्छ । विदेशी ब्रान्डको नक्कल गर्दा विभिन्न कानुनी तथा बजारसम्बन्धी समस्या आउन सक्छ । गुणस्तरको मापदण्ड के छ ? ‘मेड इन नेपाल’ ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सकेका छौं ? तयारी पोशाकको गुणस्तर मुख्यतः ग्राहकको अर्डर र डिजाइनअनुसार निर्धारण हुन्छ । नेपाली उद्योगको गुणस्तरमा कुनै सम्झौता छैन । नेपाली कामदारको सीप अन्तर्राष्ट्रिय बजारमा समेत बिकिरहेको छ र नेपाली उत्पादनले गुणस्तर कायम गर्दै आएको छ ।  अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने तयारी पोशाकमा ‘मेड इन नेपाल’ उल्लेख नगरी निर्यात गर्न सकिँदैन । त्यसैले नेपाली उत्पादनको पहिचान अन्तर्राष्ट्रिय बजारमा पुगिरहेको छ । नेपालका आफ्नै ब्रान्डहरू पनि क्रमशः विश्व बजारमा विस्तार हुने क्रममा छन् । तर नेपालमा चोरी–पैठारी ठूलो समस्या हो । कानुनी रूपमा आयात हुने सामानको हाराहारीमै अवैध रूपमा सामान भित्रिने अवस्था छ । यसले स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पारिरहेको छ । त्यसैले चोरी–पैठारी नियन्त्रण गरी स्वदेशी उत्पादन र नेपाली ब्रान्डलाई प्रोत्साहन गर्न आवश्यक छ । तपाईंहरूले प्रधानमन्त्रीसँग भेटघाट पनि गर्नुभयो, भेटघाट कस्तो रह्यो त ? प्रधानमन्त्रीज्यू निकै सकारात्मक हुनुहुन्छ । उहाँले ‘तुरुन्तै काम सुरु गर्नूस्’ भनेर निर्देशन दिनुभएको छ । उहाँ जसरी पनि देशको विकास गरेर गरिबी हटाउन चाहनुहुन्छ । उहाँसँगको भेटघाट निकै सौहार्दपूर्ण र सकारात्मक रह्यो ।  प्रधानमन्त्रीज्यूले तयारी पोशाक उद्योगले देशको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । यस क्षेत्रले ठूलो मात्रामा लगानी भित्र्याउन, निर्यात बढाउन र रोजगारी सिर्जना गर्न सक्छ । स्वदेशमै उपलब्ध कच्चा पदार्थको प्रयोग बढाउँदै दुर्गम क्षेत्रसम्म उद्योग विस्तार गर्ने विषयमा पनि छलफल भयो ।  त्यसैगरी, अमेरिकी बजारमा नेपाली तयारी पोशाकको पहुँच कसरी विस्तार गर्ने, भारत र चीनसँग व्यापारिक कनेक्टिभिटी कसरी बढाउने तथा मिडिल इस्टका ठूला व्यवसाय र बजारसँग कसरी जोडिने भन्ने विषयमा पनि छलफल भयो । विश्व बजारलाई नेपाली तयारी पोशाकसँग जोड्दै नेपालको अर्थतन्त्रलाई सबल बनाउन आवश्यक सबै पहल गर्ने र त्यसका लागि पुँजी परिचालन कसरी गर्ने भन्ने विषयमा समेत सकारात्मक छलफल भएको छ । अहिलेको सरकार व्यवसायमैत्री देखिएको छ । सरकारले केही काम अघि बढाइसकेको छ । वाणिज्य मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयलाई आवश्यक सहजीकरणका लागि निर्देशनसमेत दिइसकेको  छ । मन्त्रालयहरूले पनि केही विषयमा काम अघि बढाउन थालेका छन् । तयारी पोशाक उद्योगसँग सम्बन्धित काउन्सिल गठन तथा रूग्ण उद्योग पुनःसञ्चालनलगायत विषयमा काम प्रक्रिया अघि बढेको सुनेका छौं ।  नयाँ सरकारसँग हामी निकै आशावादी छौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्न सके तयारी पोशाक उद्योगलाई पुनःउत्थान गरी देशको निर्यात, रोजगारी र आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।