काठमाडौं । इरानले अमेरिकी प्रतिबन्धका कारण अर्थतन्त्रमा सिर्जना भएका समस्यासँग जुध्न थप प्रयास गर्ने जनाएको छ । साथै एक वरिष्ठ इरानी अधिकारीले इरानमाथि थप हमला भए त्यसको ‘पीडादायी जवाफ’ दिने चेतावनी दिएका छन् ।
इरानमाथि अमेरिका र इजरायलले हमला गरेको ६ महिना बितिसकेको छ । अहिले युद्ध गतिरोधको अवस्थामा पुगेको देखिन्छ । जुन महिनामा भएको प्रारम्भिक युद्धविराम सम्झौता भत्किइसकेको छ भने शान्ति प्रक्रिया पुनः अघि बढाउन कूटनीतिक प्रयासमा पनि खासै प्रगति हुन सकेको छैन ।
अगस्ट महिनाको अधिकांश समय सैन्य गतिविधिमा रोकावट आए पनि पछिल्लो समय दुवै पक्षबाट एकअर्कामाथि आक्रमण पुनः सुरु भएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबार इरानका तीनवटा तेल ट्यांकरमाथि हमला गरेको जनाएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीसी) ले अमेरिकी नौसेनाका दुई पानीजहाजलाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको जवाफमा उक्त कारबाही गरिएको अमेरिकी पक्षको भनाइ छ ।
आक्रमणपछि इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले आइतबार अमेरिकाले ‘धेरै ढिला हुनुअघि’ इरानविरुद्धको युद्धमा खेलका नियमहरू परिवर्तन भइसकेको बुझ्नुपर्ने बताए ।
टेलिग्राम च्यानलमा प्रकाशित भाषणमा उनले भने, ‘अबदेखि इरानको हित र सुरक्षाविरुद्ध हुने कुनै पनि आक्रमणको जवाफ अझ छिटो, अझ कडा र अझ पीडादायी हुनेछ ।’
इरानले छिमेकी मुलुकमा रहेका अमेरिकी स्वार्थमाथि आक्रमण गर्ने क्षमता अझै कायम राखेको देखाएको छ । साथै विश्वको कुल तेल आपूर्तिको करिब पाँच भागमध्ये एक भाग द्वन्द्वअघि बग्ने गरेको होर्मुज जलडमरूमध्यबाट हुने तेल आपूर्ति रोक्न सक्ने क्षमता पनि इरानसँग छ ।
प्रतिबन्ध र तेल नाकाबन्दीले अर्थतन्त्रमा दबाब
तर, इरानको तेल निर्यातमा नाकाबन्दी लगाउँदै र प्रतिबन्ध छल्ने प्रयास रोक्दै उसको अर्थतन्त्रलाई कमजोर बनाउने अमेरिकी अभियान थेग्न इरानलाई झन् कठिन हुँदै गएको तीन वरिष्ठ इरानी स्रोतले बताएका छन् ।
गालिबाफले आइतबारको भाषणमा सैन्य मोर्चासँगै इरानको मुख्य लडाइँ अब उत्पादन र जनताको जीविकोपार्जनसँग सम्बन्धित रहेको बताए ।
उनले मुद्रा विनिमय दरमा तीव्र उतारचढाव, मुद्रास्फीति, बेरोजगारी र बजार व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा औँल्याए । इरानी नागरिकले कठिनाइ सहन सक्ने भए पनि अव्यवस्थापन र निष्क्रियता भने स्वीकार गर्न नसक्ने भन्दै उनले सरकारले तत्काल कदम चाल्नुपर्ने बताए ।
इरानका अर्थमन्त्री अली मदानिजादेहले अमेरिकी आर्थिक दबाबको जवाफ सुधारमार्फत दिने तेहरानको योजना रहेको बताएका छन् । राज्य सञ्चारमाध्यमका अनुसार उनले प्रतिबन्धका कारण इरानले आफ्नो नीति परिवर्तन गर्ने धारणा अस्वीकार गरेका छन् ।
मदानिजादेहले भने, ‘उनीहरू आर्थिक दबाब र एक्ल्याउने, वित्तीय सम्बन्ध तोड्ने कुरा गर्छन् । उनीहरूलाई लाग्छ, कुनै देशको अर्थतन्त्रमाथि दबाब दिएर त्यहाँका जनताको निर्णय परिवर्तन गर्न सकिन्छ ।’
उनले थपे, ‘एउटा कुरा स्पष्ट गर्नुपर्छ, इरानको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी अमेरिकी अर्थ मन्त्रालयको होइन, इरान सरकार र जनताको हो ।’
यसैबीच अर्थ मन्त्रालयका उपमन्त्री मोर्तेजा जमानियनले युद्धका कारण उत्पन्न समस्याको समाधान गर्न मन्त्रालयको ‘आर्थिक युद्ध मुख्यालय’ले आफ्नो कामलाई थप तीव्र बनाएको बताएका छन् । अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार उनले यस्तो बताएका हुन् ।
पछिल्ला महिनामा खार्ग द्वीपमा ५५० पटक हमला भएको इरानको दाबी
इरान पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादक हो । युद्धअघि उसले आफ्नो कच्चा तेलको करिब ९० प्रतिशत खार्ग द्वीपस्थित निर्यात केन्द्रमार्फत निर्यात गर्दै आएको थियो । अमेरिकी नाकाबन्दीका कारण अप्रिलको मध्यदेखि इरानको तेल आपूर्ति प्रभावित हुँदै आएको छ ।
अगस्ट ३१ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक लाइनको पोस्ट गर्दै खार्ग द्वीपलाई ‘पूर्ण रूपमा ध्वस्त पारिएको’ देखाउने एआईबाट निर्मित भिडियोसमेत सार्वजनिक गरेका थिए । खार्गमाथि हमला भए कडा जवाफ दिने इरानी अधिकारीहरूले चेतावनी दिँदै आएका छन् ।
इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा पछिल्ला महिनाहरूमा खार्ग द्वीपमा करिब ५५० पटक हमला भएको तर त्यसका बाबजुद पनि द्वीपले आफ्नो गतिविधि जारी राखेको बताए ।
इरानले हर्मुज जलडमरूमध्यमा समेत नाकाबन्दी लगाएको छ । यसका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको छ, जसले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि राष्ट्रपति ट्रम्पका लागि चुनौती थपेको छ ।
शनिबार अमेरिकी सेन्ट्रल कमान्डले खार्ग द्वीपको तट नजिक रहेको एउटा पानीजहाजसहित इरानका तीनवटा पानीजहाजमाथि हमला गरेको जनाएको थियो । इरानको आईआरजीसीले अमेरिकी नौसेनाका दुई पानीजहाजमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि ती हमला गरिएको अमेरिकी पक्षको भनाइ छ ।
मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गर्ने अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले भने, ‘आईआरजीसीलाई सन्देश स्पष्ट हुनुपर्छ, यदि तपाईंहरूले हाम्रा दुई पानीजहाजमाथि गोली चलाउनुहुन्छ भने हामी तपाईंहरूका तीनवटा पानीजहाज नष्ट गरेर अझ ठूलो आर्थिक मूल्य चुकाउने बनाउँछौं ।’
यसको जवाफमा आईआरजीसीले क्षेत्रमा रहेका अमेरिकी सैन्य पानीजहाजमाथि थप तीव्र आक्रमण गर्ने चेतावनी दिएको छ । साथै अन्य क्षेत्रमा रहेका तीन अमेरिकी सम्बन्धित पानीजहाजसहित ती तीनवटा ट्यांकरलाई पनि लक्षित गरेको जनाएको छ ।
इरानी सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा आईआरजीसी नौसेनाले भनेको छ, ‘अमेरिकी ‘आतंकवादी’ सेनाको सन्देशबाट भ्रमित नहुनुहोस् र अनुमति नदिइएका जलमार्गबाट पार गर्ने उद्देश्यले कुनै शंकास्पद गतिविधि नगर्नूहोस् । अन्यथा तपाईंहरूलाई निशाना बनाइनेछ ।’
अर्धसरकारी इरानी समाचार संस्था तस्निमका अनुसार खार्गको बन्दरगाह क्षेत्रमा रहेको एउटा तेल ट्यांकरमा चारवटा अमेरिकी क्षेप्यास्त्र प्रहार भएका थिए । स्थानीय स्रोतलाई उद्धृत गर्दै तस्निमले घटनामा कुनै मानवीय क्षति नभएको र ट्यांकरका चालक दलका सदस्यहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना कुनै पनि कर्मचारी घाइते नभएको जनाएको छ ।
आइतबार तस्निमले उत्तरी इराकको एर्बिलमाथि आईआरजीसीले अमेरिकी निगरानी बेलुन खसालेको दाबी गरेको छ । इरानले यसलाई क्षेत्रमा अमेरिकी हवाई निगरानी तथा प्रारम्भिक चेतावनी प्रणाली हटाउने व्यापक अभियानको हिस्सा भएको जनाएको छ ।