काठमाडौं । स्वस्तिक रोलिङ मिल्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यसअघि कम्पनीको आम्दानी आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १४ करोड ४० लाख रुपैयाँ, आव २०७९/८० मा ३ अर्ब ४८ करोड ६० लाख रुपैयाँ र आव २०७८/७९ मा १ अर्ब २ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
सन् २०१४ मा स्थापना भएको स्वस्तिक रोलिङ मिल्स प्राथमिक इस्पात उत्पादक कम्पनी हो । कम्पनीले स्पन्ज आइरनबाट एमएस बिलेट उत्पादन गरी त्यसबाट टीएमटी छड तथा फ्ल्याट, एङ्गल र च्यानललगायत संरचनात्मक इस्पात सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन ‘बजरङ स्टिल’ नामबाट बजारमा बिक्री हुँदै आएका छन् ।
कम्पनीसँग वार्षिक ७२ हजार मेट्रिक टन बिलेट, १ लाख २५ हजार मेट्रिक टन टीएमटी छड र १ लाख ४० हजार मेट्रिक टन संरचनात्मक इस्पात सामग्री उत्पादन गर्ने क्षमता रहेको छ। सन् २०२६ को मेसम्म कम्पनीको चुक्ता पुँजी ३१ करोड ३० लाख रुपैयाँ रहेको छ । उक्त पुँजी ६ जना व्यक्तिको स्वामित्वमा रहेकोमा सबैभन्दा ठूलो हिस्सा आरके गोल्छा समूहसँग सम्बन्धित व्यक्तिहरूको रहेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ३ अर्ब रुपैयाँ ऋण लिएको छ । कुल ऋणमध्ये १ अर्ब २० करोड रुपैयाँ दीर्घकालीन र १ अर्ब ८० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
इस्पात उद्योगको माग तथा गतिविधि घरजग्गा र निर्माण क्षेत्रको उतारचढावसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले निर्माण क्षेत्रमा आउने परिवर्तनले कम्पनीको उत्पादन क्षमता उपयोग, आम्दानी तथा नाफामा असर पार्ने देखिएको छ । निर्माण गतिविधिमा आएको सुस्तताका कारण पछिल्लो समय इस्पातको माग केही कमजोर रहे पनि दीर्घकालमा इस्पातजन्य उत्पादनको माग बढ्ने सम्भावना रहेको जनाएको छ ।
नेपालमा पूर्वाधारको ठूलो आवश्यकता रहेकाले सार्वजनिक तथा निजी क्षेत्रबाट अघि बढिरहेका तथा प्रस्तावित पूर्वाधार आयोजनाले आगामी दिनमा इस्पातको माग बढाउन सक्ने अपेक्षा कम्पनीको छ । तर, उद्योगको चक्रीय प्रकृतिका कारण कम्पनीको नगद प्रवाहमा उतारचढाव आउन सक्ने र उच्च ऋण भारका कारण यसले तरलता व्यवस्थापनमा थप दबाब सिर्जना गर्न सक्ने जनाएको छ ।
नेपालको इस्पात उद्योगमा ठूलो संख्यामा स्थापित द्वितीयक इस्पात उत्पादक रहेकाले बजारमा प्रतिस्पर्धा उच्च रहेको छ। पछिल्ला वर्षहरूमा अधिकांश उत्पादकले कच्चा पदार्थदेखि तयार उत्पादनसम्मको प्रक्रिया आफैंभित्र समेट्ने गरी उत्पादन प्रणाली विस्तार गर्दै आएका छन् । यसले स्वस्तिकमाथि प्रतिस्पर्धात्मक दबाब बढाउनुका साथै बजार मूल्यमा समेत दबाब सिर्जना गर्न सक्ने देखिन्छ ।
त्यसैगरी, भन्सार संरक्षण प्राप्त उद्योगमा रहेकाले कम्पनी आयात शुल्क तथा महसुलसम्बन्धी नीतिगत परिवर्तनप्रति संवेदनशील रहेको छ । विशेषगरी टीएमटी छड तथा त्यसका लागि आवश्यक कच्चा पदार्थमा लाग्ने आयात शुल्क वा महसुल घटाइए वा हटाइएमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कम्पनीलाई थप चुनौती हुन सक्ने कम्पनीको भनाइ छ ।
यद्यपि, प्राथमिक इस्पात उत्पादक भएकाले कम्पनीले द्वितीयक इस्पात उत्पादकको तुलनामा थप भन्सार सुविधाको लाभ प्राप्त गर्दै आएको छ । आफ्नै बिलेट उत्पादनका लागि कम्पनीसँग इस्पात पगाल्ने संयन्त्र रहेकाले उत्पादन प्रक्रियामा एकीकरण कायम भएको छ। यसलाई कम्पनीको सकारात्मक पक्षका रूपमा लिइएको छ । देशमा पूर्वाधार निर्माणको ठूलो आवश्यकता रहेकाले दीर्घकालमा इस्पातजन्य उत्पादनको माग बढ्ने सम्भावना रहेको छ । सार्वजनिक तथा निजी क्षेत्रका पूर्वाधार आयोजना बढ्दै जाँदा स्वस्तिकजस्ता एकीकृत प्राथमिक इस्पात उत्पादकलाई त्यसबाट लाभ पुग्न सक्ने देखिएको छ ।