कृष्णभीरमा सडकको विकल्प खोज्दै मन्त्रालय, पुल कि सुरुङ ?

६ स्काभेटरले खनिँदैछ बाटो

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि ठप्प बनेको यातायात सञ्चालन गर्न वैकल्पिक ट्र्याक निर्माण तीव्र रूपमा अघि बढाइएको छ । त्रिशूली नदीले राजमार्गको तल्लो भाग कटान गरी करिब एक सय मिटर लामो सुरक्षा वाल भत्काएपछि ठूलो हिस्सा बगाएको थियो ।

सडक विभागले डाँडा काटेर करिब ३०० मिटर लामो नयाँ सडक खोल्ने काम युद्धस्तरमा अघि बढाइरहेको जनाएकाे छ । जसमा नयाँ ट्रयाक खन्ने क्रममा पहिरोको उच्च जोखिम देखिएको छ । सडक निर्माण भइरहेको स्थानभन्दा करिब २० मिटर माथिल्लो पाखामा जमिन चिरिएको भेटिएको छ ।

भूगर्भविद्हरूका अनुसार डाइभर्सन निर्माण स्थलभन्दा माथिल्लो भिरमा १५ मिटर लम्बाइ र एक फुटभन्दा बढी चौडाइका ७ वटा ठूला चिरा देखिएका छन्, जुन पहिरोका दृष्टिले अत्यन्त गम्भीर जोखिमयुक्त मानिन्छन् । जोखिमका बाबजुद सडक विभागले यातायात तत्काल सुचारु गर्न वैकल्पिक ट्रयाकको कामलाई निरन्तरता दिइरहेको छ ।

जटिल भौगोलिक बनावटका बीच नयाँ सडक ट्रयाक खोल्ने कार्य तीव्र गतिमा अगाडि बढेको सडक विभाग अन्तर्गतको नौबिसे-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी तथा इन्जिनियर सचेन्द्र मिश्रले विकासन्युजलाई जानकारी दिए ।

उनका अनुसार जियोटेक सोसाइटीको प्राविधिक सुपरिवेक्षण र डिजाइनमा भइरहेको यो निर्माण कार्यको ४ दिन बितिसकेको छ । निर्माण कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै मिश्रेले आगामी ५ देखि ७ दिनभित्रमा कटिङको काम सकेर बाटो सुचारु गर्ने लक्ष्य रहेको बताए । 

कामलाई छिटो सम्पन्न गर्न कार्यस्थलमा ६ वटा एक्साभेटर, एउटा लोडर, एउटा बुलडोजर र एउटा जेसीबी परिचालन गरिएको उनको भनाइ छ ।

पहिरो थुप्रिएको र जमिन चर्किएको अत्यन्तै जोखिमपूर्ण ठाउँ भएकाले सडकलाई सुरक्षित बनाउन विशेष इन्जिनियरिङ प्रविधिको प्रयोग गरिएको छ ।

सूचना अधिकारी मिश्रका अनुसार सडकलाई स्थिर बनाउन भित्तातिर दुई तहसम्म सिट पाइल गाड्ने योजना छ । साथै पानीको निकासका लागि साइड ड्रेन र ग्याबिन ड्रेन निर्माण गरिनेछ, जसमा जियो टेक्सटायलको प्रयोग गरिनेछ । सडकको अन्तिम सुरक्षाका लागि माइक्रो पाइलसमेत गरिने डिजाइनमा उल्लेख छ ।

कस्तो बन्नेछ बाटो ?

अहिले निर्माण भइरहेको सडक ७ मिटर चौडाइको क्यारिज वेसहितको हुनेछ । यो दुई लेनको ग्राभेल सडक रहनेछ । दशैं अगावै र सम्भवतः भदौ मसान्तसम्ममा यो बाटो पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

यो आयोजना सडक विभागको साविककै ठेक्काअन्तर्गत भइरहेको भए पनि अहिलेको कार्य आकस्मिक मर्मतको श्रेणीमा रहेको आयोजनाले जनाएको छ । आकस्मिक परिस्थितिमा काम भइरहेकाले यसको कुल लागत कति हुने भन्नेबारे काम सम्पन्न भएपछि मात्रै यकिन हुने मिश्रले बताए ।

हालसम्मको प्रगति सन्तोषजनक रहेको र कुनै थप प्राकृतिक अवरोध नआएमा लक्षित समयभित्रै सर्वसाधारणका लागि बाटो खुल्नेमा निर्माण टोली आशावादी देखिएको छ ।

अवरोध हटाउन सुरुङको विकल्प खोज्दै मन्त्रालय

पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर र मुग्लिन-मलेखु सडकखण्डमा भइरहेको अवरोध हटाउन र दीर्घकालीन समाधानका लागि सरकारले विभिन्न विकल्पहरूमा अध्ययन गरिरहेको छ । पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले हाल बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सञ्चालन गर्न डाइभर्सन निर्माणलाई तीव्रता दिइएको जानकारी दिए ।

उनका अनुसार अहिले मन्त्रालय र सडक विभागको मुख्य प्राथमिकता अवरुद्ध सडक खुलाउनु रहेको छ । कृष्णभीर क्षेत्रमा अहिले नयाँ ट्र्याक खोल्ने र डाइभर्सन बनाउने काम तीव्र गतिमा भइरहेको उनको भनाइ छ । 

‘अहिले तत्कालका लागि बाटो जोड्ने काम भइरहेको छ । नयाँ ट्रयाक खुलेपछि त्यसमा ग्राभेल गरेर बलियो बनाइनेछ र दुईतर्फी यातायात सञ्चालन गरिनेछ, ’ उनले विकासन्युजसँग भने । 

कृष्णभीरको पहिरोलाई स्थायी रूपमा व्यवस्थापन गर्न मन्त्रालयले दुईवटा मुख्य विकल्प अघि बढाएको उनको भनाइ छ । उनका अनुसार पहिरोको जोखिम बढी भएको ठाउँमा सुरुङ बनाएर बाटो लैजाने । अर्को त्रिशूली नदीमा दुईवटा पुल निर्माण गरी सडकलाई पारि लगेर फेरि वारि ल्याउने ।

लम्सालले भने, ‘यी दुईमध्ये कुन विकल्प बढी उपयुक्त, दिगो र किफायती हुन्छ भन्नेबारे विस्तृत सम्भाव्यता अध्ययनपछि मात्र निर्णय हुनेछ । हिजोमात्र म्यानेजमेन्ट टिमले यसको प्रारम्भिक जानकारी गराइसकेको छ ।’  

मन्त्रालयका अनुसार हाल भइरहेको मर्मत र डाइभर्सनको काम मलेखु-मुग्लिन आयोजनाकै मौजुदा बजेटबाट भइरहेको छ । नयाँ निर्माणका लागि कति खर्च लाग्छ भन्ने कुरा विस्तृत अध्ययनपछि मात्र थाहा हुने उनले बताए । 

यो आयोजना सडक विभाग अन्तर्गतको मलेखु-मुग्लिन सडक आयोजनाले हेरिरहेको छ । अहिले तत्कालका लागि बाटो खुलाउने कामलाई प्राथमिकता दिइएको र थप नयाँ ठूला योजनाहरूका बारेमा अध्ययनकै चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

बाढीले क्षति पुगेका पुल र सडकहरुको पुनःनिर्माण केही दिनमै अगाडि बढ्ने मन्त्रालयको भनाइ छ । बाढीले ४१ पुल र ४० किलोमिटर सडकमा क्षति पुगेको थियो ।

अहिले बाढीबाट ध्वस्त सडकमध्ये विदुरदेखि बेत्रावतीसम्म करिब १० किलोमिटर सडकको पुनःनिर्माण  भइरहेको सडक विभागले जनाएको छ ।  विभागले बाँकी पुनःनिर्माण  काम विस्तारै अघि बढ्ने बताएको छ । अहिले पृथ्वी राजमार्ग सुनसान छ भने अहिले कान्तिपथ राजमार्गमा चाप छ ।

Share News