काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अमेरिकी सिक्कामा अंकित गरिएको छ । यो अमेरिकी संस्थाहरूमा आफ्नो व्यक्तिगत छाप छोड्ने राष्ट्रपतिको पछिल्लो कदमका रूपमा देखिएको छ ।
बुधबार अमेरिकी टकसाल (यूएस मिन्ट) ले अमेरिकाको २५०औं वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिर अंकित १ डलरको सिक्का सार्वजनिक गरेको हो । सिक्कामा ट्रम्पको तस्बिरसँगै ‘लिबर्टी’ र ‘इन गड ह्वी ट्रस्ट’ शब्द लेखिएका छन् ।
टकसालका अनुसार यी सिक्का दैनिक कारोबारमा प्रयोग गर्न बजारमा चलनचल्तीका रूपमा ल्याइने छैनन् । बरु सङ्कलनयोग्य सिक्काका रूपमा बिक्री गरिँदैछ ।

अमेरिकी कानुनले जीवित राष्ट्रपतिहरूको तस्बिर अमेरिकी मुद्रामा राख्न प्रतिबन्ध लगाएको छ । तर अमेरिकाको २५०औं वार्षिकोत्सवका लागि बनाइएको विशेष कानुनी व्यवस्थामा रहेको डिजाइनसम्बन्धी प्रावधान प्रयोग गर्दै उक्त प्रतिबन्धलाई पार गरिएको हो ।
२५ वटा सिक्काको एउटा रोलको मूल्य ६१ डलर र १०० वटा सिक्काको झोलाको मूल्य १५४.५० डलर तोकिएको छ । बिक्री सुरु भएको केही घण्टामै अमेरिकी टकसालको वेबसाइटमा यी सिक्का ‘हाल स्टकमा नरहेको’ देखिएको थियो । यद्यपि, थप सिक्का उत्पादन भइरहेको टकसालले जनाएको छ ।
यी सिक्का वासिङ्टन डीसीस्थित अमेरिकी टकसालको स्टोरमा राखिएका भेन्डिङ मेसिनबाट समेत बिक्री भइरहेका छन् ।

अमेरिकी टकसालका अनुसार यो सिक्का ‘अमेरिकाको ऐतिहासिक राष्ट्रिय उपलब्धि’ मनाउन तयार गरिएको हो।
टकसालले यसलाई ‘एक पुस्तामा एकपटक आउने वार्षिकोत्सवको विशेष डिजाइन’ भन्दै आधुनिक सिक्का सङ्कलनमा विशेष स्थान बनाउने अपेक्षा गरेको छ ।
सिक्का सुनौलो रङको भए पनि यसमा वास्तविक सुन भने प्रयोग गरिएको छैन । अमेरिकी टकसालका अनुसार सिक्कामा ८८.५ प्रतिशत तामा रहेको छ भने बाँकी भाग जिंक, निकेल र म्याङ्गानिजयुक्त ब्रासको बाहिरी तहबाट बनेको छ ।

वासिङ्टन डीसीस्थित अमेरिकी टकसालको स्टोरमा ट्रम्पको तस्बिर अंकित १ डलरका सिक्का बिक्री गर्ने भेन्डिङ मेसिन ।
यी सिक्का चलनचल्तीमा नआए पनि कानुनी रूपमा मान्य मुद्रा हुन्। त्यसैले ऋण वा कर तिर्न प्रयोग गर्न सकिन्छ । तर संघीय कानुनअनुसार व्यवसायहरूले यी सिक्का स्वीकार गर्ने वा नगर्ने निर्णय आफै गर्न सक्छन् ।
यसअघि मे महिनामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने योजना रहेको बताएका थिए ।
त्यतिबेला बेसेन्टले जीवित अमेरिकी राष्ट्रपति यसअघि पनि देशको मुद्रामा देखिएको उदाहरण रहेको उल्लेख गरेका थिए । सन् १९२६ मा अमेरिकाको १५०औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको आधा डलरको सिक्कामा तत्कालीन राष्ट्रपति क्याल्भिन कूलिजको तस्बिर राखिएको थियो ।
ट्रम्प प्रशासनले सन् २०२० मा ट्रम्पको पहिलो कार्यकालमा पारित ‘सर्कुलेटिङ कलेक्टिबल कोइन रिडिजाइन एक्ट’ लाई पनि आधार बनाएको छ ।
उक्त कानुनले सिक्काको पछाडिको भागमा जीवित व्यक्तिको तस्बिर राख्न प्रतिबन्ध लगाए पनि अगाडिको भा का लागि यस्तो प्रतिबन्ध स्पष्ट रूपमा उल्लेख गरेको छैन । नयाँ १ डलरको सिक्कामा ट्रम्पको तस्बिर अगाडिको भागमा राखिएको छ ।
यसै वर्ष मार्चमा अमेरिकी अर्थ मन्त्रालयले अमेरिकी कागजी नोटमा अब ट्रम्पको हस्ताक्षर राखिने घोषणा गरेको थियो । यो पनि पदमा बहाल रहेका अमेरिकी राष्ट्रपतिका लागि पहिलोपटक हुन लागेको हो ।