२१.२० अर्ब घट्यो बाढी प्रभावित हाईड्रोका लगानीकर्ताको सम्पत्ति, मूल्य निरन्तर ओराला

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको अकस्मात् बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाको असर सेयर बजारमा प्रत्यक्ष देखिएको छ । बाढीबाट प्रभावित जलविद्युत् कम्पनीहरूको सेयर मूल्य छोटो समयमै उल्लेख्य रूपमा घटेको हो । बाढीबाट प्रभावित रसुवागढी, चिलिमे, मैलुङ खोला र त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्यमा ३७ प्रतिशतसम्म गिरावट आएको छ ।

रसुवागढी हाइड्रोपावर

बाढीअघि भदौ ९ गते २४१ रुपैयाँमा अन्तिम कारोबार भएको रसुवागढी हाइड्रोपावरको सेयर मूल्य भदौ २६ गतेसम्म आइपुग्दा १६९.८० रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको सेयर मूल्य ७१.२० रुपैयाँ अर्थात् २९.५४ प्रतिशतले घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार बाढीपछि भदौ १७ गते कम्पनीको सेयरमा केही सुधार देखिए पनि त्यसपछि पुनः ओरालो लागेको थियो । उक्त दिन १६८ रुपैयाँमा खुलेको सेयर १७८.८ रुपैयाँमा बन्द भएको थियो ।

नेप्सेका अनुसार भदौ ११ गते १९५ रुपैयाँमा खुलेर १८८ रुपैयाँमा बन्द भएको रसुवागढीको सेयर भदौ १५ गते १८३ रुपैयाँमा खुलेर १६५ रुपैयाँमा झरेको थियो । भदौ १६ गते १७४ रुपैयाँमा खुलेको सेयर १६८.७ रुपैयाँमा बन्द भयो । भदौ १८ गते १७५ रुपैयाँमा खुलेको कम्पनीको सेयर अन्तिम कारोबारसम्म १७३.१ रुपैयाँमा सीमित भउको थियो । भदौ २२ गते १७३ रुपैयाँमा खुलेर १७०.२ रुपैयाँमा कारोबार भएको सेयर भदौ २४ गते १६३ रुपैयाँमा झरेको थियो । भदौ २५ गते भने केही सुधार हुँदै १६७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 

चिलिमे हाइड्रोपावर

बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको चिलिमे हाइड्रोपावरको सेयर मूल्यमा पनि निरन्तर गिरावट देखिएको छ । भदौ ९ गते ४७५.१० रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर भदौ २६ गतेसम्म आइपुग्दा ३५२.१० रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको सेयर मूल्य १२३ रुपैयाँ अर्थात् २५.८९ प्रतिशतले घटेको हो।

nullबाढी आएको भदौ १० गते चिलिमेको सेयर ४५५ रुपैयाँमा खुलेर ४२७ रुपैयाँमा बन्द भएको थियो । भदौ ११ गते ४०५.७ रुपैयाँमा खुलेको सेयर ४०५ रुपैयाँमा बन्द भयो । त्यस्तै, भदौ १५ गते ३९५ रुपैयाँमा खुलेको सेयर ३६२.२ रुपैयाँमा झरेको थियो । भदौ १६ गते ३५० रुपैयाँमा खुलेर ३७२ रुपैयाँमा बन्द भएको सेयर भदौ १७ गते केही सुधार हुँदै ३७७ रुपैयाँमा पुगेको थियो । भदौ १८ गते पनि करिब सोही स्तरमा कारोबार भएको कम्पनीको सेयर भदौ २४ गते ३५८.१ रुपैयाँमा झरेको थियो । भदौ २५ गते थप घटेर ३४६ रुपैयाँमा कारोबार भयो ।

मैलुङ खोला जलविद्युत्

भोटेकोसी बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका जलविद्युत् आयोजनामध्ये मैलुङ खोलाको सेयर मूल्यमा पनि उच्च उतारचढावसँगै उल्लेख्य गिरावट आएको छ । भदौ ९ गते ४१४.४ रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर भदौ २६ गतेसम्म आइपुग्दा २८० रुपैयाँमा झरेको छ । यस अवधिमा सेयर मूल्य १३४.४ रुपैयाँ अर्थात् ३२.४३ प्रतिशतले घटेको हो ।

कम्पनीको सेयर भदौ ११ गते ३३४.७ रुपैयाँमा खुलेर ३२५ रुपैयाँमा बन्द भएको थियो । भदौ १५ गते २७६.३ रुपैयाँमा झरेको सेयर भदौ १६ गते केही सुधार हुँदै २८४.९ रुपैयाँमा पुगेको थियो । भदौ १७ गते पनि केही सुधार देखिए पनि भदौ १८ गते पुनः घटेर २९० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागेको देखिन्छ ।

त्रिशूली जलविद्युत् कम्पनी

बाढी प्रभावित कम्पनीमध्ये त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ । भदौ ९ गते ४४८ रुपैयाँमा खुलेको कम्पनीको सेयर भदौ २६ गतेसम्म आइपुग्दा २८२ रुपैयाँमा झरेको छ । यसअवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६६ रुपैयाँ घटेको छ । 

तुलनात्मक रूपमा साञ्जेन जलविद्युत्को सेयर मूल्यमा भने ११.१० प्रतिशतको मात्र गिरावट आएको छ । बाढी प्रभावित अन्य कम्पनीको तुलनामा साञ्जेनको सेयर केही स्थिर देखिएको छ ।

२१.२० अर्ब घट्यो लगानीकर्ताको सम्पत्ति

सेयर मूल्य घटेसँगै बाढीबाट प्रभावित जलविद्युत् कम्पनीहरूको बजार पुँजीकरणमा पनि उल्लेख्य गिरावट आएको छ । बाढी आउनुभन्दा एक दिनअघि, भदौ ९ गते, सम्बन्धित कम्पनीहरूको कुल बजार पुँजीकरण ८० अर्ब ९६ करोड रुपैयाँ थियो । तर भदौ २६ गतेका दिनसम्म ती कम्पनीको बजार पुँजीकरण ५९ अर्ब ७६ करोड रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीहरूको कुल बजार पुँजीकरण २१ अर्ब २० करोड रुपैयाँले घटेको हो ।

रसुवागढीको भदौ ९ गते कुल बजार पुँजीकरण १६ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो । भदौ २६ सम्ममा आइपुग्दा बजार पुँजीकरण ११ अर्ब ६१ करोड ७८ लाख ८५ हजार रुपैयाँमा झरेको छ । बाढीपछि कम्पनीको बजार पुँजीकरण ४ अर्ब ८९ करोड ७८ लाख ८५ हजार रुपैयाँले घटेको छ ।

भदौ ९ गते चिलिमे हाइड्रोपावरको बजार पुँजीकरण ४५ अर्ब ६ करोड रुपैयाँ थियो । भदौ २६ गतेसम्म आइपुग्दा यो रकम ३३ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ । अर्थात् कम्पनीको बजार पुँजीकरण ११ अर्ब ६६ करोड रुपैयाँले घटेको छ ।

null

त्यस्तै, मैलुङ खोलाको बजार पुँजीकरण भदौ ९ गते १ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा भदौ २६ गते १ अर्ब ५ करोड रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको बजार पुँजीकरण ५० करोड ५७ लाख रुपैयाँले घटेको हो ।

त्रिशूली जलविद्युत् कम्पनीको बजार पुँजीकरण भदौ ९ गते ८ अर्ब २९ करोड रुपैयाँ रहेकोमा भदौ २६ गते ५ अर्ब २२ करोड रुपैयाँमा झरेको छ । कम्पनीको बजार पुँजीकरण ३ अर्ब ७ करोड रुपैयाँ घटेको देखिन्छ ।

साञ्जेन जलविद्युत्को बजार पुँजीकरण पनि १ अर्ब ५ करोड ८६ लाख रुपैयाँले घटेको छ । भदौ ९ गते ९ अर्ब ५३ करोड १ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको बजार पुँजीकरण भदौ २६ गते ८ अर्ब ४७ करोड १६ लाख रुपैयाँमा झरेको छ ।

बाढीबाट प्रत्यक्ष क्षति नपुगेका कम्पनीको सेयरमा भने तुलनात्मक रूपमा ठूलो गिरावट देखिएको छैन । यद्यपि बुटवल पावर, अरुण भ्याली, भिजन लुम्बिनी र अपि पावरलगायतका कम्पनीको सेयर मूल्यमा पनि बाढीपछि केही असर परेको देखिन्छ ।

गत भदौ १० गते आएको बाढीबाट करिब एक दर्जन जलविद्युत् तथा ऊर्जा आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार चार निर्माणाधीन र आठ सञ्चालनमा रहेका आयोजनामा क्षति पुगेको हो । इप्पानका अनुसार माथिल्लो त्रिशूली-१, रसुवागढी, रसुवा भोटेकोसी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै त्रिशूली जलविद्युत्, देवीघाट, माथिल्लो त्रिशूली-३ए, मिडल त्रिशूली गंगा र नुवाकोट सौर्य आयोजनामा पनि बाढीको प्रभाव परेको छ ।

के भन्छन् बजार विश्लेषक ?

सेयर बजार जानकार देव गुरागाईं रसुवागढीलगायत जलविद्युत् आयोजना क्षतिग्रस्त भएपछि त्यसको प्रत्यक्ष असर सम्बन्धित कम्पनीको सेयर मूल्यमा परेको हो । साञ्जेन जलविद्युत् आयोजनाको मुख्य संरचनामा ठूलो क्षति नपुगे पनि प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् बिक्री तथा आम्दानी प्रभावित भएको उनले बताए ।

गुरागाईंका अनुसार बाढी आउनुअघि जलविद्युत् क्षेत्रको सेयर बजारमा ठूलो उतारचढाव थिएन । बजारमा तरलता सहज हुनुका साथै ब्याजदर पनि तुलनात्मक रूपमा न्यून थियो र नयाँ सरकार गठनपछिका कारबाही तथा धरपकड र पछिल्लो प्राकृतिक विपत्तिले लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक प्रभाव पारेको उनको विश्लेषण छ ।

जलविद्युत् आयोजनाको बीमा हुने भए पनि क्षतिको विस्तृत अध्ययन तथा मूल्यांकन प्रतिवेदन तयार भएपछि मात्रै बीमा दाबीको प्रक्रिया अघि बढ्ने गुरागाईंले बताए । त्यसैले अहिले सेयर बजारमा देखिएको उतारचढाव प्रारम्भिक रूपमा अनुमान गरिएको क्षतिको आधारमा भइरहेको उनको भनाइ छ ।

‘वास्तविक क्षति कति भयो, आयोजनाको पुनःस्थापना कति सम्भव छ र त्यसका लागि कति लागत लाग्छ भन्ने कुरा विस्तृत अध्ययन तथा मूल्यांकन प्रतिवेदन आएपछि मात्रै स्पष्ट हुन्छ,’ उनले भने ।

क्षतिग्रस्त आयोजना पुनर्निर्माणका लागि कम्पनीसँग पर्याप्त आन्तरिक स्रोत नभए थप ऋण लिनुपर्ने अवस्था आउन सक्ने गुरागाईंले बताए। यसले पुनर्निर्माण लागतसँगै ब्याज खर्चसमेत बढाउने उनको भनाइ छ ।

आयोजना सञ्चालनमा ढिलाइ हुँदा आगामी वर्षहरूमा त्यसबाट प्रतिफल पाउने अपेक्षामा रहेका लगानीकर्ताको मनोविज्ञानमा समेत असर पर्ने उनले बताए ।

प्रारम्भिक विवरणअनुसार पूर्ण रूपमा क्षतिग्रस्त देखिएका आयोजनाको पुनर्निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने गुरागाईंको भनाइ छ । ‘अब राज्य, सम्बन्धित कम्पनी र ठूला लगानीकर्ताले पुनःस्थापनामा कस्तो भूमिका खेल्छन् भन्ने विषयलाई लगानीकर्ताले पर्खेर हेरिरहेका छन्,’ उनले भने ।

उनका अनुसार विपद्पछिको पुनःस्थापनाको मोडेलले जोखिमयुक्त जलविद्युत् आयोजनाको लगानी तथा सेयर मूल्यांकनमा समेत प्रभाव पार्न सक्छ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा सेयर विश्लेषक भरतसिंह थापाले बाढीबाट प्रभावित हाइड्रोपावर कम्पनीलाई लिएर लगानीकर्ता तत्काल आत्तिएकाले बजारमा ठूलो गिरावट आएको विश्लेषण गरेका छन्। तर दीर्घकालमा भने धेरै डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘तत्कालका लागि प्यानिक हुनु स्वाभाविक हो, तर दीर्घकालमा डराउनुपर्ने अवस्था छैन,’ थापाले भने ।

थापाका अनुसार बाढीका कारण लगानीकर्ताको मनोविज्ञानमा असर परे पनि राम्रा र स्थापित हाइड्रोपावर कम्पनी दीर्घकालमा पुनः रिकभर हुन सक्छन् । अधिकांश कम्पनीले जोखिम व्यवस्थापनका लागि लगानी विविधीकरणसँगै बीमाको व्यवस्था गरेका कारण अहिले नै लगानीकर्ता आत्तिन नहुने उनले बताए ।

यद्यपि, बाढीबाट भौतिक क्षति भएका कम्पनीको आगामी वित्तीय विवरणमा त्यसको प्रत्यक्ष प्रभाव देखिने थापाले बताए । ‘अहिले आयोजनाबाट सोझै अपरेटिङ रेभिन्यु जेनेरेट हुन सकेको छैन,’ उनले भने, ‘अन्य स्रोत वा लगानीबाट केही आम्दानी भए पनि कम्पनीको मुख्य व्यवसाय हाइड्रो भएकाले आगामी त्रैमासमा रेभिन्यु उल्लेखनीय रूपमा घट्न सक्छ ।’

उनका अनुसार पुराना तथा स्थापित कम्पनी तुलनात्मक रूपमा छिटो रिकभर हुन सक्छन् । तर नयाँ कम्पनीलाई क्षतिपछि पुनः सञ्चालनमा आउन कठिन हुन सक्छ ।

कम्पनी ‘अन्डरइन्स्योर्ड’ भएको वा बीमा नै नगरेको अवस्थामा भने क्षतिको ठूलो भार कम्पनीमै पर्न सक्ने भएकाले थप समस्या निम्तिन सक्ने उनको भनाइ छ । 

Share News