सेयर बजारमा टेलिकम, नबिल र इन्भेष्टमेन्ट बैंक अब्बल कम्पनी
काठमाडौँ । बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम यस साता पनि एक नम्बरमा रहन सफल भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साताका उत्कृष्ट दश कम्पनीमध्ये टेलिकम शीर्ष स्थानमा रहेको हो । बजार पूँजीकरण मूल्यका आधारमा टेलिकमको हिस्सा रु एक खर्ब १७ अर्बको रहेको छ । यस्तै दोस्रो नम्बरमा नविल बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण रु ७६ अर्ब ८४ करोड ९० लाख ४० हजार रहेको छ । सामान्यता उक्त बैंक पनि शीर्षमध्ये दोस्रो स्थानमा नै रहँदै आएको छ । स्टकका अनुसार तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण मूल्य रु ६८ अर्ब ३२ करोड ७९ लाख ८० हजार रहेको छ । यस्तै चोथो स्थानमा स्ट्याण्डर्ड चार्डड बैंक छ । सो बैंकको रु ५६ अर्ब ८० करोड १० हजार बराबरको बजार पूँजी छ । पाँचौँ स्थानमा एभरेष्ट बैंक रहेको छ । सो बैंकको रु ५१ अर्ब १३ करोड ११ लाख २० हजार, छैटौँ स्थानमा रहेको हिमालयन बैंकको रु ४४ अर्ब ७० करोड ९२ लाख ४० हजार, सातौँ स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४१ अर्ब छ करोड ७३ लाख १० हजार बजार पूँजी रहेको छ । त्यस्तै आठौँ स्थानमा नेपाल एसबिआइ बैंकको रु ३९ अर्ब ९९ करोड ३१ लाख २० हजार, नवौँ स्थानमा रहेको एनआइसी एशिया बैंकको रु ३५ अर्ब ७३ करोड ८४ लाख ७० हजार र दशौँ स्थानमा रहेको एनएमबी बैंकको रु ३१ अर्ब चार करोड तीन लाख बराबरको बजार पूँजी रहेको छ । यस साता शेयर सङ्ख्याका आधारमा कालिका पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको दुई हजार १७ कित्ता शेयर कारोबार भए । यस्तै पञ्चकन्या माई हाइड्रोको एक हजार २९७, प्रभु बैंकको एक हजार १५९, नाडेप लघुवित्त वित्तीय संस्थाको ७८८, मेघा बैंकको ५१२, एनआइसी एशिया बैंकको ५०७, एनएमबी बैंकको ३७७, सिद्धार्थ बैंकको ३५४, जनता बैंकको ३४७ र कुमारी बैंकको ३३७ कित्ता शेयर कारोबार भएका थिए । यस्तै कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रह्यो । भने क्रमशः कुमारी, मेघा, एनआइसी एशिया, जनता, सिभिल, माछापुच्छ्रे, एनएमबी, सिद्धार्थ र सेञ्चुरी कर्मसियल बैंकको शेयर कारोवार भए । रासस
स्वावलम्बन विकास केन्द्रको २७ औं साधारण सभा सम्पन्न
काठमाडौं । लघुवित्त कार्यक्रम संचालनमा नेपालको अनुमति प्राप्त पहिलो गैर सरकारी संस्था स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिक साधारणसभा कार्तिक ९ गते काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तको वासलात पास गर्नुको साथै, ०७५/७६ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । सभामा अध्यक्ष शंकरमान श्रेष्ठले केन्द्रको स्थापनाको औचित्य एवं नेपालको गरिवी निवारणको लागि लघुवित्त मार्फत गरेको कामको अनुभव र नेपालमा हाल लघुवित्तको स्थिति बारे दृष्टिकोण राखेका थिए । केन्द्रको हालको प्रबन्ध समितिको कार्यकाल समाप्त भएकोले सभाले सर्वसम्मत नयाँ प्रबन्ध समिति समेत चयन गरेको छ ।
६ कम्पनीको ९७ लाख कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत, हेर्नुहोस (सूचीसहित)
काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता बोनस सेयर कारोबारका लागि सूचीकृत भएका छन् ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार विभिन्न वित्तीय संस्थाको बोनस र हकप्रद सेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४÷०७५ को नाफाको आधारमा सो बैंकले सेयरधनीलाई लाभान्स शेयर दिएको हो । प्रभु इन्सुरेन्स कम्पनीको पनि ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्थाको ८ हजार ४४० कित्ता हकप्रद सेयर यसै साता सूचीकृत भएको हो । सूर्या लाइफको पनि १२ लाख १२ हजार ७५० कित्ता लाभान्स सेयर सूचीकृत भएको छ पोखरा फाइनान्सको छ लाख २२ हजार ९३३ कित्ता र समिट लघुवित्त वित्तीय संस्थाकै २ लाख ५० हजार कित्ता लाभान्स सेयर सूचीकृत भएका छन् । यही कात्तिक ४ गते १ हजार २४६.५२ बिन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक कारोवारको अन्तिम दिन कात्तिक ८ गते १ हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको छ । यस्तै साताको पहिलो दिन क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २६५.२८ बिन्दुमा रहेकामा अन्तिम दिन घटेर २६४ बिन्दुमा पुगेको छ । रासस