अब एनआईसी एशियाको बैंक खाता घरबाटै खोल्न सकिने, विभिन्न सेवामा २०% छुट

काठमाडौं । अब घरैमा बसी एनआईसी एशिया बैंकको बैंक खाता खोल्न सकिने भएको छ । बैंकले लाइनमा बसी रहन नपर्ने र झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरुले अनलाइन बाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सक्नेछन् । जस अन्तर्गत भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ् तथा इन्टरनेट बैंकिङ सुविधामा २० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् । यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकको उक्त खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले संचालनमा ल्याएको बैंकले जनाएको छ ।

ज्योति विकास बैंकको ८ प्रतिशत नगद लाभांश पारित, हाम्रोलाई प्राप्ती गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रस्तावित ८.४० प्रतिशत नगद लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात २१ करोड ८० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ । साथै, सभाले बैंकलाई नुवाकोटमा केन्द्रिय कार्यालय रहेको हाम्रो विकास बैैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्ति पश्चात यस विकास बैंकको चुक्तापूँजी ३ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा बैंकले करिब १ लाख ५० हजार खाताबाट १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छ । साथै, १० हजार रुपैयाँभन्दा बढि ऋणी मार्फत १६ अर्ब १० करोड रुपैयाँ ऋण लगानी गर्न कम्पनी सफल भएको थियो ।

२५ प्रतिशत रेमिट्यान्स जलविद्युतमा लगानी गरे ८६६ मेगावाट बिजुली उत्पादन हुने

काठमाडौ । विदेशमा नेपाली श्रमिकले श्रम गरेर पठाएकोविप्रेषण (रेमिट्यान्स) को २५ प्रतिशत रकम मात्र लगानी गरे ८६६ मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको छ । ऊर्जा क्षेत्रका जानकार डा गोविन्द तिमिल्सिनाले विप्रेषणको कम्तीका वार्षिक २५ प्रतिशत मात्रै लगानी गर्न सकिए जलविद्युत उत्पादन बढाउन सकिने जानकारी दिएका हुन् । उनले विप्रेषण गलत तवरले अनुत्पादक क्षेत्रमा खर्च भइरहेको भन्दै त्यसलाई व्यवस्थित रुपमा लगानीका लागि सरकारले वातावरण बनाउनुपर्नेमा तिमिल्सिनाको जोड छ । नेपाल राष्ट्र बैंकको पछिल्लो जानकारीअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ७३ अर्ब ९५ करोड रुपैयाँ बराबरको विप्रेषण आय भएको छ । नेपालीको महत्वपूर्ण चाडको रुपमा रहेको दशैं तथा तिहारमा विप्रेषण खर्ब माथि पुग्ने प्रक्षेपण गरिएको छ । वार्षिकरुपमा ७ खर्ब रुपैयाँ भन्दा माथि विप्रेषण आय भएपनि ८० प्रतिशत बढी रकम अनुत्पादक क्षेत्रमा खेर गइरहेकाले सदुपयोगमा जोड दिइएको हो । गैरआवासीय नेपाली संघले आइतबार राजधानीमा आयोजना गरेको ‘गैरआवासीय नेपाली दिवस प्रथम विज्ञ सम्मेलन’का अवसरमा नेपालका जलविद्युत्मा लगानीका अवसर खोजी विषयक छलफलमा विप्रेषण मात्रै सदुपयोग गरे ऊर्जा क्षेत्रको लगानीका लागि अन्य स्रोतको खोजी गर्नुनपर्ने बताइएको हो । केन्द्रीय बैंकका अनुसार आर्थिक बर्ष २०७४/७५ मा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो । गत आवमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत छ । सामान्यतया विप्रेषणको ५० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसबाट आर्थिक विकासको आधार तयार पार्नुपर्ने भन्दै डा तिमिल्सिनाले राज्यले स्पष्ट नीति तथा कार्ययोजना बनाउन आग्रह गरे।  रासस