काठमाडौं । दुई दशकअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभासम्म आइपुग्दा वित्तीय आकारदेखि सेवा सञ्जाल र डिजिटल क्षमतासम्म उल्लेख्य विस्तार गरेको छ । बैंकले आज असोज १६ गते २०औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ ।
दुई दशकको यात्रामा बैंकले आफ्नो व्यावसायिक पहुँच विस्तारसँगै ग्राहकको बदलिँदो आवश्यकता र प्रविधिको विकासअनुसार बैंकिङ सेवाको स्वरूपसमेत परिवर्तन गर्दै आएको छ । परम्परागत शाखा केन्द्रित बैंकिङबाट डिजिटल सेवातर्फ अघि बढ्दै बैंकले आगामी रणनीतिमा प्रविधि, जोखिम व्यवस्थापन, ग्राहक सेवा र दिगो वित्तलाई मुख्य आधार बनाएको छ ।
हाल बैंकको देशभर ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर छन् । विदेशमा तीन प्रतिनिधि कार्यालयसहित बैंकले विभिन्न सेवा माध्यममार्फत १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।
बैंकको वित्तीय आकार पनि पछिल्ला वर्षमा निरन्तर विस्तार भएको छ । गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७ खर्ब ४४ करोड रुपैयाँ र कुल कर्जा ४ खर्ब ७६ अर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ३८ अर्ब ११ करोड अर्ब रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो । सो अवधिमा निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत साधारणस सभामा पेगरेको छ । साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
शाखाबाट डिजिटल बैंकिङतर्फ
ग्लोबल आइएमईको आगामी रणनीतिक यात्राको महत्वपूर्ण हिस्सा डिजिटल रूपान्तरण बनेको छ । बैंकले ‘डिजिटल फर्स्ट बैंकिङ’लाई प्राथमिकतामा राख्दै म्यानुअल प्रक्रियालाई क्रमशः डिजिटल बनाउने रणनीति लिएको छ । यसको उद्देश्य सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउनुका साथै आन्तरिक कार्यसम्पादन र ग्राहक अनुभव सुधार गर्नु हो ।
बैंकले २८ भन्दा बढी डिजिटल वर्कफ्लो कार्यान्वयनमा ल्याएको छ भने १६ वटा व्यवसायीक प्रक्रियामा आरपीए विस्तार गरेको छ । यसले बैंकिङ प्रक्रियामा स्वचालनको प्रयोग बढाउँदै कर्मचारीको कार्यक्षमता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने आधार तयार गरेको छ ।
बैंकले ग्लोबल जीपीटी र डकुमेन्ट क्वेरी सिस्टम (डीक्यूएस) जस्ता प्रविधिको प्रयोगसमेत अघि बढाएको छ । आगामी दिनमा कृत्रिम बुद्धिमत्तालाई ग्राहक सेवा, कर्मचारी क्षमता अभिवृद्धि, व्यवसाय विस्तार र जोखिम व्यवस्थापनमा थप उपयोग गर्ने बैंकको योजना छ ।
डिजिटल बैंकिङको विस्तारसँगै ग्लोबल स्मार्ट प्लसमा विभिन्न नयाँ सुविधा थपिएका छन् । पर्सनल फाइनान्सियल म्यानेजमेन्ट, आईपीओ एप्लिकेसन, फन्ड ट्रान्सफर तथा क्यापिटल मार्केट सर्भिसेजजस्ता सुविधाले मोबाइल बैंकिङलाई दैनिक वित्तीय गतिविधिसँग थप जोड्ने प्रयास गरेको देखिन्छ ।
नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै बैंकले नेक्स्ट जेनेरेसन अकाउन्ट, राउन्ड–अप, गोल–बेस्ड डिपोजिट, अनलाइन अकाउन्ट ओपनिङ तथा भिडियो केवाईसीजस्ता सेवा अघि सारेको छ । यसबाट ग्राहकलाई शाखामा उपस्थित नभई खाता खोल्नेदेखि बचत तथा लगानी व्यवस्थापनसम्मका सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
कर्जा विस्तारसँगै जोखिम व्यवस्थापनमा जोड
बैंकको व्यवसाय विस्तारसँगै कर्जाको गुणस्तर र जोखिम व्यवस्थापनलाई पनि रणनीतिक प्राथमिकता दिइएको छ । कर्जा मूल्यांकन, निरन्तर अनुगमन र सम्भावित जोखिमको प्रारम्भिक पहिचानलाई थप व्यवस्थित गर्ने बैंकको योजना छ ।
यसका लागि डेडिकेटेड लोन मोनिटरिङ डिपार्टमेन्ट, स्कोरिङ मोडल्स, फाइनान्सियल असेस्मेन्ट मोडल तथा प्रोजेक्ट इभालुएसनजस्ता प्रणाली प्रयोगमा ल्याइएको छ । कर्जा पोर्टफोलियोको अनुगमन र सम्भावित जोखिम व्यवस्थापनलाई प्रविधि र तथ्यमा आधारित बनाउने बैंकको प्रयास छ ।
सूचना सुरक्षालाई समेत बैंकले प्राथमिकतामा राखेको छ । इन्फर्मेसन सेक्युरिटी अडिट, पीसीआई डीएसएस, स्विफ्ट सीएसपी लगायतका अभ्याससँगै एसओसी/एसआईईएम, भल्नरेबिलिटी म्यानेजमेन्ट, थ्रेट डिटेक्सन तथा फ्रड प्रिभेन्सन प्रणालीलाई थप सुदृढ गर्ने योजना बैंकले अघि सारेको छ ।
बैंकले परम्परागत बैंकिङसँगै दिगो तथा वातावरणमैत्री वित्तीय गतिविधिमा पनि लगानी विस्तार गरिरहेको छ । ग्रिन होम लोन, रूफटप सोलार पीभी लोन, क्लाइमेट-स्मार्ट एग्रिकल्चर लोन तथा ग्रीन एसएमई लोनमार्फत हरित वित्तलाई बैंकिङ व्यवसायसँग जोड्ने प्रयास गरिएको छ ।
यससँगै रेमिट्यान्स तथा ओभरसिज बैंकिङ, डिजिटल लेन्डिङ र डिजिटल ब्रान्चजस्ता क्षेत्रमा विस्तार गर्ने रणनीति पनि बैंकले अघि सारेको छ । यसबाट नयाँ ग्राहक र व्यवसायिक अवसरसँगै डिजिटल कारोबारको दायरा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
अबको प्राथमिकता: दिगो वृद्धि
दुई दशकको यात्रामा वित्तीय आकार र सेवा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई अब व्यवसायको परिमाणसँगै त्यसको गुणस्तर र दिगोपनमा केन्द्रित हुने रणनीतिमा देखिन्छ ।
‘डिजिटल फस्र्ट बैंकिङ’, ‘सस्टेनबल रिटर्न टु इन्भेस्टर्स’, ‘कस्टमर सर्भिस एक्सिलेन्स’, ‘रेस्पोन्सिबल बैंकिङ’ तथा ‘रिस्क मिटिगेसन एन्ड कम्प्लायन्स’लाई रणनीतिक प्राथमिकतामा राख्दै बैंकले आगामी यात्रा तय गरेको छ ।
वित्तीय सबलता, प्रविधि, ग्राहक सेवा, दिगो वित्त, कर्जा गुणस्तर र जोखिम व्यवस्थापनलाई एकीकृत गर्दै बैंकले आगामी वर्षमा व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य लिएको छ । दुई दशकमा निर्माण गरेको वित्तीय आधारलाई डिजिटल क्षमता र नयाँ पुस्ताका बैंकिङ सेवासँग जोड्दै ग्लोबल आइएमईले अबको प्रतिस्पर्धालाई व्यवसाय विस्तार मात्र नभई सेवा र प्रविधिको गुणस्तर सुधारतर्फ लैजाने तयारी गरेको छ ।