एनसीसी बैंकको ४० प्रतिशत हकप्रद सेयरलाई आवेदन परेन, ९९ लाख कित्ता लिलामीमा जाने
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले निष्काशन गरेको हकप्रद सेयरमा ६० प्रतिशतलाई मात्र आवेदन परेको छ । बाँकी ४० प्रतिशत लिलामीमा जाने भएको छ । एनसीसीले चुक्ता पुँजी बढाउन निष्कासन गरेको २ अर्ब ३३ करोड ९५ लाख २९ रुपैयाँको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता मध्ये १ अर्ब ३५ करोड रुपैयाँलाई मात्र आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । अझै विवरण आउन बाँकी भएकाले केही थप हुने संभावना रहेको क्यापिटलले जनाएको छ । पहिलो चरणमा न्युन आवेदन परेपछि १५ दिन म्याद थप गरिएको थियो । बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड अपुग हुने देखिन्छ । यस्तै ३८ लाख कित्ता संस्थापक हकप्रद सेयर बिक्री भएको छैन। एनबी ग्रुपले आवेदन नदिएपछि संस्थापक हकप्रद सेयर बिक्री नभएको हो । संस्थापक हकप्रद सेयर खरिद गर्न कर्मचारी संचय कोषले चासो देखाएको छ ।
जम्मा एक मिसकल गर्नुहोस्, आफ्नो खाताको बारेमा जान्नुहोस्
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मिसकल बैंकिङ् सेवा सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सकिनेछ । ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ् सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा १०० रुपैयाँ टपअप गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने विभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्नेछन् । ग्राहकहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफैँ फोन काटिने छ । त्यसपछि बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउनेछ ।
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका ढकालले असोज २५ गतेदेखि बैंकको नायवप्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । बैंकिङ् क्षेत्रमा १८ वर्षभन्दा बढिको अनुभव सँगालेका ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा र नेपाल बैंकमा डेपुटी जनरल म्यानेजरको साथै केहि समय व्यवस्थापन समूहको संयोजकको रुपमा रहेका थिए । ढकाल तत्कालिन कर्मज एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत रहेका थिए । साथै, उनीसंग विभिन्न संघसंस्थाहरुको संचालक समितिमा रहि कार्य गरेको अनुभव समेत रहेको छ । नवनियुक्त नायब सीईओ ढकाल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद समेत हुन् ।