काठमाडौं । सहारा विकास बैंकले जेठ ६ गतेदेखि असार २४ गतेसम्म निष्काशन गरेको हकप्रदमा बिक्री नभएका करिब साढे १० लाख कित्ता सेयर लिलामीमा जाने भएको छ । बैंकको ९ लाख २८ हजार ४ सय ४८ कित्ता साधारण सेयर र १ लाख १६ हजार ७ कित्ता संस्थापक सेयर गरी कुल १० लाख ४४ हजार २ सय ५६ कित्ता सेयर लिलामीमा बिक्रीका लागि बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले यही कात्तिक १८ गतेदेखि मंसिर ५ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
उक्त बोलपत्र क्यापिटलको प्रधान कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बाहेक नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा सहारा विकास बैंकको मलंगवास्थित प्रधान कार्यालयमा पेश गर्न सकिने क्यापिटलले जनाएको छ ।
बोलपत्रका लागि आवेदकले संस्थापक सेयरको हकमा न्यूनतम एक हजार कित्ता र साधारण सेयरको हकमा न्यूनतम १०० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम सीमा बिक्री गर्न लागेको सेयरको सीमा बराबर हुनेछ । आवेदकले न्यूनतम १०० रुपैंया मूल्य नघटाई मूल्य कबोल गर्न सक्नेछन् ।
सर्लाहीको मलंगवा मुख्य कार्यालय रहेको सहारा विकास बैंक एकजिल्ले विकास बैंक हो । गत आर्थिक बर्षको अन्त्यसम्म ७ करोड ३० लाख चुक्ता पुँजी भएको बैंकले गत आर्थिक बर्षको अन्तिम चौमाससम्म १ करोड २३ लाख रुपैंया खुद मुनाफा आर्जन गरेको थियो जुन प्रतिसेयर करिब १७ रुपैंया हो ।