कामना सेवा विकास बैंकद्वारा १५० सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मोरङको उर्लाबारीमा १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सडक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यले उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको उपस्थितिमा सफारी चालकलाई ज्याकेट हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिको उपस्थिति थियो ।

दैनिक यात्रु ओसारपसारमा खटिने सफारी चालकको सुरक्षा र सहज पहिचानलाई ध्यानमा राखेर ज्याकेट वितरण गरिएको बैंकले जनाएको छ । विशेषगरी कम उज्यालो, साँझको समय तथा बढी सवारी चाप भएका बेला भिजिबिलिटी ज्याकेटले चालकलाई सडकमा स्पष्ट देखिन सहयोग गर्ने र दुर्घटनाको जोखिम न्यूनीकरणमा योगदान पुग्ने बैंकको अपेक्षा छ ।

कामना सेवा विकास बैंकले सडक सुरक्षा, वित्तीय साक्षरता, डिजिटल सचेतना, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

बैंकले आगामी दिनमा पनि समुदायलाई सुरक्षित, समावेशी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Share News