काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अहिले पैसाको अभाव छैन, बरु पैसा थुप्रिएर बसेको छ । कर्जाको माग सुस्त छ, ब्याजदर घट्दो क्रममा छ र बैंकिङ प्रणालीमा रहेको निक्षेपको संरचनासमेत बदलिँदै गएको छ । कुनै समय साधारण बचतभन्दा निकै माथि पुगेको मुद्दती निक्षेपको हिस्सा पछिल्ला वर्षमा निरन्तर घट्दै गएको छ भने साधारण बचततर्फको निक्षेप पुनः बढ्न थालेको छ ।
पछिल्लो एक दशकको तथ्यांक हेर्दा बैंकिङ प्रणालीमा निक्षेपको संरचनामा ठूलो उतारचढाव देखिन्छ । सन् २०१६ मा साधारण बचतको हिस्सा मुद्दती निक्षेपभन्दा बढी थियो । त्यसपछि तरलता अभाव र उच्च ब्याजदरको समयमा मुद्दती निक्षेपले साधारण बचतलाई उछिन्यो । सन् २०२३ मा आइपुग्दा मुद्दती निक्षेपको हिस्सा कुल निक्षेपको ५८.२ प्रतिशतसम्म पुगेको थियो । तर, त्यसपछि भने यसको हिस्सा निरन्तर घट्दै सन् २०२६ मा ३५.२ प्रतिशतमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थाले सन् २०१६ मा २१ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । त्यतिबेला कुल निक्षेपमा साधारण बचतको हिस्सा ४१.५ प्रतिशत, मुद्दती निक्षेपको २९.३ प्रतिशत र चल्ती खाताको १९.१ प्रतिशत थियो ।
तर, त्यसपछिका वर्षमा निक्षेपको संरचना बदलियो । सन् २०१७ मा कुल निक्षेप २३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको थियो । उक्त वर्ष मुद्दती निक्षेपको हिस्सा बढेर ४१.९ प्रतिशत पुगेको थियो भने साधारण बचतको हिस्सा ३४.२ प्रतिशत र चल्ती खाताको १४ प्रतिशत थियो ।
सन् २०१८ मा कुल निक्षेप २८ खर्ब ३७ अर्ब रुपैयाँ पुगेकोमा मुद्दती निक्षेपको हिस्सा ४३.३ प्रतिशत, साधारण बचतको ३३.४ प्रतिशत र चल्ती खाताको १३ प्रतिशत थियो । सन् २०१९ मा कुल निक्षेप ३३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको थियो । त्यसमध्ये मुद्दती निक्षेपको हिस्सा ४५.५ प्रतिशत, साधारण बचतको ३१.६ प्रतिशत र चल्ती खाताको १२.४ प्रतिशत थियो ।

सन् २०२० मा कुल निक्षेप ३९ खर्ब २९ अर्ब रुपैयाँ पुगेकोमा मुद्दती निक्षेपको हिस्सा ४८ प्रतिशत थियो । सो वर्ष साधारण बचतको हिस्सा ३१.२ प्रतिशत र चल्ती खाताको ९.७ प्रतिशत थियो ।
सन् २०२१ मा कुल निक्षेप ४७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको थियो । त्यस वर्ष मुद्दती निक्षेपको हिस्सा केही घटेर ४६.७ प्रतिशतमा आए पनि साधारण बचतको हिस्सा ३३.६ प्रतिशत र चल्ती खाताको ८.४ प्रतिशत थियो ।
त्यसपछि भने मुद्दती निक्षेपको हिस्सा पुनः तीव्र रूपमा बढ्यो । सन् २०२२ मा कुल निक्षेप ५१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेकोमा मुद्दती निक्षेपको हिस्सा ५५ प्रतिशत थियो । साधारण बचतको हिस्सा २७.२ प्रतिशत र चल्ती खाताको ७.६ प्रतिशत थियो ।
सन् २०२३ मा कुल निक्षेप ५७ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । त्यसमध्ये मुद्दती निक्षेपको हिस्सा एक दशककै उच्च ५८.२ प्रतिशत पुगेको थियो । साधारण बचतको हिस्सा २६.३ प्रतिशत र चल्ती खाताको ६.८ प्रतिशतमा सीमित थियो ।
बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा बैंक तथा वित्तीय संस्थाले निक्षेप तान्न ब्याजदर बढाएका थिए । त्यसको प्रत्यक्ष प्रभाव निक्षेपको संरचनामा परेको एक बैंकर बताउँछन् । ‘बैंकमा तरलता संकट हुँदा ब्याजदर निकै बढेको थियो । सन् २०१६ मा साधारण बचत कुल निक्षेपको ४१.५ प्रतिशत थियो । त्यसपछि मुद्दती निक्षेपले साधारण बचतलाई उछिन्यो,’ ती बैंकरले भने ।
उच्च ब्याजदरका कारण निश्चित अवधिका लागि रकम राख्दा बढी प्रतिफल प्राप्त हुने भएपछि निक्षेपकर्ताको आकर्षण मुद्दती निक्षेपतर्फ बढेको उनको भनाइ छ । ‘मुद्दती निक्षेपको हिस्सा बढ्दै जाँदा सन् २०२३ मा ५८ प्रतिशतसम्म पुगेको थियो । त्यतिबेला बैंकहरूको ब्याजदर पनि महँगो थियो,’ उनले भने, ‘मुद्दती निक्षेप उच्च भएपछि बैंकको आधारदर पनि उच्च हुने र आधारदर उच्च भएपछि कर्जाको ब्याजदर पनि उच्च हुने अवस्था थियो ।’

सन् २०२३ पछि बैंकिङ प्रणालीको निक्षेप संरचना पुनः बदलिएको देखिन्छ । ब्याजदर घट्दै गएसँगै मुद्दती निक्षेपको हिस्सा पनि घट्न थालेको छ । सन् २०२४ मा कुल निक्षेप ६४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको थियो । त्यस वर्ष मुद्दती निक्षेपको हिस्सा ५६.१ प्रतिशतमा झरेको थियो भने साधारण बचतको हिस्सा बढेर ३०.१ प्रतिशत पुगेको थियो । चल्ती खाताको हिस्सा ७.३ प्रतिशत थियो ।
सन् २०२५ मा कुल निक्षेप ७३ खर्ब ४ अर्ब रुपैयाँ पुग्दा मुद्दती निक्षेपको हिस्सा थप घटेर ४८ प्रतिशतमा आएको थियो । साधारण बचतको हिस्सा भने बढेर ३६.६ प्रतिशत पुगेको थियो । चल्ती खाताको हिस्सा ७.५ प्रतिशत थियो ।
सन् २०२६ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये मुद्दती निक्षेपको हिस्सा ४६.८ प्रतिशत, साधारण बचतको ३५.२ प्रतिशत र चल्ती खाताको ९ प्रतिशत रहेको छ ।
यसरी सन् २०२३ मा ५८.२ प्रतिशत रहेको मुद्दती निक्षेपको हिस्सा तीन वर्षमा ११.४ प्रतिशत बिन्दुले घटेको छ । सोही अवधिमा साधारण बचतको हिस्सा २६.३ प्रतिशतबाट बढेर ३५.२ प्रतिशत पुगेको छ ।
निक्षेप संरचना बदलिँदै गर्दा बैंकिङ प्रणालीमा तरलता भने पर्याप्त रहेको बैंकरहरू बताउँछन् । अहिले बैंकमा पैसा भए पनि कर्जा लिन आउने ग्राहकको संख्या कम भएको उनीहरूको भनाइ छ । ‘बैंकमा पैसा थुप्रिएर बसेको छ । कर्जा माग्न बैंकमा मान्छे आउन छाडे । बैंकसँग अहिले जति पनि पैसा छ, तर माग्न आउने कोही पनि छैनन्,’ एक बैंकरले भने ।
उनका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको चुनौती पैसा जुटाउनु नभई उपलब्ध स्रोतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु हो । ब्याजदर घट्दै जाँदा मुद्दती र साधारण बचतबीचको ब्याजदर अन्तरसमेत साँघुरिँदै गएको छ । यस्तो अवस्थामा निश्चित अवधिका लागि रकम बाँधेर राख्नुभन्दा आवश्यक पर्दा सहजै प्रयोग गर्न सकिने बचत खातामा रकम राख्ने प्रवृत्ति बढ्न थालेको बैंकरहरूको बुझाइ छ ।
कर्मचारी सञ्चय कोषका एक अधिकारीका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाले बैंकमा पैसा नराखिदिन आग्रह गरिरहेका छन् । ‘बैंकको कल एकाउन्टमा ०.५ प्रतिशत मात्रै ब्याज दिन्छन् । तर, त्यही कल एकाउन्टबाट पैसा झिक्नुपर्यो भनेर बिहान-बेलुका नै बैंकबाट फोन आउँछ,’ उनले भने, ‘तीन दशक जागिर खाएको, तर वित्तीय प्रणालीको यस्तो अवस्था अहिलेसम्म देखेको थिइनँ ।’