काठमाडौं । सन १९२९ डिसेम्बर ४ मा अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ले हंगेरीमा सार्वजनिक भएको एउटा यस्तो घटनाबारे समाचार प्रकाशित गरेको थियो, जसले धेरैलाई स्तब्ध बनाएको थियो । त्यतिबेला करिब ५० महिलाविरुद्ध मुद्दा चलाइएको थियो ।
ती महिलाहरूमाथि युरोपेली देश हंगेरीको एउटा दुर्गम गाउँमा बस्ने अधिकांश पुरुषलाई विष दिएर हत्या गरेको आरोप लागेको थियो ।
समाचार छोटो थियो, तर त्यसमा उल्लेख भएका विवरण निकै चकित पार्ने खालका थिए । सन् १९११ देखि १९२९ को बीचमा राजधानी बुडापेस्टबाट करिब १३० किलोमिटर दक्षिणमा रहेको नादिरेभ गाउँका केही महिलाले ५० भन्दा बढी पुरुषलाई विष दिएर हत्या गरेको बताइएको थियो ।
ती महिलाहरूलाई पछि ‘एन्जेल मेकस’ अर्थात् ‘हत्यारा परीहरू’ भनेर चिनिन थालियो । उनीहरूमाथि आर्सेनिकयुक्त घोल प्रयोग गरी पुरुषलाई विष दिएर हत्या गरेको आरोप थियो ।
कतिपयले यसलाई आधुनिक इतिहासमा महिलाहरूले पुरुषहरूको सामूहिक हत्या गरेको सबैभन्दा ठूलो घटनामध्ये एक मान्छन् ।
ती महिलालाई खुला अदालतमा उपस्थित गराइयो । त्यहाँ एउटा नाम पटक–पटक चर्चामा आयो—जुजाना फाजेकास । उनी गाउँकी अर्थात मिडवाइफ थिइन् ।
त्यतिबेला नादिरेभ अस्ट्रो–हंगेरियन साम्राज्यअन्तर्गत थियो र गाउँमा कुनै चिकित्सक थिएनन् । त्यसैले फाजेकासले नै गाउँका महिलालाई स्वास्थ्य तथा उपचारसम्बन्धी सेवा दिँदै आएकी थिइन् । गाउँको चिकित्सा व्यवस्थामा उनको लगभग पूर्ण नियन्त्रण थियो ।
गाउँकी मारिया गोनियाले सन् २००४ मा बीबीसीको रेडियो वृत्तचित्रमा फाजेकासलाई ‘हत्याको मुख्य योजनाकार किन मानिन्थ्यो’ भन्नेबारे बताएकी थिइन् ।
उनका अनुसार गाउँका सबै महिलाले आफ्ना समस्या फाजेकाससँग साझा गर्थे ।
गोनियाले भनेकी थिइन्, ‘उनले महिलाहरूलाई आफ्ना श्रीमानसँग समस्या छ भने त्यसको एउटा सजिलो समाधान आफूले बताउन सक्ने कुरा बताएकी थिइन् ।’
तर फाजेकासलाई हत्याको मुख्य योजनाकार मानिए पनि घटनासँग सम्बन्धित दस्तावेज र गाउँका महिलाहरूको बयानले उनको जीवनको अर्को पक्ष पनि देखाउँछ । ती विवरणमा पुरुषले महिलामाथि गरेको हिंसा, दुव्र्यवहार र यौन उत्पीडनका घटनाको उल्लेख थियो ।
तर यो घटना धेरै वर्षसम्म लुकेको रह्यो । प्रहरी अभिलेखअनुसार पहिलो हत्या सन् १९११ मा भएको थियो । तर सन् १९२९ सम्म कुनै अनुसन्धान सुरु भएको थिएन ।
पहिलो घटना
सन् १९११ मा जुजाना फाजेकास नामकी महिला नादिरेभ गाउँमा आइन् । मारिया गोनियाका अनुसार तथा अदालतमा प्रस्तुत भएका बयानअनुसार फाजेकासले दुई कारणले गाउँलेको ध्यान तानेकी थिइन् ।
पहिलो, मिडवाइफको रूपमा काम गर्नुका साथै उनलाई औषधीबाट उपचार गर्ने ज्ञान थियो । उनी औषधी बनाउन विभिन्न रासायनिक पदार्थसमेत प्रयोग गर्थिन् । त्यतिबेला त्यस क्षेत्रमा यस्तो ज्ञान सामान्य थिएन ।
दोस्रो, उनका श्रीमानका बारेमा कसैलाई कुनै जानकारी थिएन । गोनियाका अनुसार नादिरेभमा न पादरी थिए, न चिकित्सक । त्यसैले आफ्नो ज्ञान र सीपका कारण फाजेकासकहाँ मानिसहरू जान थाले र उनीमाथि विश्वास गर्न थाले ।
‘बिस्तारै उनी घरका बन्द ढोकाभित्र हुने कुराबारे जानकार हुन थालिन् । श्रीमतीलाई कुट्ने, जबर्जस्ती गर्ने र धोका दिने पुरुषहरूबारे उनलाई जानकारी हुन थाल्यो । दुव्र्यवहार र हिंसा निकै धेरै थियो,’ गोनियाले भनेकी थिइन् ।
यसै क्रममा फाजेकासले त्यतिबेला गैरकानुनी मानिने अर्को काम पनि गर्थिन् । उनी अनिच्छित गर्भधारण भएका महिलाको गर्भपतन गराउँथिन् । यस विषयमा उनीमाथि मुद्दासमेत चल्यो, तर उनलाई कहिल्यै दोषी ठहर गरिएन ।
गोनियाका अनुसार त्यतिबेला अर्को ठूलो समस्या परिवारले तय गर्ने विवाह थियो । कम उमेरका युवतीहरूको विवाह उनीहरूभन्दा निकै जेठा पुरुषसँग गराइन्थ्यो ।
‘त्यतिबेला सम्बन्धविच्छेदको कुनै व्यवस्था थिएन । तपाईंमाथि कुटपिट वा दुव्र्यवहार भए पनि श्रीमानबाट अलग हुन सक्नुहुन्नथ्यो,’ उनले भनेकी थिइन् ।
यद्यपि, त्यस समयका केही रिपोर्टमा यस्ता पहिल्यै तय गरिएका विवाहसँग एक प्रकारको सम्झौता पनि हुने उल्लेख पाइन्छ । त्यसमा जमिन, सम्पत्ति, उत्तराधिकार तथा कानुनी जिम्मेवारीजस्ता विषय समेटिन्थे ।
गोनियाका अनुसार फाजेकासले बिस्तारै महिलाहरूलाई आफूले उनीहरूका समस्या समाधान गर्न सक्ने विश्वास दिलाउन थालिन् ।
विष दिएर हत्या गरिएको पहिलो घटना सन् १९११ मा भएको थियो । त्यसपछि क्रमशः अन्य पुरुषहरूको पनि मृत्यु हुन थाल्यो । त्यतिबेला प्रथम विश्वयुद्ध चलिरहेको थियो र अस्ट्रो–हंगेरियन साम्राज्य पनि बिस्तारै विघटन हुँदै थियो ।
करिब आठ वर्षको अवधिमा श्रीमान् तथा परिवारका पुरुष प्रमुखहरूको मृत्यु भएका ४५ देखि ५० वटा घटना सार्वजनिक भए । उनीहरू सबैलाई गाउँकै चिहानमा गाडियो।
बिस्तारै धेरै मानिसले नादिरेभलाई ‘हत्याराहरूको गाउँ’ भन्न थाले ।
यी घटनाले अन्ततः प्रहरीको ध्यान तान्यो । सन् १९२९ को सुरुवातमा अधिकारीहरूले चिहान खनेर शवहरूको परीक्षण गर्न थाले । त्यहाँ उनीहरूले अभियुक्तविरुद्ध प्रयोग गर्न सकिने एउटा महत्त्वपूर्ण प्रमाण फेला पारे—आर्सेनिक ।
फाजेकास गाउँकै सडकछेउ रहेको एउटा सामान्य एकतले घरमा बस्थिन् । यी हत्यामा प्रयोग गरिएका अधिकांश विष यही घरमा तयार पारिएको बताइन्छ ।
सन् १९२९ जुलाई १९ मा उनले आफ्नै घरबाट प्रहरी अधिकारीहरू आफूलाई पक्राउ गर्न आइरहेको देखिन् ।
गोनियाका अनुसार प्रहरी आफ्नो घरतर्फ आइरहेको देखेपछि उनलाई अब बच्ने सम्भावना नरहेको बुझियो । प्रहरी घरमा पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो । उनले आफूले नै तयार पारेको विष पिएर आत्महत्या गरेकी थिइन् ।
तर यी हत्याका लागि फाजेकासलाई मात्रै जिम्मेवार मानिएन।
सन् १९२९ देखि राज्यको राजधानी सेगेडमा २६ महिलामाथि मुद्दा चलाइयो । तीमध्ये आठ जनालाई मृत्युदण्ड सुनाइयो भने बाँकीलाई जेल पठाइयो । त्यसैगरी, सात महिलालाई आजीवन कारावासको सजाय दिइएको थियो ।
तर यी हत्यामा दाई फाजेकास मात्रै जिम्मेवार थिइनन् । धेरै कम महिलाले आफ्नो अपराध स्वीकार गरेका थिए । यी हत्याको वास्तविक कारण के थियो भन्ने कुरा पनि पूर्ण रूपमा स्पष्ट हुन सकेन ।
चिकित्सक तथा इतिहासकार गेजा चेले अदालतका दस्तावेज उद्धृत गर्दै बीबीसीलाई यस घटनाका धेरै रहस्यमय पक्ष अझै समाधान हुन नसकेको बताएका थिए ।
उनका अनुसार महिलाहरूको उद्देश्यबारे विभिन्न सिद्धान्त छन् । त्यसमा गरिबीदेखि जीवनप्रतिको निराशासम्मका कारण औंल्याइएका छन् ।
इतिहासकारका अनुसार केही रिपोर्टमा श्रीमानहरू युद्धको मोर्चामा रहेका बेला केही महिलाको रुसी युद्धबन्दीसँग सम्बन्ध बनेको उल्लेख छ । ती युद्धबन्दीलाई खेतमा काम गर्न त्यस क्षेत्रमा ल्याइएको थियो ।
उनका अनुसार श्रीमानहरू युद्धबाट फर्किएपछि ती महिलाका लागि अचानक प्राप्त भएको स्वतन्त्रता गुमाउनु कठिन भयो । त्यसपछि उनीहरूले एकपछि अर्को कदम चाल्ने निर्णय गरेको हुनसक्ने अनुमान गरिएको छ ।
सन् १९५० को दशकमा इतिहासकार फ्रेन्त्स योर्गीफले कम्युनिस्ट शासनका बेला जेलमा रहेका बेला नादिरेभका एक वृद्धसँग भेट गरेका थिए ।
ती वृद्ध किसानले नादिरेभका महिलाहरूले ‘धेरै पुरानो समयदेखि आफ्ना श्रीमानलाई मार्दै आएको’ दाबी गरेका थिए । त्यति मात्र होइन, यस्ता विष दिएर हत्या गर्ने महिला नादिरेभ गाउँमा मात्रै सीमित थिएनन् भन्ने सम्भावनासमेत देखिन्छ ।
गाउँनजिकै रहेको तिसाकुर्ट सहरमा पनि केही चिहान खनेर शवको परीक्षण गरिएको थियो । त्यहाँ पनि आर्सेनिक भेटिएको थियो । तर ती मृत्युका लागि कसैलाई दोषी ठहर गरिएन ।
केही अनुमानअनुसार यस क्षेत्रमा विष दिएर हत्या गरिएका मानिसको कुल संख्या ३०० सम्म हुनसक्छ ।
गोनियाका अनुसार यी विष दिएर गरिएका हत्यापछि पुरुषहरूले आफ्ना श्रीमतीसँग गर्ने व्यवहार भने ‘धेरै हदसम्म राम्रो भएको’ थियो ।
१४ हजार फिट तल झर्यो विमान, यात्रुले जोगाए १७४ जनाको ज्यान
एआईप्रति असन्तुष्टि बढ्दा ट्रम्पले फेरे नाम, अब ‘सुपर इन्टेलिजेन्स’