काठमाडौं । यती एयरलाइन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४७ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.६९ प्रतिशत अर्थात् ९ करोड १० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड ४० लाख रुपैयाँ थियो ।
यती एयरलाइन्सको आम्दानी पछिल्ला वर्षमा क्रमशः बढ्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब २५ करोड ८० लाख, आव २०७९/८० मा ३ अर्ब ७७ करोड ५० लाख, आव २०७८/७९ मा ३ अर्ब ९२ करोड, आव २०७७/७८ मा १ अर्ब ३९ करोड ६० लाख, आव २०७६/७७ मा २ अर्ब ६६ करोड, आव २०७५/७६ मा ३ अर्ब ४३ करोड, आव २०७४/७५ मा ३ अर्ब १३ करोड ५० लाख, आव २०७३/७४ मा २ अर्ब ४४ करोड ३० लाख र आव २०७२/७३ मा १ अर्ब ८२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सन् २००२ मा स्थापना भएको यती एयरलाइन्स नेपालका पुराना घरेलु वायुसेवा प्रदायकमध्ये एक हो । कम्पनीसँग एटीआर ७२ का ७ वटा विमान रहेका छन्, जसमध्ये ६ वटा आफ्नै स्वामित्वमा र एउटा भाडामा लिएर सञ्चालन गरिएको छ । कम्पनीका प्रमुख प्रवद्र्धकमा एसियन लाइफ इन्स्योरेन्स लिमिटेडको २९.८५ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको १५.९६ प्रतिशत र चन्दा शेर्पाको १२.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यती एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पासँग पर्यटन क्षेत्रमा पाँच दशकभन्दा बढीको अनुभव रहेको छ । सञ्चालक समितिमा चन्दा शेर्पा प्रबन्ध निर्देशक र नोर्बु छिरिङ शेर्पा नायब प्रबन्ध निर्देशकका रूपमा रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी भने चार्टर्ड एकाउन्टेन्ट सुभाष सापकोटाले सम्हाल्दै आएका छन् ।

सन् २०२३ मा यती एयरलाइन्सको ९एन-एएनसी विमान पोखरा विमानस्थलनजिक दुर्घटनामा परेपछि कम्पनीको बजार हिस्सामा दबाब परेको थियो । दुर्घटनापछि केही समय यात्रु अन्य वायुसेवातर्फ आकर्षित भएका थिए । आर्थिक सुस्तता तथा हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएका कारण पनि कम्पनीको बजार हिस्सामा असर परेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा करिब २३ प्रतिशत र २०७८/७९ मा करिब २१ प्रतिशत रहेको कम्पनीको बजार हिस्सा २०७९/८० मा घटेर करिब १७ प्रतिशतमा पुगेको थियो । तर, आर्थिक वर्ष २०८०/८१ मा दुईवटा नयाँ विमान थपिनु तथा पर्यटन क्षेत्रमा आएको सुधारसँगै बजार हिस्सा पुनः बढेको थियो । गत आर्थिक वर्ष २०८२/८३ मा यात्रु ओसारपसारका आधारमा कम्पनीले घरेलु हवाई बजारमा करिब २२-२३ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ ।
यती एयरलाइन्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ६ अर्ब ३८ करोड ९१ लाख रुपैयाँ दीर्घकालीन, १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ अल्पकालीन र ५५ करोड १९ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । कम्पनीले निजी प्लेसमेन्टमार्फत प्रिमियमसहित २ अर्ब २७ करोड रुपैयाँ थप पुँजी परिचालन गरेको थियो । उक्त रकमको प्रमुख हिस्सा ऋण घटाउन तथा केही विमानका इन्जिन मर्मतमा प्रयोग गरिएको जनाएको छ । साथै कम्पनीले २ अर्ब १० करोड रुपैयाँ बराबरको आईपीओमार्फत थप पुँजी परिचालन गर्ने योजना बनाएको छ ।
आम्दानी बढे पनि नाफामा दबाब
इन्धन कम खपत गर्ने नयाँ विमान थपिएपछि कम्पनीको ब्याज, कर, ह्रासकट्टीअघिको नाफा मार्जिन आर्थिक वर्ष २०८०/८१ को करिब २६ प्रतिशतबाट बढेर २०८१/८२ मा करिब ३३ प्रतिशत पुगेको थियो । तर, हवाई इन्धनको मूल्य बढेपछि गत आर्थिक वर्ष २०८२/८३ मा यस्तो मार्जिन घटेर करिब ३० प्रतिशतमा सीमित भएको जनाएको छ ।
खुद नाफा मार्जिन पनि आर्थिक वर्ष २०७९/८० को करिब १ प्रतिशतबाट बढेर २०८१/८२ मा करिब १२ प्रतिशत पुगेको थियो । तर, गत आर्थिक वर्ष २०८२/८३ मा घटेर करिब ३ प्रतिशतमा सीमित भएको छ ।
कम्पनीको खुद नाफा आर्थिक वर्ष २०८१/८२ को ६४ करोड ८० लाख रुपैयाँबाट घटेर २०८२/८३ मा १८ करोड १० लाख रुपैयाँमा झरेको छ । यसको प्रमुख कारण विदेशी मुद्रामा रहेको सम्पूर्ण ऋणलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने क्रममा भएको करिब ३२ करोड ७० लाख रुपैयाँको विदेशी विनिमय घाटा हो ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापनसम्बन्धी प्रावधान संशोधनपछि कम्पनीले विदेशी मुद्रामा रहेको ऋणलाई नेपाली रुपैयाँमा रूपान्तरण गरेको हो । उक्त विदेशी विनिमय घाटा मुख्यतः एकपटकको प्रकृतिको रहेको र ऋण रूपान्तरणपछि कम्पनीको विदेशी विनिमय जोखिम उल्लेख्य रूपमा घटेको कम्पनीले जनाएको छ ।

कार्यशील पुँजीको आवश्यकता बढ्यो
यती एयरलाइन्सको सञ्चालन कार्यशील पुँजीमा बढी निर्भर रहेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन चक्र करिब ९८ दिन पुगेको छ । यस्तो अवधि अघिल्लो आर्थिक वर्षमा ८४ दिन र आर्थिक वर्ष २०८०/८१ मा १११ दिन थियो ।
सञ्चालन चक्र बढ्नुको प्रमुख कारण मौज्दात बढ्नु हो । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको मौज्दात राख्ने अवधि करिब ९८ दिन पुगेको छ, जुन अघिल्लो वर्ष ८४ दिन थियो । नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर हुन सक्ने तथा भू-राजनीतिक तनावका कारण स्पेयर पाट्र्सको लागत बढ्न सक्ने अनुमानमा कम्पनी व्यवस्थापनले महत्वपूर्ण स्पेयर पाट्र्स तथा उपकरणको मौज्दात बढाएको हो ।
कम्पनीको कार्यशील पुँजी तीव्रता आर्थिक वर्ष २०८१/८२ को करिब २० प्रतिशतबाट बढेर २०८२/८३ मा करिब ३४ प्रतिशत पुगेको छ । मौज्दात बढ्नुका साथै भुक्तानी अवधि घटेकाले पनि कार्यशील पुँजीको आवश्यकता बढेको छ । यस्तो आवश्यकता व्यवस्थापन गर्न कम्पनीले थप अल्पकालीन ऋण लिनुपरेको छ ।
यती एयरलाइन्सको आम्दानी तथा यात्रु संख्या केही प्रमुख उडान मार्गमा बढी केन्द्रित रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १८ वटा उडान मार्गबाट ५ अर्ब ३८ करोड ४० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।
काठमाडौं-पोखरा र काठमाडौं-विराटनगरका दुवैतर्फका उडानले आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानीको करिब ४६ प्रतिशत र यात्रु संख्याको करिब ४७ प्रतिशत हिस्सा ओगटेका थिए । आर्थिक वर्ष २०८२/८३ मा यी मार्गको हिस्सा क्रमशः करिब ५१ प्रतिशत र ५२ प्रतिशत पुगेको छ ।
अमेरिकी डलरमा प्राप्त हुने आम्दानीमा पनि उच्च एकाग्रता छ । कम्पनीको डलरमा हुने कुल आम्दानीमध्ये करिब ९० प्रतिशत दुईवटा उडान मार्गबाट प्राप्त हुने गरेको छ । यसमा विशेषगरी काठमाडौं-पोखरा मार्गको महत्वपूर्ण योगदान रहेको छ ।
केही प्रमुख मार्गमा उच्च निर्भरता रहँदा ती मार्गमा हुने प्रतिकूल घटनाले कम्पनीको सञ्चालन तथा विदेशी मुद्रा आम्दानीमा असर पार्न सक्छ । त्यसैले आगामी दिनमा उडान मार्ग विस्तार गर्दै आम्दानी तथा यात्रु संख्याको एकाग्रता घटाउनु कम्पनीका लागि महत्वपूर्ण हुनेछ ।
हवाई इन्धनको मूल्यमा हुने उतारचढाव यती एयरलाइन्सको नाफाका लागि प्रमुख चुनौतीमध्ये एक हो । कम्पनीको कुल सञ्चालन खर्चमा एटीएफको हिस्सा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ दुवैमा करिब ३२ प्रतिशत रहेको छ ।
भू-राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा एटीएफको मूल्य बढ्दा कम्पनीको इन्धन खर्च बढेको छ । तर, घरेलु हवाई सेवामा तीव्र प्रतिस्पर्धा रहेकाले बढेको सम्पूर्ण लागत यात्रु भाडामा हस्तान्तरण गर्न कठिन हुने अवस्था छ । लागत वृद्धि पूर्ण रूपमा यात्रुमा हस्तान्तरण गर्न नसके सञ्चालन मार्जिनमा दबाब पर्न सक्ने जनाएको छ ।
इन्धन खर्च व्यवस्थापन तथा कम इन्धन खपत गर्ने विमानको प्रयोगले भने कम्पनीको मार्जिन सुधारमा सहयोग गरेको छ । नेपालमा घरेलु हवाई सेवा नागरिक उड्डयन प्राधिकरणअन्तर्गत ‘हवाई भाडा अनुगमन निर्देशिका, २०७३’ अनुसार नियमन हुने भएकाले विभिन्न मार्गमा यात्रु भाडाको अधिकतम तथा न्यूनतम सीमा कायम हुन्छ । यसले कम्पनीहरूको भाडा समायोजन गर्ने क्षमतालाई सीमित बनाएको जनाएको छ ।
कम्पनीका अनुसार घरेलु हवाई सेवाको निश्चित पखेटा भएका विमानतर्फ ९ वटा तथा हेलिकप्टरतर्फ १२ वटा वायुसेवा कम्पनी सञ्चालनमा रहेकाले प्रतिस्पर्धा उच्च छ । यस्तो अवस्थामा एटीएफको मूल्यवृद्धि, सीमित भाडा समायोजन क्षमता, कार्यशील पुँजीको आवश्यकता र केही प्रमुख उडान मार्गमा रहेको निर्भरता व्यवस्थापन गर्दै सञ्चालन मार्जिन कायम राख्नु यती एयरलाइन्सका लागि आगामी दिनको प्रमुख चुनौती हुने कम्पनीले जनाएको छ ।