कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गरिँदै
जनकपुरधाम । जयनगर-बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले रेल गुडाएर परीक्षण गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र साधारण काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको उनले बताए । रेलको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन गरिने झाको भनाइ छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनलले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । त्यसयता रेल सेवा नियमित छ । रासस
नक्सा पास नभएका घर/भवनलाई महानगरले दियो ९० दिनको समय, अनधिकृत पर्खाल ३५ दिनभित्रै भत्काउनु पर्ने
काठमाडौं । काठमाडौं महानगरले नक्सा पान नगरी बनाइएका घर तथा भवनलाई ९० दिनको समय दिएको छ । महानगरले बिहीबार एकसूचना गारी गद मापदण्ड पुरा गरेका तर लाइसेन्स पास नगरी घर बनाएकालाई तोकिएको समयममा बुझाउन आग्रह गरेको हो । महानगरले नक्सा पास नगरि नगरपालिका क्षेत्रभित्र बनेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकिृतिको भवनको नक्सा पास गरेको हुनु पर्ने बताएको छ । यदि तोकिएको समयभित्र सो काम नभएमा कारवाही समेत गरिने महानगरले सचेत गराएको छ । महानगरले भदौ २३ गते एक सूचना मार्फत सो जानकारी गराएको हो । त्यस्तै, अनधिकृत सीमा पर्खाल हटाउन समेत महानगरले आग्रह गरेको छ । जसको लागि ३५ दिनको समय दिइएको छ । सो अवधिमा सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाएमा महानगर आफैले हटाउने छ । र, हटाउँदा लागेको खर्च समेत घरजग्गा धनीबाटै असुल गरिने महानगरले जानकारी गराएको छ । सम्बन्धित समाचार नक्सा पास नभएका संरचना भत्काउने योजनाबाट बालेन ‘ब्याक’, पुराना संरचनाको पनि नक्सा पास हुने
प्रशोधन केन्द्र बनाउन असफल चिनिया कम्पनीसँगको ठेक्का रद्द, बैंकको ४९ करोड धरौटी जफत
काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिसेस् (होल्डिङ) इंकसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता अन्त्य गरेको छ । साफबोन वाटरसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरु २ वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म संचालन गर्ने गरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको थियो । तर, उक्त कम्पनीले फोहोरपानी प्रशोधन केन्द्रहरुको निर्माण कार्यलाई सम्झौता बमोजिम अघि नबढाएको र तोकिएको समयमा निर्माण सम्पन्न गर्न पीआईडीबाट बारम्बार ताकेता गरिनुका साथै पाँच पटकसम्म म्याद थप गरी पछिल्लो पटक यही सन् २०२२ को जुलाई ३१ सम्म समय दिँदा समेत सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगरेका कारण साफबोन वाटरसँगको सम्झौता अन्त्य गरिएको हो । फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा असफल देखिएको, निर्माण स्थलमा कम्पनीका आधिकारिक प्रतिनिधि तथा मुख्य व्यक्ति अनुपस्थित रहेको, सम्झौता अनुसार काम नगरेको, बीमालेख नवीकरण नगरेको, सम्झौता उल्लंघन गरेको र पीआईडीबाट दिइएका निर्देशनलाई बेवास्ता गरेको कारणले सम्झौता अन्त्य गरिएको छ । तीनवटै फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि उक्त कम्पनीसँग कूल लागत ३ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएकोमा उक्त कम्पनीले सम्झौता बमोजिम बैंक ग्यारेन्टीस्वरुप राखेको करिब ४९ करोड धरौटी रकम जफत गरिएको छ । उक्त कम्पनीले थपिएको अवधि समेत गरी ५ वर्ष ३ महिनामा जम्मा २७.१ प्रतिशत मात्र काम गरेको छ भने करिब ७७ करोड २७ लाख रुपैयाँ भुक्तानी लगेको छ । अब, तीनवटै फोहोरपानी प्रशोधन केन्द्रहरुको बाँकी निर्माण कार्य नयाँ ठेक्का प्रक्रियाबाट छिटोछरितो ढंगले अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।