काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिसेस् (होल्डिङ) इंकसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता अन्त्य गरेको छ ।
साफबोन वाटरसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरु २ वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म संचालन गर्ने गरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको थियो ।
तर, उक्त कम्पनीले फोहोरपानी प्रशोधन केन्द्रहरुको निर्माण कार्यलाई सम्झौता बमोजिम अघि नबढाएको र तोकिएको समयमा निर्माण सम्पन्न गर्न पीआईडीबाट बारम्बार ताकेता गरिनुका साथै पाँच पटकसम्म म्याद थप गरी पछिल्लो पटक यही सन् २०२२ को जुलाई ३१ सम्म समय दिँदा समेत सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगरेका कारण साफबोन वाटरसँगको सम्झौता अन्त्य गरिएको हो ।
फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा असफल देखिएको, निर्माण स्थलमा कम्पनीका आधिकारिक प्रतिनिधि तथा मुख्य व्यक्ति अनुपस्थित रहेको, सम्झौता अनुसार काम नगरेको, बीमालेख नवीकरण नगरेको, सम्झौता उल्लंघन गरेको र पीआईडीबाट दिइएका निर्देशनलाई बेवास्ता गरेको कारणले सम्झौता अन्त्य गरिएको छ ।
तीनवटै फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि उक्त कम्पनीसँग कूल लागत ३ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएकोमा उक्त कम्पनीले सम्झौता बमोजिम बैंक ग्यारेन्टीस्वरुप राखेको करिब ४९ करोड धरौटी रकम जफत गरिएको छ ।
उक्त कम्पनीले थपिएको अवधि समेत गरी ५ वर्ष ३ महिनामा जम्मा २७.१ प्रतिशत मात्र काम गरेको छ भने करिब ७७ करोड २७ लाख रुपैयाँ भुक्तानी लगेको छ ।
अब, तीनवटै फोहोरपानी प्रशोधन केन्द्रहरुको बाँकी निर्माण कार्य नयाँ ठेक्का प्रक्रियाबाट छिटोछरितो ढंगले अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।