बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि सञ्चालनमा, प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनःस्थापना

काठमाडौं । बाढीका कारण डुबानमा परी क्षतिग्रस्त भएको धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ । गत भदौ १० गते आएको बाढीले जहरेखेतस्थित सबस्टेसन करिब ६ देखि १० फिटसम्म डुबानमा पारेको थियो, जसका कारण उपकरण तथा अन्य संरचनामा क्षति पुगेर विद्युत आपूर्ति अवरुद्ध भएको थियो ।

 बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको शीघ्र मर्मत तथा सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तत्काल परिचालन गरेको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको निर्देशन तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालको प्रत्यक्ष समन्वयमा मर्मत तथा पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अगाडि बढाइएको थियो । 

प्रतिकूल अवस्था र विभिन्न प्राविधिक चुनौतीका बीच धादिङ वितरण केन्द्रका कार्यालय प्रमुख, इन्जिनियर, सबस्टेसनमा कार्यरत कर्मचारी तथा प्राविधिक टोली निरन्तर खटिएका थिए । 

मर्मत सम्पन्न भएपछि भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । 

सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी फिडरबाट गजुरी बजारसम्म, आदमघाट फिडरबाट २२ किलोसम्म र पीडा फिडरबाट किरान्चोक-मिलनटार-किरान्चोक सामुदायिक क्षेत्रसमेत विद्युत सेवा पुनःस्थापना गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा सेवा पुनःस्थापनामा सहयोग, सहजीकरण र समन्वय गरेकोप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयप्रति आभार व्यक्त गरेको छ । 

साथै धादिङ वितरण केन्द्रका कार्यालय प्रमुख, इन्जिनियर, कर्मचारी तथा प्राविधिक टोली, गजुरीस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल तथा अन्य सहयोगी निकाय र स्थानीय सहयोगीहरूप्रति प्राधिकरणले आभार व्यक्त गरेको छ । 

जहरे सबस्टेसन पुनः सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ र उपभोक्तालाई नियमित र भरपर्दो सेवा उपलब्ध गराउन आवश्यक कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको प्राधिकरणले जनाएको छ ।

Share News