सेयर बजार दोहोरो अंकले घट्दा ग्लोबल आईएमईको सबैभन्दा बढी कारोबार

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन बजार १०.४७ अंकले घटेर नेप्से परिसुचक १ हजार २५६ मा सीमित भएको छ । बजार घटेपछि सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । व्यापारिक बाहेक सबै क्षेत्रको सुचक घटेको छ । नेप्से घटेका बेला सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर कारोबार भएको छ । ग्लोबल आईएमईको प्रतिकित्ता ३२० रुपैयाँमा ६ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ग्लोबलको सेयर मूल्य कम भएकाले पनि लगानीकताले बढी खरिद गरेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेशन र बेष्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् ।

माछापुच्छ्रे बैंकले गर्याे पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण

काठमाडौं। माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए। पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको माननीय मन्त्रीले उच्च प्रशंसा गरे। उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ बैंक परिवार गौरवान्वित भएको बताए। बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घरनिर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आएपश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् । बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानबाट ग्राहकलाई सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

लक्ष्मी बैंकले पशुपतिनाथ परिसरका लागि गर्‍यो २ थान विद्युतिय टेम्पो सहयोग

काठमाडौं। लक्ष्मी बैंकले आईतबार पशुपतिनाथमा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो । यो टेम्पो पशुपतिनाथ मन्दिर परिसर भित्र र विषेश गरी बृद्ध र अशक्त भक्तजनहरुको निःशुल्क आवतजावतका लागि सञ्चालन हुनेछ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रमशाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलार्इ सफा टेम्पोको साँचो हस्तान्तरण गरेपछी सेवाको शुभरम्भ भएको हो।