यो वर्ष आर्थिक वृद्धि खुम्चिने एडीबीको प्रक्षेपण, ५.५ प्रतिशत मात्र हुने
काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले आर्थिक विस्तार हुने बताइ रहेका बेला एसियाली विकास बैंक (एडीबी) ले अझै खुम्चिने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार नेपालको वृहत आर्थिक परिदृष्य सार्वजनिक गर्दै आर्थिक वृद्धि अघिल्लो वर्षको भन्दा घट्ने अनुमान गरेको हो ।सरकारले यो वर्ष ८ प्रतिशत आर्थिक विस्तार हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वृद्धि ५.५ प्रतिशतमा सीमिति हुने एडीबीको प्रक्षेपण छ । यो वृद्धि विगत १० वर्षको वार्षिक औसत ४.३ प्रतिशत भन्दा उल्लेख्य रुपमा बढी हो । यस वृद्धिलाई २०७४ मा भएका निर्वाचन पछिको अपेक्षित राजनीतिक स्थिरता, राम्रो मनसुन र ठुला आयोजनाहरुको तीब्र कार्यान्वयनका लागि प्रयासहरूले भरथेग गर्नेछ । सामान्यतःजेठदेखि भदौसम्म रहने मनसुन यस आर्थिक वर्षमा सामान्य रहेको छ । समयमानै र सबैतिर समान रूपमा भएको वर्षाका कारण ९५ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ हुने तथ्य सार्वजनिक भएको छ । सरकारले विकास आयोजनाहरुको नजिकबाट अनुगमन गर्ने र कार्यान्वयनमा तीव्रता दिने प्रयास गरिरहेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना यसै आर्थिक वर्षभित्र पुरा हुने अनुमान गरिएको छ । राष्ट्रिय प्रसारणलाइनमा यसबाट थप हुने यो विद्युत्ले नेपाललाई वर्षा याममा भारतबाट विद्युत् आयातको निर्भरता कम गर्न सहयोग गर्नेछ । विद्युत् आपूर्तिको उपलब्धतामा वृद्धि र उत्पादनमूलक र निर्माणका गतिविधिमा सम्भाव्य विस्तारका कारण आव २०७५/०७६ मा औद्योगिक क्षेत्रमा ७.२ प्रतिशतको वृद्धि हुने अनुमान एडीबीको छ । जुन अघिल्लो वर्षको ८.८ प्रतिशत भन्दा कम हो । २०७५ जेठ १५ देखि लोडसेडिङको अन्त्य भएसँगै उत्पादनमूलक उपक्षेत्रले राम्रो गर्ने अपेक्षा गरिएको छ । सेवा क्षेत्र आव २०७४÷७५ को ६.६ प्रतिशत वृद्धिको तुलनामा आव २०७५/७६ मा ६.१ प्रतिशत मात्र हुनेछ । आव २०७४÷७५ मा जस्तै आव २०७५/७६ माथोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता र यात्रा तथा पर्यटन उपक्षेत्रहरुले गतिलिने अनुमान गरिएको छ । आव २०७४/७५ मा सरदर वार्षिक मुद्रास्फीति अघिल्लो वर्षको ४.५ प्रतिशतबाट ४.२ मा झरेको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा नेपालको अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार भएको थियो । एडीबीले नेपालको आर्थिक परिदृष्य सार्वजनिक गर्दै गत वर्ष ५.९ प्रतिशत आर्थिक वृद्धि भएको जानकारी दिएको हो । गत वर्ष सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो । अघिल्लो वर्ष कृषि क्षेत्रको उच्च योगदान सहित ७.४ प्रतिशतको वृद्धि रहेकोमा २०७४ साउन/भदौमाआएको बाढीका कारण कृषि क्षेत्रको वृद्धि घट्दा आर्थिक वृद्धिमा कमी आएको एडीबीको ठहर छ । अघिल्लो वर्ष कृषि क्षेत्रको विस्तार ५.२ प्रतिशत रहेकोमा आव २०७४/७५ मा २.८ प्रतिशतले मात्र वृद्धि भएको छ । औद्योगिक क्षेत्रको वृद्धि पनि अघिल्लो वर्षको १२.४ प्रतिशतबाट झरेर आव २०७४/०७५ मा ८.८ प्रतिशतमात्रले विस्तार भएको छ । उत्पादनमूलक, निर्माण र खनिज तथा उत्खनन उपक्षेत्रमा भएको विस्तारले यस क्षेत्रमा वृद्धि भएको हो । विद्युत् आपूर्तिको राम्रो व्यवस्थापनका कारण आव २०७४÷७५ मा उत्पादन मूलक उपक्षेत्र ८.० प्रतिशतले वृद्धि भयो । तर यो पनि अघिल्लो वर्षको ९.७ प्रतिशतको वृद्धिभन्दा कम हो । भूकम्पपछिको पुनःनिर्माणमा आएको तीव्रता तथा प्रदेश एवम् स्थानीय तहहरूमा भएका अन्य निर्माणका गतिविधिका सहयोगमा निर्माण उपक्षेत्र विस्तार भएको छ । अघिल्लो वर्ष ७.४ प्रतिशतले वृद्धि भएको सेवा क्षेत्र पनि आव २०७४/०७५ मा ६.६ प्रतिशतले मात्र विस्तार भएको छ ।
नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
काठमाडौं। नेपाल बङ्गलादेश बैंक लि. र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. बीच मिति २०७५ असोज ७ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एन.बी.आईले नेपाल बङ्गलादेश बैंक का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार नेपाल बङ्गलादेश बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ । उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रशाद ढुंगाना र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु,
काठमाडौं । जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा शुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पु¥याउने सरकारको योजनाअनुसार जुम्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन् । अहिले सबै स्थानीय तहका योजनादेखि सामाजिक सुरक्षाभत्ताका सबै कामकाज गाउँमै हुन थालेको छ । पैदल हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता टरेपछि सङ्घीयताको महसुस बैंकिङ सेवाले पनि गराएको तातोपानी गाउँपालिका स्थानीय रामकृष्ण न्यौपाने बताए । उनले भने, “सिंजाबाट सदरमुकाम पुग्न बास बस्नुपथ्र्यो, तर अहिले गाउँमै बैंक आएपछि निकै सहज भएको छ ।” कुन स्थानीय तहमा कुन बैंक सदरमुकामबाट सबैभन्दा टाढा रहेको कनकासुन्दरी गाउँपालिकामा कुमारी बैंकको शाखा सञ्चालनमा रहेको छ । जसले गर्दा पहिलेको योजनादेखि आर्थिक कारोबारका लागि बास बस्नुपर्ने स्थिति अहिले टरेको सचिव अम्मरराज गिरीले बताए । त्यस्तै सिंजा गाउँपालिकामा नेपाल बङ्गलादेश बैंक, हिमा गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा सञ्चालनमा छन् । तिला गाउँपालिकमा नबिल बैंक, तातोपानी गाउँपालिकामा जनता बैंक, गोठीचौर गाउँपालिकामा सनराइज बैंक र पातारासी गाउँपालिकामा बैंक अफ काठमाण्डूको शाखा सञ्चालन भएको छ । पातारासी गाउँपालिकामा भने केही सामग्रीहरु जोड्न बाँकी रहेकाले सेवा सञ्चालनमा आउन सकेको छैन । नमूना गाउँपालिका बनाउने योजनाअनुसार बैंकको स्थापनालाई पहिलो प्रथामिकता दिइएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।रासस