
काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले आर्थिक विस्तार हुने बताइ रहेका बेला एसियाली विकास बैंक (एडीबी) ले अझै खुम्चिने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार नेपालको वृहत आर्थिक परिदृष्य सार्वजनिक गर्दै आर्थिक वृद्धि अघिल्लो वर्षको भन्दा घट्ने अनुमान गरेको हो ।सरकारले यो वर्ष ८ प्रतिशत आर्थिक विस्तार हुने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वृद्धि ५.५ प्रतिशतमा सीमिति हुने एडीबीको प्रक्षेपण छ । यो वृद्धि विगत १० वर्षको वार्षिक औसत ४.३ प्रतिशत भन्दा उल्लेख्य रुपमा बढी हो । यस वृद्धिलाई २०७४ मा भएका निर्वाचन पछिको अपेक्षित राजनीतिक स्थिरता, राम्रो मनसुन र ठुला आयोजनाहरुको तीब्र कार्यान्वयनका लागि प्रयासहरूले भरथेग गर्नेछ ।
सामान्यतःजेठदेखि भदौसम्म रहने मनसुन यस आर्थिक वर्षमा सामान्य रहेको छ । समयमानै र सबैतिर समान रूपमा भएको वर्षाका कारण ९५ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ हुने तथ्य सार्वजनिक भएको छ । सरकारले विकास आयोजनाहरुको नजिकबाट अनुगमन गर्ने र कार्यान्वयनमा तीव्रता दिने प्रयास गरिरहेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना यसै आर्थिक वर्षभित्र पुरा हुने अनुमान गरिएको छ ।
राष्ट्रिय प्रसारणलाइनमा यसबाट थप हुने यो विद्युत्ले नेपाललाई वर्षा याममा भारतबाट विद्युत् आयातको निर्भरता कम गर्न सहयोग गर्नेछ । विद्युत् आपूर्तिको उपलब्धतामा वृद्धि र उत्पादनमूलक र निर्माणका गतिविधिमा सम्भाव्य विस्तारका कारण आव २०७५/०७६ मा औद्योगिक क्षेत्रमा ७.२ प्रतिशतको वृद्धि हुने अनुमान एडीबीको छ । जुन अघिल्लो वर्षको ८.८ प्रतिशत भन्दा कम हो ।
२०७५ जेठ १५ देखि लोडसेडिङको अन्त्य भएसँगै उत्पादनमूलक उपक्षेत्रले राम्रो गर्ने अपेक्षा गरिएको छ । सेवा क्षेत्र आव २०७४÷७५ को ६.६ प्रतिशत वृद्धिको तुलनामा आव २०७५/७६ मा ६.१ प्रतिशत मात्र हुनेछ । आव २०७४÷७५ मा जस्तै आव २०७५/७६ माथोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता र यात्रा तथा पर्यटन उपक्षेत्रहरुले गतिलिने अनुमान गरिएको छ । आव २०७४/७५ मा सरदर वार्षिक मुद्रास्फीति अघिल्लो वर्षको ४.५ प्रतिशतबाट ४.२ मा झरेको छ ।
गत आर्थिक वर्ष ०७४/०७५ मा नेपालको अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार भएको थियो । एडीबीले नेपालको आर्थिक परिदृष्य सार्वजनिक गर्दै गत वर्ष ५.९ प्रतिशत आर्थिक वृद्धि भएको जानकारी दिएको हो । गत वर्ष सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो ।
अघिल्लो वर्ष कृषि क्षेत्रको उच्च योगदान सहित ७.४ प्रतिशतको वृद्धि रहेकोमा २०७४ साउन/भदौमाआएको बाढीका कारण कृषि क्षेत्रको वृद्धि घट्दा आर्थिक वृद्धिमा कमी आएको एडीबीको ठहर छ । अघिल्लो वर्ष कृषि क्षेत्रको विस्तार ५.२ प्रतिशत रहेकोमा आव २०७४/७५ मा २.८ प्रतिशतले मात्र वृद्धि भएको छ । औद्योगिक क्षेत्रको वृद्धि पनि अघिल्लो वर्षको १२.४ प्रतिशतबाट झरेर आव २०७४/०७५ मा ८.८ प्रतिशतमात्रले विस्तार भएको छ ।
उत्पादनमूलक, निर्माण र खनिज तथा उत्खनन उपक्षेत्रमा भएको विस्तारले यस क्षेत्रमा वृद्धि भएको हो । विद्युत् आपूर्तिको राम्रो व्यवस्थापनका कारण आव २०७४÷७५ मा उत्पादन मूलक उपक्षेत्र ८.० प्रतिशतले वृद्धि भयो । तर यो पनि अघिल्लो वर्षको ९.७ प्रतिशतको वृद्धिभन्दा कम हो । भूकम्पपछिको पुनःनिर्माणमा आएको तीव्रता तथा प्रदेश एवम् स्थानीय तहहरूमा भएका अन्य निर्माणका
गतिविधिका सहयोगमा निर्माण उपक्षेत्र विस्तार भएको छ । अघिल्लो वर्ष ७.४ प्रतिशतले वृद्धि भएको सेवा क्षेत्र पनि आव २०७४/०७५ मा ६.६ प्रतिशतले मात्र विस्तार भएको छ ।