‘अहिलेकाे तरलता संकट बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै हाे’-अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभावलार्इ बच्चाको दाँत आउने बेलामा पखाला लागेको अवस्थासँग तुलना गरेका छन् । उनले भने, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक वृद्धि हुन लागेको संकेत हो । कामहरू हुन थालेपछि चारैतिरबाट पैसाको माग आउँछ र अभाव हुन थाल्छ । अहिलेको अवस्था पनि यस्तै भएको हो ।” बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको संकेत भएको उनकाे विश्लेषण छ । राजधानीमा अायाेजित दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलनकाे समापन कार्यक्रममा बाेल्दै मन्त्री खतिवडाले यस्ताे विचार राखेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तले दिगो विकासमा सघाउ पुर्याउने बताए । उनले दिगो विकासको अवधारणामा लघुवित्तको प्रयोग सफल उदाहरण भएको उल्लेख गरे । साथै, सम्मेलनले जारी गरेको पन्ध्र सूत्रीय घोषणापत्र कार्यान्वयनमा सरकारले सघाउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, “तपाईंहरू अघि–अघि दौड्नु भएको छ, लघुवित्तको पछाडि सरकार दौडिरहेको छ । पन्ध्रबुँदे घोषणापत्र, राष्ट्र बैंकले गरेको व्यवस्था र ऐन नियममा भएको व्यवस्था जुन तपाईंहरूलाई चित्त बुझदैन, त्यसमा कार्यदल बनाएर अघि बढौं । हामी समस्या भएका व्यवस्थाहरू संशोधन गर्न तयार छौं ।” समापन समारोहमा बोल्दै सांसद लीलानाथ श्रेष्ठले गरिबी र अशिक्षालाई हटाउन र देशको समृद्धिका लागि सरकारको मात्र मुख नताक्न आग्रह गरे । देशको समृद्धिका लागि सबैपक्षबाट काम हुनुपर्ने उनको भनाइ छ । यस्तै उनले अहिले केही लघुवित्तहरू आफ्नो क्षमताभन्दा बाहिर गएको भन्दै चिन्ता व्यक्त गरे । ऋणीको क्षमता नहेरी आवश्यकताभन्दा बढी कर्जा दिने, ऋण लिनेले पनि बढी माग गर्ने जस्ता कुरा नम्र्सभन्दा बाहिर भएको सांसद श्रेष्ठको भनाइ छ । अर्का सांसद तुलसा थापाले विपन्न वर्गलाई उठाउन र विशेष गरी महिलाहरूलाई अगाडि बढाउन लघुवित्तले ठूलो भूमिका खेलेको बताइन् । सम्मेलनमा देखिएको उपस्थितिले पनि अब महिला एक्लै छैनन् उनीहरूलाई साथ दिन लघुवित्त छ भन्ने प्रमाण दिएको उल्लेख गरिन् । किसान लघुवित्त विकास बैंकका सञ्चालक शुभनाथ देवकोटाले लघुवित्तबाट हुने कर्जा प्रवाहमा इमान्दारिता र प्रयोगमा पनि इमान्दारिता भयो भने विपन्नको जीवनस्तर सुधार्न मद्दत पुग्ने बताए । उनले बैंकहरूले धनीलाई मात्र ऋण दिने तर लघुवित्तले विपन्नलाई ऋण दिने भएकाले त्यसको सही सदुपयोगका लागि सचेत गराए । आयोजकको तर्फबाट बोल्दै पद्यमासना शाक्यले (स्वावलम्बन विकास केन्द्रको सदस्य) लघुवित्तले विपन्नलाई बाहिर ल्याएको र महिला सशक्तीकरणमा टेवा दिएको बताइन् । ऋणको रकमलाई सदुपयोग गर्न सकियो भने असल व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरण सम्मेलनमा उपस्थित महिलाहरूले प्रस्तुत गरेको स्मरण गराइन् । सम्मेलनमा विभिन्न क्षेत्रबाट आएका र लघुवित्तले आफ्नो जीवनमा ल्याएको परिवर्तनका बारेमा १६ जना महिलाले आत्मकथा सुनाएका थिए । पद्यमासनाले लघुवित्तकर्मीलाई सरकारले नीतिगत रूपमा सम्बोधन गर्न माग गरिन् । लघुवित्तले जीवन परिवर्तन गरेको प्रसंग सुनाउँदै गीता चौधरी (लघुवित्तबाट ऋण लिएर आफैं व्यवसाय गरेको व्यक्ति) पहिले काम नपाएको र अहिले आफू चार/पाँच जना कामदार राख्ने हैसियतमा भएको बताएकी थिइन् । पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन सकिएको छ । घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिन सम्मेलनमा सहभागीहरूले परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने, वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्ने, लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बिमा कार्यान्वयनमा बिमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तर वृद्धि मापन कार्ड प्रदान गर्नेलगायत १५ बुँदा समेटेको छ । यसअघि २०७३ मा पहिलो राष्ट्रिय लघुवित्त सम्मेलन भएको थियो । सम्मेलन प्रत्येक दुई/दुई वर्षमा हुनेछ ।
सेञ्चुरी बैंकले जित्यो कर्पोरेट क्रिकेटको उपाधि
काठमाडाैं । पांचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि सेञ्चुरी बैंकले जितेको छ । त्रिभुवन विश्वविद्मालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न भएकाे छ । फाइनलमा एनआईसी एशिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो ।
एनआईसी एशिया बैंकको भिषा कार्डबाट सामान किन्नुस्, १० प्रतिशतसम्म पैसा र्फिता पाउनुस्
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालभित्र भिषाको सहकार्यमा पीओएस मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुनेछ । यस अवधिमा बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास ब्याक पाईने छ । योजना अन्तर्गत प्रथम कारोबारमा कारोबार रकमको २ प्रतिशत वा बढिमा १०० रुपैयाँ क्यास ब्याक पाइने छ । दोस्रो कारोबारमा कारोबार रकमको ४ प्रतिशत वा बढिमा २०० रुपैयाँ र तेस्रो कारोबारमा कारोबार रकमको ६ प्रतिशत वा बढिमा ३०० रुपैयाँ क्यास ब्याक पाइने बैंकले जनाएको छ । चौथो कारोबारमा कारोबार रकमको ८ प्रतिशत वा बढिमा ४०० रुपैयाँ र पाँचौ कारोबारमा कारोबार रकमको १० प्रतिशत वा बढिमा ५०० रुपैयाँ क्यास ब्याक पाइने छ । त्यस्तै, एक महिनामा प्रतिकारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र क्यास ब्याक हुने बैंकले बताएको छ । यस योजनाबाट बैंकको ४ लाख ५० हजारभन्दा बढि भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।