जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्ड वैशाखभित्रै चल्ने

महोत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ । पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन तथा रेल सञ्चालनको तयारीबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आज महोत्तरीको बर्दिवासस्थित प्रस्तावित रेल्वे स्टेशन क्षेत्रको अवलोकन निरीक्षण गरे । सो अवसरमा रेल विभागका महानिर्देशक प्रमिला बज्राचार्य, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराई र अन्य अधिकारीका साथ निरीक्षणपछि मन्त्री नेम्वाङले जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा वैशाखभित्रै रेल सेवा सञ्चालन गर्न सकिने बताएका हुन् । ‘जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल लिक निर्माण कम्पनीले हाम्रो जिम्मा लगाइसकेको छ, रेल सेट पनि गत असोजमै ल्याइसकिएको छ’, मन्त्री नेम्वाङले बर्दिबासमा सञ्चारकर्मीसँग भने, ‘अब जनशक्ति व्यवस्थापनको अन्तिम चाँजो मिलाइँदैछ, जारी वैशाख महिनाभित्रै प्रथम खण्डमा रेल चल्छ ।’ जयनगर–बर्दिवास रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये कुर्थादेखि जयनगरसम्मको लिक निर्माण गत वर्ष नै सम्पन्न भए पनि रेलसेट नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन । अब रेल सञ्चालनका लागि भारतबाट दक्ष जनशक्तिको व्यवस्थापनको टुङ्गो लागेको हुँदा प्रथम खण्डको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा रेल सञ्चालनको करीब सबै तयारी पूरा भएको मन्त्री नेम्वाङको भनाइ छ । जयनगर–बर्दिवास रेल्वेको जम्मा ६९ किलोमिटर दूरीमध्ये प्रथम खण्ड जयनगरबाट कुर्थासम्म ३४ किमी, कुर्थाबाट महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित बिजलपुरा स्टेशनसम्म १७ किमी दोस्रो खण्ड र बिजलपुराबाट महोत्तरीकै बर्दिबाससम्म १८ किमी दूरीलाई तेस्रो खण्ड भनिएको छ । अहिले प्रथम खण्ड तयार भएर सेवा सञ्चालनको तयारी गरिएको र दोस्रो खण्डको काम एक महिनाभित्रै सम्पन्न हुने हुँदा सो खण्डमा पनि यसै आर्थिक वर्षभित्रै (असार मसान्तभित्रै) रेल सेवा सञ्चालनमा आइसक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । ‘ढुक्क हुनोस् यसै वैशाखभित्र कुर्थासम्म र आव २०७७र७८ भित्रै बिजलपुरासम्मको सेवा सञ्चालन हुनेछ’, कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सञ्चारकर्मीसँग भने, ‘तेस्रो खण्डको काम बढ्न चाहिँ बर्दिबासको जग्गा मुआब्जा प्रकरण नटुङ्गिनु समस्या भएको छ ।’ यो समस्या पनि चाँडै निराकरण हुने गरी काम बढेको भट्टराईको भनाइ छ । पूर्व–पश्चिम रेल र जयनगर–बर्दिवास रेल्वेको बर्दिबासमा एउटै स्टेशन हुने गरी काम थालिएको हो । पूर्व–पश्चिम रेलको सिमरा–बर्दिवास खण्डको काम र जयनगर–बर्दिवास रेल्वेको तेस्रो खण्डको काम बर्दिबासकै जग्गा मुआब्जा नटुङ्गिदा अघि बढ्न नसकेको नेपाल सरकार रेल विभागको स्वीकारोक्ति छ । ‘पूर्व–पश्चिम रेल मार्गको काम पनि वनक्षेत्र छिचोलेर बर्दिवासको भव्सी खोलासम्म आएको छ, जयनगर–बर्दिवासरेल्वेको काम बिजलपुरासम्म सम्पन्न हुने क्रममा छ’, रेल विभागका महानिर्देशक बज्राचार्यले भने, ‘बर्दिबासको जग्गा मुआब्जा प्रकरण टुङ्गिनासाथ कामले गति लिन्छ ।’ जग्गा मुआब्जा नटुङ्गिदा बर्दिवासको प्रस्तावित स्टेशन नै वरपर सार्न सकिने विकल्पका बारेमा समेत अध्ययन भइरहेको रेल विभागले जनाएको छ । पूर्व–पश्चिम रेल मार्ग निर्माणकै चरणमा रहेको छ । यता जयनगर–बर्दिवास रेल्वेको पहिलो खण्डको काम सम्पन्न भएको र दोस्रो खण्डको समेत काम सम्पन्न हुने क्रममा रहेको हुँदा अब जयनगर कुर्था हुँदै बिजलपुरा रेल सेवा चल्ने तयारी रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । रेल चाँडै चल्ने तयारीको कुराले धनुषासँगै कुर्थासँग नजीक रहेका महोत्तरीका लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिका र पिपरा गाउँपालिका क्षेत्रमा सर्वसाधारण उत्साहित देखिएका छन् । महोत्तरी जिल्लाका लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिकाका बस्तीहरु कुर्थासँगै जोडिएका छन् । दुई दशकअघिसम्म जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलमा यात्रा गरेको सम्झने यस भेगका सर्वसाधारण अब ठूलो रेल (ब्रोडगेजलाई बोलीचालीमा ठूलो भनिएको) आउने भन्दै हौसिएका छन् । विसं २०५९ अघि जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलको महोत्तरी जिल्लामा पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुरा स्टेशन थिए । यहाँबाट रेल चढेर यस भेगका बासिन्दा बजारु र धार्मिक प्रयोजनका कामले जनकपुर र जयनगरसम्म आवतजावत गर्थे । विसं २०५९ को बर्खे भेलले हाल लोहारपट्टी नगरपालिकाको बिगही पुल भत्काएपछि त्यतिखेरको रेल सेवा बन्द भएको थियो । अहिले त्यतिखेरको सानो लिकको ठाउँमा ब्रोडगेज लिक बनेको छ । अबको रेल सेवा सुविधायुक्त र छिटोछरितो हुने सर्वसाधारणले आश सँगालेका छन् । ‘अब भारतको जस्तै ठूलो रेल चढ्न पाइने छ’, बिजलपुरा स्टेशन नजीकको भङ्गाहा–४ पलार बस्तीकी सियानकीदेवी बाँतरले खुशी हुँदै भनिन् । अहिले कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुनेगरी ल्याइएको रेलसेट परीक्षणपश्चात् जयनगरस्थित नेपाल रेल्वे स्टेशनमा पार्किङ गरिएको छ । दक्ष जनशक्ति भारतबाट र प्रशासनिक जनशक्ति मुलुकबाटै व्यवस्थापन गरेर रेल चलाउने तयारीमा पुगिएको रेल विभागले जनाएको छ । आफ्नो क्षेत्रमा अब चाँडै रेल सेवा सञ्चालन हुने कुराले यस भेगका किसान आफ्नो उत्पादनले बजार पाउने आशमा छन् । दूध, कृषि उपज र मासुका लागि पालिने पशुपक्षी रेल चलेपछि भारतकै सीमावर्ती बजारसम्म दैनिकजसो लान पाइने यस भेगका किसानको विश्वास छ । सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिवास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनु पर्ने तालिका थियो । यसबीचका मधेश आन्दोलन, भूकम्प र बाढी जस्ता प्राकृतिक विपत्ति र जग्गा मुआब्जा प्रक्रिया नटुङ्गिदा परियोजना सम्पन्न गर्न ढिलाइ भएको रेल विभागले बताएको छ । रासस

कमलपोखरी पुनःनिर्माण ८५ प्रतिशत सम्पन्न, पानी भर्न सुरु

काठमाडाैं । पुनः निर्माण भइरहेको कमलपोखरी ८५ प्रतिशत काम सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको कामसँगै पोखरीमा पानी भर्ने काम भइरहेको छ । आगामी दुई हप्ताभित्र काम सबै सक्ने गरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ । सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए । उनका अनुसार अबको केही दिनभित्र पोखरीमा पानी राख्ने काम पनि सकिन्छ । पुनःनिर्माणपछिको शुरुआती चरणमा एक करोड ५० लाख लिटर पानी भर्ने तयारी कामपाको रहेको छ । केही दिनअघि नै पोखरीमा पानी भर्न शुरु गरे पनि भर्ने काम सकिएको छैन । अहिलेसम्ममा २० लाख लिटर पानी मात्र पोखरीमा राखिएको छ । कामपाले सम्पदा पुनःनिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा कामपाको ध्यान केन्द्रित भएकाले अनावश्यक भ्रम सिर्जना नगर्न सबैमा आग्रह गरेको छ । यस पोखरी निर्माणको कम एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते पुनःनिर्माणका लागि शिलान्यास भएको थियो । पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । उद्यान अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पोखरी बनाइनेछन् । आगन्तुक बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन् । वरिपरि बिजुली जडान गरेर झिलिमिली पारिनेछ । त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मूलद्वार हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ । कामपाले यसअघि नै कमलपोखरी विस्तार योजनाअनुरुप महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे–राधेको सत्सङ्ग रहेको स्थानलाई पनि खुला गरिसकेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार पोखरीको चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने काम भइरहेको छ । त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौँ । उनले बाहिर चर्चा गरेजस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग नगरिएको पनि दाबी गरे । कामपाले करीब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट सुरु गरेको हो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का रहेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मतसम्भार तथा जीर्णोद्धारको काम कामपाको दायित्व रहेकाले सोही अनुरुप यस पोखरी पुनःनिर्माण अघि बढाइएको बताउँछन् । प्रमुख शाक्यले भने, ‘अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस् भन्दा पुरातत्व विभाग आफूलाई थाहा छैन भन्छ । कमलपोखरी पुनःनिर्माण गर्दा त्यहाँको वातावरण कसरी बिग्रियो भन्दा त्यसको तथ्यमा उत्तर कसैले दिँदैन । यस प्रकारको विरोधलाई कसरी बुझ्नु ? यो त विरोधका लागि विरोधमात्र हो ।’ कमलपोखरी पुनःनिर्माणका क्रममा पोखरीको माटो निकालेर आधुनिक निर्माण सामग्री प्रयोग गरी ऐतिहासिक सम्पदाको अस्तित्व विलीन गर्न खोजिएको भन्दै रानीपोखरीमा जस्तै पुरानै शैलीमा निर्माण गर्नुपर्ने सम्पदाप्रेमी आलोक तुलाधारको धारणा छ । आधुनिक निर्माण सामग्री प्रयोग नगर्न र पोखरीको अतिक्रमित जमीन फिर्ता ल्याउने विषयमा कामपालाई पटक–पटक लिखितरूपमा ध्यानाकर्षण गराउँदासम्म सुनुवाइ नगरेको आरोप उनले लगाए । रासस

५ कराेड बजेट विनियाेजन गरिएकाे काभ्रे स्मार्ट सिटीमा धमाधम बन्दै

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता दिएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लानअनुसार काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको ‘काभ्रे’ स्मार्ट सिटी हाल कार्यान्वयनको चरणमा रहेको छ । सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी एक गौरवको योजना हो । स्मार्ट सिटी योजनाअन्तर्गत तीनै नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनःनिर्माण थालेका हुन् । सरकारले आर्थिक वर्ष ०७३/०७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा निजगढ, पालुङ्टार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । सरकारले काभ्रेपलाञ्चोकको ‘काभ्रे सिटी’ समेटी पुनः आब ०७४/०७५ मा दश स्मार्ट सिटी थपेर १३ पु¥याएको थियो । बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्तर्गत नगरभित्रका पोखरी, पुराना ढुङ्गेधारा र मन्दिरको पुनःनिर्माण तथा मर्मतसम्भार शुरु गरेको छ । नगर उपप्रमुख रेखा दाहालले दुई करोड बजेटबाट हाल ऐतिहासिक सम्पदाको मर्मत तथा पुनःनिर्माणको काम थालिएको बताइन् । उनका अनुसार ८ नम्बर वडास्थित ऐतिहासिक तला पुखु (पोखरी), दक्षु टोलमा रहेको तलाहिटीमा रहेको पुरानो ढुङ्गेधारा, लायकु राजमञ्च नजिकको तलेजु भवानी मन्दिरको मर्मतसम्भार गरिनेछ । यस्तै, वडा नम्बर ५ को पुरानो बजारमा रहेको तीनधरा (सोपुहिटी) को पुनःनिर्माण, बनेपाको गणेशस्थानमा रहेको त पुखु, र च्वापुखुको मर्मतसम्भार तथा पुनःनिर्माण गर्ने काम सुरु भएको छ । बनेपा–१४ साँगामा अवस्थित पोखरीको समेत मर्मतसम्भार गर्न सम्झौता भइसकेको छ । ‘पुनःनिर्माण तथा मर्मतसम्भार सुरु गरिएका संरचना ऐतिहासिक महत्व झल्कने हिसाबले नै निर्माण गरिनेछ’, दाहालले भनिन् । पनौती नगरले स्मार्ट सिटी कार्यक्रमअन्तर्गत त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानको लागि सम्झौता गरेको जनाएको छ । साथै, पनौतीस्थित पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गरिने नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । यसैगरी जिल्लाको धुलिखेल नगरले कार्यक्रमअन्तर्गत ठूलीवनमा चार दशमलब पाँच किलोमिटर अपाङ्गमैत्री इको–ट्रेल निर्माण, एक नंवर वडास्थित देवीटारमा माउण्टेन स्पोर्टस् ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसम्भारको काम गरिने नगरका इञ्जिनीयर हरेराम हुमागाईले बताए । ‘स्मार्ट सिटी’ नयाँ शहरको अवधारणामा विगतमा बनेको संरचनाभन्दा भिन्न सम्पूर्ण सेवा–सुविधायुक्त आधुनिक शहर हो । शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुल्ला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ तर, भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुनसक्नेछ । काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको काभ्रे स्मार्ट सिटी योजनाका लागि एकमुष्ठ पाँच करोड बजेट विनियोजन भएको छ । जसमध्ये बनेपालाई दुई करोड तथा धुलिखेल र पनौती नगरलाई एक करोड ५० लाखका दरले बजेट विनियोजन गरिएको हो । सुशासन, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन, स्मार्ट प्रविधिबाटै आकस्मिक सेवाको उपलब्धता हुुनुपर्ने पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटा बताउँछन् । उनी भन्छन्, ‘स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ ।’ उनका अुसार इ–गभर्नेस् पनि स्मार्ट सिटीको महत्वपूर्ण आधार हो । राष्ट्रिय योजना आयोगले भने स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको छ । रासस