विश्वस्तरीय शहरी बसोबास ‘अर्बन स्पेस’ ललितपुरको सातदोबाटोमा, श्रृंखलाले गरिन् उद्घाटन

काठमाडौं । ‘अर्बन स्पेस’ले युरेपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्गलाई पहिलो पटक नेपालमा भित्राएको छ । विश्वस्तरीय शहरी-बसोबास ‘अर्बन स्पेस’को उद्घाटन आज (बैशाख १४ गते ) ललितपुरको सातदोबाटोमा भयो । उक्त स्पेसको उद्घाटन पूर्व मिस नेपाल श्रृंखला खतिवडा र ‘अर्बन स्पेस’ का संस्थापक बिपिन गैरैले गरेका हुन् । अर्बन स्पेस बंगला र हाउजिङको एउटा मिश्रित हाउस हो जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेश गर्न एन्ट्री बनाइएको हुन्छ । यस परियोजनाको अभिप्राय भनेको गेटेड समुदायलाई डिस्ट्रोइ गरी सोसियल कम्युनिटीको निर्माण र फोस्टर गर्नु हो । अर्बन स्पेसको उदेश्य भनेको सुखदशहरी जीवनको अनुभव प्रदान गर्नु हो र यो ललितपुरको मुटु (रिंग रोडदेखि २०० मिटर बाहिर) मा अवस्थित रहेको छ । यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् जसले एक अर्काबीच सद्भाव कायम राखी जीवनशैली र वातावरणमा विविधता प्रदान गर्दछन् । यो मास्टर प्लान सेफ्टी, कन्भेनियन्स, कम्फर्ट र युनिक डिजाइनमा केन्द्रित छ जहाँ मानिसलले विविध सामाजिक जीवनको अनुभव गर्न सक्नेछन् । डिजाइन गरिएका युनिक फिचरहरुले मानिसहरुलार्ई फाइदा पूर्ण रुपमा विभिन्न सुविधाहरु प्रदान गर्ने छ । अर्बन स्पेसको विशेष फाइदाहरुमा भूकम्पप्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिंग प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्ली इन्सुलेटेड वाल, साउन्ड इन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हीटिंग जस्ता सुविधाहरु समावेश छन् । अर्बन स्पेसका उल्लेखनीय टोलीका सदस्यहरुमा प्रोफेसनल्सहरु रहेका छन् जसमा पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, किंग्स कलेजबाट स्नातकको रुपमा एमबीए ग्राजुएटस्हरु रहेका छन् । टोली सदस्यहरुको वास्तुकलाको क्षेत्रमा एक उल्लेखनीय अनुभव रहेको छ । उनीहरुको विश्वसनीय उपलब्धिहरुमा २५० भन्दा बढी घरहरुको निर्माण, ५ हजार डिजाइन र सम्पत्ति व्यवस्थापनमा १० हजार भन्दा बढी व्यक्तिहरुसँगको परामर्श रहेको छ । अर्बन स्पेस मार्फत नेपालको टाउन हाउजिङ्गको अवधारणा सफलतापूर्वक सुरु गर्न टोलीले ५० भन्दा बढी देशका १०० जना भन्दा बढी पेशेवरहरुसँग परामर्श गरेको थियो । ‘हामी नेपालमा हाउजिङ्गको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौं । यो एक रिभोलुसनरी आइडिया हो जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित रहेको छ । यो परियोजना नेपालमा एक नौलो सुरुवात हो । हाल हामीले यो प्रोजेक्ट काठमाडौं उपत्यकाबाट सुरु गर्दैछौं र यो परियोजना सम्पूर्ण नेपालमा विस्तार गर्ने योजना बनाएका छाैं ।’, अर्बन स्पेसका संस्थापक बिपिन गैरेले भने ।’ अर्बन स्पेस भनेको साना(साना घरहरुको जग्गालाई जोडी ब्याकयार्डलाई हटाएर एक साझा खुल्ला स्थान बनाउनु हो । यो हाउजिङ्गको नयाँ इनोभेटिभ र डेमोक्रेटिक कन्सेप्ट हो । मानिसहरु पर्खालले बाँधिएका छन् र आफ्नो ठाउँ भित्र मात्र सीमित छन् तर अर्बन स्पेसमा एक व्यक्तिले आफ्नो सानो थोरै जग्गाको बाँडफाँड गरेर व्यापक साम्प्रदायिक ठाउँको आनन्द लिन सक्दछन् ।’, आर्कीटेक्ट इन्जिनियर तथा पूर्व मिस नेपाल खतिवडाले भनिन् । अर्बन स्पेसले विशेष गरी सहरका क्षेत्रहरुमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्दछ र यसैले गर्दा यो शहरी योजनाकारहरुको लागि मात्र नभई दिगो विकास लक्ष्यहरुमा गहन विश्वास गर्ने बृहत्तर दर्शकहरुको लागि पनि विश्वव्यापी अभियान हो, जसले दिगो शहर र समुदायहरुको परिकल्पना गर्दछ। अर्बन स्पेस भनेको कसरी शहरहरुको इलाकामा विशेष भरोसायोग्य छिमेकीलाई अटोमेसन टेक्नोलोजीले टेवा पुर्याउन सकिन्छ भन्ने प्रोटोटाइपको परियोजना हो ।’, अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेलले भने ।

सिन्धुलीकाे खट्टारदेखि शान्ति नगरचोकसम्म सडक विस्तार गरिने

सिन्धुली । विगत लामो समयदेखि विवादमा रहेको मदन भण्डारी राजमार्गको खट्टारदेखि शान्ति नगरचोकसम्म सडक विस्तार गर्न नयाँ सहमति जुटेको छ । सडक स्तरोन्नति गर्न विवाद रहँदै आएको थियो । सर्वपक्षीय बैठक बसी विस्तार गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले खट्टटारदेखि धुराबजार बजारसम्म छिटो सडक विस्तार तथा स्तरोन्तीको लागि आवश्यक ११ मिटर चौडाइको क्षेत्र राजमार्गलाई उपलब्ध गराउने निर्णय गरेको छ । धुरा बजारदेखि बिपी राजमार्गसम्म उपलब्ध चौँडाइमा सडक स्तरोन्नति गर्ने निर्णय भएको बाग्मती प्रदेशसभा सदस्य विनोदकुमार खड्काले जानकारी दिए । साथै बैठकले खट्टारबाट बिपी राजमार्ग जोड्ने गरी वैकल्पिक राजमार्ग अर्थात् वाई पास सडक निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको उनको भनाइ छ । ग्वाङ्ग खोला पुलको निर्माणकार्य निर्धारितरूपमा तत्काल अगाडि बढाउनेसमेत निर्णय भएको छ । छलफलमा सांसद हरिबोल गजुरेल, बाग्मती प्रदेशसभा सदस्य विनोदकुमार खड्का, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक अमेशविन्दु श्रेष्ठ, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय आयोजना प्रमुख राजेन्द्र दास, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका सिडिई नातिबाबु खड्का र इञ्जिनियर सिशवसरण तिमिल्सिना सहभागी रहेका थिए । राजमार्ग कमलामाई नगरपालिका–६ धुराबजार हुँदै हेटौँडा जाने सडकको खट्टारसम्म नक्साङकन गरिएको थियो । नक्साङकन भएको क्षेत्रबाट राजमार्ग लैजाँदा धेरै क्षति हुने भएकाले अन्यन्त्रै लैजान माग गर्दै विसं २०७३ भदौदेखि सङ्घर्ष समिति बनेर विरोध गर्दै आएको थियो ।यसपछि अव राजमार्ग विस्तारका लागि कमलामाई –४ तत्कालीन हाज्मा कम्पनिको दुई नम्बर गेट हुँदै खट्टार जोड्ने गरी यसैमा सहमति निकाल्न बाग्मती प्रदेशसभा सदस्य खड्काको संयोजकत्वमा समिति बनेको थियो । समितिसमेतले निकास दिन नसकेपछि राजमार्ग कताबाट लैजाने भन्ने अन्योल भने कायमै रहेको छ । नक्साङ्कन भएको ठाउँबाट लैजाँदा धेरै क्षति हुने भएकाले तत्कालीन हाज्मा कम्पनिको दुई नम्बर गेट हुँदै खट्टार जोड्नेगरी राजमार्गको विस्तार गर्ने पक्षमा सांसद गजुरेल र प्रदेश सभासदस्य खड्का उभिनु भएको थियो । सहमति निकाल्न नसक्दा भने उहाँहरूको प्रयास विफल भएको छ । ख्यातियोग्य जमिनमा दिन प्रतिदिन अव्यवस्थित बसोबास तथा सहरीकरण बढेको र राजमार्ग पनि त्यही क्षेत्रबाट लैजाने र सहरीकरणका माध्यमले व्यवस्थित बस्तीको विकास गर्ने पक्षमा दुई सांसद रहेपनि ख्यातिवाला किसानले जग्गा दिने सहमति नहुँदा र नक्साङ्कन भएकै ठाउँबाट राजमार्ग विस्तार गर्नुपर्ने बाध्यता रहेको छ । सिन्धुलीदेखि हेटाैँडासम्मको सडक निर्माण खण्डमा खट्टटारदेखि हेटौँडासम्म सडक विस्तारको काम भएपनि हालसम्म खट्टार–सिन्धुलीमाढीमा सडक विस्तारको काम हुनसकेको छैन । हालै भएको सर्वपक्षीय बैठकले गरेको निर्णयअनुसार राजमार्ग विस्तारले नयाँ गति लिने झिनो आशा पलाएको छ । रासस

कोभिड बढ्न थालेसँगै सडक निर्माणमा अवरोध

काठमाडाैं । कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । गत आवमा अन्तिम चौमासिक र चालू आवको पहिलो चौमासिकसम्म सरकार र वैदेशिक लगानी गरी दुवै किसिमका निर्माणमा अवरोध पुगेको विभागका उपमहानिर्देशक शिव नेपालले बताए । प्रवक्तासमेत रहेका उनका अनुसार सङ्क्रमितको सङ्ख्या कम भइरहँदा निर्माणले गति लिन थालेको थियो । अहिले विभिन्न जिल्लामा बन्दाबन्दी शुरु भइसकेकाले निर्माणमा पुनःबाधा पुग्न थालेको उनले बताए । बन्दाबन्दी लागू भएका जिल्लासँगै त्यस आसपासका जिल्लामा समेत बाधा पुग्ने उनले बताए । उनले भने, ‘त्यही जिल्ला भएर अर्काे जिल्लामा जानुपर्ने भएमा बन्दाबन्दी भएका सँगै नभएका जिल्लामा पनि निर्माण रोकिन्छ ।’ चालू आवमा दोस्रो चौमासिकसम्म आर्थिक प्रगति ३५ प्रतिशत पुगेको विभागले जनाएको छ । एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिइएकामा अहिलेसम्म ५५० किमी सडक सम्पन्न भएको छ । तीन सय पुल निर्माण गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म १२९ पुल सम्पन्न भएको विभागले जनाएको छ । पहिलो चौमासिकमा देशभर सङ्क्रमितको सङ्ख्या उच्च भएकाले कुनै पनि ठाउँमा नयाँ मान्छे गएर काम गर्ने वातावरण नभएको उनले बताए । कुनै पनि ठाउँमा निर्माण व्यवसायीले कामदारलाई छुट्टै ‘क्याम्प’ बनाएर राख्दा काम गर्न केही सजिलो भए पनि अरुको घरमा बसेर काम गर्ने अवस्था थिएन । कामदारलाई भाडामा बस्नै नदिएका कारण काममा बाधा पुगेको थियो । उनले भने, ‘कामदार पानी भर्न धारामा वा अरु कामका लागि जाँदा स्थानीयले विरोध गर्ने अवस्था हुँदा दशैँ पहिले खासै काम हुन सकेको थिएन ।’ पहिलो चौमासिकमा धेरै र दोस्रो चौमासिकमा थोरै असर पुगेकाले अहिले सामान्य अवस्थामा जसरी काम गर्ने वातावरण नै हुँदा पनि लक्ष्य भेट्न गाह्रो भएको प्रवक्ता नेपालले बताउनुभयो । अन्तिम चौमासिकमा तुलनात्मकरुपमा बढी काम हुने भए पनि यो आवमा त्यो नहुने देखिएको छ । स्रोत व्यवस्थापनको पनि समस्या केही हदसम्म रहेको विभागले जनाएको छ । अहिले पनि निर्माण सम्पन्न भएका कतिपय योजनामा सरकारले भुक्तानी दिन बाँकी छ । अहिलेसम्म ३५ प्रतिशत खर्च भइसकेको छ । झट्ट हेर्दा ६५ प्रतिशत रकम बाँकी छ भन्ने देखिएको भए पनि वैदेशिक सहायताको आयोजनामा रकमान्तर नहुने प्रवक्ता नेपालले बताए । विभागअन्तर्गतका योजनामा झण्डै ५० प्रतिशत वैदेशिक सहयोगका योजना रहेका छन् । अनुदान वा ऋण सहयोगमा निर्माण हुने कुनै पनि आयोजनामा सम्बन्धित आयोजनाको रकम अन्यत्र लैजान सकिँदैन । उनले भने, ‘त्यो आवमा गर्न सकेमा काम हुने र नभएमा फ्रिज हुने गरेको छ ।’ सरकारको आन्तरिक स्रोतबाट निर्माण भइरहेका योजनामा भने कुनै एउटा योजनामा काम नै हुन नसक्ने अवस्थामा त्यो रकम अर्काे योजनामा खर्च गर्न सकिने व्यवस्था छ । रकमान्तर गर्न सकिने व्यवस्था भए पनि आवको अन्तिमसम्ममा काम भइहाल्छ कि भन्ने आशा भएकाले सकेसम्म छुट्याइएको रकम सम्बन्धित योजनामा नै खर्च गरिने उनको भनाइ छ । विभागले पटकपटक तोकता गरेर पनि व्यवसायीलाई काम गराउँदै आएको छ । उनले भने, ‘कतिपय व्यवसायी पनि अन्तिम चौमासिकमा काम नभएर अर्काे आव पुग्दा भुक्तानी ढिला हुने भएकाले अन्तिम चौमासिकमा काम बढी हुने गरेको छ ।’ कतिपय योजना विगतमा सङ्घबाट प्रदेशमा हस्तान्तरण भएका थिए । प्रदेशमा हस्तान्तरण भएका योजनामा सङ्घ र प्रदेश दुवैबाट भुक्तानी नभएको प्रवक्ता नेपालले बताए । कतिपय योजनामा भने वैदेशिक स्रोत र सरकारको पनि स्रोत भएकाले पनि केही समस्या आएको उनको भनाइ छ । वैदेशिक लगानीका सडक योजनामा चालू आवमा काम अपेक्षा गरिएअनुसार अघि बढ्न सकिरहेको छैन । गत वर्ष पहिलो पटक कोभिड सङ्क्रमित भेटिए यता कतिपय योजनामा निर्माण अझै शुरु हुन नसकेको प्रवक्ता नेपालले बताए । कतिपय योजनामा काम सुरु भए पनि गति लिन सकेको छैन । चिनियाँ सहयोगमा निर्माण सुरु गर्ने भनिएको स्याफ्रुबेंसी रसुवागढी सडकको निर्माण र चक्रपथ दोस्रो खण्डको बिस्तार अझै शुरु हुन सकेको छैन । बुटवाल–नारायणगढ सडक बिस्तार लामो समयसम्म अवरुद्ध बनेकामा अहिले काम अघि बढाइएको छ । उनले भने, ‘अहिले पनि ढुक्क भएर काम अघि बढ्छ भन्ने अवस्था छैन ।’ कोभिडका कारण अहिले पनि विदेशी नेपाल आएर काम गर्ने वातावरण नबनेको प्रवक्ता नेपालले बताए । उनका अनुसार अरु किसिमका काम अनलाइन गर्न सकिने भए पनि इञ्जनीयरिङको काम अनलाइन गरेर हुँदैन । निर्माणस्थलमा नै गएर गर्ने काममा स्थानीयवासीको अवरोधका कारणले वा प्रशासनले कडाइ गर्दा काम गर्न कठिन भइरहेको छ । चालू आवमा वैदेशिक लगानीका योजनामा धेरै असर गरेको उनले बताए । पहिलो चौमासिकसम्म नेपालमा नियमित हवाई उडान थिएन । दोस्रो चौमासिकमा नियमित सेवा सुरु भए पनि सम्बन्धित व्यक्ति सजिलो आउने र जाने अवस्था नभएको उनको भनाइ छ । कुनै एउटा देशमा सङ्क्रमित कम भएर बन्दाबन्दी खुकुलो गरिरहँदा अर्काे देशमा बढी भएमा कडाइ गर्ने उनको भनाइ छ । उनले भने, ‘धेरै मानिस मानसिकरुपमा निर्माणस्थल पुगेर काम गर्न नचाहेको पनि हुनसक्छ ।’