शहीद गंगालालमा अक्सिजन उत्पादन शुरु, प्रतिदिन ६ हजार ३४५ लिटर उत्पादन हुने
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबारदेखि अक्सिजन उत्पाादन शुरु भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसंगै अक्सिजन उत्पादनको काम शुरु भएको हो । २०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लाण्ट स्थापना गर्ने सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौता लगत्तै निर्माणको काम सुरु भएको अक्सिजन प्लाण्टको आईतबार विधिबत शुभारम्भ गरिएको हो । प्लाण्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ । चलनमा रहेको अक्सिजन सिलिण्डर अनुसार, प्रतिदिन १ सय ३५ वटा सिलिण्डर उत्पादन हुनेछ । एउटा अक्सिजन सिलिण्डरमा ४७ लिटर अक्सिजन हुने गर्दछ । सो अक्सिजन प्लाण्ट २ करोड ७५ लाख रुपैयाँमा निर्माण भएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै बिरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन शुरु हुनु निकै राम्रो काम भएको बताए । अक्सिजन उत्पादन संगै गंगालाल अस्पतालमा यसअघि खपथ हुने अक्सिजन अन्यत्र प्रयोग गर्न सकिने भएकाले कोरोनाका बिरामीको उपचारमा पनि ठूलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । कोभिडका विरामीलाई अक्सिजन अभाव भएको समाचारसंगै व्यक्तिले सिलिण्डर होल्ड गरेका समाचार आउन थालेको भन्दै उनले अनावश्यक रुपमा घरमा अक्सिजन सिलिण्डर होल्ड गरेर नराखिदिन अनुरोध गरे । अक्सिजन पर्याप्त भए पनि सिलिण्डर अभाव भएको कुरा आएको भन्दै उहाँले सिलिण्डर होल्ड गर्ने काम नगर्न सबैलाई सचेत गराए । उनले अक्सिजन मास्क प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन मेडिकल मास्क प्रयोग गरेर घरमै सुरक्षित भएर बस्न पनि सबैलाई अपिल गरे । उनले भने, “त्यो बेला कोरोनाको नामै सुनेको थिएन । त्यो बेला सबै अस्पतालमा अक्सिजन प्लाण्ट आफ्नै हुनुपर्छ भनेर हामीले सुरुवात कान्ति बाल अस्पतालबाट सुरु गरेका थियौ । विरामीलाई नि:शुल्क अक्सिजन उपलब्ध गराएको सुनेपछि सबै अस्पतालहरुमा अक्सिजन प्लाण्ट आफ्नै हुनुपर्छ भनेर महानगरपालिका सहकार्य गर्न तयार भएको थियो अहिले कोरोनाको कहर भईरहेका बेला अक्सिजन मात्रै दिन सक्दा पनि धेरै विरामी बचाउन सकिने अवस्था छ । हुन त हाम्रो प्राथमिकता भनेको अस्पतालमा ल्याएर अक्सिजनको मास्क लगाउने होइन, घरमै बसेर सामान्य मास्क लगाएर बस्यो भने अक्सिजन मास्क लगाउनुपर्दैन । दुईवटा मध्य कुन रोज्ने ? अस्पतालमा गएर अक्सिजन मास्क लगाउने कि घरमै बसेर सुरक्षित साथ मेडिकल मास्क लगाउने ? अक्सिजन अभाव भयो भनेर केही केही व्यक्तिले अक्सिजनको सिलिण्डर घरमा संग्रह गरेको कुरा पनि आएका छन् । कर्सैले पनि अनावश्यक रुपमा सिडिण्डर होल्ड गरेर नराखिदिनुहोला ।” शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले विगतमा पनि गंगाला हृदयरोग केन्द्रले विरामीका लागि निशुल्क अक्सिजन उपलब्ध गराएको र भविष्यमा पनि निशुल्क नै उपलब्ध गराउने बताए । उनले कोरोनाको लहर भन्दा अगाडिनै अक्सिजन प्लाण्ट स्थापना गर्ने योजना अनुसार प्लाण्ट निर्माणको काम अघि बढेको भएपनि अहिले अक्सिजन अभावको समस्या परेका बेला अक्सिजन उत्पादन हुनु निकै राम्रो कुरा भएको बताए । उनले मुटुरोगीहरुलाई कोरोना लागेमा उपचारमा कठिनाई भएकाले सबै मुटुरोगीहरुलाई विशेष सर्तकता अपनाउन पनि आग्रह गरे । मुटुरोगीका सम्पुर्ण कोरोना संक्रमितलाई केन्द्रमै राखेर उपचार गर्ने सोच लिएको भएपनि भौतिक संरचनाका कारण सबैलाई राखेर उपचार गर्न सक्ने अवस्था नरहेको बताए । महानगरपालिकाकाले कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लाण्ट स्थापनाका लागि सहयोग गरेको छ । अस्पतालमा अहिले अक्सिजन प्लाण्ट निर्माणको काम भईरहेको छ ।
५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को काम ८५ प्रतिशत सकियो, फागुनदेखि प्रसारण लाइनमा जोडिने
लमजुङ । आगामी फागुनदेखि सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो । निर्माण कार्य तीव्र भएकोले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना साइट इञ्चार्ज रमेश सिग्देलले बताए । उनले भने, “८५ प्रतिशत बढी निर्माण कार्य सकिएको र बाँकी काम निर्धारित समयमै सक्ने लक्ष्य छ ।” पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको यस आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो हो । यस आयोजनाको हालसम्म २२७ मिटर ठाडो पाइप खन्ने काम सकिएको छ जसमा ३७ मिटर पाइप बिच्छ्याइसकेको छ । त्यस्तै, दुई हजार १०० मिटरको सुरुङको आधा काम सम्पन्न भइसकेको छ । एक हजार ४०० मिटर सुरुङको फिनिसिङ कार्य भइरहेको र आगामी पाँच/६ दिनभित्र सम्पन्न हुने इन्चार्ज सिग्देलले बताए । यस्तै, एक हजार ६०० मिटरको सुरुङको समेत काम भइरहेको छ । यस सुरुङको ४२० मिटर सुरुङ खन्न बाँकी छ । आगामी जेठभित्र सुरुङ इनटेकको बाहिरी काम सम्पन्न हुने जनाइएको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसको केही काम भइरहेको छ । यस पावर हाउसको सात मिटर चौडाइ र ५० मिटर लम्बाइमा पर्खाल लगाउने काम सकिएको छ । पावर हाउसको सबै काम गरेर ६० प्रतिशत निर्माण सकिएको छ । आयोजनामा हाल ४०० जना कामदार कार्यरत छन् । विविध कारणले निर्माण कार्यमा ढिलाइ भएपछि २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको छ । आयोजनाको कूल लागत रु आठ अर्ब ८० करोड छ । सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने (पीपीए) सम्झौता भएको छ । यस आयोजना निर्माण भइरहेको दोर्दी खोला अर्थात् दोर्दी करीडोरमा यसबाहेक चारवटा आयोजना निर्माणाधीन छन् । सोमध्ये हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ र छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । रासस
एक करोड रुपैयाँ लगानीमा निर्माण भयो रसुवा रङ्गशाला, सरकारको मात्रै ६५ लाख अनुदान
काठमाडौं । युवालाई नियमित खेलकूदका अभ्यासमा सहज पार्ने ध्येयले धुञ्चेमा आकर्षक रसुवा रङ्गशाला निर्माण भएको छ । प्रदेश तथा स्थानीय सरकारको संयुक्त एक करोड रुपैयाँ लगानीमा सो खेल मैदान तयार भएको हो । खेलमैदान बनेपछि अहिले फुटबलमा थप आकर्षण बढ्न थालेको छ । फुटबल मैदान लगायतका संरचना तयार गर्न वाग्मती प्रदेश सरकारले ६५ लाख रुपैयाँ अनुदान र गोसाइँकुण्ड गाउँपालिकाले ३५ लाख रुपैयाँ खर्च गरेका थिए । यही वैशाख १ गते वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले उक्त रङ्गशालाको विधिवत् शुभारम्भ गरेका थिए । नयाँ खेल मैदानबाट युवा विद्यार्थीले फुटबल खेललाई निरन्तरता दिन थालेको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । फुटवल मैदानको व्यवस्थापनले खेलको साथै ठुलाखाले सभा सम्मेलन जस्ता कार्य सम्पन्न गराउन समेत सहज भएको छ । खेलमैदानको आकार ६२ फिट लम्वाई र ४२ फिट चौढाई भएको मैदान एवं दक्षिण तर्फको भागमा पाँच सय भन्दा बढी क्षमताको दर्शक बस्ने स्थल समेत निर्माण गरिएको गोसाइँकुण्ड-६ का वडाध्यक्ष दावासिदार तामाङले जानकारी दिए । विसं २०४२ मा फुटबल तथा (हेलिकप्टर बसाल्ने) हेलिप्याड नामाकरण दिई सानो आकारमा निर्माण गरेको मैदानलाई सो गाउँपालिकाले व्यवस्थित रूपले स्तरोन्नति र सिमेन्टको टेवापर्खाल सहितको संरचना निर्माण गरी रङ्गशाला तयार गरेको हो । सुधार सहित नयाँ तरिकाबाट निर्माण गरेको फुटबल मैदानमा खेलिरहेको बल सुरक्षित पार्न १५ फिट अग्लो फलामे तारबार लगाइएको छ । सोही कारण हेलिकप्टर अवतरणका लागि भने केही असहज हुने महशुस गर्दै गाउँपालिकाले हेलिकप्टर अवतरणको लागि अन्यत्र व्यवस्थापन गर्न लागेको छ । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले हेलिकप्टर अवतरणका अन्यत्र व्यवस्थापन गर्ने जानकारी दिए । यसैगरि भलिबल खेलका लागि भने धुञ्चे स्थित बालमन्दिर प्राङ्गणलाई व्यवस्थित गरिएको छ । तारवार सहितको सो खेल मैदानलाई छात्र/छात्राले नियमित अभ्यासमा उपयोग गर्दै आएका छन् । फुटवल मैदानमा जस्तै भलिवल मैदानमा पनि दर्शक बस्ने स्थल र घेरावार समेत निर्माण गरिएको छ । भिरालो जमिनमा खेल खेलाउदा खेलाडीले हानेको बल निकै तलसम्म पुग्ने समस्या पार गर्दै अबका दिनमा जिल्ला स्तरबाट खेलाइने सबै प्रकारका खेल कार्य सम्पन्न गराउन दुई वटा मैदानबाट सहज वातावरण सिर्जना भएको गाउँपालिकाले जनाएको छ । छब्बिसौं वन्यजन्तु सप्ताह अन्तर्गत गाउँपालिकाले यही वैशाख १ गतेदेखि ४ गतेसम्म सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । सो खेलमा जिल्ला भरका १७ समुहले भाग लिएका कार्यक्रमका संयोजक तेम्वा जिएले जानकारी दिए । यस्तै गाउँ गाउँमा खेलको जागरण बढ्दै गएपनि धुञ्चेको रंङ्गशाला जस्तै अधिकांश स्थानमा व्यवस्थित खेलमैदानको आवश्यकता महशुस हुन थालेको छ । कम्पाउण्डभित्र सानो तिनो मैदान तयार गरी विद्यालयले आफ्ना छात्र/छात्रालाई खेलमा जागरण गराई रहेपनि भिरालो जमिनका कारण बल अनियन्त्रित हुने समस्या बढ्दो रहेको शिक्षकले बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भटृले खेलकुदमा विद्यार्थीको अभिरूचि बढ्दै गएको बताए । उनले भलिबल , फुटबल , दौड , हाइजम जस्ता विविध खेलकुदको विकास र विस्तार गर्न व्यवस्थित मैदानका लागि आफुले सबै गाउँपालिकासँग समन्वयकारी भूमिका निर्वाह गरि रहेको जानकारी दिए । रासस