निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा, ६५० भन्दा बढी कामदार कार्यरत
फाइल फोटो काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएकाले विगत महिनामा जस्तै अहिले पनि यहाँ ६५० भन्दा बढी कामदार कार्यरत छन् । अहिले निर्माणस्थलमा बाहिरबाट कोही पनि सकेसम्म नआउने र आउनै पर्ने व्यक्ति पनि स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । बाहिरबाट जानैपर्ने व्यक्तिलाई ज्वरो जाँच गरेर मात्रै छिर्न दिइने गरिएको छ । आयोजनामा सम्बन्धित व्यक्तिबाहेक बाहिरबाट आगन्तुक जान रोक लगाइएको छ । उनले भने, ‘अहिलेको अवस्थालाई विचार गरेर हामी पनि आवश्यक हुँदा मात्रै जाने गरेका छौं ।’ स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको र त्यति गर्दागर्दै कसैलाई सङ्क्रमण भएको शङ्का लागेमा छुट्टै बस्नका लागि व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ । निर्माणस्थलमा नै २५ जना क्षमताको १० कोठाको आइसोलेशन बनाइएको छ । तीन ठाउँमा २५/२५ जना बस्न सक्ने गरी छुट्टाछुट्टै क्याम्पको व्यवस्था मिलाइएको छ । कोही व्यक्ति सङ्क्रमित भइहालेमा उसलाई तत्काल छुट्याएर राखिने प्रमुख शाक्यले बताए । निर्माणस्थलमा कार्यरत व्यक्तिलाई समस्या आउँदा तत्काल समाधान गर्न अक्सिजन सिलिण्डर र मेडिकल टोली पनि व्यवस्था रहेको प्रमुख शाक्यले जानकारी दिए । मेडिकल टोलीमा अहिलेसम्म चिकित्सक नभएकामा त्यसको पनि आवश्यक रहेकाले ल्याउने योजना रहेको उनले बताए । आवश्यक पर्दा एम्बुलेन्स पनि तयारी रहेको बताइएको छ । उनले भने, ‘हामीले सकेसम्म आवश्यक पर्ने सबै कुराको व्यवस्था मिलाइएको छ ।’ निर्माणस्थलमा अहिलेसम्म जनशक्ति र निर्माण सामग्रीको अभाव छैन । निषेधाज्ञामा व्यवस्था गरिएअनुसार निर्माण सामग्री रातको समयमा ल्याउने गरिएको छ । निषेधाज्ञाको नियम पालना गरेर काम भइरहेको प्रमुख शाक्यले जानकारी दिए । निर्माण सामग्री उत्पादन गर्ने ठाउँमा कोभिडले अवरोध गरेर रोकिए पनि अहिलेसम्म निर्माणस्थलमा कुनै पनि किसिमको अवरोध छैन । उनले भने, ‘अहिले जोखिमलाई विचार गरेर साइटबाट अन्यत्र सङ्क्रमण नसरोस् भनेर ध्यान पुर्याइएको छ ।’ गत महिनासम्म काम गरिरहेका कामदारमध्ये कोही पनि अहिलेसम्म निर्माणस्थल छाडेर गएका छैनन् । कामदार निर्माणस्थलभित्र नै क्याम्पमा बसेर काम गरिरहेका आयोजनाले जनाएको छ । बाहिरबाट आवतजावत कम गर्दा सङ्क्रमण फैलन सम्भावना कम हुने भएकाले सकेसम्म अरुलाई पनि भित्र बस्ने व्यवस्था मिलाइएको छ । प्रयोगशाला प्राविधिक (ल्याब टेक्निसियन) सामान्य अवस्थामा बाहिरबाट आउजाउ गरेकामा अहिले भित्र बस्न व्यवस्था मिलाइएको छ । नेपाली र जापानीलाई थोरै सङ्ख्यामा मात्रै पास दिइएको उनले बताए । उनले भने, ‘पाँच गाडीलाई पास दिएर कम आवतजावत गरिएको छ ।’ सुरुङ निर्माणको काम अहिलेसम्म तोकिएको तालिकाभन्दा एक महिना पछाडि रहेको छ । गत आवमा कोभिडका कारण लामो समयसम्म निर्माणमा अवरोध भए पनि तालिकाभन्दा कम मात्रै पछाडि रहेको छ । निर्माणस्थलमा काठमाडौं र धादिङ गरी दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । धादिङतर्फ माटो फिलिङ गरेपछि दुवैतर्फबाट खन्ने योजना बनाइएको थियो । तर सुरुङभित्र माटो लैजान भित्र जाम हुने भएकाले अहिले कहिले काठमाडौँतर्फ त कहिले धादिङतर्फ खन्ने काम भइरहेको छ । सुरुङ खन्नका लागि पाँच थान उपकरण भए पनि तीन थान प्रयोग भइरहेका छन् । अहिले धादिङमा निर्माणाधीन ‘अण्डरपास’ सकिएपछि चार ठाउँबाट काम गर्न सकिने उनले बताए । उनका अनुसार त्यसपछि कामको गति अझै बढ्नेछ । धादिङतर्फ ‘अण्डर पास’ बनिरहेकामा एक महिनामा सकाउने योजना रहेको छ । काठमाडौंमा सुरुङको मुखमा ‘ओभरपास’ निर्माणाधीन रहेकामा सकिने अवस्थामा पुगिसकेको छ । बलम्बुमा एउटा ‘फ्लाइओभर’ निर्माण गर्नुपर्ने छ । त्रिभुवन राजमार्गबाट मोडिएर सुरुङमार्ग जाने बाटोमा ‘फ्लाइओभर’ को योजना रहेको छ । सो निर्माणका लागि जग्गाको मुआब्जाको काम सङ्क्रमण बढेकाले रोकिएको छ । उनले भने, ‘सङक्रमण बढेर निषेधाज्ञा हुँदा हामीले पनि जिल्ला प्रशासन कार्यालयलाई काम अघि बढाउनु भन्न सकेका छैनौं ।’ निर्माणस्थलमा अहिलेसम्म निर्माण सामग्रीको समस्या छैन । जापानबाट आउनुपर्ने अधिकांश ठूला उपकरण आइसकेका छन् । अन्तिम काम (फिनिसिङ)को केही सामग्री मात्रै ल्याउन बाँकी रहेको आयोजनाले जनाएको छ । जापान सरकारको ‘सफ्ट लोन’मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा-नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गा र माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङकलन केन्द्रलगायतका स्टल हुने बताइएको छ । रासस
खप्तड जोड्ने सडकमा कालोपत्र सुरु, ४० करोडमा ठेक्का सम्झौता
डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम सुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरीले बताए । उनले भने, ‘सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्म कालोपत्र काम सुरु भएको छ, बाँकी काम पनि चाँडै सुरु हुनेछ ।’ सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए । खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न ४० करोड ठेक्का सम्झौता भएको छ । उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएसँगै कामले तीव्रता पाएको स्थानीयवासी सिद्धराज जोशीले बताए । उनले भने, ‘खप्तड जोड्ने सडकको कामले तीव्रता पाएको छ, समयमै काम सकिए अब खप्तड पुग्न पर्यटकलाई निकै सहज हुनेछ ।’ विगतमा उक्त सडक वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौँदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि यहाँका पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, ‘सडक सञ्जाल नभएकै कारण सुन्दर सुदूरपश्चिमको मुटु मानिएको खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुने भएपछि पर्यटक भित्र्याउन सहज हुने र यहाँका नागरिकको आयस्तर वृद्धि हुने देखिन्छ ।’ कोरोना जोखिमले देश आक्रान्त बनेको बेला उक्त सडकमा काम गर्ने कामदारको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तथा कोरोना जोखिमबाट बच्न अपनाउनुपर्ने सबै विधि अपनाएर काम सुरु भइरहेको सडक निर्माण तथा कालोपत्रको जिम्मा पाएको सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले जनाएको छ । रासस
समन्वयका अभावमा काठमाडौंका अधिकांश सडक निर्माण ठप्प
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने निर्णय गरे पनि समन्वयका अभावमा निर्माण अघि बढ्न सकेको छैन । निषेधाज्ञासम्बन्धी निर्णयमा कुनै पनि आयोजना आफैँले नै सवारी पास दिन सक्ने उल्लेख छ । अहिले काठमाडौँका चोकचोकमा खटिएका सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयले नै जारी गरेको पास नभई नमान्ने गरेको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए । उनले भने, ‘प्रशासनको निर्णय फिल्डमा खटिने व्यक्तिले नै नबुझेकाले गाडी समाउने गर्नुभएको छ ।’ प्रशासनले अहिले पूर्वाधार निर्माण ठप्प गर्न नचाहेको देखिए पनि बुझाइमा फरक परेकाले काम अघि बढाउन कठिन भइरहेको प्रमुख नेपालीले बताए । उपत्यकामा खटिएका सुरक्षाकर्मीले नबुझेकै कारण गाडी रोकिरहेको देख्न सकिन्छ । उनले भने, ‘प्रहरी र ट्राफिक प्रहरीले चोकैपिच्छे निर्माण सामग्रीको गाडी रोकिदिँदा काम अघि बढ्दैन ।’ प्रशासनले न्यूनतम सङ्ख्यामा कामदार राखी स्वास्थ्य सावधानी अपनाएर निर्माणको काम अघि बढाउने निर्णय गरेको थियो । अधिकांश काम रोकिएपछि अहिले दुईतीन जनाले गर्ने काम मात्रै भइरहेको प्रमुख नेपालीले बताए । विभिन्न स्थानमा अहिले पैदलयात्रु मार्ग निर्माण र सडक चिह्न लगाउने काम भइरहेको छ । झट्ट हेर्दा काम भइरहेको जस्तो देखिए पनि निर्माणका हिसाबले ठप्प भएको उनको भनाइ छ । बजेट र डिभिजनको जिम्मेवारीका हिसाबले यो ज्यादै सानो काम हो । उनले भने, ‘अहिले मुख्य सडकमा देखिएको काम भनेको डिभिजनले गर्नुपर्ने काममध्ये असाध्यै कम हो ।’ निषेधाज्ञा जारी भएको एक सातासम्म निर्माण व्यवसायी र कम्पनीका इञ्जिनीयर सडकमा निस्कन पाएका थिएनन् । अहिले पनि अवरोधका कारण काम अघि बढाउन सकिएको छैन । डिभिजनले कुनै पनि स्थानमा निर्माण गर्दा स्थानीयवासीसँग नजीक हुन नपर्ने काम गरौँ भन्दै आएको छ । सङ्क्रमणको जोखिमलाई विचार गरेर डिभिजनले पनि अहिलेको अवस्थामा सामान्य अवस्थामा जसरी काम गर्न नचाहेको प्रमुख नेपालीले बताए । उनले भने, ‘अहिले सडक खाली हुँदा गर्न सकिने काम वा वर्षा पहिले गर्नुपर्ने काम गरौँ भन्दा सकिएको छैन ।’ काठमाडौंमा सवारी चाप बढिरहेका सडकमा सामान्यावस्थामा कालोपत्र थप्ने काम (ओभरले) गर्न गाह्रो हुन्छ । अहिले सवारी चाप कम भएका कारण निर्माण गर्न सजिलो हुन सक्ने डिभिजनले जनाएको छ । वर्षा पहिले गर्नुपर्ने ‘ओभरले’ गरेर खाल्डा छोप्दा मात्रै सडक राम्रो अवस्थामा हुन्छ । त्यो गर्न नसक्दा वर्षा सकिएपछि सबैतिर खाल्डैखाल्डा देखिन्छ । उनले भने, ‘त्यो कामका लागि धेरै जना मान्छे पनि चाहिँदैन ।’ काठमाडौंमा निर्माणको काम हुने भएकाले धेरै मजदूर निर्माणस्थलमा छन् । निर्माण अघि बढाउने वातावरण नभएपछि उनीहरु त्यसै बस्नुपर्ने अवस्था छ । ती मजदूर घर फर्किएर गएमा यस वर्ष पुनः काम गर्न नसकिने प्रमुख नेपालीले बताए । उनले भने, ‘भएका मजदूरलाई परिचालन गरेर काम गर्न पनि सकिएको छैन ।’ चालु आवभित्रै गरिसक्नुपर्ने निर्माणको काममा ढिलाइ हुँदा धेरै कुरामा असर गर्ने प्रमुख नेपालीले बताए । सरकारले निर्माणाधीन ठेक्कामा निर्माण व्यवसायीलाई अहिले पूँजीगत खर्च दिन सक्ने भए पनि नहुँदा अर्काे आव सुरु भएपछि पुनः एक वर्ष धकेलिन्छ । त्यस्तै ठेक्काको अवधि सकिनै लागेकामा पनि काम गर्ने वातावरण नभएपछि अवधि थप गर्नुपर्ने हुन्छ । निर्माण व्यवसायीलाई पनि बैंक ग्यारेन्टी र बीमाको विषय जोडिन्छ । उनले भने, ‘समग्रमा काम हुन नसकेपछि खर्च बढ्न जान्छ ।’ देशभरका सबै सडक योजनामा अन्तिम चौमासिकमा भौतिक र आर्थिक दुवै प्रगति उल्लेखीय रुपमा हुने गरेको छ । विभाग वा डिभिजनका कारणभन्दा पनि निर्माण व्यवसायी आर्थिक वर्षका अन्तिममा बाँकी काम हतार गरेर पनि सकाउने गर्छन् । चालु आव पनि काम गर्ने मुख्य समयमा निर्माण ठप्प हुँदा चौमासिक र वार्षिक लक्ष्य पूरा नहुने देखिएको छ । गत आवमा पनि अन्तिम चौमासिकको सुरुदेखि (चैत ११ ) देखि नै सरकारले बन्दाबन्दी लागु गरेको थियो । सो समयमा अधिकांश सेवा ठप्प हुँदा पनि कतिपय स्थानमा पूर्वाधार निर्माण अघि बढाइएको थियो । सवारी चाप कम भएकै मौकामा काठमाडौँ डिभिजनले मुख्य सडकमा ‘ओभरले’ गरेको थियो । डिभिजनले विभिन्न स्थानमा सडक चिह्न लगाउने काम पनि गरेको थियो । बन्दाबन्दीका अवधिमा भएका निर्माणका कारण त्यसपछि काठमाडौं उपत्यकाका सडक सुन्दर देखिएका थिए । अहिले निषेधाज्ञा जारी भएको १० दिनसम्म निर्माण ठप्प छ । रासस