काठमाडौंको बसुन्धारामा ८८ शैयाको आइसोलेशन स्थापना, उपप्रधानमन्त्री पोखरेलले गरे उद्घाटन

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गरेका छन् । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले संचालन गरेको ८८ शैयाको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले आज(जेठ ७ गते) एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए । ‘हामीले जिटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं । जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौं,’ उपप्रधानमन्त्री पोखरेलले भने- ‘भारत सरकारले छिट्टै नेपाललाई लिक्वीड अक्सिजन प्लान्ट सहयोग गर्दैछ । चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौं ।’ विभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको उनले बताए । कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईंको समग्र नेतृत्व गरेको उपप्रधानमन्त्री पोखरेलले बताए । ‘अहिले फैलिरहेका बिभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न आग्रह पनि गरे । अहिले जति पनि भ्रमपूर्ण कुराहरु फैलिएका छन्, त्यसमा कुनै सत्यता छैन्’- उनले बताए । तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित सुरु भएको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्न सकिने यस आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइशोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । आइसोलेशन केन्द्र शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल, प्रधानसेनापति पूर्णचन्द्र थापा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायतको उपस्थिति थियो ।

सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकोमा व्यवसायी सङ्घको विरोध, १५ दिनसम्मका लागि थप्न माग

काठमाडौं । कोभिड-१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको परिस्थितिमा महामारीसँग सम्बन्धित खरिद प्रक्रियाबाहेक निर्माणका सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले विरोध जनाएको छ । जनताको स्वास्थ्यमा ध्यान नदिई सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका विभिन्न कार्यालबाट खरिद प्रक्रिया अघि बढाइनु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्डविपरीतको गैरजिम्मेवार कार्य भएको महासङ्घको भनाइ छ । राज्य आफैँले जारी गरेको निषेधाज्ञाको आदेशविपरीत जटिल अवस्थामा बोलपत्र आह्वान गरी महामारीकै समयमा निर्माण व्यवसायीलाई काममा सहभागी गराउन खोज्नु न्यूनतम मानवअधिकार र मानवीय संवेदनशलीताको उल्लङ्घन भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञाको समयमा बैंक जमानत जारी गर्न नमिल्ने गरी आएको बैंकहरूको सूचनाले बोलपत्रको प्रक्रियामा व्यवसायी सहभागी हुनै नसक्ने अवस्था जगजाहेर हुँदाहुँदै बोलपत्रको सूचना प्रकाशन गर्नुको पछाडि आर्थिक आर्थिक मिलोमतो भएको हुनसक्ने देखिएको महासङ्घको भनाइ छ । बोलपत्र प्रकाशित भएपछि सम्बन्धित ‘साइट भिजिट’ गर्नु अनिवार्य हुने र हाल जारी निषेधाज्ञाका कारण ‘साइट भिजिट’ गर्न सक्ने अवस्था नै नरहेको विज्ञप्तिमा उल्लेख छ । ‘‘बोलपत्र प्रकाशित गर्ने सार्वजनिक निकायले बीचमा ‘प्रिबिड मिटिङ’ राख्नुपर्नेमा राख्न नसक्ने अवस्था विद्यमान हुँदाहुँदै बोलपत्र प्रक्रियामा जानु सार्वजनिक खरिद ऐन तथा नियमको ठाडो उल्लघङ्न भएको स्पष्ट छ”, विज्ञप्तिमा लेखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत सरकारी निकायले आर्थिक वर्षको अन्तिममा बजेट ‘ल्याप्स’ हुने आशङ्काले बोलपत्रको म्याद थप नगर्ने कार्यउपर पनि गम्भीर आपत्ति रहेको महासङ्घले जनाएको छ । महामारीको समयमा लोक कल्याणकारी राज्यले जनताको जीउधनको सुरक्षामा ध्यान दिनुपर्नेमा सार्वजनिक खरिदका लागि बोलपत्र आह्वान गर्नै नहुने महासङ्घको ठहर छ । अधिकांश सार्वजनिक निकाय र स्थानीय तहबाट बोलपत्र प्रक्रिया अघि बढाइरहेको सूचना महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ । निषेधाज्ञा अवधिभरका लागि खरिद प्रक्रिया स्थगन गर्न र उक्त बोलपत्र पेश गर्ने म्याद निषेधाज्ञा समाप्त भएको मितिले कम्तीमा १५ दिनसम्मका लागि अत्यावश्यक सेवाबाहेकका सबै खरिद प्रक्रियाको म्याद थप गर्न महासङ्घले सम्बन्धित सबैमा जोडदार माग गरेको छ । रासस

प्रदेशकै सबैभन्दा ठूलो अक्सिजन प्लान्टका लागि डेढ करोड रुपैयाँ सङ्कलन, तीन करोड बढीको प्रतिबद्धता

फाइल फाेटाे कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिबाट एक करोड ५१ लाख रूपैयाँ सहयोग सङ्कलन भएको छ । प्लान्ट स्थापनाका लागि ‘रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ आर्थिक सङ्कलन महाअभियान सञ्चालन गरिएको थियो । पोखराको अग्रणी व्यापारिक घराना बतास अर्गनाइनेशनको सक्रियतामा शुरु गरिएको अक्सिजन प्लान्ट स्थापना अभियानमा हालसम्म तीन करोड ३३ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । नयाँ भेरिएन्टसहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट बढ्दै जाँदा अस्पतालमा उपचाररत बिरामीलाई अक्सिजनको सहायता आवश्यक परेको र अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नहुँदा बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि निजी क्षेत्रको अग्रसरतामा अभियान शुरु गरिएको थियो । कोरोनाका बिरामीका लागि ५० शय्या छुट्याएको अस्पतालको आफ्नै प्लान्ट नहुँदा निजी कम्पनीबाट अक्सिजन आपूर्ति हुँदै आएको छ । अक्सिजन प्लान्ट स्थापना गर्नका लागि बतास फाउण्डेशनका अध्यक्ष बतासको अध्यक्षतामा अक्सिजन प्लान्ट निर्माण समितिसमेत गठन गरिएको छ । सो समितिको संरक्षकमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी रहेका छन् । कोषाध्यक्षमा अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल छन् । यसैगरी सदस्यमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विश्वशङ्कर पालिखे, एभरेष्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गाना र सेलवेज डिपार्टमेन्टल स्टोर्स प्रालिका अध्यक्ष सुशीलमान प्रधानाङ्ग छन् । अक्सिजन प्लान्ट स्थापनाका लागि कम्पनी (भेण्डर) छनोट गर्ने एवं निर्धारित समयमा द्रुतमार्गबाट स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरणलगायतका काम पारदर्शीरूपमा गर्ने प्रतिबद्धता जनाउँदै नागरिकको जीवन बचाउने अभियानमा सहभागी हुन समितिले अपिल गरेको छ । पाँच करोड रूपैयाँ लागतमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट गण्डकी प्रदेशकै सबैभन्दा ठूलो प्लान्ट हुने र यसबाट दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको हुने अध्यक्ष बतासले जानकारी दिए । प्लान्ट स्थापनाका लागि ग्लोबल आइएमई बैंकको खाता नं ६५०१००००४७७ मा रु १०० देखि आफूले चाहेजति पैसा जम्मा गर्न सकिने जनाइएको छ । रासस