पर्वतका चार पालिकालाई जोड्ने लमाय–लुंखु सडक कालोपत्रे सुरु
फाइल फाेटाे पर्वत । काभिड–१९ को सङ्क्रमणकै बीच दक्षिण पर्वतका चार पालिकालाई जोड्ने पर्वतको मुडिकुवा–कुर्घा–लुंखु सडकखण्डअन्तर्गत लमायदेखि लुंखुसम्मको खण्डमा कालोपत्रेको काम सुरु भएको छ । उक्त सडकखण्डको लमायखोलादेखि चिर्दीखोलाको सडक पिचको काम अहिले धमाधम भइरहेको छ । सडक पिचका लागि लकडाउन अगाडि नै कालोपत्रेको सामग्रीको व्यवस्था गरिएकाले लकडाउनका बेला पनि धमाधम काम भैरहेको इञ्जीनियर अनुज काफ्लेले जानकारी दिए । आरसीआइपीअन्तर्गत निर्माण भएको सडकमा पर्वतमै पहिलोपटक अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गरिएको छ । तीन इन्च कालोपत्रे बिछ्याएर चार दशमलव पाँच मिटर चौडा पिच गरिएको काफ्लेले जानकारी दिए । यही जेठ २७ गतेसम्म लमायदेखि चिर्दीसम्म ३.५ किलोमिटर कालोपत्रे सकिने र मौसमले साथ दिए असार मसान्तसम्म लमायदेखि कुर्घासम्म करिब ८ किलोमिटर कालोपत्रे गरिसक्ने इञ्जीनियर काफ्लेले बताए । गुणस्तरीय र दिगो सडक पिचमा जोड दिइएको उहाँको भनाइ छ । एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रेको काम भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) का इञ्जीनियर प्रेमहरी पराजुलीले बताए । पर्वतको अर्मादी–बनौ सडक र मुडिकुवा–कुर्घा–लुंखु सडकका लागि ६१ करोड बजेट रहेको छ । दुवै सडकको ठेक्का टुन्ड्री कन्ट्रक्सन सानेपा ललितपुरले लिएर काम गरिरहेको छ । उक्त सडकखण्ड २०७५ सालमा पिच गर्ने सम्झौता भएर यही साउनमा सम्झौता मिति सकिँदै छ । कोरोनाका कारण काममा अवरोध भएकाले छ महिना म्याद थपेर उक्त सडक कालोपत्रेको काम सकिने पराजुलीले बताए । फलेवासको मुडिकुवादेखि लमायसम्म ७ किलोमिटर सडक यसअघिनै पिच भइसकेको छ । यसैबीच उक्त सडकखण्ड पिचको कार्य भइरहेकाले यही जेठ २७ गतेसम्म वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ । लुंखुबाट फलेवास, कुश्माका लागि लिमिठाना हुँदै सवारी सञ्चालन गर्न र मोटरसाइकल भने कुर्घा र फलेवास ढिक जोड्ने पुलबाट तार्न सकिने बताइएको छ । यो सडक कालोपत्रे सम्पन्न भएपछि दक्षिण पर्वतका फलेवास, महाशिला, विहादी र पैंयु गाउँपालिकाका नागरिकहरुलाई सदरमुकाम कुश्माबजार आउजाउ गर्न सहज हुनेछ । रासस
नौ वर्षदेखि भेरी नदीमा पुलको जग निर्माण अलपत्र
सांकेतिक तस्विर जाजरकाेट । निर्माण सुरु गरेको नौ वर्षसम्म अझै भेरी नदीमा पुलको जगसम्म निर्माण हुनसकेको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीको पुल रुकुमपश्चिम र जाजरकोट जोड्नका लागि निर्माण हुन लागेको हो । ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्माणको कामसमेत अधुरो बनेको छ । ठेक्का सम्झौता भएको तीन वर्षभित्र काम सक्ने गरी पुल निर्माणको जिम्मा वाइपी कन्स्ट्रक्सन प्रालि ललितपुरले ठेक्का लिएको थियो । कम्पनीले १०० मिटरको पुल निर्माण गर्न विसं २०६९ मा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । पुल निर्माणका लागि सरकारले १३ करोड ४७ लाख छुट्याएको छ । पुल नबन्दा सडक स्तरोन्नतिको काममा समस्या भएको छ । व्यापार÷व्यवसाय गर्न कठिन भएको स्थानीय बासिन्दाको गुनासो छ । पुल नहुँदा दुवै जिल्लाका बासिन्दा झोलुङ्गे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीयवासी नरबहादुर बस्नेतले बताए । पुलकै कारण चौरजहारी नयाँ शहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ । ठेकेदार राजुप्रसाद श्रेष्ठको चरम लापरवाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले बताइन् । पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जीनियर होमनाथ पौडेलले बताए । पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउण्डेशन निर्माणको काम भए पनि जाजरकोटतिर कुनै काम भएको छैन । कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उनको भनाइ छ । पुल निर्माण तत्काल अघि बढाउन ताकेता गर्दै यस वर्ष दुईपटक पत्राचार गरिसकेको कार्यालयले जनाएको छ । इञ्जीनियर पौडेलले भने, ‘पुल निर्माणका लागि शुरुका वर्षमा जग बनाउन समस्या थियो तर अहिले कुनै समस्या नभए पनि ठेकेदारले काममा ढिलाइ गरिरहेको छ, भेरी नदीको बहाव शुरु भइसक्यो, त्यसैले सबस्ट्रक्चरको काम गर्न चुनौती छ । ठेकेदारले पुल निर्माणमा चासो नदिएकाले ठेक्का तोडेर कारवाही अगाडि बढाउने प्रक्रिया थालेका छौँ ।’ सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनका प्रोपाइटर श्रेष्ठले बताए । ‘पुल निर्माण शुरु भएको दुई वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेको छ, समयमै डिजाइन भएको भए पुलको काम यतिबेला सकिन्थ्यो’, उनले भने । रासस
सन्ध्या सन्देश निर्माण सेवाले पायाे ढुङ्गा, गिटी र बालुवा उत्खननकाे अनुमति
दमौली । ढुङ्गा, गिटी र बालुवा उत्खननका लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा तीनपटक सूचना प्रकाशित गर्दा बोलपत्र नपरेपछि गाउँपालिकाले प्रकृया मिलाएर सन्ध्या सन्देश निर्माण सेवालाई उत्खननको अनुमति दिएको हो । गाउँपालिकाले २०७७ माघ १४, फागुन १३ र २०७८ वैशाख ६ गते सूचना प्रकाशित गरेको थियो । तीनैपटक कसैको बोलपत्र नपरेपछि उक्त कम्पनीलाई ३० लाख रुपैयाँमा अनुमति दिइएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । गत आर्थिक वर्षमा पनि ढुङ्गा, गिटी, बालुवा उठाउन सोही कम्पनीले ठेक्का पाएको थियो । कोरोना कहर र निषेधाज्ञाका कारण नदीजन्य पदार्थ सङ्कलन नभएपछि गाउँपालिकालाई राजश्व घाटा लागेको थापाले बताए । नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा देवघाटस्थित स्वतन्त्र युवा समूहले विरोध जनाएका छन् । स्थानीयवासीको विरोध रहिरहे आगामी आर्थिक वर्षमा पनि ढुङ्गा, गिटी, बालुवाको ठेक्का नलाग्ने निश्चित भएकाले सचेत हुन थापाले आग्रह गरे । उनले खुल्ला र प्रतिस्पर्धात्मक रुपमा घाट बोलपत्रमा लैजाने वातावरण सिर्जना गर्न आग्रह गरे । नदीजन्य पदार्थ उत्खनन्बाट सङ्कलित राजश्वको ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा विकासका काममा लगानी गरिने थापाले भने । “देवघाट गाउँपालिकाको वनपैदावर, ढुङ्गा, गिटी, बालुवा, विकास निर्माण कार्यमा देवघाटका युवालाई प्राथमिकता दिन्छौं,” उनले भने । देवघाटस्थित स्वतन्त्र युवाहरुको समूहले भने जथाभावी रुपमा उत्खनन् गरेको भन्दै गाउँपालिकासमक्ष विरोधपत्र बुझाएका छन् । गाउँपालिकाका मुख्य घाटहरुबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन् रोक्न माग गर्दै विरोधपत्र बुझाइएको युवा गणेश थापाले बताए । रासस