असार १५ गतेभित्र रेल चलाउने तयारीमा लाग्नुस्: यातायातमन्त्री

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्नवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानिजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न वित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले बताए । ‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरीसकेका छौँ । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ । कोभिड महामारीले बाधा पु¥याएको छ । अध्यादेश ल्याउने, जिएम नियुक्ति गर्ने लगायत कानुन व्यवस्थित गरिसकेका छौँ,’ उनले भने. ‘रेल स्वयम् ल्याइसकेपछि, सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिसकेपछाडी अब नीतिगत, व्यवहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ । यस्तो अवस्थामा लकडाउन खोल्न वित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ । त्यहाँका जनताहरुलाई रेलको सेवा प्रदान गर्नुपर्छ । १५ गतेभित्र रेल चलाउने तयारीमा लाग्नुस् ।’ मन्त्री नेम्वाङले पानिजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानिजहाज कार्यालयलाई पनि निर्देशन दिएका छन् । उनले कार्यलयलाई नदीनालामा साना बाेटहरु सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदरुकताका साथ ध्यान दिन अनुराेध गरेका छन् ।    

तनहुँमा ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै

तनहुँ । प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि बत्तीमुनिको अँध्यारो जस्तै बन्दै आएको थियो । विसं २०३५ मा ट्र्याक खोलिएको सो मार्गको दूरी करिब पाँच किलोमिटर रहेकाले पक्की नालासहित कालोपत्र गर्न सुरु भएपछि स्थानीयबासी खुशी भएका छन् । हिउँदमा धुलो र वर्षायाममा हिलोले सास्ती खेप्नुपरेको चारकुनेबासीले त्यसको अन्त्य हुने विश्वास गरेको स्थानीयवासी एवं नेकपा एमाले केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले बताए । उक्त मार्गमा कालोपत्र गर्न १५ लाख बजेट निकासाका लागि केन्द्रिय सदस्य श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ‘यो मार्ग पहिल्यै कालोपत्रका लागि शुरुआत हुनुपर्ने हो’, उनले भने, ‘जनप्रतिनिधिले चासो दिएर काम नगरिदिँदा अलपत्र बन्दै आएको थियो ।’ हाल कालोपत्र गर्न लागिएको सडकमा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण गरी वडा कार्यालयलले सेवा प्रवाह गर्दै आएको छ । वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेकाले केही समयका लागि वडा कार्यालयले स्वास्थ्य कार्यालयको भवन प्रयोग गरेको हो । ‘वडा तथा स्वास्थ्य कार्यालयसम्म नगरपालिकाले चासो देखाउनुपर्ने हो तर देखाएनन्’, श्रेष्ठले भने, ‘गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसँग भनेर बजेट ल्याएको हूँ ।’ उक्त मार्गमा २२६ मिटर नालामध्ये हाल १०७ मिटर सम्पन्न भइसकेको चारकुने टोल विकास संस्थाका अध्यक्ष एवं भदु्र मार्ग निर्माण समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार नाला निर्माणका लागि वडा कार्यालयले चार लाख बजेट विनियोजन गरेको छ । यस वर्ष कूल २३१ मिटर सडकमध्ये १०७ मिटर ग्रावेल र १२४ मिटर छ मिटर चौडाको कालोपत्र सडक हुनेछ । कालोपत्र गरिने क्षेत्रमा ग्रावेल बिच्छ्याएर रोलर लगाउने कार्य भइरहेको अध्यक्ष श्रेष्ठले बताए । भद्रुरमार्ग ग्रावेल तथा कालोपत्र गरेपछि व्यास–१ का बासिन्दालाई पृथ्वीराजमार्ग निस्कन सदरमुकाम दमौली हुँदै जानुपर्ने झन्झटको अन्त्य हुने भएको छ ।

असार मसान्तसम्म नसकिने भयाे कोटेश्वर-जडीबुटी सडक विस्तार

teshworकाठमाडाैं । कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्मका लागि सम्पन्न गर्ने लक्ष्य राखिएता पनि सम्पन्न हुन नसक्ने भएको छ । सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो । यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिड–१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो । टुन्डी सुसन जेभी निर्माण कम्पनीेले ७ करोड रुपैयाँमा २०७८ सालको असार सम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी जिम्मा लिएको थियो । हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको े सडक डिभिजन काठमाडौंका प्रमुख ई. कुवेर नेपालीले बताए । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उनले बताए । मौसम राम्रो भएमा यसै आर्थिक वर्ष भित्रमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदाको दाहिने तर्फको बिस्तारीत ३ लेन बराबर कालोपत्रे गर्ने साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने र देव्रे तर्फ एउटा नीजि घरको मुआब्जा सम्बन्धी कानुनी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने प्रमुख नेपालीले बताए ।