आजबाट तामाकोशीमा बिजुली उत्पादन हुने, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उहनका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजनाले आज मात्रै विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो । यस्तै जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ । आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको प्रतिक्रिया दिए । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो । यस्तै यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको डा न्यौपानेले जानकारी दिए । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो । सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सवस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो । आयोजनामा कूल छ युनिट रहेका छन् । स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का पैदा भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो । आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत पैदा गरेको छ । शुरुआती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्बको हाराहारी पुगेको छ । पछिल्लोपटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिएका थिए । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गरेका थिए । सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले प्रसन्नता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गरेका थिए । रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा

काठमाडाैं । राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको निर्माणकार्य अबको ६ महिना विमानस्थल निर्माणकार्य सम्पन्न हुने बताइएको छ । यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन । चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञ हुँदा कामले गति लिन भने सकिरहेको थिएन । मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना रहेकोमा कोभिड दोस्रो लहरका कारण रोकिएको थियो । विदेशबाट आउने जनशक्तिहरु जुलाई÷अगस्टसम्ममा आउने व्यवस्था मिलाइएको हुँदा काम निरन्तर भइरहने इन्जिनियर कृष्ण पौडेलले बताए । कोभिडको निषेधाज्ञमा पनि काम नरोकि निरन्तर भएको बताउनु भयो । ५०० जनशक्तिको ठाउँमा कोभिड निषेधाज्ञा २०० हाराहारीमा जनशक्तिले काम गरिरहेको इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए । कोभिडको कारण चिनियाँ जनशक्तिमा समेत कमी आएको छ । हाल चिनियाँ जनशक्ति १६६ जना मात्र निर्माणमा आवद्ध रहेका छन् । चिनियाँ जनशक्ति ३ सयका हाराहारीमा आवश्यक रहेको छ । अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका कामहरु भइरहेको छ । निषेधाज्ञाका कारण निर्माणको १ महिनाको प्रगतिमा कमी आउने उनले बताए । कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाअघि नै सम्पन्न गर्ने लक्ष्य रहेको थियो । हाल विमानस्थल निर्माणले अपेक्षित सकेको गति लिन सकेको छैन । निर्माण सम्पन्न मिति समेत २०२१ डिसेम्बरका लागि सारिएको इनिजनियर पौडेलले जानकारी भयो । विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बर महिनादेखि शुरु भएको हो । हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागी र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।

जग्गा विवादका कारण पूर्व–पश्चिम हुलाकी सडक निर्माण प्रभावित

लहान । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माणकार्य प्रभावित भएको छ । बोदे बर्साइन बजारको शत्रुघन चोकदेखि पूर्व र इलाका प्रहरी कार्यालयको पश्चिम भागमा कालोपत्र काम सम्पन्न भइसके पनि जग्गा अधिग्रहणको विवादका कारण इलाका प्रहरी कार्यालय पूर्व र शत्रुघन चौकदेखि पश्चिमबीचको करिब ३०० मिटर सडक निर्माण अवरुद्ध भएको हो । बोदे बर्साइन नगरपालिका–५ बजारको उक्त सडकमा कब्रिस्तानको पर्खाल परेपछि सो पर्खाल भत्काउन नमानेका कारण निर्माण काम अवरुद्ध भएको जनाइएको छ । सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको स्थानीयवासीको भनाइ छ । कब्रिस्तानको करिब डेढ मिटर पर्खाल सडकको मापदण्डमा पर्ने भएकाले पर्खाल भत्काउन नमान्दा त्यस खण्डमा निर्माण काम शुरु नभएको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका प्रतिनिधि कमलप्रसाद यादवले जानकारी दिए । जग्गासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको भन्दै उनले जग्गा अधिग्रहण गर्न नगरपालिका र वडा कार्यालयले पहल नगरेका कारण समस्या यथावत रहेको बताए । जग्गा अधिग्रहण भई निर्माणको वातावरण बनेमा निर्माणकार्य सकिएर जाने उनको कथन छ । सो सम्बन्धमा नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवले जग्गा प्राप्तिका लागि पटकपटक पहल गरे पनि कब्रिस्तानका मानिसले नमानेको बताए । उक्त जग्गासम्बन्धी अदालतमा मुद्दा चलेकाले अदालतले दिने फैसलाअनुसार कार्य अगाडि बढ्ने उनको कथन छ । रौता श्रेष्ठ डिवा जेभी रातोपुलले २०७७ असार २९ गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७४ पुस १४ गते सम्झौता गरेको थियो । सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि छ महिना म्याद थप गरिएको छ । थपिएको म्याद २०७७ पुस २८ गते सकिएको छ । पूर्व राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करिब १८ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका प्रतिनिधि यादवले जानकारी दिए । उनका अनुसार बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको छ । करिब २५ किलोमिटरको सो खण्डमा अहिले ११ वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ । रासस