२ अर्बमा निर्माण भएकाे भैरहवा-लुम्बिनी-तौलिहवा सडक पाँच महिनामै भत्कियो

फाइल फाेटाे सिद्धार्थनगर । भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो । उक्त कम्पनीले जनवरी १२, २०२० सम्म निर्माण सम्पन्न गर्नेगरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य शुरु गरेको भएता पनि तोकिएको समयभन्दा ११ महिना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको हो । तीन पटकसम्म भेरियसन समेत भएको उक्त ठेक्काको लागत समेत बढेको छ । शुरुवातमा एक अर्ब ९३ करोड ६३ लाख भएपनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ । ठेकेदार कम्पनिले नेपाल सरकारसँग बढेको रकम अनुसार भुक्तानी समेत प्राप्त गरिसकेको छ । वर्षौदेखि हुलाकी सडकको रुपमा परिचित रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुदैं कपिवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले बढी महत्वको सडक हो । उक्त सडकखण्डमा एकातिर विश्व पर्यटन बजारको मुख्य केन्द्र महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट पर्दछन् भने अर्कोतिर अर्बौ खर्चेर सञ्चालनमा रहेका सिमेन्ट, छड उद्योगहरु पनि त्यही सडकको दाँयाबाँया रहेका छन् । सो सडकखण्डअन्तर्गत भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौलिहवासम्म २ लेनको सडक निर्माण भएको हो । एशियाली विकास बैंकको सहयोगमा उक्त सडक निर्माण भएको हो । उक्त सडक ११ महिना ढिला गरी निर्माण सम्पन्न भएको भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना प्रमुख प्रदीपराज शाक्यले बताए । उनले भने, ‘तोकिएको समयभन्दा एघार महिना ढिला सम्पन्न भयो । तीनपटक भेरियसन पनि भयो । एक वर्ष मेन्टीनेन्स पीरियड हुन्छ । छ महिना बितिसक्यो अब आगमी डिसेम्बरमा हस्तान्तरण हुन्छ ।’ निर्माण सम्पन्न भएको पाँच महिनामै सडक धेरै ठाउमा भासिएको छ । धेरै ठाउमा भत्केको छ । सडक भासिँदा र भत्किदा द्रूत गतिमा गाडी चलाउन मुश्किल भएको लुम्बिनी जाने यात्रु लिएर भैरहवाबाट लुम्बिनी जादैं गरेका ट्याक्सी चालक रामनिवास चाईले लुम्बिनीगेट अगाडी भने, ‘बाटोको गुणस्तर कमजोर छ । बनेर नसकिँदै भत्किन थालिसकेछ ।’ चाई जस्तै अर्का ट्याक्सी चालक विन्ध्याचल यादवले बाटोको खटपटले गर्दा द्रूतगतिमा गाडी चलाउन नपाएको बताए । योजना प्रमुख शाक्यले भने गुणस्तरीयता र सडकको मापदन्डको विषयमा कन्सल्टेन्टको रिर्पोट अनुसार नै काम भएको बताए । उनले भने, ‘कोरोनाका कारण दुई महिनादेखि म सडक निरीक्षण गर्न गएको छैन । तर, सडकको गुणस्तरको विषयमा केइसीसी र केडिईसी कन्सल्टेन्टले दिएको रिर्पोट ठीक नै देखिन्छ ।’ निर्माण सम्पन्न भएको पाँच महिना नबित्दै भत्किने सडकको गुणस्तर करोडौं खर्चेर राखिएका कन्सल्टेन्सीले सही छ भनेर रिर्पोट दिनुमा कतै ठेकेदार पक्षसँग मिलोमतो त छैन भनी प्रश्न समेत उठेको छ । यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्सट्रक्सनका प्रतिनिधि मधु आचार्यले भने, ‘हामी पनि अचम्मै भएका छौं । चिन्तित छौं । बेस राम्रो छ, माथि बिग्रेको हो । मौसम राम्रो भयो भने यो सुधार गर्छौ ।’ उनले सडकमा रहेका विद्युत्का पोल, रुखहरु समयमै नहटाउँदा र ढुंगा गिट्टी बालुवा तथा माटो प्रयाप्त नपाउँदां काममा ढिलाइ भएको स्वीकार गरे । ६ लेन सडककोबीच भागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिसलेन सहितको ‘फुटपाथ’ समेत निर्माण भएको छ । उक्त सडकखण्डमा ३६ वटा यात्रु प्रतिक्षालयका साथै काटिएका रुखको ठाउँमा ५१ सय रुख रोप्नुपर्ने भएता पनि ती काम भने अझै पूरा भएको छैनन । सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय एयरपोर्टसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक, औद्योगिक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । रासस

बाढीपहिराको कारण जलविद्युत् आयोजनामा १ अर्ब बराबरको नोक्सानी

काठमाडाैं । मङ्गलबारको बाढीका कारण झण्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगे । सोही क्षतिका कारण सरकारी तथा निजी क्षेत्रका केही आयोजना अझै पनि पुनः सञ्चालनमा आउन सकेका छैनन् । कास्कीमा निर्माणाधीन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेको छ । सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुङ्गानाका अनुसार बाढीका कारण झण्डै एक अर्ब बराबरको नोक्सानी भएको छ । उहाँका अनुसार मादी नदीमा आएको बाढीले निर्माणाधीन आयोजनाको हेडबक्स, पावरहाउस, कामदार आवास एरियालगायत स्थानमा ठूलो क्षति पु¥याएको छ । यस्तै लोडर, एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट, आरएमसी प्लान्ट, हेभी जेनेरेटरलगायत पावरहाउस क्षेत्रबाट निर्माण सामग्रीसमेत बगाएको छ । आज मात्रै नेपाल चीन सीमा क्षेत्र नजीकै रहेको रोजिया शहर र सोको आसपासमा भारी वर्षा भएसँगै पहिरो आउँदा नदीको बहाव रोकिन गएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सचेत रहन सूचना जारी गरेको छ । नेपाल चीन सीमा क्षेत्रको बस्ती तथा तामाकोशी नदी तटीय क्षेत्रमा जोखिम उत्पन्न हुने सूचनामा उल्लेख छ । तामाकोशी नदीमा नै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । बाढीका कारण दोर्दी करिडोरमा निर्माणमा रहेका आयोजनामध्ये केहीमा सामान्य क्षति पु¥याएको छ । बाढीका कारण दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा रहेका आयोजना क्षति पुगेको छ । कूल ५४ मेगावाट क्षमताको सुपर दोर्दी (ख), १२ मेगावाट क्षमताको दोर्दी १ मा बाढीले समस्या पारेको छ । रसुवामा निर्माण भइरहेको रसुवागढी आयोजनाको टेलरेसबाट बाढी पसेको छ । बाढीले आयोजनामा आवतजावतका लागि निर्माण गरिएको बेलीब्रिज बगाएको छ । मेलम्चीमा आएको बाढीले पु¥याएको जनधनको क्षति असाध्यै ठूलो छ । वातावरण विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका रविन निरौलाका अनुसार कमजोर भूसतहमा सामान्य पहिरो जाँदा पनि तल्लो तटमा ठूलो क्षति पुगेको छ । मेलम्चीको हकमा पहिरो खसेर ४५ मिनेट बढी खोला थुनिएको देखिन्छ । मनसुनको समयमा नदी त्यसले कति विकराल रुप लिन्छ भनेर मेलम्चीको अवस्थाबाटै थाहा भएको छ । बाढीपहिराले नेपालको हिमाली तथा पहाडी क्षेत्रमा निर्माण भएका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार बाँधस्थल तथा अन्य संरचनामा बाढीले समस्या पारेको छ । जानकारहरुका अनुसार नेपाल आफैँमा प्राकृतिक विपत्तिको जोखिममा छ । ‘गोरखा भूकम्प’ का कारण भौगोलिक रुपमा नै केही जटिलता सिर्जना भएका छन् । त्यसमाथि जलवायु परिवर्तनका कारण एकै स्थानमा धेरै वर्षा हुने कारण पनि बाढीपहिराको जोखिम उत्तिकै बढी देखिन्छ । यस्तो अवस्थामा भौतिक पूर्वाधार निर्माण गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । विशेषगरी उत्तरी क्षेत्रमा निर्माणमा रहेका र सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनामा पछिल्ला बाढीपहिराले झनै समस्या थपिदिएको छ । लागत र समय मात्रै बढेको छैन, आयोजनाको भविष्यमा समेत प्रश्नचिह्न खडा भएको छ । यसो गरे जोगाउन सकिन्छ यस्तो विषम अवस्थामा हाम्रा भौतिक पूर्वाधार निर्माणमा कुन विषयलाई बढी ध्यान दिनुपर्ला त भन्ने  जिज्ञासामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनीयरिङका प्रबन्ध सञ्चालक माधव कोइराला भन्छन्, ‘हामीले विशेषगरी खोलाको अवस्थालाई ख्याल गरेर मात्रै निर्माणका काम अगाडि बढाउनुपर्छ ।’ उनका अनुसार हामीले कस्तो संरचना बनाउँदैछौँ, त्यहाँको भूगोल कस्तो छ भन्ने जस्ता विषयमा मिहीन अध्ययनको जरुरी देखिएको छ । यस्तै सुरक्षाका उपाय के कति मात्रामा अवलम्बन गरेका छौँ वा जोखिम न्यून गर्ने मापदण्डलाई के कसरी आत्मसात् गरेका छौँ भन्ने विषय पनि यसमा जोडिएर आएको प्रबन्ध सञ्चालक कोइरालाको भनाइ छ । भइहाल्छ वा चलिहाल्छ नि भन्ने मान्यताले कतिपय विकास निर्माणका काममा गुणस्तरलाई ख्याल नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । सही डिजाइन भयो वा भएन, डिजाइनअनुसारका संरचना तयार भए वा भएनन् भन्ने कुरालाई विशेष ख्याल गर्नुपर्ने र सोही अनुसारका संरचना बनाउन लागिपर्नुपर्ने कोइरालाको भनाइ छ । चिलिमे जलविद्युत् आयोजनादेखि नेपाल चीन सीमा क्षेत्र नजीक निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी आयोजनाको समेत प्रमुख भएर काम गरिसक्नुभएका कोइरालाको विचारमा ‘सही स्थानमा सही संरचना (राइट प्लेस, राइट स्ट्रकचर)’ हुनु आवश्यक छ । परियोजनाको छनोटदेखि नै भौगर्भिक रुपमा जोखिमम छन् वा छैनन् विषयमा राम्रो खोज आवश्यक रहेको पछिल्ला दिनमा देखिएको बाढीपहिराले देखाएको कोइरालाको बुझाइ छ । उनी भन्छन्, ‘हामीले अब इन्जिनीयरिङलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने देखिन्छ, सही डिजाइन र मापदण्डको पूर्ण कार्यान्वयन जरुरी देखिन्छ ।’ एनइए इन्जिनीयरिङ कम्पनीले गरिरहेका कामलाई समेत अब थप गुणस्तरीय र प्रभावकारी बनाउने तथा जोखिम कम गर्नेतर्फ ध्यान दिने उनको भनाइ छ । ठूला प्राकृतिक विपत्तिलाई रोक्न नसकिए पनि क्षति कम गर्नेतर्फ सोच्नु जरुरी छ । किनकि, नेपालको विकास निर्माण प्रक्रियामा सुरक्षाका उपाय अवलम्बन नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । पूर्वसावधानी अपनाउन सकिए क्षतिलाई घटाएर भौतिक संरचनाको सुरक्षा गर्न सकिने प्रबन्ध सञ्चालक कोइरालाको भनाइ छ । ठूला भौतिक पूर्वाधार निर्माण गर्दा सामान्यता दशौँ वर्षको मौसमी विवरण आवश्यक पर्दछ । त्यसमा अध्ययन गरिन्छ । त्यसमा पनि अर्थतन्त्रको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रका परियोजना निर्माण गर्दा झनै मिहीन अध्ययनको जरुरी देखिन्छ । बाढीपहिराका कारण जलविद्युत् आयोजनाका उपकरणमा नदीको बालुवा तथा लेदो पसेकाले पनि केही दिन विद्युत् उत्पादन बन्द हुने उनीहरुको भनाइ छ । मेलम्चीको बाढीले इन्द्रावती तेस्रोको विद्युत् उत्पादन बन्द छ । कूल ७.५ मेगावाट क्षमताको सो आयोजना मङ्गलबार साँझदेखि बन्द रहेको छ । मुख्य संरचना सुरक्षित रहेको भए पनि बाँधको गेटमा समस्या देखिएको बताइन्छ । नेशनल हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाको क्षतिका बारेमा मूल्याङ्कन भइरहेको जनाइएको छ । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार क्षतिको मूल्याङ्कन भइरहेको छ । यस्तै सो आयोजनाका तीन टावरमा क्षति पुगेको छ । गत माघमा भारतको उत्तराखण्डको चमोलीमा आएको हिमपहिराले बूढीगङ्गालगायतका आयोजनालाई क्षति पु¥याएको थियो । हिमाली क्षेत्रमा हिमपहिरो तथा बाढीको पनि जोखिम उत्तिकै भएकाले भौतिक पूर्वाधार निर्माणलाई कसरी सुरक्षित बनाउने भन्नेमा सरोकारवालाको ध्यान जानु जरुरी रहेको बताइन्छ । रासस

म्याग्दीको रघुगङ्गा गाउँपालिका सडक निर्माणमा भएको लापरबाहीले जोखिममा

फाइल फाेटाे बेनी । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ । गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो । वर्षा आउँदा रातमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयबासी मिम थकालीले जानकारी दिए । उनका अनुसार, पिप्ले गलेश्वरमा २२ परिवारको वसोवास रहेको छ । ‘’बस्ती माथिको पाखो लस्किएको छ, गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो, एक वर्षमा गलेश्वर–पिप्ले खण्डको सडकमा सिर्जित पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसक्ुन अत्यन्तै दुखदायीपूर्ण हो’, थकालीले भने । पिप्ले गलेश्वरका स्थानीयवासी बर्षा आउँदा वारिपट्टी रहेको बेनी नगरपालिका–९ गलेश्वरमा आश्रय लिनुपर्ने बाध्यता आएको छ । यसै बस्ती समेटिएको बेनी–जोमसोम सडक माथिबाट पहिरो खस्ने, सडक हिलाम्मे हुने समस्याले सवारी आगमन समेत प्रभावित हुँदै आएको छ । पटकपटक बस्तीमा बाढीसहितको हिलोको सास्ती स्थानीयबासीले व्यहोर्दै आएका छन् । यसैबीच गलेश्वरस्थित राहुघाट नदीमा निर्माणाधीन पक्की पुलको संरक्षणको लागि नदी किनारमा बनाइएको ग्याबिन जालीबाट नदीले कटान शुरु गरेको छ । स्तरीय तरिकाले ग्याबिन जालीसहितको संरक्षणको काम नगरेकाले कटान शुरु भएको र यसले बस्तीतर्फ थप नदी कटानको जोखिम बढाएको स्थानीयबासीको भनाइ छ ।