धरहरा टावर निर्माण करिब सकियो, अन्य संरचना बनाउने काम ५० प्रतिशत बाँकी

<p>काठमाडौं । आगामी शनिबार अर्थात बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भुकम्पले पूर्ण रुपमा क्षति पुगेको धरहराको उद्घाटन गर्नेभएका छन् । २०७५ पौष १२ गते प्रधानमन्त्री ओलीले निर्माणको औपचारिक उद्घाटन गर्दै निर्माणको शुभारम्भ गरेको २२ तले धरहरा टावरको निर्माण सम्पन्न भएको भन्दै उद्घाटन गर्न लागेका हुन् । २२ तलाको टावरको भौतिक निर्माण [&hellip;]</p>

काठमाडौं । आगामी शनिबार अर्थात बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भुकम्पले पूर्ण रुपमा क्षति पुगेको धरहराको उद्घाटन गर्नेभएका छन् ।

२०७५ पौष १२ गते प्रधानमन्त्री ओलीले निर्माणको औपचारिक उद्घाटन गर्दै निर्माणको शुभारम्भ गरेको २२ तले धरहरा टावरको निर्माण सम्पन्न भएको भन्दै उद्घाटन गर्न लागेका हुन् ।

२२ तलाको टावरको भौतिक निर्माण अन्तिम चरणमा पुगेपनि अन्य काम ५० प्रतिशतभन्दा बढी नै बाँकी रहेको पाइएको छ । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणको अनुशार प्रधानमन्त्रीले उद्घाटन गर्ने टावरको काम अझै सकिएको छैन । टावरमा राखिएको हरियो पर्दा निकाल्न बाँकी छ, टावरलाई लगाईएको टेको, रंगरोगन गर्न तथा एक वटा लिफ्ट निर्माणकै चरणमा रहेको छ ।

‘प्रधानमन्त्रीलाई बैशाख १२ गते अगाडी नै उद्घाटन गरिसक्नुपर्ने रहेछ, सोही अनुसार अन्य काम छोडेर टावरको काम सक्नतर्फ लगिएको छ’, प्राधिकरण स्रोतले भन्यो, ‘टावरको निर्माण सकिएपनि अन्य धेरै काम बाँकी रहेको छ । टावरको निर्माण सम्पन्न भयो भनेर उद्घाटन गर्दा निर्माण कम्पनीले बाँकी काम सक्न ढिलागर्ने सम्भावना देखिएको छ, प्रधानमन्त्रीज्यूलाई उद्घाटनको चटारो छ । बाँकी काम सक्न हामीलाई चुनौती थपिएको छ ।’

हाल टावरको काम सक्न ३ सयभन्दा बढी कामदारहरुले काम गरिरहेका छन् । टावर ठडिए पनि बत्ती जोड्ने, गजुर राख्ने काम सम्पन्न भएको छैन ।

बाँकी काम के के छन् ?

प्राधिकरणका अनुसार पार्किङ, बगैँचातर्फको काम, संग्रहालय तथा बाल उद्यान लगायतका काम सुरु नै भएको छैन । प्राधिकरणले गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर धरहरा परिसरमा पार्क बनाउन लागेको हो ।

उक्त क्षेत्रमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधा प्रदान गर्न संरचना बनाउने भनिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धर धरहराको टावर बाहेक अन्य काम निर्माणकै चरणमा रहेको बताउँछन् । उनका अनुसार पार्कतर्फ काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा उठ्नु गौरवको विषय भएकाले वैशाख १२ गतेअघि नै उद्घाटन गर्न लागिएको हो ।

धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र सुविधा सम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

‘हामीले वैशाख ११ गते धरहरा टावरको उद्घाटन गर्न लागेका हौँ, टावरको उद्घाटन भएपछि अन्य काम आगामी मंसिर मसान्तभित्र सम्पन्न गछौँ’, उनले भने, ‘निर्माण कम्पनीसँग आगामी मंसिर मसान्तसम्मको सम्झौता अबधि रहेको छ । तोकिएको समयभित्र निर्माण सम्पन्न गरी प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी गरी कम्पनीले काम गरिरहेको छ ।’

तीन अर्ब ८० करोड लागतमा २२ तले भवन निर्माण र गोश्वारा हुलाक रहेको क्षेत्रको सबै भागमा ३० फिट गहिरो तह खनेर तीन तले पार्किङ स्थल निर्माण गर्ने सम्झौता भएको थियो ।

धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत प्रदान गरिसकेको छ । जसमा पहिला धरहरा रहेको ५ रोपनी जग्गा बाहेक राष्ट्र बैक अन्तर्गत रहेको टक्सार विभाग, नेपाल बैक लिमिटेड र गोश्वारा हुलाक कार्यालयको जग्गामा धरहरा पुनर्निर्माण हुँदैछ । टक्सार विभाग र गोश्वारा हुलाक कार्यालयलाई प्राधिकरणले अन्यत्रै व्यवस्थापन गरिसकेको छ ।

१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा धरहरा बनाउन लगाएका थिए । ११ तले धरहरा १९९० सालको भूकम्पले पनि भत्किएको थियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जङ्गबहादुर राणाले ११ तले धरहरालाई नौ तलामा कायम गरी पुनर्निर्माण गरेका थिए ।

Share News