काठमाडौं । बाढी तथा विपद्का कारण खानेपानीमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै नुवाकोटका विभिन्न क्षेत्रमा खानेपानीको गुणस्तर परीक्षण तथा अनुगमन भइरहेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुर, युनिसेफ नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोट तथा वास क्लस्टर नुवाकोटको संयुक्त टोलीले जिल्लाका विभिन्न होल्डिङ सेन्टर तथा मुहानदेखि धारासम्मको खानेपानीको गुणस्तर परीक्षण गरिरहेको छ।
बाढी तथा विपद्का कारण खानेपानीका स्रोतमा दूषित पदार्थ मिसिन सक्ने सम्भावनालाई ध्यानमा राखी सुरक्षित तथा स्वच्छ खानेपानीको सुनिश्चितताका लागि परीक्षण तथा अनुगमन कार्यलाई निरन्तरता दिइएको मन्त्री लम्सालले बताए ।
विपद्का समयमा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्दै सर्वसाधारणलाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले मुहानदेखि धारासम्म पानीको गुणस्तर परीक्षण तथा आवश्यक अनुगमन भइरहेको उनले जनाए ।