कालोपत्रका लागि तयार भयो गलेश्वर–बेगखोला सडक
म्याग्दी । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रका लागि तयार भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट वडा नं १ बेगखोला जोड्ने सडक कालोपत्र हुन लागेको हो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले कालोपत्र गर्न पूर्वाधार तयार पारेको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक अमृत दाहालले सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर कालोपत्रका लागि सबबेस बिछ्याउने र रोलरले पेल्ने काम भइरहेको जानकारी दिए । ‘सात किलोमिटर दूरीको राहुघाट–बेगखोला खण्डको सडक ११ मिटर फराकिलो बनाएका छौँ’, उनले भने, ‘अधिकांश ठाउँमा पर्खाल र नाली निर्माण सकिएको छ । नाली र पर्खाल निर्माण भएको ठाउँमा गिट्टी, बालुवा बिछ्याएर रोलरले पेलिएको छ ।’ आगामी वैशाख–जेठ महिनाभित्रै कालोपत्र सक्ने गरी मजदुर, उपकरण परिचालन र निर्माण सामग्री तयार पारिएको छ । सात मिटर चौडाइमा डिबिएसटी प्रविधिको कालोपत्र गरिने भएको छ । मुख्य ठेकेदार शर्मा–युनाइटेडले अधुरो बनाएको सो सडक २०७६ माघदेखि ओमकारेश्वरले जिम्मा लिएपछि कामले तीव्रता पाएको हो । राहुघाट–बेगखोला खण्डको करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चारवटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब रु छ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८५ र बेनी–जोमसोम खण्डको ६० प्रतिशत भौतिक प्रगति छ । सात प्याकेजको जोमसोम–कोरला खण्डको चारवटा प्याकेजको काम निर्माण सकिएको आयोेजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताउनुभयो । आयोजनाअन्तर्गतकै बेनी नगरपालिका–९ गलेश्वरको करिब एक किलोमिटर सडक पनि कालोपत्रका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ । गलेश्वर, महभिर र पोखरेबगरको बेलीब्रिज विस्थापित गरेर पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । तीन अर्ब ४० करोड लागत अनुमान गरिएको थियो । बेनी–घाँसा खण्डका दुईवटा प्याकेज र घाँसा–जोमसोम खण्डको एउटा प्याकेजको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको थियो । घाँसा–जोमसोम खण्डको अर्को एउटा प्याकेजको काम गर्ने ठेक्का पप्पु/तामाङ/कोशी/न्यौपाने जेभीले लिएको छ । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्र गरिने भएको छ । विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खालेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक हाल कच्ची अवस्थामा थियो । विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थल विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । रासस
९ अर्ब लगानीमा बन्ने दैजी-छेला औद्योगिक क्षेत्रकाे निर्माण सुरु, २२ हजारले राेजगार पाउने
कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो । नगर प्रमुख अशोक चन्दका अनुसार मङ्गलबारदेखि प्राविधिक टोलीले औद्योगिक क्षेत्रका लागि छुट्टयाइएको जग्गामा गएर कार्य अगाडि बढाउन लागिएको हो । कार्य अगाडि बढाउनका लागि नगर प्रमुख, वडाध्यक्ष, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, सामुदायिक वनका प्रतिनिधिसँग छलफल गरिएको छ । औद्योगिक क्षेत्रको कार्य छिटो छरितो तथा प्रभावकारी रुपमा अगाडि बढाउनका लागि डिभिजन वन कार्यालयलाई औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेडले आठ लाख १३ हजार रकम पेश्कीका रुपमा उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । बिल भर्पाइसहितको खर्चको फाँटबारी प्राप्त भएपछि फरफारक हुने गरी लागत अनुमानका आधारमा रकम डिभिजन वन कार्यालयका नाममा पेश्कीका रुपमा उपलब्ध गराइने जनाइएको छ । गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । औद्योगिक क्षेत्रको हालसम्म वन तथा वातावरण मन्त्रालयबाट वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको बैठकबाट २४० दशमलब ३४ हेक्टर (३५५ दशमलव ७० बिघा) जग्गामा डिपिआर निर्माणको कार्य सम्पन्न गरी स्वीकृत भइसकेको छ । विसं २०७३ मा मन्त्रिपरिषद्को निर्णयबाट पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुमखोल्सा पश्चिममा साजगाड खोला, उत्तरमा चुरे वन क्षेत्र तथा दक्षिण तर्फ चाँदनीफाँटा बस्तीसम्मको ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि कायम गरिएको थियो । घोषणा भएको चार किल्लाभित्रको जग्गा जिल्ला नापी कार्यालयबाट नापजाँच गरी नाप नक्सा तथा फिल्डबुक तयार गरी करिब २९४ बिघा जग्गाको दर्ताको लागि मालपोत कार्यालयमा सिफारिससमेत गरिएको छ । आयोजनाको कूल लागत नौ अर्ब रहेको छ । औद्योगिक प्लटसङ्ख्या र क्षेत्रफल १०० प्लटमा रहने छ भने साना उद्योगका लागि २३ वटा प्लट छुट्याइएको छ । सोमा सातदेखि १० कट्टा जग्गाको व्यवस्था गरिएको छ । मझौला उद्योगका लागि ४४ प्लट छुट्याइएको र त्यसमा १० देखि २० कट्टा जग्गाको व्यवस्था रहेको छ । आयोजना पूर्वाधार निर्माण गर्न ०७७/७८ देखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आद्यौगिक क्षेत्रमा अनुमानित रोजगारीको सङ्ख्या २२ हजार रहेको छ । रासस
प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास, ५७ अर्ब १० करोड लागत लाग्ने
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन् । ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरे । उनले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिए । उनका अनुसार ६२८ वटा सडक पुल (झोलुङ्गे) पुलबाहेक निर्माण भएका छन् । कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिए । यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उनले जानकारी गराए । उनले पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न थालिएको बताउनुभयो । उनका अनुसार प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण सङ्घीय सरकारले गरिरहेको छ । समारोहमा सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यको समेत उपस्थिति रहेको थियो । रासस