कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन सुरु
गलकोट । पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई जिम्मा दिएपछि अध्ययन थालिएको विद्युत् विकास विभागका इञ्जीनियर रवि नेपालले जानकारी दिए । उनका अनुसार अहिले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि क्षेत्र निर्धारणको काम भइरहेको छ । आठ सय ४४ मेगावट विद्युत् उत्पादन गर्ने गरी निर्माण गर्ने भनिएको प्रस्तावित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालमै सबैभन्दा ठूलो जलविद्युत् आयोजना रहेको छ । विद्युत् विकास विभाग प्रस्तावक रहेको यस आयोजनाको अहिले प्रभावित क्षेत्र, डुबान क्षेत्र, बाँध र विद्युत्गृह निर्माण गर्ने क्षेत्र निर्धारणका लागि काम भइरहेको छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका, पर्वत जिल्लाको कुश्मा नगरपालिका, जलजला गाउँपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका, पैयु गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिका समेट्ने गरी उक्त आयोजना क्षेत्र निर्धारणको काम भइरहेको अध्ययनको जिम्मा पाएको जेभी स्मेक इन्टरनेशनल अष्ट्रेलिया र जेड कन्सल्ट नेपालले जनाएका छन् । अहिले सात पालिकामा प्रभावित हुनसक्ने वडा र सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्राणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्राणाली र आर्थिक प्रणालीका लागि सुझाव सङ्कलनसमेत भइरहेको छ । यसका लागि ती परामर्शदाताले सार्वजनिक सूचना निकाल्ने, सार्वजनिक सुनुवाइ गर्नेलगायतका काम गरिरहेको कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि पहलकदमी गर्ने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । उनले यसलाई जलविद्युत्सँगै पर्यटनका हिसाबले समेत फड्को मार्नका लागि जलाशययुक्त जलविद्युत् आयोजनाको प्रस्ताव दुई वर्षअघि मन्त्रालयमा पुर्याएकामा अहिले काम सुरु भएकोे बताए । ‘शुरुमा निर्वाचित भएर आएपछि नगरको समृद्धिका लागि के गर्न सकिन्छ भनेर दीर्घकालीन र बहुउद्देश्यीय परियोजनाको खोजी गर्यौँ, अध्ययनका क्रममा जलविद्युत् नै देखियो’, नगरप्रमुख शर्माले भने, ‘प्रारम्भिक अध्ययनका क्रममा हाम्रो मात्रै नगरपालिका नभएर जलाशययुक्त जलविद्युत् निर्माण गर्दा बागलुङ नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिकासहित पर्वतको जलजला, विहादी र पैयु गाउँपालिकासमेत समेटिएको छ, यसले गण्डकी प्रदेशको मात्र नभएर नेपालकै समृद्धिको आधार बन्नेछ ।’ शर्माका अनुसार आफूले निर्माण गरेको प्रस्तावमा अन्य क्षेत्रका स्थानीय तह तथा ऊर्जा मन्त्रालयले चासोका साथ योजनामा राखी यस वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन गर्नका लागि बजेट छुट्याएर अघि बढेका कारण सबैको सहयोगमा उक्त योजनाले मूर्तरूप लिने विश्वास लिइएको छ । आयोजना अबको सातदेखि १० वर्षमा सम्पन्न गर्ने गरी अध्ययन भइरहेको छ । नेपालकै अन्य जलाशययुक्त जलविद्युत् आयोजनाभन्दा ठूलो, सस्तो र कम क्षति पुर्याउने उक्त आयोजना देशकै नमूना हुने र पर्यटकीय हिसाबले समेत निकै ठूलो फड्को मार्नेमा विश्वास लिइएको प्रभावित नगरपालिका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । अहिले आठदेखि १० करोड लागतमा अध्ययन भइरहेको उक्त आयोजना निर्माण गर्न पर्वत जिल्लाको बिहादी गाउँपालिका–६ र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा बाँध बनाइने छ भने बिहादीकै वडा नं ६ मा बाँधभन्दा झण्डै चार किलोमिटर तल विद्युत्गृह निर्माण गरिने प्रारम्भिक अध्ययनमा उल्लेख गरिएको छ । बिहादीमा २५० मिटर अग्लो बाँध बनाएर कालीगण्डकी नदी थुन्दा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ नयाँपुलसम्म पानी जम्मा हुनेछ । वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रभाव पार्न सक्ने क्षेत्रका रूपमा बागलुङ नगरपालिकाका १३ वडा, काठेखोला गाउँपालिकाको चार वडा, बरेङ गाउँपालिकाकोे एक, पर्वत जिल्लाको जलजला गाउँपालिकाको ८ र ९ वडा, बिहादी गाउँपालिकाको छवटा, पैयु गाउँपालिकाको सातवटा, मोदी गाउँपाकिलाको चारवटा र महाशिला गाउँपालिका छवटा, स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकाको दुईवटा, वालिङ नगरपालिकाको चारवटा, भिरकोट नगरपालिकाको दुईवटा, अर्जुन चौपारीको दुईवटा वडा र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको ७ र सत्यवती गाउँपालिकाको १ वडा अनुमानित गरिएको छ । रासस
बाढीले क्षति भएकाे ढोरपाटन सडक पुनःनिर्माण गर्न ६० करोड विनियोजन
गलकोट । जिल्लाको ढोरपाटन नगरपालिकामा २०७७ भदौ १७ गते राति आएको बाढीले क्षति गरेको राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक पुनःनिर्माणका लागि ६० करोड बजेट स्वीकृत भएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिराले खोला थुनिएर अचानक फुटेपछि भुजीखोलाको बाढीले वडा नं ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करीब १० किलोमिटर सडक बगाएको थियो । बाढीमा परेर २३ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् । बाढीले सबैभन्दा बढी ढोरपाटन–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भुजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडक बगरमा परिणत गराएको थियो । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले ढोरपाटन नगरपालिकाको समन्वयमा झण्डै रु पाँच करोड खर्चेर सडक एक महिनापछि सञ्चालन गरेको थियो । रासस
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड विस्तार असारभित्रै सकिने
पर्वत । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा काम अघि बढाएको हो । जिल्लाको २४ किलोमिटर खण्डमध्ये कुश्माबजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार हुँदैछ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो । कुश्मास्थित आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार मोदी गाउँपालिकाको पातीखोलादेखि चुवाको परादीसम्म कालोपत्रको काम सकिएको छ । कुश्मामा विद्युत्का पोल हटाएर मध्य खण्डमा माटो भर्ने काम भइरहेको छ । पातीचौरमा कालोपत्र गर्न सबै स्टक्चर तयार भइसकेको छ । सडक चौडा पार्ने, नाली बनाउनेलगायत पूर्वाधारका काम सबै सकिएकाले अब बेस हालेर कालोपत्र गर्न धेरै समय नलाग्ने बताइएको छ । कुश्माबजारको खरेयादेखि डम्डारेखोलासम्म चार लेनको सडक बनाउन विद्युत्का पोल, खानेपानीका पाइप र केही घर, टहरा हटाउँदा काममा ढिलो भएको थियो । सडक विस्तारमा अवरोध रहेका सबै संरचना हटाएपछि कुश्मामा सबैजसो कामदार परिचालन भएका छन् । चुवा, कुश्माको बान्द्रेबिँडी र मोदीको केही भागमा भिरको पहरो फुटाएर सडक चौडा बनाइएको छ । लामा कन्स्ट्रक्सनका प्रतिनिधि राजाराम आचार्यले आउँदो जेठभित्रै पर्वतखण्ड सकिने बताए । विसं २०७५ वैशाखदेखि शुरु भएको पर्वत खण्ड विस्तारको काम गएको भदौमा सकिनुपर्ने हो । कोभिडका कारण भएको लकडाउनले रोकिएपछि आयोजना कार्यालयले नौ महिना समय थप गरेको छ । तत्कालीन आयोजना प्रमुख आशिष थापा मगरले कास्की, पर्वत र बागलुङ खण्डमा अपेक्षित काम भएकाले अब थपिएको मितिमै काम सकिने बताए । कुनै अवरोध र समस्या नआइ काम हुने भने पोखरादेखि बागलुङसम्मको खण्ड नयाँ स्वरुपमा बदलिने छ । मध्यपहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टेखोला सम्मको खण्डको काम सकिएको छ । हेम्जादेखि सिम्पानीसम्मको खण्ड सकिएमा कास्की खण्डको काम पूरा हुने बताइएको छ । रासस