काठमाडाैं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ ।
संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी गराएका हुन् ।
उनले पहिलो युनिटबाट बैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको बताए । ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा बैशाख भित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ,’ उनले भने ।
उनकाे अनुसार बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश उत्पादन थप्दै लगिनेछ । यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए । उनले भने, ‘हामी बैशाख भित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौ सम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौं ।’