अघि बढ्यो नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तार प्रक्रिया

काठमाडौं । काठमाडौं उपत्यका भित्रिने/बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ । यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो । झण्डै ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा गरी निर्माण गर्ने योजना बनाइएको छ । यी तीन प्याकेजमा सडक र पुल दुवैको विस्तार र सुधार समेटिने नागढुङ्गा–मुग्लिन सडक योजनाका प्रमुख किरण कार्कीले बताए । यो सडक निर्माणका लागि अहिले अध्ययन सकिएर ठेक्काको चरणमा छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको हो । विभिन्न प्याकेजमध्ये कुनै मूल्याङ्कन त कुनै मूल्याङ्कन सकाएर खोल्ने चरणमा रहेको प्रमुख कार्कीले बताए । नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखुमा आवेदनका लागि आगामी मङ्सिर ९ गतेसम्म अवधि छ भने मलेखु मुग्लिन प्राविधिक मूल्याङ्कन भइरहेको छ । उनले भने, ‘अवधि सकिएपछि नै प्रक्रिया अघि बढाइनेछ ।’ नौबिसे–नागढुङ्गा, नागढुङ्गाबाट मलेखु र मलेखुबाट मुग्लिन गरी तीन प्याकेजमा गरी निर्माण अघि बढाइने योजनाले जनाएको छ । सडक निर्माणका लागि निर्माण कम्पनीसँगै परामर्शदाता छनोट भइरहेको छ । डेढदेखि दुई महिनामा गरिसकिने बताइएको छ । सडक विभागले सोही सडकमा जोडिने मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ । यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुङ्गा–मुग्लिन सडक अधिकांश स्थानमा दुई लेनको नै हुने योजनाले जनाएको छ । यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए । बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि अधिकांश स्थानमा पहाड भएकाले दुई लेनमा नै निर्माण गरिनेछ । मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ । तराईमा सडक विस्तार गर्नुभन्दा पहाड नै पहाड भएको स्थानमा विस्तार गर्न गाह्रो हुने प्रमुख कार्कीले बताए । पहाड नै काटेर बनाउन नसकिने हुँदा भइरहेकै सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिइनेछ । उनले भने, ‘सडकमा आवश्यक संरचना निर्माण पनि सँगसँगै हुनेछ ।’ सडकसँगै एउटै प्याकेजमा पुलको निर्माण र मर्मत हुँदैछ । कतिपय स्थानमा पुल बाङ्गो भएकामा त्यो हटाइने प्रमुख कार्कीले बताए । सडक सुरक्षित बनाउनकै लागि मोड सुधार गर्न लागिएको छ । दुर्घटना कम गर्नेसँगै सडक निर्माणपछि यात्रामा लाग्ने समय र खर्च घट्ने उनले बताए । अध्ययनअनुसार तीन प्याकेजमा निर्माण अघि बढाउँदा दुई वर्षमा निर्माण सम्पन्न हुने योजनाले जनाएको छ । निर्माण सकिएपछि पाँच वर्ष मर्मत अवधि रहनेछ । सडक निर्माणपछि पनि बिग्रिए वा भत्केमा त्यो अवधिसम्म पनि पुनःनिर्माण वा मर्मत निर्माण कम्पनीले नै गर्नुपर्ने प्रमुख कार्कीले बताए । कानूनीलगायतका अरु समस्या नआएमा ठेक्का प्रक्रिया टुङ्गो लागे पनि निर्माण सुरु गर्न लामो समय नलाग्ने उनको भनाइ छ । उनले भने, ‘सरासर काम भएमा ठेक्का खुलेको डेढ दुई महिनामा काम सुरु हुनेछ ।’ यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ । ‘डेडिकेटेड’ दुई लेन भन्नाले चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुनेसँगै गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिने उनले बताए । सडकसँगै पुलको निर्माण र सुधारलाई जोड दिइएको योजनाले जनाएको छ । नयाँ पुल निर्माणसँगै जोखिमयुक्त पुल हटाइने प्रमुख कार्कीले बताए । चार ठाउँमा रहेका पुल रेखाङ्कन परिवर्तन गरिने उनले बताए । अरु ठाउँमा भइरहेको पुल मर्मत गर्ने र सँगै अर्काे पनि थपिनेछ । उनले भने, ‘पुल पनि एउटै ठेक्कामा र दुई वर्षमा सकिनेछ ।’ काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी सवारी साधन बाहिरिने सडकका रूपमा रहेको यो खण्डमा सडक विस्तार भएपछि यहाँको चाप कम हुने अपेक्षा गरिएको छ । नागढुङ्गामा सुरुङ बनिसकेर यो सडक बनेपछि यात्रुलाई आवतजावत गर्न सजिलो हुनेछ । रासस

नागढुङ्गा सुरुङमार्गमा जग्गाको विवाद समाधान हुँदै

काठमाडाैं । नागढुङ्गा सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ । सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो । अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबीनको क्रममा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । त्यसबाहेक काठमाडौं जिल्लामा पनि थोरै जग्गा प्राप्ति गर्न बाँकी छ । समस्या भएका ठाउँमा शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर टुङ्ग्याइने उनले बताए । उनले भने, ‘भोलिको बैठकले निर्णय गरेमा छिटपुट बाँकी विषय पनि टुङ्गो लगाउनेछ ।” खत्रीपौवा पहिरामा मात्र समस्या बाँकी रहेको प्रमुख शाक्यले बताए । पहिराको अध्ययन, डिजाइन गरेर कति जग्गा थप लिनुपर्ने भनी टुङ्गाउनुपर्ने उनले बताए । ‘स्थानीयवासीले अध्ययन गर्न नदिएकाले जग्गा प्राप्त गर्नुपर्ने वा नपर्ने थाहा भएको छैन’, उनले भने, ‘चाडपर्वका कारण छलफल भएको थिएन, चाडपर्व सकिएकाले अब हुनेछ ।’ जग्गा प्राप्त भइसकेको ठाउँबाट ‘फ्लाइ ओभर’को निर्माण सुरु गरिएको छ । बलम्बुमा पहुँच सडकबाट ‘फ्लाई ओभर’ सुरु भएको प्रमुख शाक्यले बताए । त्रिभुवन राजपथमा जग्गा प्राप्त गर्नुपर्नेमा त्यहाँ पनि टुङ्गो लागेपछि निर्माण अघि बढाइनेछ । उनले भने,’अबको बैठकले बाँकी कुरा टुङ्गाएमा त्यहाँ पनि निर्माण अघि बढाइनेछ ।’ सुरुङ खनेपछि पानीको अभाव हुने भन्दै स्थानीयवासीले खानेपानीको व्यवस्थापनको माग गरेका थिए । त्यहाँको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण अन्तिमचरणमा पुगेको छ । केही दिनमा नै घर–घरमा पाइप लगिने उनले बताए । आयोजनाले बजेट छुट्टाइसकेको छ भने नगरपालिकासँगको समन्वयमा पाइप विच्छाइने बताइएको छ । रासस

सर्वोत्तम सिमेन्टले दियो ठेकदारहरुलाई तालिम

काठमाडौं । सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ठेकदारहरुसँग भेटघाट कार्यक्रम गरेको छ । कम्पनीले दुई जिल्लाकाे विभिन्न स्थानहरुमा भवन निर्माण कार्यमा संलग्न ठेगदारहरुसँग भेटघाट कार्यक्रम गरेको हाे । उक्त कार्यक्रममा कम्पनीको प्रोजेक्ट प्रमुख ई.अभिषेक झाले औपिसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेड बारे सम्पुर्ण जानकारीका साथै यसको उपयोगिता र विशेषताको बारेमा जानकारी दिएका थिए । यसका साथै उनले प्राविधिक रुपमा सिमेन्ट र डण्डीको प्रयोग गरी कसरी घर बनाउँदा भुकम्प प्रतिरोधात्माक हुन्छ र सिमेन्टको कसरी खपत राम्रो हुन्छ बारे पनि जानकारी दिएका थिए । कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधीद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालको पहिलो सिमेन्ट उद्योग हो ।