समयमा काम सम्पन्न नगर्ने भैरव कन्स्ट्रक्शनसहित चार कम्पनी कालोसूचीमा
काठमाडाैं । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको बैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा नयाँबानेश्वर काठमाडौंस्थित भैरव कन्स्ट्रक्शन कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो । यस्तै प्रहरी प्रधान कार्यालयको सिफारिसमा त्रिपुरेश्वरस्थित न्यू लक्ष्मी इण्डस्ष्ट्रिज एण्ड सप्लायर्स, बनेपा नगरपालिका नगर कार्यापालिकाको सिफारिसमा ललितपुरको सापकोटा सप्लायर्स एण्ड निर्माण र शिवालय गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जाजरकोटको सिफारिसमा काठमाडौं बानेश्वरको लार्ज बास्केट कम्पनीलाई एक/एक वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद ऐनका अनुसार कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।
बाराही निर्माण सेवाले १ वर्ष बित्दा पनि डोटीकाे मजदुरलाई दिएन ज्याला
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेक स्वास्थ्यचौकी भवन निर्माणमा संलग्न मजदुरले एक वर्षदेखि काम गरेको ज्याला पाएका छैनन् । भवन निर्माणको ठेक्का पाएको बाराही निर्माण सेवाले मजदुरलाई ज्याला नदिएपछि उनीहरु मारमा परेका हुन् । विसं २०७७ मा एक करोड ७० लाखमा भवन निर्माणको ठेक्का पाएको पिएस पिएस कन्सट्रक्शन प्रालि, सिलगढीले पेटी ठेक्का बाराही निर्माण सेवालाई प्रदान गरेको हो । निर्माण सेवाले भवन निर्माण सम्पन्न गरे पनि मजदुरलाई भने काम गरेवापतको रकम अहिलेसम्म दिएको छैन । भवनको काम सम्पन्न भई कार्यालय सञ्चालनमा आइसक्दा पनि ज्याला नपाएको स्थानीय जगत बिकले बताए । उनले भने, ‘भवन हस्तान्तरण भइसकेको छ, मजदुरको ज्याला बाँकी नै छ ।’ मजदुरले दैनिक ४०० का दरले भवन निर्माणमा काम गरेका थिए । पूर्वीचौकी गाउँपालिका–२ का हीरादेवी ओली मजदुरले निर्माण कम्पनीविरुद्ध आन्दोलनको तयारी गरेको बताए । पिएस कन्सट्रक्शनका प्रोप्राइटर प्रेमशङ्कर भट्टले बाराही निर्माण सेवाले ज्याला दिनुपर्ने बताए। उनले भने, ‘सम्पूर्ण खर्च निर्माण सेवाले नै तिर्नुपर्छ ।’ प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले ज्याला नपाएको कसैले पनि प्रशासनमा उजुरी नदिएको बताए । घर नजिकै रोजगारी पाएपछि खुशी भएका स्थानीयवासी ज्याला नपाएपछि पीडित बनेका छन् । रासस
मनाङकाे बेंसीसहर–चामे सडकमा सधैँ सास्ती
फाइल फाेटाे मनाङ । जिल्लामा यस समयमा चिसो सिरेटोसँगै हिमालको नजिकबाट निस्किएको घामको झुल्को हेर्न पर्यटक आउने गर्दछन् । पर्यटक आउने समयमा पनि सडकको सास्ती भोग्ने गरेका छन् । यस याममा आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्रिन्छन् । विगत लामो समयदेखि नै यहाँ आउने पर्यटक र सर्वसाधारणले सडकको सास्ती व्यहोर्न बाध्य छन् । पर्यटक भित्रिने याममा सडक सञ्जालका कारण भित्रिनुपर्ने पर्यटक अझै आउन सकेका छैनन् । बिहानीको चिसो सिरेटोसँगै झुल्किएको घाम अन्नपूर्ण तेस्रोमा पर्दा हुम्डे–सब्जे बाटोबाट धीत मरुन्जेल नियाँल्नकै लागि यहाँ पर्यटक आउने गर्दछन् । मनास्लु, चिकित्सक हर्क पिक, बौद्ध हिमाललाई पछाडि पारेर मनाङको माथिल्लो भेग जाँदै गरेका पर्यटकका आँखाअघि दर्जन हिमालका दृश्य ठोक्किन्छन् । यसैमा रमाउन आउने स्वदेशी तथा विदेशी पर्यटक यतिबेला भरिभराउ छन् यहाँ । पिसाङ, गङ्गापूर्ण र तिलिचो हिमालको तस्बिर कैद गर्न जति सजिलो छ । त्यहाँसम्म पुग्न भने निकै अप्ठ्यारो सडक छिचोल्नु पर्दछ । कच्ची सडक सङ्घर्ष नगरे हिमाल र प्रकृतिसँग रमाउने सौभाग्य जो कसैको छुट्न सक्छ । हिमाल हेर्न काठमाडौंबाट आएकी गीता शर्मालाई लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङको स्याँगे घुम्तीमा पहिलो ठेस लाग्यो । ‘गाडीलाई टर्निङ पुगेन र फोर ह्विलले समेत तान्न नसकेपछि ओर्लिएँ । हामी निस्केपछि बल्लतल्ल गाडी अघि बढ्यो,’ उनले भनिन्, ‘बेंसीसहरदेखि मनाङ जोड्ने सडकको अवस्था कस्तो रहेछ भनेर स्याँगेमा आएपछि चिन्न पाएँ ।’ सडकखण्डअन्तर्गत लमजुङको च्याम्चे, मनाङको म्यादीभिर, खोत्रो, बगरछाप, तिमाङ उकालोमा सहजै गाडी चढ्दैन । काठमाडौूबाटै आएका सवारी चालक राम अवालेले बेंसीसहर–चामे सडकको धेरै ठाउँमा सङ्घर्ष गरेर माथिल्लो मनाङ पुगेको बताए । ‘बाढीले सडक बगाएपछि नयाँ खोलिएको ट्र्याक र पुरानै ट्र्याकमा पनि समस्या रहेछ । फोर ह्विलसमेत जान गाह्रो रहेछ । फोर ह्वील गाडीमार्फत मुस्किलले मनाङ पुग्यौँ,’ उनले भने, ‘अप्ठ्यारा सडक कटेर गएपछि मनाङ त स्वर्गै लाग्यो र ती सङ्घर्षहरु बिर्साउने रहेछ ।’ जिल्लामा गत जेठ १४ र ३१ गते रातिदेखिको वर्षाका कारण उर्लिएको बाढीपहिराले सडक र पुल, क्षतविक्षत बनाएको छ । अस्थायी ट्र्याक बनाएर दसैँअघि मात्रै सञ्चालनमा ल्याउन सकिएको थियो । सडक दसैँलगत्तै पुनः वर्षाका कारण बाढीपहिरा जाँदा दुई साता पूर्णरुपमा ठप्प भयो । तिहारको केही दिनअघि मात्रै खुलेको सडकमा यातायात सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरिएका छन् । बेंसीसहरदेखि करिब २२ किलोमिटरमा पर्ने उक्त ठाउँमा ढलान गरिएको छ । ढलान कट्ने बित्तिकै ढुङ्गामाटोले भरिएको उकालोमा सहजै सवारीसाधन अघि नबढ्दा कतिपय हिँडेर जान बाध्य भएको वडाध्यक्ष सुमन गुरुङले बताए । ‘यही ठाउँबाट बाटो लानुपर्ने बाध्यता हो । सिधै बाटो लान बस्ती उठाउनुपर्छ,’ उनले भने, ‘यही बाटो राम्रो हुन्थ्यो । पटक–पटक वर्षा हुँदा बाढीपहिराले राम्रो हुनै दिएन ।’ ती अस्थायी संरचना पार गर्न सवारीसाधन, चालक र यात्रुलाई कठिनाइ भोग्नुपरेको छ । सडकमा सबैभन्दा बढी क्षति पुगेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार यातायात जसोतसो चलिरहेको छ । तर स्थायी रूपमा सञ्चालन गर्न अहिलेको तत्कालीन सडकभन्दा अर्को विकल्प खोज्नुपर्ने देखिएको छ । बेंसीसहरदेखि मनाङसम्म ६५ किलोमिटरमध्ये लमजुङ खण्डको म्यादीसम्म ३५ किलोमिटर छ । लमजुङ खण्डको स्याँगे, काप्रेभिर, अर्खलेबेंसीलगायत क्षेत्रमा बाढीपहिराले कठिन सडकको रुपमा पहिचान बनाएको छ । मनाङ खण्डको ३० किलोमिटरअन्तर्गत सिरानताल, निगालो घारी, खोत्रो, धारापानी, बगरछाप, तिमाङ उकालो, तिमाङखोला, कोतो क्षेत्रमा सवारी साधन सहजै पास गर्न सक्ने अवस्थामा छैन । मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जसोतसो हिमाली जिल्ला मनाङसम्म सवारी सञ्चालन भए पनि सहज भने नरहेको बताए । ‘अप्ठ्यारो सडकका कारण कतिपय सवारीसाधनले बीच बाटोमै अड्किनुपर्ने अवस्था छ । मोटरसाइकल सडकमै लड्छन् । सडकलाई सहज बनाउन आवश्यक छ,’ उनले भने । जेठ ३१ यता आएको भीषण वर्षापछिको बाढीपहिराले बन्द माथिल्लो मनाङ जाने सडक भने चट्टान फोडेर निर्माण गरिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङभिर र भ्राताङदेखि तलेखुबीचको भिरमा बम विस्फोट गरी अस्थायी सडक बनाइएको छ । तर यो सडक निर्माण तथा मर्मतमा सरकारले हेरेन र आफैँ बनायौँ,’ सांसद पोल्देन छोपाङ गुरुङले भने, ‘प्रदेश, सङ्घीय तथा स्थानीय सरकार कता लुक्यो कता ।’ बेंसीसहर–चामे सडकको मनाङ खण्ड भने डुम्रे–बेंसीसहर–चामे सडक योजनाअन्तर्गत निर्माण गरिएको छ । बाढीपहिराले क्षति पु¥याएको करिब १५ किलोमिटर सडकको मर्मत गरिएको योजनाका कार्यालय प्रमुख इन्जिनीयर अच्युतविलास पन्तले बताए । बेंसीसहर–चामे सडक मनाङको मेरुदण्ड हो । चक्रीय अन्नपूर्ण पदमार्गको ठाउँठाउँमा पहिरो गएपछि अहिले पर्यटक यही बाटो हिँड्ने गरेका छन् । यो सडकबाहेक अन्त कतैबाट पनि मनाङ आउने जाने बाटो छैन । ‘यो पर्यटकीय सिजन भएकाले स्वदेशी तथा विदेशी पर्यटक आगमन बढेको छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतम भन्छन्, ‘पदमार्ग नहुँदा मोटरबाटो हुँदै पर्यटक आउन बाध्य हुनुभएको छ ।’ प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बाढीपहिराले बगाएको बाटो खुलाउन सफल भए पनि पूर्ण रुपमा सहजता कायम गर्न भने नसकिएको बताए । ‘हामीले सडक मार्गलाई तङ्ग्र्याएका छौँ । पहिले जस्तो नभए पनि अहिले आउजाउ गर्न भने सकिएको छ । बिस्तारै राम्रो बनाउने प्रयासमा छौँ,’ उनले भने । सरकारले बाढीपीडित क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेको थियो । विभिन्न राजनीतिक दलका शीर्षनेता र राष्ट्रपतिसम्मले हेलिकप्टरबाटै बाढीपहिराग्रस्त क्षेत्रको निरीक्षण गरे पनि सामान्य ट्र्याक खोल्नेबाहेक सहज बनाउने गरी ठोस काम हुन नसकेको स्थानीयवासीको गुनासो छ । सो सडक खण्डलाई सडक विभागले आर्थिक वर्ष २०५१/५२ निर्माण सुरु गरेको थियो ।