बाल्ट्राकाे सुनकाे सिठ्ठी जित्ने ३ विजेताकाे नाम घाेषणा

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एप्लायन्सले सर्वसाधरणको लागि ल्याएको बाल्ट्र बडा योजना अन्तर्गतको विजेता घोषणा गरेको छ । कम्पनीले उक्त योजनको पहिलो, दोस्रो र तेस्रो हप्ताको विजेता घोषणा गरेको हो ।  गोलापंथाबाट छानिएको पहिलो  विजेतामा काठमाडौंकी उन्नती श्रेष्ठ रहेकी छिन् । त्यसैगरी सुर्खेतकी इश्वरी विक र जितपुरको रामकुमारी सोनी दोस्रो र तेस्रो हप्ताको विजेता बन्न सफल बनेका छन् । उनीहरुले यस योजना अन्तर्गत २२ क्यारेटको ४ ग्राम नेट तौलको सुनको सिठ्ठी प्राप्त गर्नेछन् । यस याेजनामा सहभागी हुन ग्राहकहरुले बाल्ट्राकाे आधिकारीक विक्रेताबाट कुनै पनि सामान किन्नुपर्नेछ र त्यसपश्चात <BALTRA><VAT/PAN BILL NO><NAME> टाइप गरी ३४००१ मा एसएमएस गरी पठाउनुपर्नेछ ।

४० वर्षपछि नाफामा गएकाे जडीबुटी कम्पनीले सर्वसाधारणलाई शेयर बाँड्ने

काठमाडौं । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको हो । यस कम्पनीले पहिलोपटकको नाफामा कर तिरेर एक करोड ९२ लाख कमाएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । त्यसको अर्काे वर्ष अर्थात् आव २०७६÷७७ मा यस कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो । आव २०७७/७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा छ । सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनीनै नाफामा रहेको एकमात्र संस्था हो । अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थानसम्बन्धी प्रगति प्रतिवेदनमा पनि यो उल्लेख गरिएको छ । कम्पनीले आव २०७६/७७ देखि शेयरधनीलाई लाभांश बाँड्न थालेको छ । गत आवको लेखापरीक्षण सम्पन्न भएपछि सर्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारीमा पनि कम्पनी लागेको छ । हाल सरकारी निकायमात्र कम्पनीको शेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको शेयर सदस्यका रूपमा रहेका छन् । सर्वसाधारणलाई पनि शेयर बिक्री गरेर कम्पनीको पूँजी वृद्धि गरी जडीबुटी उद्योग प्रवद्र्धन गर्ने लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको छ । नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छन् । वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ । हाल ३०० वनस्पति व्यापारिकरूपमा प्रयोग भइरहेको छ । यसमध्ये कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको महाप्रबन्धक कार्की बताउँछन् । विश्व बजारमा सुगन्धित तेलको माग वार्षिक १७.२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । सन् २०२७ सम्म वार्षिक ७.५ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । नेपालले सन् २०१५ मा ५० लाख डलर बराबरको सुगन्धित तेल निर्यात गरेको थियो । यो विश्व बजारको मागको ०.०२ प्रतिशतमात्र हो । ‘यो तथ्याङ्कलाई हेर्दा नेपालमा जडीबुटीको अथाह सम्भावना रहेको छ, विश्व बजारमा जडीबुटीजन्य तेल तथा वस्तुको माग अत्यधिक छ, यसैले कम्पनीलाई सुगन्धित तेल तथा जडीबुटीजन्य सामग्रीको उत्पादनमा दक्षिण एसियाकै प्रमुख कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम भइरहेको छ, अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित उत्तम अभ्यासलाई दिगो सङ्कलन, खेती, प्रशोधन, उत्पादन र बिक्री वितरणमा लागू गर्दै अधिकतम् रोजगारीको सिर्जना गरी विपन्न तथा निम्न आय भएका नागरिकको सामाजिक–आर्थिक अवस्थालाई उकास्ने काममा अघि बढेको छ’ , महाप्रबन्धक कार्कीले भने । उद्देश्य प्राप्तिका लागि कम्पनीलाई गत वर्ष सरकारले लगानीस्वरुप १८ करोड दिएको थियो । महाप्रबन्धक कार्कीले कम्पनीको विकास एवं विस्तार तथा संरचनात्मक सुधारका लागि वन तथा वातावरण मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पेश गर्नुभएको व्यापारिक योजनाअनुरुप सो रकम लगानी गर्न प्राप्त भएको हो । १० करोड रुपैयाँ शेयरका रूपमा आठ करोड रुपैयाँ ऋणस्वरुप सरकारले प्रदान गरेको हो । यसबाट कम्पनीको विस्तार तथा विकासका काम भइरहेको जनाइएको छ । मानव संशाधन विनियमावली निर्माण गरी आवश्यक योग्य जनशक्ति आपूर्ति गर्न लागिएको छ । आवश्यक योग्य जनशक्ति पाएर विस्तार एवं विकास भएपछि कम्पनीले वार्षिक रु एक अर्ब बराबर कारोबार गर्ने लक्ष्य राखेको छ । उत्पादन भवन अन्तिम चरणमा कम्पनीका जडीबुटीजन्य उत्पादन र यसका संरचनासमेतलाई आधुनिकीकरण र व्यावसायिक बनाउन उत्पादन भवन निर्माण अन्तिम चरणमा पुगेको छ । परम्परागतरूपमा हाते प्रविधिबाट उत्पादन भइरहेका सामग्रीलाई स्वचालित यन्त्रको प्रयोग गरी ‘फिलिङ तथा क्यापिङ’ गरेर उत्पादन बढाइने भएको छ । यसका लागि नयाँ यन्त्र खरिदको प्रक्रिया अघि बढेको छ । नयाँ यन्त्रका माध्यमबाट उत्पादनको लागत घटेर क्षमता वृद्धि हुनेछ । यो भवनभित्र आधुनिक प्रयोगशाला कक्षको निर्माण भइरहेको छ । राम्रो प्रयोगशाला अभ्यासमा आधारित भएर कक्ष निर्माण गर्न लागिएको हो । कम्पनीका उत्पादनको गुणस्तर मापन तथा नियन्त्रणको काम प्रयोगशालाले गर्नेछ । आधुनिकरूपमा दोब्बर सन्चो उत्पादन कम्पनीले लोकप्रिय उत्पादन सन्चोलाई आधुनिकतामा प्रवेश गराउने भएको छ । यसै आर्थिक वर्षदेखि ८५ लाख थान सन्चो सिसी उत्पादन तथा बिक्री वितरण गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ । कम्पनीले गत वर्ष पुसमा ४० लाख थान सन्चो सिसी उत्पादन गरी बिक्री गरेको थियो । विसं २०७७ अघि ३० लाख उत्पादन भइरहेको सन्चो नयाँ व्यावसायिक योजनासहित अघि बढेपछि दोब्बर उत्पादन हुन लागेको हो । नेपालको उच्च पहाडी क्षेत्रमा पाइने धसिङ्ग्रे, टिमुरलगायत फरक तेलजन्य वनस्पतिको सम्मिश्रणबाट सन्चो तेल उत्पादन हुन्छ । सन्चो कफ, रुघाखोकी, हाड तथा जोर्नीको दुखाइ आदिमा प्रयोग गरिन्छ । सन्चोबाट यी समस्या समाधान भई प्रयोग गर्नेको सङ्ख्या बढ्ने गरेको छ । कफ, रुघाखोकीलगायत समस्या समाधानका लागि प्रयोग गरिने ‘झण्डु बाम’ वार्षिक ५० करोड रुपैयाँको भारतबाट आयात हुने गरेको छ । सन्चोजस्ता उत्पादनलाई बढाएर आयात रोक्ने काम गर्ने कम्पनीले जनाएको छ । बागमती प्रदेशसभा सदस्य विशाल खड्का यस्तै प्रकारका उत्पादनको आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादन बढाउन नीति निर्माण तहबाट सहयोग गर्ने उद्देश्यले आफूले कम्पनीको भ्रमण गरेको बताउनुहुन्छ । प्रदेशसभा र प्रदेश सरकारका तर्फबाट जडीबुटी उत्पादन एवं प्रशोधनका लागि आवश्यक सहयोगका लागि पहल गर्ने उहाँको प्रतिबद्धता छ । कम्पनीले हाल बाराको तामाको गढी, मोरङको बेलबारी, सुनसरीको तरहरा, कैलालीको टीकापुरमा व्यावसायिकरूपमा जडीबुटी खेती गरेको छ । यहीँको खेतीबाट अहिले कम्पनीले आफ्ना उत्पादनका लागि कच्चा पदार्थ तयार पार्ने गरेको छ । यी ठाउँमा घाँस उत्पादन गरेर तेल उत्पादन गर्ने र त्यसबाट औषधि बनाउने गरिन्छ । रामेछापमा रहेको कम्पनीको जग्गामा धसिङ्ग्रे प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य कम्पनीले राखेको छ । नेपालमा हिमाल, पहाड र तराई तीनवटै फरक भूगोल एवं हावापानीमा पाइने जडीबुटीलाई उपयोग गर्न तीनै तहका सरकारबीच सहकार्यको वातावरण बनाउन पनि कम्पनी लागिपरेको छ । स्थानीय तहसँग आफ्नो भूगोलभित्र कुन–कुन जातका कति थरि वनस्पति पाइन्छ भन्नेसम्मको सूचना नभएकाले सहकार्य गर्ने तयारीमा कम्पनी लागेको हो । नेपालमा पनि कर्णालीलाई जडीबुटीको भण्डार मानिन्छ । कम्पनीले कर्णालीको जडीबुटी क्षेत्रको अध्ययन भ्रमण गरेर त्यसको विकास र विस्तारका लागि मुख्यमन्त्रीसँग पनि वार्ता गरेको छ । अन्य प्रदेश सरकारसँग पनि सहकार्य गरी जडीबुटी उद्योगलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ कम्पनी अघि बढेको छ । रासस

यसरी लिनुस् जग्गा किन्न सञ्चय कोषबाट १ करोडसम्म सापटी

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा खरिद गर्नका लागि १ करोड रुपैयाँसम्म सापटी दिने भएको छ । यसअघि घर खरिद गर्नका लागि ५० लाख रुपैयाँ सापटी दिँदै आएपनि अब भने जग्गा खरिद गर्नको लागि अधिकतम १ करोड रुपैयाँसम्म सापटी दिने कोषले जनाएको हाे । कोषले वार्षिक ७.९ प्रतिशत व्याजमा सापटी दिने भएको छ । सो रकमको भुक्तानी भने सञ्चयकर्ताको सेवा अवधि अनुसार हुनेछ । यद्यपि यो सुविधा कोषका सञ्चयकर्ताहरुका लागि मात्रै हो । एक वर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा यो सापटी दिन लागिएको हो । सेवा अवधि २ वर्षभन्दा कम भएका संचयकर्तालाई जग्गा खरिद गर्न सापटी दिइने छैन । कोष अनुसार सञ्चयकर्ताको सेवा अवधि हेरेर सापटी दिइनेछ । यदि सञ्चयकर्ता सेवा गरेको २ वर्ष भइसकेको छ भने उसले सो रकम भुक्तानी गर्न लामो समय पाउने छ भने सेवाबाट अवकास पाउन ५ वर्ष मात्रै बाँकी रहेका सञ्चयकर्ताले ५ वर्षभित्र नै सो रकम भुक्तानी गरिसक्नु पर्ने कोषका प्रवक्ता दामोदर सुवेदीले बताए । उनका अनुसार यसअघि कोषबाट अन्य सापटी सुविधा लिएका सञ्चयकर्ताले ५० लाख रुपैयाँ र कुनै पनि सुविधा नलिएका सञ्चयकर्ताले १ करोड रुपैयाँ पाउनेछन् । तर, सो सापटी भने जग्गाको मूल्यांकन गरेर दिइनेछ । १ करोड रुपैयाँ सापटी लिनेको जग्गाको मूल्याकंन १ करोड रुपैयाँभन्दा बढीको हुनु पर्ने कोषको भनाई छ । सुवेदीका अनुसार जग्गाको मूल्यांकन र १५ वर्ष जतिको तलब जुन कम हुन्छ सोही रकम सापटीका रुपमा प्रदान गरिनेछ। कोषका अनुसार जग्गा खरिद गर्नका लागि १ करोड रुपैयाँ सापटी लिनका लागि केही कागजातहरुको आवश्यक पर्छ । यी हुन् चाहिने कागजात: १. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २. जागिर सेवा अवधि वा पदावधि र तलब प्रमाणित कागजपत्र ३. जग्गाको प्रिन्ट नक्सा ४. चार किल्ला प्रमाणपत्रको कागज (कम्पाउण्ड गरेको हुनु पर्ने) ५. माथिका कागजपत्र सहित केही शुल्क र सञ्चयकोषको जग्गा सापटी फारम भर्ने । ६. सञ्चय कोषले उक्त कागजपत्र मूल्याङ्कनको लागि मूल्याङ्कन विभागमा पठाउने । ७. सञ्चय कोषमा रहेका सूचिकृत मुल्यांकनकर्तालाई केही शुल्क तिरेर भाैचर लिनु पर्ने । ८. मुल्यांकन रिपोर्ट आएमा धितो मुल्यांकन पास हुन्छ । कसले पाउँछन् सापटी ? कोषले दिने यो सेवा लिन चाहने सञ्चयकर्ता एक वर्षदेखि नियमति रुपमा कोषमा योगदान गरेको हुनु पर्नेछ । काेषले ताेकेकाे रकम, धिताे मूल्यांकन र १५ वर्षकाे अवधिमा हुन आउने जुन रकम कम हुन्छ साे रकम सापटीकाे रुपमा पाइने काेषकाे भनाई छ । यदि सञ्चयकर्ताको तलब ३० हजार रुपैयाँ छ भने उसकाे १५ वर्षकाे तलब ५४ लाख रुपैयाँ हुन आउँछ । जग्गा खरिदका लागि जग्गाको मूल्यांकनका आधारमा ५० लाख रुपैयाँ सापटी पाउँछ । बढी सेवा अवधि रहने व्यक्ति यो कोषको बढी फाइदा उठाउन सक्छन् । किनकि उसले न्यूनतम किस्तामा लामो समयसम्म रकम भुक्तानी गर्ने समय पाउँछ । सेवा अवधि ५ वर्ष मात्रै बाँकी रहेका सञ्चयकर्ताले ५ वर्ष भित्रै लिएको सबै सापटी भुक्तानी गरिसक्नु पर्ने हुन्छ । यसले उसलाई किस्ता पनि बढी तिर्नु पर्ने बाध्यता रहन्छ । २ वर्षभन्दा कम सेवा अवधि रहेका सञ्चयकर्ता भने यो योजना पाउने छैनन् । सापटीको किस्ता त्रैमासिक रुपमा तिर्नु पर्नेछ । कहाँबाट लिने सापटी ? काठमाडौं उपत्यकाका लागि ठमेलमा रहेको सञ्चयकोषको कार्यालयले जग्गा सापटी दिन्छ । उपत्यका बाहिरका ३२ जिल्लामा यो सापटी पाइने कोषले जनाएको छ । नगरपालिका र  उपमहानगरभित्रका केही मापदण्ड तोकिएका ठाउँहरुको जग्गा हेरेर सापटी पाइने सुवेदीको भनाई छ । सापटी शाखा कार्यालयबाट सजिलै पाउन सकिन्छ ।  कोषका अनुसार किन्नु पर्ने जग्गानै धितोका रुपमा राख्नु पर्नेछ । यसमा कुनै सीमा तोकिएको छैन । जति पनि सञ्चयकर्ताले यो योजनामा सहभागी हुन पाउनेछन् । अर्थात उनीहरुले जग्गा खरिद गर्नका लागि रकम सापटी लिन सक्नेछन् । हालसम्म घर सापटी दिइरहेका ठाउँमा जग्गा सापटी पाइनेछ । व्याजदर प्रत्येक आर्थिक वर्षमा परिपवर्तन हुने कोषको भनाई छ । कोषको शाखा कार्यालय धनगढी, सुर्खेत, कोहलपुर, बुटवल, पोखरा, हेटौडा र बिराटनगर लगायतका ठाउँहरुबाट यो सुविधा पाउन सकिन्छ ।