तनहुँ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले तनहुँ जलविद्युत आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएकी छिन् ।
सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गर्दै मन्त्री भुषालले यस्ताे निर्देशन दिएकी हुन् ।
मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरेकी थिइन् ।
यस्तै निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्दै उनले निर्माणमा आई र्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
उनले आयोजनाको जलाशय बनेपछि उक्त क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र त्यसबाटे स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताइन् ।
मन्त्री भुसाललाई आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, व्यहोरिएको समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।
आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन नेपाल जेभीसँगको ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको हाे । सोङ्ग दा–कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरिसकेकाे छ ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ्ग, मुख्य पुहँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत गृह खनिरहेको छ भने सर्जट्यांकतर्फको पहुँच सुरुङ्ग निर्माण सम्पन्न गरेको छ ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ३० वटा टावरको जग हाल्ने कार्य सम्पन्न भई आठ वटा टावर ठडाइएको छ ।
कम्पनीकाे अनुसार आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको कम्पनीले जनाएकाे छ ।