चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण ६० प्रतिशत सकियाे

<p>काठमाडौं । निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको समग्र निर्माण ६० प्रतिशत सकिएको छ । रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि यसकाे निर्माण भइरहेकाे छ । आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे हव र त्रिसूली थ्री बी हब [&hellip;]</p>

काठमाडौं । निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको समग्र निर्माण ६० प्रतिशत सकिएको छ । रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि यसकाे निर्माण भइरहेकाे छ ।

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे हव र त्रिसूली थ्री बी हब सबस्टेसन निर्माण भइरहेको छ । साथै, चिलिमे –त्रिसूली थ्री बी हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छन् ।

नेपाल विद्युत प्राधिकरणकाे अनुसार दुवै सबस्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ र सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरुको आपूर्ति ६५ प्रतिशत भइसकेको छ । प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएर ६ वटा टावर खडा गरिएको छ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गरी साउनभित्र काम सक्न निर्देशन दिएको छ ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत चिलिमे हबमा जोडिने छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।

आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ भने आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज र परामर्शदाता पावर ग्रिड, भारत रहेका छन् ।

Share News